भर्खरै :

दसैँको मुखमा पनि भारत पलायन हुने क्रम रोकिएन

महेन्द्रनगर, २१ असोज । दसैँ–तिहारजस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ । तर कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दसैँको पहिलो दिन आज पनि मजदुरीका लागि भारत जाने धेरै भेटियो ।
कोरोना भाइरस सङ्क्रमणका कारण स्वदेश फर्किएकाहरू चाडपर्वको मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका हुन् । कोरोनाको दोस्रो लहर सामान्य बन्दै गएसँगै यहाँबाट मजदुरीका लागि बाहिरिनु बाध्यता रहेको पीडा जानेबाट सुनिन्छ । “दसैँको टीका छाडेर जाने रहर हामीलाई पनि कहाँ थियो र ¤” बिहीबार बिहान भारतको सिमला जाँदै गरेका डडेल्धुराका राजबहादुर बुढाऐरले भन्नुभयो, “छाक टार्न समस्या भए पनि के दसैँ के तिहार ।”
कोरोना सङ्क्रमण बढ्दा गत चैतमा स्वदेश आएका उहाँले गाउँमा बेरोजगार बस्दा परिवार पाल्न धौधौ भएको बताउनुभयो । दसैँ–तिहारभन्दा कोरोना सामान्य बन्दै जाँदा नोकरीका लागि भारत जाने गाउँबाट पलायन हुने क्रम बढिरहेको उहाँको भनाइ छ ।
त्यसैगरी बिहीबार बिहान भारतको हरिद्वार गइरहेका दार्चुलाका केशव जोशीको पनि पीडा उस्तै छ । उहाँले भन्नुभयो, “यो वर्ष कोरोनाबाट परिवारका सदस्य बिते, दसैँ नहुने घरमा बसेर के गरौँ भनेर भारत जान लागेको हुँ ।” उहाँले परिवारको खर्च र बालबालिकाको पालनपोषण भारतीय नोकरीले नै भइरहेको बताउनुभयो ।
त्यस्तै डोटीका धनादेवी रावतले दसैँ छाडेर जाँदा मन अमिलो भइरहेको बताउनुभयो । “सबैको घरमा आज दसैँको उल्लास सुरु भयो”, उहाँले भन्नुभयो ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले घटस्थापनाको दिन यस नाकाबाट एक सत्र्न्दा बढी नेपाली मजदुरीका लागि भारततर्फ गएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले चाडपर्वका बेला हुने आपराधिक गतिविधि नियन्त्रणमा पनि सक्रियता बढाएका छौँ ।” उहाँले अहिले सीमा नाकामा सुरक्षा जाँचका लागि प्रदेश प्रहरी कार्यालयबाट कुकुरसमेत परिचालन भएको जानकारी दिनुभयो । उहाँका अनुसार विगत एक सप्ताहको तथ्याङ्क हेर्ने हो भने दैनिकरूपमा २५० देखि ५००÷६०० सयसम्म नेपाली नागरिक मजदुरीका लागि भारततर्फ जाने गरेका छन् ।
कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट बुधबारमात्रै ३७० जना रोजगारीका लागि भारतका विभिन्न सहर गएका छन् । “विगतका वर्षहरूमा यो समयमा सीमानाकामा दसैँ मनाउन घर आउनेहरूको लर्को देख्न पाइन्थ्यो”, उहाँले भन्नुभयो, “यहाँबाट भारतको दिल्ली, देहरादुन, बङ्गलोर, पञ्जाव, सिमलालगायतका सहरतर्फ बढी जाने गर्छन् ।” प्रहरीले यात्रुको सहजीकरणका लागि नाकामा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी यहाँको डोकेबजार नाकाबाट पनि दसैँको मुखमा भारत जाने क्रम चलिरहेको छ । डाकेबजारस्थित प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक दीपेन्द्र थापाले भारत जाने क्रम
कम भए पनि नरोकिएको बताउनुभयो । “यो नाकाबाट प्रायः बेलुकीतिर मजदुरीका लागि नेपाली नागरिक भारततर्फ जाने गर्छन्”, उहाँले भन्नुभयो ।
उहाँले भारतबाट दैनिक ९०० भन्दा बढी नेपाली आइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले नाकामा आवागमन सहज पारिएको छ ।”
सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य हो, भारत । गाउँमा रोजगारी नपाइनुले पनि उनीहरू कोरोना भाइरस सङ्क्रमणकै बीच रोजगारीका लागि पुनः भारततर्फ जाने क्रम बढ्दो छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *