भर्खरै :

सोनप्रियासँग अर्को दिन

कफी सप सुनसान थियो । पसलमा काम गर्ने किशोरी भुइँ पुछ्दै थिइन् । उनी घरी घरी आफूसँगैको आधा पानी भरिएको हरियो प्लास्टिकको बाल्टिनमा पोछा निचोर्थिन् र लामो प्लास्टिकको पाइप जोडिएको पोछाले पसलको कुनाकाप्चा सबैतिर पुछ्दै थिइन् । भुइँ पुछ्न पसलका बेतका कुुर्सीहरू यताउता सार्दा पसल भद्रगोल देखिन्थ्यो । यस्तो लाग्थ्यो–मानौँ पसल भर्खर ब्युँझेको छ । हुन त मान्छेहरू कफी खान आउने बेला पनि भएको थिएन । बल्ल त एघार बजेको थियो ।
आल्मुनियमको ढोका खोलेर म भित्र पस्दा भुइँ पुछ्दै गरेकी केटीले मलाई ध्यानपूर्वक नियालिन् । भर्खर आफूले पुछेर भिजेको भुइँमा मैले फोहर गर्देला कि भनी उनले मेरो खुट्टातिर नियालिन् । भिजेको भुइँ देखेर म पनि त्यहाँ पाइला टेक्न हच्केँ । अनि दुई पाइला मात्र टेकेर नजिकको बेतकै स्टुलमा बसेँ । किशोरी अनि ढुक्क भएर आफ्नै गतिमा काम गर्न थालिन् ।
भुइँ पुछिसकेर किशोरी पसलका सबै पङ्खा पूर्ण गतिमा चलाएर भित्र भान्छातिर लागिन् । म मोबाइल खेलाउनतिर लागेँ । मोबाइलमा सोनप्रियाको एसएमएस देखेँ । ‘आइ एम कमिङ । स्टक्ड इन ज्याम’, हिजो बेलुका मेसेन्जरमा आज ११ बजे कमलादीको कफी सपमा भेट्ने सहमति भएको थियो । तर, ट्राफिक जामको कारण केही समय विलम्ब हुने सन्देश उनले पठाएकी रहिछिन् । मोबाइलको घडीमा ११ः१५ देखाइरहेको थियो । मैले जवाफमा सन्देश पठाएँ–‘ओके ! आइ एम वेटिङ ।’ (हुन्छ, म कुरिरहेको छु ।)
सोनप्रियालाई अनामनगर छोडेर त्यो दिन घर पुग्दा आकाश धमिलो भइसकेको थियो । कोठामा झोला बिसाएर म कौसीतिर उक्लेँ । दसैँ सुरु हुन केही समयदेखि काठमाडौँ उपत्यकाको उत्तरतिर सेतो हिमाल देखिन थाल्छ । यसपालि मनसुनको आयु अलि लामो भएकोले पानी निख्रिसकेको छैन । त्यही भएर हिमाल देखिन थालेको छैन । चिसो पनि नबढेको, गर्मी पनि सेलाउँदै गएको यो मौसममा कौसीमा बसेर कालो चिया खाँदै हिमालका लहर हेर्न मलाई खुब मन लाग्छ । अझ चियासँगै एक कचौरा भुटेको मकै भए त्यो साँझ रोमाञ्चकारी लाग्छ ।
कौसीबाट उत्तरमा हिमाल नदेखिएकोमा न्यास्रो मान्दै मोबाइल खेलाउनतिर थालेँ । फेसबुकमा एउटा फ्रेन्ड रिक्वेट थपिएको रहेछ । अनुरोध, उही सोनप्रियाको । मैले एकप्रकारको हतारमै अनुरोध सकारेँ । अनि उनको प्रोफाइलतिर औँला दौडाउन थालेँ । पछिल्ला दुई–तीन महिना उनले एउटा पनि नयाँ पोस्ट गरेकी रहिनछ । दुई–तीन महिनाअघि उनले विभिन्न अनलाइन सञ्चारमाध्यमका सान्दर्भिक लिङ्क सेयर गरेकी रहिछिन् । विशेषतः जलवायु परिवर्तनका प्रभावसम्बन्धी समाचार र लेखका लिङ्कहरू सेयर गरेकी थिइन् । हिजोआज मान्छे चिन्ने, कसैको मनको कुरा थाहा पाउने र रुचि बुझ्ने एउटा माध्यम सामाजिक सञ्जाल पनि बनेको छ । सोनप्रियाको ६ महिनाको फेसबुक गतिविधि हेर्दा मैले अनुमान लगाएँ–कम्तीमा पछिल्लो समय उनी जलवायु परिवर्तनका विषयमा बढी चासो राख्दै छिन् । आमाबुबासँग खिचिएको एउटा तस्बिरबाहेक उनले फेसबुकमा आफ्नो कुनै पनि व्यक्तिगत कुरा सेयर गरेकी रहिनछन् । कस्तो केटी रहेछ ! कम्तीमा दुई–चार सुन्दर तस्बिर पोस्ट गर्नु ! एकाध टिकटक राख्नु ! अनि केही आफ्नो मनोभाव पोख्ने स्टाटस राख्नु ! केही पनि राखेकी रहिनछ ।
सोनप्रियाले पक्कै मेरो फेसबुक प्रोफाइल र स्टाटस पनि हेरेको हुनुपर्छ । मेरो प्रोफाइल र स्टाटस हेरेर उनले मेरोबारे के धारणा बनाउँलिन् ? म हतारहतार आफ्नै प्रोफाइलभित्र पसेँ । मेरो प्रोफाइलमा पनि प्रायशः लिङ्कहरू नै छन् । तर, केही व्यक्तिगत तस्बिर र स्टाटस पनि रहेछन् । मेरा व्यक्तिगत तस्बिर हेरेर सोनप्रियाले भन्न सक्लिन्–यो अलि बढी आफ्नो प्रचार खोज्ने मान्छे रहेछ । अङ्ग्रेजीमा उही भन्छन् नि ‘सोयी टाइप्स’ ।
….
हस्याङ्फस्याङ् गर्दै सोनप्रिया कफी सपमा पस्दा भुइँ सुकिसकेको थियो । तर, पङ्खा उही गतिमा घुमिरहेका थिए ।
“आइ एम सरी !” नाडीको डिजिटल घडी हेर्दै उनले भनिन् । मैले नजिकैको बेतको कुर्सी तानेर उनलाई बस्न आग्रह गरेँ ।
“काठमाडौँमा पनि दिल्लीमा जस्तै दिक्कलाग्दो ट्राफिक जाम हुनेरहेछ”, गोँगबुँमा एक जना अध्येतालाई भेटेर कमलादी आइपुग्न उनलाई एक घण्टा लागेको थियो । “म त्यहाँबाट १०ः३० मा निस्केकी ।”
“अफिस टाइम भएर हो”, मैले काठमाडौँको थोरै रक्षा गर्ने प्रयास गरेँ ।
पसिना र सनस्क्रिनको मिश्रणले उनको निधार खस्रो देखिएको थियो । उनले अघिल्लो पटककै शैलीमा पोशाक लगाएकी थिइन् । आज उनले लगाएको सुतीको कुर्ताले उनको साँवलो अनुहार अझ खुलेको थियो । घाँटीमा एउटा ठूलो र अरू केही स–साना तर विभिन्न रङका मुगाको माला लगाएकी थिइन् ।
“अनि कफी मगाएनौ ?”, आज उनी अझ खुलेर कुरा गरिरहेकी थिइन् । मानौँ, हामी निकै पुराना साथी हौँ । मानौँ, हामी स्कूलमा सँगै पढेका यार हौँ । मानौँ, हामी एउटै आन्दोलनका सहयोद्धा हौँ ।
“तिमीलाई कुरेको”, मैले भनेँ ।
उनी मुस्कुराइन् ।
भुइँ सफा गरिरहेकी किशोरी कफी पसलको ब्रान्ड नेम भएको टी–सर्ट र कालो पाइन्ट लगाएर काउन्टरछेउ भित्तामा टाँगिएको ‘लक्ष्मी’ को तस्बिरमा धुप बाल्न लागेकी थिइन् ।
“एउटा लाटे र एउटा अमेरिकानो, प्लिज !”, सोनप्रियाले अङ्ग्रेजीमै भनिन् । किशोरीले एक क्षण ट्वाँ परेर हेरिन् । अनि मुस्काउँदै भनिन्,“ओके म्याम !” (उफ् अङ्ग्रेजीको भूत)
“तिम्रो नेता त गएछ नि है काङ्ग्रेसमा !”, सोनप्रियाको विश्वविद्यालयका विद्यार्थी नेता कन्हैया कुमार काङ्ग्रेस आई पार्टीमा गएको समाचार नेपालका सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ छापेका छन् । नेपालका काङ्ग्रेस पक्षधर सञ्चारमाध्यमले त यसलाई ठूलै मसला बनाउने सोचेर ठूलठूला अक्षरले त्यसको समाचार छापेका थिए ।
“मलाई थाहा थियो, आज तिमीले यही प्रश्न गर्छौ भनेर”, सोनप्रियाले मुहार उज्यालो पार्दै भनिन् । उनले आज पनि उही कारचोपी भरिएको झोला बोकेकी थिइन् । तर, उनको झोला आज अलि गहु«ँगो देखिन्थ्यो ।
“त्यस्तो क्रान्तिकारी भाषण गर्ने मान्छे किन काङ्ग्रेसतिर ?” साँच्चै यो विषयमा मलाई जान्न मन थियो । मैले पनि कन्हैयाका केही भाषणहरू सुनेको छु । उनले मोदी सरकारलाई शब्दका वाणले लघारेको मैले पनि अनुभव गरेको छु । जेएनयूमा कन्हैया, उमार खालिद, अनरव भट्टाचार्यहरूविरुद्ध मोदी सत्ता दमनमा उत्रेको र विद्यार्थी–प्राध्यापकहरू त्यसको प्रतिरोधमा रातदिन आन्दोलन गर्दै गर्दा म पनि विद्यार्थी गतिविधिमै सक्रिय थिएँ । प्राध्यापकहरूले जेएनयूका चोकहरूमा खुला कक्षाहरू सञ्चालन गरेको प्रत्यक्ष प्रसारण म पनि सुन्थेँ । गज्जब लाग्थ्यो । सत्य, न्याय र सत्ताको सम्बन्धबारे कपाल फुलेका प्राध्यापकहरूका भाषण कम्प्युटरका स्क्रिनमा हेर्दा आफै जेएनयूको चोकमा बसिरहेजस्तो भान हुन्थ्यो ।
विद्यार्थीहरू एकातिर काँधमा डम्फु अड्याएर अर्को हातले त्यसलाई बजाउँदै नारा लगाउँथे–‘हम ले के रहेंगे आजादी !’ विद्यार्थीहरूका आवाजको कोलाज सुन्दा कुनै गीत सुनिरहेजस्तो, कुनै उत्सव चलिरहेको जस्तो अनुभव हुन्थ्यो । आन्दोलनको भाषा यस्तै त हुन्छ । हामीले पनि राजा ज्ञानेन्द्रको शासनविरुद्ध आन्दोलन गर्दा नारा लगाएका थियौँ,“सडे–गलेको दरबारलाई एक धक्का अर्को दे !” अरू नारा लगाउँदा आँत सुकेजस्तो स्वर पनि यो नारा लगाएपछि गल्ला भरिएजस्तो जोश आउँथ्यो ।
कन्हैयाको यो कदमको विषयमा मलाई चित्तबुझ्दो र विश्वसनीय व्याख्या गर्नसक्ने सबभन्दा आधिकारिक व्यक्ति सोनप्रिया नै लाग्यो ।
किशोरीले एउटा कालो र अर्को गोरो कफी लिएर आइन् । सेतो चाइनाक्लेको कप र ससरमा ल्याइएको कफीमध्ये लाटेमा प्रेमको चिह्न पानको बुट्टा कोरिएको थियो ।
“वाउ”, सोनप्रिया खुसी भइन् । अमेरिकानोमा भने त्यस्तो केही बुट्टा थिएन ।
कफी सुपरूप पार्दै सोनप्रियाले गम्भीरतापूर्वक भनिन्,“खासमा मलाई पनि कन्हैयाको यो कदमबाट दुःखी बनाएको छ । उनले यस्तो कदम उठाउलान् भनेर सोचेको थिइनँ । राहुल गान्धीसँग उनको भेट भएको खबरसम्म मलाई उनी काङ्ग्रेसमै प्रवेश गर्नसक्छन् भन्ने लागेको थिएन । बरु आगामी चुनावमा बेगुसरायमा चुनाव जित्न गठबन्धनमा जाने तयारी गरेको हुनसक्ने लागेको थियो ।”
कफी सपमा एक जोडी किशोर–किशोरी पसे । कलेज युनिफर्ममा उनीहरू निकै सुन्दर देखिएका थिए । किशोरी त झन् कुनै फेसन म्यागाजिनमा देखेको तस्बिरजस्तै थिइन् । दुवैले हामीलाई नियालेर हेरे । अनि काउन्टरमा गएर दुई कप अमेरिकानो मगाए । सँगै दुई वटा चुरोट । अनि हामी बसेको टेबुलबाट अलि परको टेबुलमा गएर चुरोट सल्काउन थाले । उनीहरूको यस्तो चाला देखेर मलाई असजिलो अनुभव भयो । यति सुन्दर मान्छेहरूले किन बित्थामा फोक्सो फोहर बनाएका होलान् !
सोनप्रियाले त्यसलाई त्यत्ति असहजरूपमा नलिएको उनको अनुहारमा प्रस्ट थियो । उनी कन्हैयाकै कुरा गरिरहेकी थिइन् ।
“तिमीले पत्रकार सम्मेलनमा कन्हैयाको भाषण सुन्यौ ?”, उनले मलाई सोधिन् ।
“अँ ! तर, उनले आप्mनो निर्णयको प्रतिरक्षा गर्न हजार कोसिस गरे पनि उनी कहीं न कहीं चुकिरहेका थिए”, मैले भनेँ ।
“हो, हो । धेरै पटक अम्बेडकर र भगत सिंहको नाम लिइरहेका थिए । मोदी र भाजपा सरकारले लोकतन्त्र म्हास्न खोजेकोले बलियो हाँगो समातेको उनको तर्क थियो सारमा”, सोनप्रियाले कफीमा चिनी घोल्दै भनिन् ।
“तर, एउटा कुरा के सत्य हो भने उनी जुन पार्टीमा आबद्ध थिए, त्यसको इतिहास जानेकाको लागि कन्हैयाको यो निर्णय कुनै अनौठो र दुःखको विषय होइन । उनका पार्टीका नेताहरूले विगतमा पनि काङ्ग्रेस आइकै पक्ष लिएका थिए । त्यही विषयमा मतान्तर भएर भारतको कम्युनिस्ट पार्टीमा विभाजन भयो । मेरा पिता र माताहरू सोभियत संशोधनवादको पक्षपोषण गर्ने त्यो लाइनविरुद्ध विद्रोह गरेर भाकपा (माक्र्सवादी)मा आबद्ध भए । विभाजनको त्यो शिलशिलाको एउटा धार भने सशस्त्र सङ्घर्षको बाटोमा लाग्यो । क्रान्तिकारी धार त्याग गरेर जवाहरलाल नेहरू र इन्दिरा गान्धीको पछि लागेपछि भाकपाको खास साख मरिसकेको थियो”, सोनप्रियाले भनिन् ।
“जेएनयूमा कन्हैया विद्यार्थी युनियन निर्वाचनमा सभापति निर्वाचित हुनु वामपन्थी विद्यार्थी सङ्गठनहरूबीचको तालमेल र केही हदसम्म कन्हैयाको वाक्पटुताको कारण पनि थियो । अफजल गुरु काण्डपछि प्रहरी दमनले उनी प्रतिरोध आन्दोलनको आइकन बने । तर, उनीसँगको हाम्रो सैद्धान्तिक मतभेद भने थियो नै । हामी एसएफआइतिरका थियौँ भने उनी एआइएसएफका थिए । तत्कालीन परिस्थितिमा हामीबीचका सबै मतभेदलाई एक ठाउँमा राखेर मोदी फासीवादको विरोधमा एकजुट भएर लाग्यौँ । उमारहरू अझ अर्को समूहमा आबद्ध थिए”, सोनप्रियाका कुरा म ध्यान दिएर सुनिरहेको थिएँ ।
“कन्हैयाले के चुनाव जित्नकै लागि काङ्ग्रेस प्रवेश गरेका हुन् त ?”
“हेर कमरेड ! हिजोआजको पुस्तामा एउटा समस्या छ, विशेषतः विद्यार्थी र युवा आन्दोलनमा । विद्यार्थीको कुरा चर्काचर्का हुन्छन् । अझ कति विद्यार्थी त भाषण पनि गज्जब गर्नसक्छन् । मिडियामा त्यस्तो मसला चाँडै बिक्छ पनि । जनताले युवा युवतीहरूले भाषण गरेको रुचाउँछन् पनि । त्यसैले छोटो समयमा नै उनीहरू चर्चित हुन्छन् । सञ्चारमाध्यममा उनीहरू छाएका हुन्छन् । उनीहरूलाई रुचाउने पनि ठूलै सङ्ख्या हुन्छ । त्यसले कतिपय विद्यार्थी र युवामा महत्वाकाङ्क्षा बढ्छ । तर, जनताबीच काम गर्नु र भाषण गरेर लोकप्रिय बन्ने कुरा फरक हुन्छ भन्ने कुरा उनीहरूलाई हेक्कै हुँदैन । पढेलेखेका विद्यार्थी र प्राध्यापकहरू भएका कलेजमा मान्छेलाई सत्ताको विरोधमा उतार्न जति सजिलो हुन्छ, अशिक्षित, जीवनका स–साना जञ्जालमा फसेका, अनेक थरी समस्याले घेरिएका जनतालाई चित्त बुझाउनु त्यति सजिलो हुँदैन भन्ने कुरा विश्वविद्यालयमा हुर्केको पुस्तालाई कमै मात्र अनुभव र थाहा हुन्छ । उनीहरूको लागि गरिबको झोपडीमा गएर केही कुरा गर्नु नै पोलिटिकल रोमिन्टिसिज्म हुने गर्छ । भाषण गरेरमात्र जनताको मन जित्न सकिन्न भन्ने कुरा उनीहरूलाई थाहा हुँदैन । समाजको जटिलता बुझ्न उनीहरूले अर्को विश्वविद्यालयमा पनि पढ्नु र बाँच्नुपर्ने हुन्छ–जनताको विश्वविद्यालय । कन्हैयाले जेएनयुमा त भाषण गरेर मन जिते । तर, जनताको विश्वविद्यालयमा उनको भाषणले मात्र दाल गल्ने अवस्था थिएन । बेगुसरायका जनताको जटिलता र जेएनयुको अवस्था फरक थियो । सायद यो वास्तविकता कन्हैयाको राजनीतिक महत्वाकाङ्क्षासँग मेल खाएन”, सोनप्रियाले लामै तर निकै प्रस्ट कुरा राखिन् । मैले पनि गरेको अनुमान लगभग त्यही थियो ।
मेरो कप रित्तिसकेको थियो । सोनप्रियाको कपमा अझै आधाभन्दा बढी लाटे बाँकी नै थियो ।
कफी सपमा अरू पनि ग्राहकहरू आइसकेका थिए । हाम्रो छेउकै टेबुलमा दुई जना मोटाघाटा मान्छेहरू साँखुबाट जहरसिंह पौवा जाने बाटोमा एक रोपनी जग्गा किन्न बेच्ने विषयमा कुरा गरिरहेका थिए । उनीहरूको केही लाखमा लेनदेन मिलिरहेको थिएन ।
पसले किशोरी कफी मेसिनमा कफी बनाउँदै थिइन् । उनलाई सहयोग गर्न अर्को एक जना युवक आइसकेको थियो । किशोरीले बनाएको कफी उनी टेबुल टेबुल पु¥याइरहेका थिए ।
चुरोटको अन्तिम सर्को तानेर किशोरकिशोरी बाहिर गइसकेका थिए ।
बाहिर घाम चर्केको थियो ।
सोनप्रियाको मोबाइलमा घण्टी बज्यो ।
“हेल्लो ¤ म कमलादीमा छु । … हो र ! … हुन्छ । कति खेर ? … अहिले नै । … पछि… ल ल म अहिले नै आइहाल्छु”, सोनप्रियाले फोनमा यति भनेर उनी मतिर हेर्दै भनिन्,“तिमीले मलाई फेरि एउटा सहयोग गर्नुपर्ने भयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा एक जना हाकिमसँग भेट्न समय मागेको थिएँ । अहिले नै आउनु रे । उनी भोलि नै विदेश जाने कार्यक्रम भएकोले अहिले नै आउनु भनेको छ । तिमीले मलाई सिंहदरबारसम्म पु¥याइदिन्छौ ?”
मसँग हुन्छ भन्नुको अर्को विकल्प पनि थिएन । मलाई पनि आज अलि चाँडै घर पुग्नु थियो । मासिक पत्रिकाको लागि एउटा किताबको धारावाहिक अनुवाद गर्दै छु । अर्को महिनाको लागि यही हप्ता अनुवाद सकाएर पठाउनु थियो ।
सोनप्रियाको कपमा अन्तिम घुट्को लाटे बाँकी रह्यो । त्यसलाई छोडेर उनी काउन्टरमा पैसा तिर्न लागिन् । म बाहिर बाइक निकाल्न लागेँ । पुतलीसडक निस्केर माइतीघरबाट सिंहदरबार गेट पुगे पछि सोनप्रिया ओर्लिन् । उनी निकै हतार गर्दै थिइन् । बाइकबाट ओर्लेर उनले मलाई ‘पछि फोन गरौँला’ भनी औँलाले सङ्केत गर्दै झन्डै दौडेर गेटतिर लागिन् । प्रहरीलाई कुन्नि के परिचय पत्र देखाइन् । उनी सजिलै भित्र पसिन् । म त्यहाँबाट थापा गाउँ हुँदै बानेश्वर पुगेर घरतिर फर्केँ । मेरो अघि नगरकोटको डाँडो हुस्सुले टम्म भरिएको देखिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *