युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव सङ्कलन
- जेष्ठ २८, २०८३
काठमाडौँ, १५ असोज । देश हितविपरीतको एमसीसी सम्झौताको विरोधमा नेपाल मजदुर किसान पार्टीले देशव्यापी गर्दैै आएको विरोध प्रदर्शन र सभाको क्रम चालु छ । सो क्रममा शुक्रबार नेमकिपा काठमाडौँ जिल्ला समितिको आयोजनामा काठमाडौँको बालाजु माछापोखरी चोकमा विरोधसभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य सांसद प्रेम सुवालले एमसीसी विकासको नाममा नेपालमा साम्राज्यवादी शक्तिले थोपर्ने हस्तक्षेप भएको बताउनुभयो ।
उहाँले प्रतिनिधिसभामा नेमकिपाले मात्र लगातार एमसीसी सम्झौता खारेजीको माग गरेको प्रस्ट पार्दै प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पनि नेमकिपाले एमसीसी सम्झौता खारेज गर्नुपर्ने आवाज उठाएको बताउनुभयो ।
संरा अमेरिकाले संसारका विभिन्न देशमा द्वन्द्व र लडाइँको अवस्था सृजना गरेर हातहतियारको व्यापार गरिरहेको उल्लेख गर्दै सांसद सुवालले एमसीसी परियोजनामार्फत नेपालमा उत्पादन हुने विद्युत् विदेशमा सस्तोमा बिक्री गर्ने योजना रहेको बताउनुभयो ।
दक्षिण पूर्वी एसिया, दक्षिण एसिया र हिन्द महासागरमा आफ्नो प्रभाव विस्तार गर्न संरा अमेरिकाले अउकस, क्वाडलगायत गठबन्धन बनाएर चीनको आर्थिक विकास र समृद्धिको बाटो रोक्न खोजेको भन्दै उहाँले एमसीसी सम्झौता पनि संरा अमेरिकी हिन्द प्रशान्त रणनीतिकै अङ्ग भएको धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य सांसद सुरेन्द्रराज गोसाईले एमसीसीको नाममा साम्राज्यवादी शक्तिसामु नेपालका शासकहरूले गरेको आत्मसमर्पणको नेपाली जनताले विरोध गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,“समय छँदै नेपाली जनता सचेत भएर एमसीसी सम्झौताको विरोध नगरे भोलि पछुताउनुपर्नेछ ।”
नेपालका केही बुद्धिजीवी भनाउँदा व्यक्तिहरूले एमसीसीको विषयमा नेपाली जनताबीच भ्रम छरिरहेको धारणा राख्दै सांसद गोसाईले दसैं तिहारजस्तो चाडबाडमा बजार भाउ अचाक्ली बढ्दा पनि सरकार लाचार रहेको बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य सांसद सृजना सैंजूले संरा अमेरिकाले विकास, मानवअधिकार र प्रजातन्त्रको नाममा पाइला टेकेका कुनै पनि देशका जनताले सुख र शान्ति नपाएको भन्दै अफगानिस्तान, इराक, लिविया, सिरिया आदि संरा अमेरिकी हमलाको शिकार बनेको उदाहरण प्रस्तुत गर्नुभयो ।
“एमसीसीका दलालहरूलाई खबरदारी गर्ने कामलाई निरन्तरता दिन आवश्यक छ”, सांसद सैंजूले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले एमसीसी सम्झौताविरुद्ध नेमकिपाले मात्र जिल्ला जिल्ला र गाउँ–गाउँमा गतिविधि गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरुङले नेपालका देशभक्त युवा–विद्यार्थीहरू आफ्नो भविष्य साम्राज्यवादी शक्तिको हातमा सुम्पने पक्षमा नभएको हुँदा एमसीसी सम्झौताको विरोधमा उत्रनुपरेको धारणा राख्नुभयो ।
नेमकिपा काठमाडौं जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको सभामा नेक्राविसङ्घका केन्द्रीय सहसंयोजक सुरेश परियार र नेमकिपा काठमाडौंका विश्वक डंगोलले पनि बोल्नुभएको थियो ।
सभाअघि तार्केश्वर मनमैजूबाट विरोध जुलुस भएको थियो ।
Leave a Reply