नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
यहाँनिर दिगो विकासमाथिको वर्तमान जोडबलमा बेमेल देखिन्छ । नेपालमा पश्चिमा विकास पस्दा नेपालीहरूलाई विधिपूर्वक आफ्नो दिगो अभ्यास तुहाउन भनियो । दिगो उत्पादन प्रणाली, सामुदायिक सहकार्य र सहअस्तित्वमा प्रतिबिम्बित आत्मसघाउको परम्परा त्याग्न हौस्याइयो । उनीहरूलाई पश्चिमा आर्थिक वृद्धिको कोणबाट हेर्दा त्यस्ता अभ्यासहरू बुद्धिहीन र विकासनिरोधी देखिने बताइयो । नाफाकेन्द्रित सोच पश्चिमा अर्थशास्त्रको मुटु हो । नाफामुखी सोचले नचल्ने वा नाफाको पछाडि नदौडिने सबैलाई परम्परागत र विकासविरोधी भनियो ।
भन्दा मन चस्किन्छ, पश्चिमा आर्थिक सोचको सिद्धान्तबाट निरन्तर ओतप्रोत हुँदै जाँदा, धेरै नेपालीहरूले विगत चार दशकदेखि आत्मसघाउको कला गुमाएका छन्, दिगो विकासको विज्ञान बिर्सेका छन् र आत्मनिर्भर जीवनशैली भुलेका छन् । उनीहरूले आफ्नो रैथाने ज्ञानको जग र सहयोगी भावना गुमाएका छन् । आज तिनै विकसित देशहरू र तिनका अन्तर्राष्ट्रिय विकास सङ्घसंस्थाले नेपालीहरूलाई दिगो विकास अभ्यास गर्ने उपदेश छाँट्दै छन् । कुनै बेला तिनै देश र सङ्घसंस्थाले हाम्रो रैथाने ज्ञान र उत्पादनको दिगो प्रणालीलाई पुरातन भनेर होच्याउँथे, हामीलाई उडाउँथे । यो विडम्बना हो ! फेरि एकचोटि उनीहरू हाम्रो जीवन र भाग्यका विधाता बनेका छन् । हामीलाई के गर्ने बताउँदै छन् । हामीलाई आफ्नै परम्परागत जीवनशैली सिकाउँदै छन् । दिगो विकासको इतिहास र वैचारिकी हेर्दा यो कुरा उनीहरूले हामीबाटै सिकेका हुन् । तर, उनीहरूले त्यो कुरा हामीबाट कसरी सिक्न सक्छन्, जब कि हामीले त्यसो गर्न छोडिसकेका छौँ । धन्य हो ! उनीहरूको विकासे परामर्श ! एडवर्ड सइदले भनेझैँ मानव इतिहास जसले लेख्छ, उसैले मान्छेको भविष्यमा नियन्त्रण जमाउँछ । चार दशकयता पश्चिमा र तिनका विकासे एजेन्टहरूले नेपालको रैथाने सांस्कृतिक ज्ञान र आर्थिक अभ्यासको इतिहास लेखिरहेका छन्, हाम्रो इतिहास हडपेका छन् । नेपाली उच्च बौद्धिकहरूमाथि तिनीहरू नै हाबी छन् । त्यसैले उनीहरू नेपालको आर्थिक भाग्य र गन्तव्यमाथि नियन्त्रण जमाउँछन् ।
आफै बोक्सी, आफै झाँक्री ! पश्चिमा एजेन्सीहरूले नेपालजस्ता अविकसित मुलुकहरूलाई वशमा राख्न यही बोक्सी र झाँक्रीको खेल खेल्छन् । बोक्सीले जस्तै तिनले हाम्रो शरीर र आत्मा ओगटेका छन्, हामीलाई दुःखपीडा दिइरहेका छन् र हामीलाई अर्क ैथोकमा फेरेका छन् । हाम्रो आर्थिक दिगोपन र अस्तित्वका परम्परागत साधनहरू भताभुङ्ग पारेर तिनीहरूले हामीलाई निलेका छन् । तैपनि, झाँक्रीले जस्तै आफ्नै बोक्सी रूपको दानवी शक्तिलाई झारफुक गरेझैँ स्वाङ पारेर तिनीहरू सुकिला देखिन खोज्छन् । तिनीहरू अझ बढी विकास गर्नुपर्ने सिफारिस गर्छन् । यो आफैमा पश्चिमा विकासले जनताको जीवनस्तर उकास्नमा सिन्को भाँच्न सकिरहेको छैन भन्ने सङ्केत हो । बोक्सीले डसेको नेपालजस्तो देशलाई झाँक्रीको मुकुन्डो लगाएको विकासकोे चुम्बकले झैँ तान्छ । दुर्भाग्यको कुरा, झाँक्रीको भूमिका बढ्नुको अर्थ बोक्सीको डसाइ डरलाग्दो हुनु पनि हो ।
पश्चिमाहरूले नेपालमा आत्मसघाउमा जोड दिनु पाखण्डको पराकाष्ठा हो । हजारौँ गैरसरकारी संस्थालगायत अन्तर्राष्ट्रिय विकास संस्थापनले आत्मसघाउको उपदेश दिँदै गर्दा तिनले नेपाललाई विदेशी सहयोगको चङ्गुलमा अठ्याउँछन् । विकास र गरिबी निवारणको नाममा अनेक परियोजनाहरू चालू राख्दै र डलर पठाउँदै परनिर्भर बनाइराख्छन् । नेपाललाई आफ्नै बाटोमा हिँड्न दिनुको साटो, आफ्नै सुरले निर्बाध हिँडडुल गर्ने अवसर दिनुको साटो विकास एजेन्सीहरूले विकासमा निरन्तर हस्तक्षेप गर्छन् । तिनीहरूले नेपाललाई अपाङ्ग बच्चालाई जस्तो व्यवहार गर्छन् । यसरी तिनले पश्चिमा पैसा र भौतिक मूल्यमाथिको नेपाली निर्भरताको पासो कस्दै जान्छन् ।
नेपाललाई आत्मनिर्भर बनाउँछौँ भन्ने अन्तर्राष्ट्रिय विकास एजेन्सीहरूले साँच्चै त्यसो चाहेका हुन् भने नेपाललाई किन छुटकारा दिन्नन् ? यी एजेन्सीहरूलाई ऋण र अनुदानमा दिइने विदेशी सहयोग नशालु हुन्छ भन्ने थाहा छ । विदेशी सहयोग सामाजिक निकोटिनजस्तो हुन्छ । यसले दुवै आत्मसघाउ र कडा परिश्रम वा उद्यमशीलताको परम्परा नष्ट गर्छ । तिनै एजेन्सीहरूले सरकारले अनुदान दिनै हुन्न, गरिबलाई लोककल्याणकारी सुविधा दिनै हुन्न भन्छन् । तैपनि, तिनीहरूले निरन्तर विदेशी सहयोग दिइराखेका छन् । यसले रैथानेहरूबीच दिगोपनको विचार प्रचार गर्दैन । खासगरी घरेलु बागडोर सम्हाल्ने र विकास योजनाहरूलाई अघि बढाउने सम्भ्रान्त वर्गमा यसले दिगोपन प्रसार गर्न सकेको छैन । पश्चिमका अन्तर्राष्ट्रिय एजेन्सीहरू पैसा बगाउन लालायित छन् । र, धनीमानीहरू सीधै विदेशी पैसाको खोलामा पौडिने हुनाले आत्मसघाउको अभ्यास गर्न, कडा परिश्रम गरेर पैसा कमाउन, वा दिगोपनको परम्परा ब्युँताउन तिनमा उत्साह हुन्न । किनभने त्यसो गर्दा उनीहरूले खाइपाई आएको भौतिक सुखसुविधा त्याग्नुपर्ने हुन्छ ।
उपनिवेशी एजेन्टहरूले आफूलाई उपनिवेशका मुक्तिदाता भन्थे । अन्तर्राष्ट्रिय विकासका एजेन्टहरू आनीबानी र व्यवहारमा तिनीहरूभन्दा अलि भिन्न छन् । तैपनि भित्री चरित्र र सोचका हिसाबले तिनीहरू उस्तै हुन्छन् । समय र भूराजनीतिक सन्दर्भहरूले मात्र तिनीहरू अलग देखिएका हुन् । उपनिवेशी एजेन्टहरूले आफूलाई उपनिवेशका जनताको आवश्यकता ठान्थे । आफ्नो राजनीतिक सुझबुझको सहयोगबिना उनीहरूले आफै शासन गर्नसक्दैनन् भन्थे । आजका विकास दलालहरूले नेपालजस्तो देशले विदेशी सहयोगबेगर आफै विकास गर्नसक्दैन भन्छन् । यसैलाई सायद तिनीहरू ‘गोराहरूको भार’ (white man’s burden) भन्छन् । अपराधबोध भनुँ वा पुँजीवादी लगाव, पश्चिमाहरू अरूलाई एक्लो छोड्न सक्दैनन् । हस्तक्षेप गर्नुपछाडि तिनीहरूको नियत के हो भन्ने कुराले त्यति महत्व राख्दैन जति नजिताले राख्छ । तिनीहरूको हस्तक्षेपले जनतालाई सधैँ झन्झन् कष्टकर गरिबीमा डुबाउँछ ।
अझ अर्को कुरा, पश्चिमी विकास सल्लाहकारहरूले आत्मसघाउको संस्कृतिबारे हाक हाल्छन् । नेपालीहरूलाई कडा मिहिनेत गर्न सिकाइरहँदा तिनीहरूको जीवन भने लाजमर्दो फुर्सद र विलासमा डुबेको हुन्छ । सानो अमेरिका भनिने फोहोरा दरबारभित्र यो अश्लिलता उजागर हुन्छ । अर्थ न बर्थका रिपोर्टहरू वाक्नु वा घण्टौँसम्म बैठक बस्नुलाई कडा मिहिनेत भन्न सकिन्न । फेरि त्यस्ता रिपोर्टहरू बिरलै पढिन्छ । नगन्य सल्लाहकारहरूले मात्र बहुसङ्ख्यक रैथाने जनतालाई काम लाग्ने रचनात्मक र वास्तविक काम गर्छन् । तिनीहरूले आत्मसघाउको अभ्यास गर्छन् भन्ने कुराको धेरै प्रमाण पाइन्न ।
यथार्थमा तिनीहरू परजीवी खन्चुवाहरू हुन् । अन्तर्राष्ट्रिय दातृतन्त्रउर्फ विदेशी सहयोगबाट थुतिएको मोटो रकमको गौरवले फुल्लिने विकासका सक्कली लाभग्राही हुन् । तिनीहरूले बसोबास खर्च, नोकरचाकर खर्च र निजी स्कूलहरूमा बालबच्चा पढाउन छुट्टै भत्ता पनि पाउँछन् । तर, आफ्नो आम्दानीबापत तिनले सरकारलाई कुनै किसिमको कर तिर्दैनन् । अन्तर्राष्ट्रिय विकासको अखडामा विदेशी सहयोग सम्भभवतः सबैभन्दा ठूलो कल्याणकारी घोटाला हो । अविकसित देशमा डेरा जमाएर विकास संस्थापनभित्रका अनेक स्वार्थ समूहहरूको पहिले नै मोटाएको भुँडीमा थप बोसो लगाउनु हो । यस्ता स्वार्थ समूहहरू देशभित्र र बाहिर दुवैतिर हुन्छन् । पश्चिमा विकास सल्लाहकारहरूले प्रायः नेपाललाई दिइने विदेशी ऋणबाट आफ्नो तलब कुम्ल्याउँछन् । यसरी नेपालमा विदेशी ऋण थपिँदै जाँदा त्यसको धेरैजसो रकम विकास सल्लाहकारहरूको खल्तीमा जम्मा हुन्छ ।
सारमा भन्छु, विदेशी सहयोगले धेरै तलब दिएर एक हुल काम नलाग्ने पश्चिमा सल्लाहकारहरू खटाउँछ । तीमध्ये केही आफ्नो देशमा बेरोजगार हुन्छ । तिनीहरू त्यहाँ फोरमेन वा मध्यम दर्जाको म्यानेजर बन्न लायक हुन्छन् । थोरैसँग मात्र गतिलो व्यवहारिक अनुभव हुन्छ वा थोरैसँग मात्र स्थानीय परिस्थिति र यथार्थबारे सांस्कृतिक र ऐतिहासिक ज्ञान हुन्छ । नेपालको अर्थतन्त्रबारे उनीहरूलाई धेरै थाहा हुन्न । नबुझेकै वा औसत व्यक्ति यस खेलमा काम लाग्छन् । अन्तर्राष्ट्रिय कल्याणकारितामा सबैलाई अब्बल ठानिन्छ । तैपनि, यिनै कल्याण पचाउनेहरूले आत्मसघाउको झन्डा फहराइरहेका छन् । उपदेश दिनलाई आफै चोखो हुनुपर्छ भनेर कसले भन्ने ?
शूलझैँ गडेका पाखण्ड र अन्तरविरोधहरूबारे धेरै चर्चा भयो । यस्तो स्थितिमा नेपालका सम्भ्रान्त शासकहरूले कडा परिश्रम र शारीरिक श्रमलाई हेय मान्नु कुन नौलो कुरा भयो ? यस्ता सम्भ्रान्तहरू बौद्धिक जमात र विकास संस्थापन दुवैमा पाइन्छन् । उनीहरूमा आत्मसघाउ र दिगो विकासका दुई सिद्धान्तमा अडिग रहने इच्छाशक्ति, अभिलाषा वा आवश्यकताबोध नै छैन । गरिबहरूको कथा भने बेग्लै छ । कुनै भरपर्दो जागिरको अवसर वा उत्पादनका स्रोतसाधनबाट वञ्चित उनीहरू जतिसुकै मरिमेटे पनि उत्पादक बन्न सकेका छैनन् । कुरा स्पष्ट छ, जमिन नै नभएपछि मान्छेले बाली लगाउन सक्दैन । जागिर नै नभएपछि उनीहरूले काम गर्न र उत्पादन गर्नसक्दैनन् । उनीहरूमध्ये अधिकतर अल्छी छैनन् । उनीहरू वञ्चित छन् । उनीहरूलाई आत्मसघाउबारे कुनै उपदेश वा पाठ सुनाउनु पर्दैन । त्यो उनीहरूको रगतमै छ । उनीहरूलाई खालि उत्पादनका साधन वा जागिर चाहिएको छ । त्यति दिएपछि धेरै नेपालीहरू आत्मनिर्भर हुनेछन् । कसैको हौसलाको दरकार पर्नेछैन । यत्तिका कष्टबीच पनि उनीहरूले हार मान्दैनन् । एकदम निर्धनले पनि हार मानेको हुन्न । निराशा र अभावबीच, थोरैतिनो जागिर र स्रोतसाधनको कमीबीच पनि उनीहरूले जिन्दगी खोज्न छोड्दैनन् ।
विकासको अवधारणामा हेरफेर भइरहन्छ । तर, एउटा चीज अटल रहन्छ । आज नेपाली विकास पूजाको मूल नारा बनेको छ – बढ वा सड (grow or rot) । साधारण भए पनि यो नारा अत्यन्त घातक छ । इतिहासले देखाउँछ, पुँजीवादी ‘बढ वा सड’ को नारामा सबैजना बढ्न सक्दैनन् र धेरैजसो सड्छन् । यो जुवाजस्तै हो, केही मान्छे नहार्दासम्म कसैले जित्दैन । खेलको मैदान सम्म छैन । पासा पूर्वाग्रही छ, हारजीत निर्धारित छ । पिछडिएका वा लत्याइएकाहरूमाथि यसले दया गर्दैन । तिनलाई सामाजिक र आर्थिक डार्विनवादको पहाड उक्लिन नसक्ने भनेर सजिलै असफल हुनेहरूको कोटीमा राखिन्छ । खासमा, सामाजिक विकासक्रमको प्रक्रियामा विकास हुनैपर्छ । तर, समकालीन विकासको ‘बढ वा सड’ भन्ने तर्क भौतिक उपलब्धि वा मूल्यले परिभाषित हुन्छ । यसले अनगिन्ती पीडितहरू जन्माएको छ, विकासपीडितहरू जन्माएको छ । नेपाली समाजको अल्प सङ्ख्याले ठूलो फाइदा लिइरहँदा, मुठ्ठीभर हुनेखानेले धनसम्पत्ति र सामाजिक प्रतिष्ठा सोहोर्दै गर्दा धेरैजना पिछडिन पुगेका छन् । सारमा, समकालीन विकासको भतेर हुनेखाने थोरैको भोज हो । जब कि बहुसङ्ख्यक नेपालीहरू भोजको पुछारमा जुठोपुरो माग्दै बसिरहेका छन् ।
यति नै बेला सानो अमेरिका नेपालको स्नायुतन्त्रको केन्द्र काठमाडाँैमा गजधम्म बसेको छ । त्यसले अमेरिकी शक्ति र भौतिक गौरवको चमकधमक देखाइरहेको छ । फोहोरा दरबारको हाताबाहिर बस्ने नेपाली जनतालाई अपमान गर्दै खित्का छोडिरहेको छ । यसले नेपालमाथि अमेरिकी सर्वोच्चताको झलक दिन्छ । अझ महत्वको कुरा, त्यो सानो अमेरिका नेपाली सम्भ्रान्तहरूको मनमस्तिष्कमा आफ्नो विकास मिसन र भिजनको स्मार कसरी छाउने गर्छ । उनीहरूको नजरमा विकास भनेको त्यस्तै हुनुपर्छ – भौतिक सम्पन्नताको आनन्दलोक । झिँजोलाग्दो कुरा अर्को छ । सम्भ्रान्त शासकहरू पश्चिमाकरणको प्रक्रियामा कति मुग्ध छन् भने उनीहरूले आफ्नै आत्मा र बुद्धिविवेक मेटिँदै गएको, आफ्नै आत्मसम्मान र नैतिकता खस्किँदै गएको पत्तो नपाएझैँ देखापर्छ ।
हालसालै भारतीय धनीमानीहरूको वर्तमान रवैयाबारे अर्जुन जोशीले टिप्पणी गरे । उनले लेखे, ‘आजका सम्पन्न भारतीयहरूबीच एउटा श्वैरकल्पना लोकप्रिय छ । उनीहरू अमेरिकी कर्पोरेसनहरूले भारतलाई आफ्ना सपनाहरू पूरा गर्न र सुख हासिल गर्न सघाएर महत्वपूर्ण भूमिका खेलेको ठान्छन् । यस्ता श्वैरकल्पनाहरूले यो सानो धनाढ्य जमातलाई यस क्षेत्रमा आफ्नो जिम्मेवारीबाट भाग्न सघाउँछन् ।’ यो कुरा नेपाली धनाढ्यहरूको हकमा पनि सोह्रै आना सही देखिन्छ ।
अब निष्कर्षतिर लागौँ । नेपालका सम्भ्रान्त शासकहरू आफ्ना नागरिक र राष्ट्रिय पहिचानप्रतिको आफ्नो सामाजिक जिम्मेवारीबाट पन्छिएका छन् । विकासको माध्यमबाट त्यो सानो अमेरिकाको अपमानजनक बिम्ब साकार तुल्याउने आफ्नो प्रयासले नेपालको राष्ट्रियताको अवमूल्यन गरेकोमा उनीहरूको चासो नभएझैँ देखिन्छ । अहंकारी मुद्रामा नेपालको मुटुमै उभिएको त्यो अमेरिकाले नेपाली र अमेरिकीहरूबीच भौगोलिक र सांस्कृतिक विभाजनमात्र गर्दैन । बरु त्यो त धनी र गरिबबीच, शक्तिशाली र शक्तिहीनबीच तथा प्रभुत्वशाली र आश्रितबीचको धारिलो सामाजिक विभाजनरेखा हो । यो कुरा नेपाली सम्भ्रान्त शासकहरूले मनमा राखेका छैनन् । राष्ट्रवादलाई रैथाने विकासको शक्तिशाली आधारभूमि बनाउनुको साटो, पश्चिमा मूल्यमान्यताका घातक शक्तिहरूविरुद्ध अडान लिनुको साटो उनीहरूले जानाजान सानो अमेरिकाको हाताभित्र झल्किने पश्चिमाकरण र त्यसको उपभोक्तावादी संस्कृतिको बिक्रेता वा बिचौलियाको रूपमा दलाल बनी सेवा गर्ने बाटो समातेका छन् । यी सबथोक विकासको नाममा भइरहेको छ । समाप्त
प्रस्तुति : रमेश
Leave a Reply