भर्खरै :

ईश्वर, धर्म र सृष्टि

ढुङ्गामा अक्षर देख्दैमा, के हुन्थ्यो पुष्टि, अड्कल !
मान्छेको कल्पना र भयबाट ईश्वर र धर्मको सुरुवात भयो । उसले चेतनाको स्तर, वस्तुस्थिति र समयअनुसार ईश्वर र धर्मको सिर्जना ग¥यो । समय बित्दै जाँदा मान्छेको लागि यी दुवै सामाजिक बन्धन, आशा, निराशा र ठूलो भारको रूपमा स्थापित भए । ईश्वर र धर्म नहुने हो भने मान्छे साँच्चिकै स्वतन्त्र हुनसक्थ्यो । धार्मिक जञ्जालमा फसेर उसका सिर्जनात्मक क्षणहरू त्यसै बरबाद भइरहेछन् ।
प्रायः सबै धर्मले ईश्वरको कल्पना गरे । ईश्वर हुनुको प्रमुख गुण ‘अदृश्य’ हुनु हो भन्ने तर्क पनि अघि सारे । तर कुनै पनि धर्मले ईश्वर छ भन्ने प्रमाण दिन सकेको छैन । ईश्वरले सृष्टि ग¥यो त भनियो तर सृष्टिका प्रकिया, चरण, विकास र यथार्थता भने कतैबाट पुष्टि हुन सकेको छैन । केवल ईश्वर र सृष्टिको बारेमा तर्क नगरेर ‘अदृश्य’ र ‘अलौकिक’ शक्तिबाट संसार चलिरहेछ भन्नु समयलाई पछि धकेल्न खोज्नुमात्र हो ।
सृष्टिका कल्पना प्रायः सबै धर्ममा कथानक रूपमा प्रस्तुत गरिएका छन् । फितला कथाहरू सुष्टिका आधार हुनसक्तैनन् ।
धर्मशास्त्रहरूको मतमा ईश्वर उपास्य हुन्छ । ईश्वरको अस्तित्व प्रमाणित गरिरहन जरुरी छैन भन्ने धर्मशास्त्रहरूको मत छ । ईश्वर अनिवार्य सत्ता हो र सर्वज्ञ र प्रज्ञावान पनि छ भन्ने उनीहरूको भनाइ छ । कुनै पनि सत्ता कुनै गुणविना रहन सक्तैन र गुणविना कुनै पदार्थ सम्भव हुँदैन । ईश्वरमा पनि केही सर्वाेच्च गुणहरू भएकाले अनिवार्य सत्ता र उपाय सम्झिएको हो भन्ने उनीहरू मान्दछन् ।
तान्त्रिक दृष्टिकोणअनुसार ईश्वरलाई आध्यात्मिक अनन्त, सर्वशक्तिमान, नित्य तथा निरपेक्ष सम्झिन्छ । धार्मिक दृष्टिकोणबाट भने ईश्वरलाई व्यक्तित्वपूर्ण, सृष्टिकर्ता, अनन्त, सर्वशक्तिमान, सर्वज्ञ, सर्वव्याप्त, शुभ–शिव, सहानुभूतिशील, कृपालु तथा पवित्र मानिएको छ । ईश्वरको सम्बन्धमा व्यक्त ती विचारहरू कतै प्रमाणित भने भएका छैनन् ।
उपास्य विषय सबै दृष्टिकोणबाट उत्कृष्ट हुनुपर्ने हो र सबै वस्तुभन्दा श्रेष्ठ प्रमाणित हुनुपर्ने हो तर ईश्वर त्यसरी प्रमाणित भएको छैन । ईश्वरलाई अधिक विशेषण दिइयो तर, त्यो कतैबाट पुष्टि हुन सकेको छैन । जस्तो कि ईश्वरलाई सबै मान्छेको पिता भनियो । पिता त शारीरिक गुणले हुन्छ भावनामा हुँदैन । पिता जवान र बूढो पनि हुन्छ, तर ईश्वर त्यस्तो हुँदैन । पिता मर्छ पनि तर ईश्वरलाई सर्वकालिक र सर्वज्ञ बनाइएको छ । फेरि ईश्वरको अस्तित्वलाई मान्छेले जीवनमा पुष्टि गर्न नसकेर मृत्युपछिका कुराहरू दर्शाउँदै ईश्वर छ भन्ने कुरा फलाको हालेको छ । जीवनबाट पुष्टि गर्न नसकेपछि मृत्युपछिका कल्पनाहरूले ईश्वर पुष्टि गर्न खोज्नु भ्रम फैलाउनुमात्र हो ।
प्राणी, मान्छे र संसारको सृष्टि, विकास र यथार्थता प्राकृतिकरूपमा घटित प्रणाली अनुसार चलिरहेछ । हरेक धर्मले मानव मूल्य र जगत्को अवस्थितिलाई फरक फरक ढङ्गले व्याख्या गरेका छन् । सृष्टि, धर्म, पाप, स्वर्ग, पुण्य, मोक्ष आदिलाई आ–आफ्नै ढङ्गले बयान गर्नु सत्य नजिक नपुग्नु हो । सत्ता सबैको दृष्टिमा एकै हुनुपर्छ र हुन्छ पनि । घामलाई सबैले उज्यालोको रूपमा देख्ने हो, कसैले अँध्यारोको रूपमा देख्ने प्रश्न नै उठ्दैन । प्राणीको गर्भाधान, जन्म, जीवन र मृत्यु एकै किसिमको हुनेमा फरक–फरक ढङ्गले परिभाषित गर्नुको औचित्य के छ र ?
हिन्दू र इसाई धर्मग्रन्थहरूमा लेखिएको छ – सृष्टि अघि नै पानी थियो । इस्लाम धर्मले भन्छ– सृष्टि अघि पृथ्वी, आकाश र पानी थियो । यी सबै परस्परविरोधी तर्क छन् । सृष्टि अघि नै पानी, आकाश र पृथ्वी हुनु भनेको सृष्टिको अस्तित्व रहिसक्नु हो । सृष्टि भइसकेको प्राकृतिक अवस्थालाई ईश्वरले सृष्टि गरे भनेर धर्महरूले फलाको हाल्नु अफवाह फैलाउनुमात्र हो ।
धर्म ग्रन्थहरूले संसारको सृष्टि गर्न, विकास गर्न र सञ्चालन गर्न फरक फरक मान्छेहरू संसारमा आए र पछि देवता बने भन्ने उल्लेख गरेका छन् । यी सबै धर्महरूमा लाग्ने वा प्रवर्तन गर्नेहरूका तर्कमात्र हुन् । हरेक धार्मिक समूहले आफ्नै समूहको ईश्वर कल्पना ग¥यो, सृष्टिको कल्पना ग¥यो र ईश्वरको अवतारको पनि कल्पना ग¥यो । सबै धर्म मान्नेहरूको संसार एउटै छ तर, एक पनि धर्मले र अर्काे धर्मले फरक समय र फरक प्रकियाद्वारा सृष्टि भएको र आफूले भनेको ईश्वर र देवता नै सर्वाेच्च भएको दाबी गर्छ ।
हिन्दूहरू सनातन वैदिक धर्मका श्रुति, स्मृति, वेद, उपनिषद्, भागवत् गीता, पुराण आदिसहित भविष्य पुराणलाई प्रमुख मान्दै सम्पूर्ण पुराणहरू व्याँसले सङ्कलन गरेका हुन् ती सबै ग्रन्थ र संसारका वास्तविक रचनाकार त स्वयम् ईश्वर हुन् भन्दछन् ।
इस्लाम धर्मावलम्बीहरू इस्लाम धर्मका ग्रन्थ पवित्र कुरानको वर्णन गर्दै कुरानलाई सम्पूर्ण गुणले परिपूर्ण इस्लाम कानुन सरिअत र मुहम्मदका वाणी उपदेश अभ्यास आदिलाई हरिसको रूपमा स्वीकार्दै अल्लाहमात्र एक ईश्वर हुन् र मुहम्मद अल्लाहका दूतका रूपमा संसारमा आए भन्दछन् ।
इसाईहरूले प्रभु क्राइष्टले नै संसारको सिर्जना, विकास र पालन गरेका हुन् भन्ने तर्क उनीहरूको धार्मिकग्रन्थ पवित्र बाइबलमार्फत प्रक्षेपण गरेका छन् ।
हिन्दूहरूको प्रसिद्ध ग्रन्थ श्रीमद् भगवत्गीतामा कृष्ण स्वयं भन्छन्– हे भरतवंशी अर्जुन ¤ जहाँ जहाँ र जहिले जहिले धर्मको पतन र अधर्मको उन्नति हुन लाग्छ त्यस बखत त्यस ठाउँमा मैले अवतार लिन्छु ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत
अभ्युत्थानम्धर्मस्य तदात्मानं सृजाम्यहम्
(श्रीमद्भगवत्गीता ४।७)
धर्मको काम समाजमा भ्रातृत्व, सुव्यवस्था र सहिष्णुता कायम गर्ने हो । तर, धर्माधिकारीहरू र धर्मावलम्बीहरू आ–आफ्ना धर्म नै महान् र पवित्र भन्ने ढोल पिटाइरहेछन् । अर्काको धर्मलाई भएभरका शब्द प्रयोग गरेर गालीगलौज गर्ने, आफ्नो धर्ममा भने कुनै पनि खोट छैन भन्ने प्रवृत्तिले धर्मको कारण मानव समाज नै झन् असहिष्णु र द्वेषपूर्ण बन्दै गइरहेछ ।
हिन्दूहरू, इसाइहरू र इस्लामहरूबीच एक अर्कासँग पानी बाराबारको स्थिति छ । यिनीहरूमा मौका परे फरक धर्मावलम्बीलाई भौतिक आक्रमण गर्नसम्म पछि नपर्ने प्रवृत्तिले बेलाबेलामा धार्मिक युद्धको कारण असङ्ख्य जनधनको समेत नोक्सान हुने गरेको छ । आफ्नो धर्मका अवगुणहरूलाई पर्दाले छोप्ने, अर्काको भने मुटुसमेत उधिन्ने प्रवृत्तिले संसारमा धर्म झगडाको बीउ बनिरहेछ ।
हिन्दू धर्मका ग्रन्थहरू पढ्दा थाहा हुन्छ– हिन्दू धर्मको विरुद्ध चल्नेहरूलाई सहज रूपमा चल्न दिनुहुँदैन भन्ने सन्देश । आफू अनुकूल नचल्नेलाई नास गर्नु भन्ने सन्देश पनि कतिपय शास्त्रहरूमा लेखिएको छ । महाभारतको अध्ययन गर्दा थाहा हुन्छ कि चार्वाक नामक भौतिकवादी दार्शनिकले तर्कको आधारमा निर्णयमा पुग्नुपर्छ भने । युधिष्ठिरको राज्यलिप्साको विरोध गर्दै विश्वशान्तिको आवाज उठाउँदा उनलाई राक्षस भनेर मारियो । धार्मिकरूपमा वैचारिक भिन्नता देखाउनेलाई बहिष्कार गर्नुपर्छ, उसको नजिक रहन पनि हुँदैन भन्ने भावना धर्मगुरुहरूले नै फैलाउँदै आएका छन् । स्वयं मनुस्मृतिमा लेखिएको छ कि–जो व्यक्ति तर्कको आधारमा वेद र स्मृतिहरूको विरोध गर्छ उसलाई बहिष्कार गर्नुपर्छ ।
