भर्खरै :

दसैँमा महामारी नभुलौँ ! स्वास्थ्य मापदण्ड पालना गरौँ

काठमाडौँ, १९ असोज । दसैँ नजिकिएसँगै हिजोआज बजारमा चहलपहल निकै बढेको छ । तर, भिडभाडमा जाँदा पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डप्रति मानिसहरूको बेवास्ता पनि उही गतिमा बढिरहेको छ । सडकमा मास्क लगाउने मानिसको सङ्ख्या क्रमशः पातलो बन्दै गएको छ । आपसी दुरीको कुरा सर्वसाधारणले निकै चाँडै बिर्सेका छन् । त्यसो त कोभिड–१९ को सङ्क्रमण दर न्यून हुँदै गएको सरकारी तथ्याङ्कले देखाएको छ । तर, दैनिक औसत एक हजारको दरमा मानिस कोभिडबाट सङ्क्रमित हुनु पनि जोखिम कम हुनु होइन । अस्टे«लिया, चीन, बेलायतजस्ता देशमा एउटा सहरमा एकाध मानिसमा मात्र कोभिड पहिचान भए रोकथामका उपाय सघनरूपमा अघि बढाइने गरेको छ । चीनको हुनान र क्वानचाओ प्रान्तमा गत महिना केही मानिसमा सङ्क्रमण पुष्टि भएसँगै युद्धस्तरमा सरकारी संयन्त्रले काम गरेको थियो । खोप दिने क्रम ती सहरमा बाक्लो र तीव्र बनाइएको थियो । अधिकांश देशहरू आफूलाई कोभिड–१९ सङ्क्रमणमा शून्य बनाउने दौडमा लागेका छन् । तिनको तुलनामा नेपालको बेवास्ता र हेलचक्र्याइँ डरलाग्दो छ । खोप लगाउनेको दर नेपालको भन्दा निकै उच्च रहेका देशहरूले समेत अझै कोभिडलाई खतराको रूपमा लिइरहेको अवस्थामा नेपालमा यसलाई सामान्य ठान्दा परिणाम भयावह हुनसक्छ ।
सरकारी निकाय र स्वास्थ्य संस्थाहरूले कोभिडप्रतिको सजगतालाई औपचारिकतामा मात्र सीमित राखेका छन् । सरकारले झाराटार्ने हिसाबले मात्र कोभिडलाई लिन थालेपछि सर्वसाधारणले पनि यसप्रति बेवास्ता गरेको अथवा सामान्यरूपमा लिन थालेका छन् । भिडभाड हुने सार्वजनिक गतिविधि महासङ्क्रामक हुने गरेको विगतको अनुभवको आधारमा सर्वसाधारणले अझै पनि भिडभाड नगर्ने र आपसी दुरी कायम गर्ने तथा कोभिडको प्रतिरोधमा हाल पालना हुँदै आएका मापदण्डको पालनालाई निरन्तरता दिन जरुरी छ ।
भारत र संरा अमेरिकामा स्वास्थ्यविज्ञहरूले कम्तीमा यो वर्ष सन् २०२१ सम्म मास्क लगाउने, आपसी दुरी कायम गर्नेजस्ता मापदण्ड पालना गर्नुपर्ने बताएका छन् । कोभिडका नयाँ भेरियन्टको जोखिम कम गर्न संसारका केही देशले तेस्रो मात्रा खोप पनि लगाउन थालेका छन् । यी सबै दृश्य नियाल्दा अझै पनि हामी कोभिडको जोखिमबाट मुक्त भइसकेका छैनौँ । सुुरुको चरणमा बढी भय हुँदा कोभिडबाट थप क्षति भएको थियो भने अहिले बेवास्ताको कारण अर्को क्षति हुनसक्ने सम्भावनाप्रति आँखा चिम्लन सक्दैनौँ ।
खतरा र जोखिम कायम नै भएकोले चाडपर्व वा कुनै पनि बहानामा जनताले स्वास्थ्य मापदण्ड पालनामा बेवास्ता वा उदासिनता देखाउन मिल्दैन । कोभिड अब भय र सन्त्रास होइन, सजगता र जिम्मेवारी बन्नुपर्छ । कोभिडका पुनरागमन वा अन्य कुनै पनि त्यस्ता नयाँ सङ्क्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राखी कतिपय स्वास्थ्य मापदण्डलाई दैनिक जीवनको हिस्साकै रूपमा निरन्तरता दिँदा हामी सुरक्षित हुनसक्छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *