हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
(एमसीसीको ५० करोड अमेरिकी डलर विवादित भइरहँदा नेपालको शासक, खानदानी, सम्भ्रान्त वा एलिट वर्ग अमेरिकी ‘अनुदान’ को बचाउमा न्वारनदेखिको बल लगाएर मैदानमा उत्रेको छ । यो देशघाती एलिट जत्थामा केही नेता, पूर्वसचिव, पत्रकार, वकिल, विज्ञ र बुद्धिजीवीहरू पनि छन् । विदेशी सहयोगको मामिलामा यो नौलो घटना होइन । विदेशी सहयोगले गिजोलेको नेपाल र नेपालीको दशा बुझ्न नन्दराज श्रेष्ठको ‘इन द नेम अफ डिभेलपमेन्ट ः अ रिफ्लेक्सन अन नेपाल’ नपढी नहुने पुस्तक हो । अहिले प्रत्येक नेपालीको लागि यो एउटा आँखा खोल्ने पुस्तक बन्न पुगेको प्रतीत हुन्छ । यहाँ सोही पुस्तकको एक अंशको भावानुवाद प्रस्तुत गरिन्छ । – अनुवादक)
के पश्चिमाहरू नेपालमा (सामाजिक) क्रान्तिका एकमुष्ट शत्रु बन्न सक्छन् ? पश्चिमा सहयोग र एजेन्टहरूले नेपाली मनोदशामा कति चोट पु¥याएका छन् ? के नेपाली शासक वर्ग विदेशी सहयोगबेगर टाट पल्टिनेछ ? के जनता क्रान्तिमा सहभागी हुने हदसम्म आक्रोशित छन् ?
विदेशी सहयोग नै नेपाली अर्थतन्त्र र शासक खलकहरूको मेरुदण्ड रहिआएको छ । सन् १९५० यता नेपालको प्रत्येक शासक तप्काले विदेशी सहयोग दुहेर आफ्नो दुनो सोझ्याएका छन् । एमालेको नौ महिने (सन् १९९४–१९९५ को) अल्पमत सरकारले समेत त्यसै गरेको थियो । सन् १९९४ मा नेपालमा ३०२ वटा विदेशी सहयोगप्राप्त परियोजनाहरू चलिरहेका थिए । त्यसमा विदेशी खर्चमात्र झन्डै ८० प्रतिशत थियो । यसबाट नेपालमा विदेशी सहयोगले कति गहिरो जरा गाडेको छ भनी थाहा हुन्छ । तैपनि, विदेशी सहयोगको ठूलो भाग विभिन्न निहुँमा दाता देशमै फर्किन्छ । हालसालै यूएसएड (अमेरिकन सहयोग) को दस्तावेजले पुष्टि गरेको छ, “झन्डै ८० प्रतिशत विदेशी सहयोगको रकम अमेरिकामै फर्किन्छ ।” नेपालमा पनि यो तथ्य लागू हुन्छ । २० प्रतिशतमात्र नेपालमा रहन्छ र त्यसको थोरै थोपामात्र गरिबहरूसम्म पुग्छ ।
विदेशी सहयोगको परिपाटीमा यो नौलो कुरा होइन । विदेशी सहयोगको राजनीतिबारे केही विषय उठ्छन् । पहिलो, मगन्ते देशका शासक खलकमात्र बढ्दो विदेशी सहयोगमाथि देशलाई परनिर्भर बनाउनमा दोषी छैनन् । पश्चिमा दाताहरू पनि उत्तिकै दोषी छन् । सहयोग पाउने देशले जसरी पनि विदेशी सहयोग पाओस् भनेर उनीहरू जस्तोसुकै कुकर्म गर्न पनि पछि पर्दैनन् । नेपाललाई विदेशी सहयोग दिन उनीहरू लालायित छन् भन्ने कुराबारे सरकारी अधिकारीहरू जानकार हुन्छन् । त्यसैले कहिलेकाहीँ उनीहरूले त्यस्ता परियोजनालाई अलि समयसम्म रोकेझैँ स्वाङ पार्छन् । आफूहरूले ढिलो गर्दैमा विदेशी एजेन्सीहरूले प्रस्ताव फिर्ता लग्नेछैनन् भन्नेमा उनीहरू ढुक्क हुन्छन् ।
दुवै पक्षलाई किन हलो अड्किन्छ भन्ने थाहा हुन्छ । यो विदेशी सहयोग एजेन्सीहरूबाट सकेसम्म धेरै निजी फाइदा लिने राजनीतिक दाउपेच हो । यस्ता एजेन्सीमा गैरसरकारी संस्था र आयोजनाका ठेकेदारहरूको पनि मिलेमतो हुन्छ । यस्तो बाधा फुकाउन विदेशी सहयोग एजेन्सीहरूले नियमितरूपमा सरकारी अधिकारीहरूलाई घूस खुवाइरहन्छन् । यसको एउटै लक्ष्य विदेशी सहयोग आयोजनाहरू नेपाल सरकारबाट अनुमोदन गराउनु हुन्छ । यसप्रकार प्रत्येक सहयोग कार्यक्रममा कुनै न कुनै किसिमको घूस लुकेको हुन्छ । घूस लिने नेपाल सरकारका अधिकारीहरूका छोराछोरी वा नातागोतालाई अमेरिका वा बेलायतमा छात्रवृत्ति वा त्यस्तै कुनै सहुलियत दिने चलन सामान्य छ । कहिलेकाहीँ ती अधिकारीका छोराछोरी वा नातागोतालाई अकुत ज्याला आउने नोकरी दिने गरिन्छ । उदाहरणको लागि संरा अमेरिकाका लागि एकजना नेपाली राजदूतले आफ्नी छोरीलाई एउटा अमेरिकी विकास परामर्शदाता कम्पनीमा काम दिलाएका थिए । त्यो कम्पनीलाई नेपालमा यूएसएड परियोजनाको ठेक्का दिलाएकोमा पुरस्कार पनि दिइएको थियो । कहिलेकसो विदेशी एजेन्सीहरूले सस्तोमै आफ्नो परियोजना पास गराउँछन् । यसको लागि नेपाली सरकारका उच्च अधिकारीहरूलाई डाकेर चिटिक्कको भव्य भोज वा पार्टी गरिन्छ । उनीहरूलाई ब्ल्याक लेबलजस्ता ब्रान्डका रक्सी र अमेरिकी वा बेलायती सिगरेटका केही डिब्बा दिइन्छ ।
पश्चिमा एजेन्टहरूले किन यस्तो भ्रष्ट आचरण देखाउँछन्, किन सजिलै भ्रष्टाचारमा सहभागी हुन्छन्, ताजुब लाग्छ । जब कि उनीहरूले बाहिरफेर आफूलाई भ्रष्टाचारविरोधी सज्जन देखाइरहेका हुन्छन् । उनीहरूले त्यसो किन गर्छन् भने विदेशी सहयोग पश्चिमा विकास अयोग्य एजेन्टहरूका लागि रोजगारीको स्रोत हो । हानककको अध्ययनअनुसार धेरैजसो घटनामा गोरो छाला नै उनीहरूको एकमात्र योग्यता हुन्छ । यसको बदलामा उनीहरूले मोटो तलब र विलासी जीवनशैली बिताउँछन् । विदेशी सहयोगको ८० प्रतिशत रकम विदेशमै किन जान्छ भन्ने कुरामा अब आश्चर्य रहन्न । सहयोगको रकम दिने गोराहरूले नेपालीहरूले भन्दा मोटो तलब खान्छन् । त्यसैले तिनीहरू विदेशी सहयोग दिन लालायित हुन्छन् र प्रस्तावमा सरकारी मोहर लगाउन नेपालका सरकारी अधिकारीहरूलाई घूस खुवाउँछन् । यस्तो परस्पर भ्रष्टाचारबाट पश्चिमा दाता एजेन्टहरूले आफूलाई रोजगार दिलाउँछन् र नेपालका शासक सम्भ्रान्तहरूलाई सत्तामाथि कब्जा जमाइराख्न मद्दत गर्छन् । पश्चिमा दाताहरूले नेपालजस्तो देशको आन्तरिक मामलामा लगाम खुकुलो बनाउनसक्ने कुनै पनि सामाजिक क्रान्तिको तीव्र विरोध गर्छन् ।
विदेशी सहयोगको दोस्रो पक्षबारे त्यति चर्चा हुन्न । यो पक्ष पश्चिमा एजेन्ट र रैथाने जनताप्रतिको तिनको औपनिवेशिक व्यवहार हो । नेपालमा मैले अनेक अमेरिकी विकास सल्लाहकार र विज्ञहरूलाई भेटेको छु । एकजना रेक्स नामका सल्लाहकार थिए । उनीसँगको अनुभवबाट मैले पहिलोचोटि कसरी नेपाली सम्भ्रान्तहरूले आफ्नो रिस दबाउँछन् र आफ्नै देशभित्र पश्चिमाहरूको पुच्छरजस्तै व्यवहार गर्छन् भन्ने थाहा पाएँ । यसो गरेर उनीहरूले जनक्रान्तिको सम्भावना पन्छाइरहेका हुन्छन् । यो सब उनीहरूले आफ्नो भौतिक फाइदा वा खोक्रा सुविधाहरूको लागि गर्छन् ।
चितवनको रामपुरको घटना हो । रेक्सलाई मैले त्यहीँ भेटेको थिए । ऊ त्यहाँ कृषि तथा पशु विज्ञान क्याम्पसमा यूएसएड परियोजनाको टोली नेता थियो । मेरो अमेरिकी साथी पाउलले मलाई ऊसित चिनाएको थियो । म त्यतिबेला इन्डियाना विश्वविद्यालयमा पीएचडी गरिरहेको थिएँ र रामपुरमा फिल्डको काम गर्दै थिएँ । पाउलले म ऊसित सँगै बसेको पनि बताइदियो । रामपुरमा मेरो बसोबासबारे सुनेर रेक्सले अप्ठ्यारो व्यवहार ग¥यो । उसको अनुहारमा यो कुरा झल्किन्थ्यो ।
रेक्स गजबको पात्र थियो । रामपुरमा उसले कसरी बसिबियाँलो गथ्र्यो कुन्नि । उसको काम धेरै थिएन । रेक्स र अन्य अमेरिकी सल्लाहकारहरूलाई नेपालीहरूको जीवनस्तर उठाउन नेपाली जनतासँगै मिलेर काम गर्न पठाइएको थियो । तर, उसले त्यस्तो कोटीको केही काम गरेको थिएन । म आठ महिनासम्म रामपुर बसेको थिएँ । त्यसबीच उसले नेपाली नोकरचाकरसँग कुराकानी गरेको वा रामपुर बजार गएको कहिल्यै देखिन । बजार ऊ बस्ने घरभन्दा ५०० मिटरको दूरीमा थियो । केही मान्छेले मलाई बताए, रेक्सभन्दा पहिले आउने जर्जले रामपुरलाई असभ्य वा बर्बर जातिले घेरिराखेको बस्ती भन्थ्यो । अमेरिका पुगेपछि उसले भनेछ, “अब सभ्य संसारमा आइयो ।” रेक्सले पनि रामपुर र त्यहाँका बासिन्दालाई त्यस्तै देखेको हुनुपर्छ ।
रामपुरमा रेक्सको क्रियाकलाप उसको अफिस र क्वाटरमै सीमित थियो । ऊ खालि आफ्नै नेपाली कामदार र कलेजका प्रशासकहरूसँग व्यवहार गथ्र्यो । यस्तो व्यवहार एकदम अनौठो थियो किनभने उसलाई ग्रामीण जनता वा किसानहरूको जीवनस्तर उकास्ने परियोजनाको मुख्य जिम्मेवारी दिइएको थियो । परियोजना सीधै क्याम्पससँग सम्बन्धित थियो । खेतीपातीलाई आधुनिक बनाउन अहम् भूमिका खेल्नु त्यसको उद्देश्य थियो । त्यसले कृषि एजेन्टहरू तयार गर्नुपर्ने थियो । ती एजेन्टहरू सिद्धान्त र व्यवहारमा पोख्त हुनुपर्ने थियो । त्यस्ता एजेन्टहरूले स्थानीय किसानहरूलाई सघाउनुपथ्र्यो । उसले स्थानीय किसानहरूप्रति देखाएको रुखो व्यवहारले गर्दा रेक्सले उसको परियोजनाले सुम्पेको जिम्मेवारी कसरी पूरा गर्ला भन्ने लाग्यो । कसरी उसले दक्ष कृषि एजेन्टहरू तयार गर्ला, किसानको जीवन माथि उठाउला भन्ने प्रश्नले सतायो ।
काठमाडाँै वा नारायणगढसम्म जानुपर्दा मात्र रेक्स आफ्नो निवासबाहिर निस्केको देखिन्थ्यो । ताजा तरकारी लिन ऊ २० माइल टाढा पर्ने नारायणगढ बजारसम्म पुग्थ्यो । नत्र प्रायः तरकारी किन्ने काम पनि उसका नेपाली नोकरहरूले गर्थे । अमेरिकीहरूका धेरै खानेकुरा र घरायसी सामान पनि सीधै काठमाडौँको अमेरिकी अफिसबाट आउँथ्यो । ऊ नियमितजसो सपरिवार काठमाडौँ जान्थ्यो । काठमाडौँ सभ्य संसारको नजिक थियो र ऊ त्यही सभ्य संसारको रहनसहनमा भिजेको थियो । रेक्सको घटना अरूको भन्दा फरक थिएन । सबै पश्चिमा सल्लाहकारहरूको व्यवहार प्रायः उसको जस्तै हुन्थ्यो । रैथाने जनताप्रति सबैको व्यवहार त्यस्तै थियो । हानककले आफ्नो पुस्तक ‘गरिबीका मालिक’ (लर्ड अफ पभर्टी) मा यस्तो लेखेका छन् –
हालै एउटा दुर्भाग्यपूर्ण घटना घट्यो । एउटा यूएसएड मिसनमा इन्डोनेसियाको राजधानी जकार्तामा बस्ने एकजना वरिष्ठ अधिकारी गाउँ गए । उनी दुर्गम गाउँमा कुपोषित बालबालिकाका आमाहरूलाई सघाउने एउटा परियोजनाको निरीक्षण गर्न गएका थिए । त्यहाँ पुग्दा उनलाई आमा र तिनका बच्चाहरूको ठूलो जत्थाले स्वागत ग¥यो । उनीहरूले सकेसम्म राम्रो लुगा लगाएका थिए । सकेसम्म मीठो खाना बनाएर उनीहरूले ती विदेशीलाई स्वागत गर्न चाहेका थिए । टेबुलभरि खाना राखिएको थियो । तर यूएसएडका ती अधिकारी आफ्नो कारबाट बाहिर निस्किनै मानेनन् । उनले “त्यस्ता मान्छे” पकाएको खाना “कुनै पनि हालतमा” नखाने बताए । एकजना कनिष्ठ साथीले उनलाई एक कप चिया भए पनि पिउन भन्दा पनि उनले अस्वीकार गरे । उनले साथीलाई अ¥हाए, “तिमीले गएर ती अमेरिकी सज्जन आफ्नो काममा व्यस्त छन् भनिदेऊ ।” जकार्ताबाट त्यो गाउँमा आउनजान उनलाई जम्माजम्मी तीन दिन लागेको थियो । तर, गाउँमा उनले मात्र एक घण्टा बिताए । उनले कुनै पनि गाउँलेसँग कुरा गरेनन् ।
माथिको उदाहरणले रेक्सको रवैया र व्यवहार पनि झल्काउँछ । हानककले पश्चिमा सल्लाहकारहरू कसरी विकास परियोजनाले दिने भौतिक वस्तुप्रति कति मोहित हुन्छन् र स्थानीय स्टाफले ती वस्तु प्रयोग गर्न खोजेमा कस्तो व्यवहार गर्छन् भन्नेबारे लेखेका छन् । उनी लेख्छन्, “एकजना पश्चिमा परामर्शदाता एउटा गाउँमा गए । उनले त्यहाँ राखिएका स्थानीय कर्मचारीले परियोजनाका गाडीहरू प्रयोग गरेकोमा गुनासो गरे । यस्तो व्यवहारले ‘सहकार्यको वातावरण बिगारेको’ बताए । उनले गाडीहरू विदेशी सल्लाहकारहरूको लागि मात्र हो भने ।” उनको व्यवहारबाट पश्चिमा सल्लाहकारहरूले रैथाने जनतालाई कुन नजरले हेर्छन्, कसरी तिनले मालिक र दासको शक्ति सम्बन्ध कायम राख्छन्, आफू र रैथानेबीच कसरी दोहोरो व्यवहार गर्छन् भन्ने प्रस्ट हुन्छ । तिनीहरूको सोच नितान्त उपनिवेशी सोच हो । स्थानीय असभ्य जातिले कुन अधिकारले तिनको गाडी प्रयोग गरेको ? पश्चिमा ‘मालिक’ हरूले मस्ती गर्ने गाडीमा चढ्ने हिम्मत कसरी गरेको ? पश्चिमाहरू चिढिन्छन् ।
परियोजनाहरू त स्थानीय जनताको हितको निम्ति हुन्छ भन्ने कुरा पश्चिमा सल्लाहकारहरू बिर्सिन्छन् । विदेशी सहयोगमा आधारित आयोजनाहरूलाई उन्नतिका लागि अन्तर्राष्ट्रिय मैत्री भनिन्छ । तर, व्यवहारमा एकदम थोरै मैत्री हुन्छ किनभने मैत्रीपूर्ण सम्बन्धमा परस्पर सम्मान र समानता हुन्छ । काम र मनोदशामा पश्चिमा सल्लाहकारहरू हावी हुन्छन् । उनीहरूमा उपनिवेशी संस्कृतिको धङधङी हुन्छ । उनीहरूले रैथाने जनता र तिनको मूल्यलाई न्यूनाङ्कन गर्नुमा आश्चर्य छैन । यस्तो न्यूनाङ्कन कति चर्चित छ भने यो कुरा अप्ठ्यारो वा हाँस्यास्पद मानिन्न । रेक्स उपनिवेशी दुष्ट संस्कृति उत्तिकै फैलिँदो नवउपनिवेशी स्वरूपमा कसरी ब्यूँताइएको छ भन्ने कुराको सजीव उदाहरण हो ।
यसप्रकार रेक्स नेपालका रैथाने जनतालाई पूर्ण मानवको रूपमा हेर्न इन्कार गर्ने अनगिन्ती अमेरिकी र अन्य पश्चिमा सल्लाहकारहरूको प्रतिनिधि पात्र हो । ऊ मप्रति आक्रामक थियो । मैले कुनै गल्ती गरेको भए रेक्स मेरो साथी पाउलसँग रिसिने थियो । त्यसैले म ऊप्रति नम्र भइरहेँ । तर मेरो सावधानीले काम गरेन । पाउल र रेक्सको सम्बन्ध बिग्रियो । भूल पहिल्यै भएको रहेछ । मैले पछि मात्र बुझेँ । रेक्सले पहिले नै पाउलविरुद्ध मोर्चा कसिसकेको रहेछ । काठमाडौँ बस्ने अन्य विज्ञहरूबीच उसले पाउलको पेशेवर इमानदारीबारे चुक्ली लगाउन थालिसकेको रहेछ । पाउललाई अछुत बनाइएको रहेछ । आफ्नै जातिलाई धोका दिने र अमेरिकी सल्लाहकारको स्वघोषित सर्वोच्चता र अब्बल व्यवहार बिटुल्याउने व्यक्तिको रूपमा पाउललाई चित्रण गर्न थालिएको रहेछ । रैथाने बन्न पुगेको विदेशीजस्तो देखिएको थियो पाउल ।
पाउल नेपालमा कार्यरत बहुसङ्ख्यक अमेरिकी विज्ञहरूभन्दा भिन्न थियो । यो कुरा पछि मलाई अर्को अमेरिकी सल्लाहकार बिलले बतायो । बिलले ग्रामीण विकासको विज्ञको रूपमा यूएसएडमा काम गर्दा उसको योग्यता एक पीस कोर स्वयम्सेवकको मात्र थियो । बिल पनि पाउलसँग कुनै पेशागत वा व्यक्तिगत सम्बन्ध बनाउन चाहन्नथ्यो । मलाई बराबरीको व्यवहार गरेर, मलाई यूएसएडले दिएको घरमा राखेर र क्याम्पसभित्र र बाहिर सधैजसो नेपाली जनतासँग गफिएर पाउलले सानो अमेरिका वा फोहोरा दरबारको चहकिलो बिम्बलाई धुलिसात पारेको थियो । उसको व्यवहार ‘असामान्य’ थियो र बाँकी अमेरिकीहरूभन्दा एकदम फरक थियो ।
स्थिति जटिल थियो । त्यसैले म रेक्सबाट बच्दै हिँड्न थालेँ । तर, क्याम्पसको हाता सानो थियो । एक दिन हाम्रो जम्काभेट भयो । मैले रेक्ससँग रुखो नबन्ने निधो गरेको थिएँ । त्यसैले मैले उसलाई हेलो भनेँ । उसले उत्तर दिएन । मैले नौलो मानिन किनभने पहिले पनि उसले मलाई बेवास्ता गरेको थियो । बरु, उसले केही नबोली मलाई घृणाको नजरले हे¥यो । म रन्थनिएँ । मेरो पारो तात्यो । तैपनि, मैले ओँठ बन्द गरेँ र फेरि एकचोटि आफ्नो आक्रोश दबाएँ । चुपचाप म आफ्नो बाटो लागेँ । हिँड्दै गर्दा मेरा नशाहरू कामिरहेका थिए र मुटुको ढुकढुकी बढेको थियो ।
मेरो आक्रोश मत्थर भएपछि एउटा प्रश्नले थिचिरह्यो, उसले मलाई मेरै देशमा कसरी अपमान गर्नसक्छ ? उसलाई मेरो देशमा पाहुनाको रूपमा स्वागत गरिएको थियो, तर अहिले उसले मालिकको जस्तो व्यवहार गर्दै थियो । मेरो आक्रोश निजी थिएन । न त त्यो एउटै घटना थियो । यस्तो तीतोपीरो भोगिरहनुपर्छ । रेक्स र म दुई विपरीत मनोदशाका उदाहरण हौँ । रैथाने जनतालाई अपमान गर्ने र राक्षसीकरण गर्ने मालिक–दास सम्बन्धको दुई विपरीत किनार हौँ । यसमा पश्चिमाहरू मालिक बन्छन् र रैथानेहरू दास बन्छन् । रेक्सको उपनिवेशी व्यवहारबाट उपनिवेश बनाइएका देशका जनताभन्दा हामी त्यति फरक ठानिन्नौँ भन्ने स्पष्ट हुन्छ । त्यसैले जतिसुकै पढेलेखेको भए पनि वा देशको सीमारेखा जति नै बलियो भए पनि धेरैजसो नेपालीले आफ्नो स्वाभिमान र इमान जोगाउन सक्दैनन् । उनीहरूको लागि राष्ट्रियता एउटा श्राप र अशिष्टता हो । जब कि पश्चिमाहरूको लागि तिनको गोरो छाला नै शक्ति र विशेषाधिकारको चिह्न हो । रेक्सजस्ता अमेरिकी सल्लाहकारहरूले अमेरिकामै पढेको, नेपाल फर्किन सक्ने, सरकारी उच्च ओहोदामा जागिर खान सक्ने र रेक्सले जस्तै विदेशी सहयोग परियोजनाहरूको भाग्य निर्धारित गर्न सक्ने नेपालीलाई बिनाकारण दुव्र्यवहार गर्नसक्छन् भने तिनले साधारण नेपालीलाई कस्तो व्यवहार गर्लान् ? धेरै नपढेका वा तिनको काम गरिदिने नेपालीजनलाई उनीहरूले गर्ने व्यवहार हामी अनुमान गर्नसक्छौँ । वास्तवमा त्यस्तो कल्पना गर्नुपर्दैन । पश्चिमा र रैथाने जनताबीचको शक्ति सम्बन्ध नियालिरहेको जोकोहीले पश्चिमाहरूले नेपालीहरूमाथि गर्ने अपमान र तिरस्कार अनुभव गर्नसक्छ । रेक्स यो उपनिवेशी संस्कृतिको नाटकमा एउटा जिउँदो पात्र हो । विश्वभरि पश्चिमा सहयोग र विकासको नाममा यो नाटक मञ्चन गरिन्छ ।
रेक्सको व्यवहारले अर्को गम्भीर प्रश्न उठाउँछ । पश्चिमाहरूले यति घिनाउने जनतालाई कसरी सहयोग गर्नसक्छन् ? उनीहरूले सहयोग गर्नसक्छन् भनी कल्पनै गर्न सकिन्न । प्रत्येक नेपालीले यो प्रश्नबारे घोत्लिनुपर्छ । पश्चिमा पैसा, पश्चिमा परियोजना र पश्चिमा सल्लाहकारहरू कुन मूल्य वा परिणाम ल्याउन भित्र्याइन्छ ? हाम्रो भाग्य र देशमाथि मालिकले जस्तै व्यवहार गरिरहँदा तिनले वास्तवमा कसको सेवा गरिरहेका छन् ? त्यसैले मेरो नेपाली साथी भन्छ – पश्चिमाहरू नेपाली जनताका साझा शत्रु हुन्, तिनलाई देशबाट खेद्नुपर्छ ।
अनुवाद : रमेश
Leave a Reply