यो .. वमन्येत ते मूले हेतुशास्त्राश्रयांद् द्धिज,
स साधुभिर्वहिष्कार्यो नास्तिको वेदनिंदक
(मनुस्मृति २।११)
मनुस्मृति भन्छ– शुद्रको राज्यमै कोही नबस्नू । वाल्मीकि रामायणमा त बौद्ध धर्मका संस्थापक बुद्धलाई चोर भन्दै दण्डनीय समेत भनिएको छ । बुद्धले वेदको विरोध गरे र ब्राह्मणमवादको विरोध गरे भनेर त्यसो भनिएको हुनुपर्छ ।
यथा हि चोर ः स तथा हि बुद्ध ः
(रामायण, अयोध्या काण्ड १०९।३४)
ब्रह्मसूत्र (२।२।३२) शङ्कर भाष्यमा शङ्कराचार्यले बुद्धलाई दुनियाँको दुश्मन भएकाले कल्याण चाहनेले बुद्धको आदर नगर्नुसमेत भनेको उल्लेख छ ।
हिन्दू धर्मग्रन्थहरूले जैनधर्मको पनि घोर विरोध गरेका छन् । पद्मपुराण, भूमिखण्ड (२।३८।२६–२७) मा जैन धर्म सारा पापले भरिएको छ, जो त्यो धर्म ग्रहण गर्छ ऊ पापी हो भनिएको छ ।
हिन्दू धर्मभित्रकै पनि एक सम्प्रदायले अर्काे सम्प्रदायलाई अनेकौँ शब्दले गालीगलौज गर्नु र अर्को सम्प्रदायप्रति छड्के आँखाले सम्म हेर्न नदिनु हिन्दूभित्रै असहिष्णुताको कालो बादल मडारिरहेको स्पष्ट हुन्छ ।
भागवत पुराणले विष्णुको प्रशंसा गर्छ र वैष्णव सम्प्रदायलाई अघि बढाउँछ । स्वयं भागवतपुराणमा लेखिएको छ कि– जो शिवको व्रत धारण गर्ने वा शिवको अनुयायी हो, ऊ सही शास्त्रको दोषी र पाखण्डी हो ।’ यसकारण मुक्ति चाहनेले शिवको डरलाग्दो मूर्ति त्यागेर नारायणको शान्त रूपको ध्यान गर्नुपर्छ ।
भवव्रतधरा ये च ये च तान् समनुव्रता ः
पाखंडिनस्ते भवस्तु सच्छास्त्र परिपन्थिन ः
(भागवतपुराण ४।२।२८)
पद्म पुराण भने शिवको प्रशंसा गर्दै विष्णुलाई होच्याउन मस्त छ । त्यसमा लेखिएको छ– विष्णुलाई नजिक देख्नु नै शिवको द्रोह गर्नु हो । शिवको द्रोह गर्ने मान्छे नरक जान्छ । यसकारण विष्णुको कामसम्म लिनुहुँदैन ।
विष्णुदर्शनमात्रेण शिवद्रोह ः प्रजायते,
शिवद्रोहान्न संदेहो नरकं यााति दारुणम्
तस्मात् विष्णुनामापि वक्तव्यं कदाचन
(पद्मपुराण)
धर्म देवतावादमा टिकेको छ । धर्ममा लागेकाहरूमा धर्मप्रति अन्धश्रद्धा छ ।
पृथ्वी र नक्षत्रको उत्पत्तिको सम्बन्धमा ऋग्वेदले परस्परविरोधी तर्क पेश गरेको छ । कतै विश्वकर्माले र कतै वृक्षले संसार सृष्टि गरेको कुरा उल्लेख छ । वृक्ष आफैँ पृथ्वीमा खडा हुन्छ भने वृक्षबाट संसार कसरी सृष्टि हुन्छ । विश्वकर्माले पृथ्वीको सृष्टि गरे भनिएको छ, तर विश्वकर्माले पृथ्वीमै नबसी कसरी पृथ्वीको सृष्टि गरे ?
शिव उपासकहरूका अनुसार पृथ्वीको उत्पत्ति शङ्करले गरे, त्यो पनि भष्मको गोलाबाट ।
विष्णुका उपासकहरू भने अर्कै कथन राख्छन्, सृष्टि सम्बन्धमा । उनीहरूका अनुसार समुद्रमा शेष नागमाथि बसिरहेका विष्णुको नाभीबाट कमल उत्पन्न भयो । कमलमा ब्रह्माजी उत्पन्न भए । त्यसपछि उनले पृथ्वीको सृष्टि गरे । ब्रह्मा कमलको फूलमाथि बसेर पृथ्वीको सृष्टि गरे भनिएको छ । ब्रह्माले आफू बसेको कमलको एक पत्र चुँडेर गोला बनाएर समुद्रमाथि फालिदिए, त्यही पृथ्वी हो र त्यो समुद्रमाथि स्थिर छ भनियो । पृथ्वीको परिधि नै पच्चीस हजार माइलको छ भने त्यो कमलको फूल कति लाख माइल चौडा थियो ? त्यो त कतै उल्लेख छैन । फेरि आज हामीलाई थाहा छ हिन्द महासागर, आन्ध्र महासागर, प्रशान्त महासागरजस्ता अनेकौँ समुद्रहरू पृथ्वीमा छन्, समुद्रमाथि पृथ्वी होइन । यसबाट के देखिन्छ भने सृष्टिको सम्बन्धमा धर्मशास्त्रहरूले कल्पनामात्र गरेका छन्, त्यो पनि अमिल्दो र कपोलकल्पित ।
सृष्टिको सम्बन्धमा वैज्ञानिक मत अर्कै छ । उनीहरूका अनुसार पृथ्वी र ग्रहहरूको उत्पत्ति दुई अरब वर्ष पहिले भयो । सूर्य एउटा बलिरहेको ग्यासको पिण्डमात्र हो । सूर्य र ताराहरू आ–आफ्नै धुरीमा घुमिरहेका बेला कुनै ताराको आकर्षण शक्तिले सूर्यको ग्यासीय (वाष्पीय) पिण्डको एक भाग बेस्सरी तान्यो । त्यो भाग सूर्यबाट छुट्टियो र टुक्राटुक्रा बन्यो । छुट्टिएको ती सबै टुक्राहरू पनि सूर्यको वरिपरि घुम्न थाले, त्यसमध्येको एक हाम्रो पृथ्वी पनि हो । सूर्य केवल वाष्पीय छ तर सूर्यबाट टुक्रिएका वाष्प पिण्डहरूले बरफ जसरी ठोस रूप धारण गरेका हुन् । तातो फलाम चिसो भएपछि जुन पाप्राहरू जम्छन् त्यही पाप्राहरू नै माटो हो, जहाँ हामी रहन्छौँ । पृथ्वीभित्र त सूर्यजस्तै तातो लेदो छ र वाफको हिस्सा पानीको रूपमा यत्रतत्र रहेको छ । प्रकृतिमा हुने गर्मी, वर्षा र शीतको क्रमले जीव र वनस्पतिको विकास पनि पृथ्वीमा भयो ।
धर्मशास्त्रहरूले कल्पना गरे । यथार्थ र प्रमाण केलाउनतिर लागेनन् । धर्मशास्त्रको विपरीत सोच्नु र नयाँ खोज गर्नु पाप हो भन्ने धर्मका ठेकेदारहरूको भनाइले मान्छे गुमराहमै बाँचिरह्यो । उसले नयाँ तथ्य खोज्नै पाएन र चाहेन पनि । यो धर्मभीरुताको अत्यन्त नकारात्मक पक्ष हो ।
(लेखकको ‘धर्मको ह्याङ ओभर’ पुस्तकको एक अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *