अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
ललितपुर, २१ असोज । देश हितविपरीतको एमसीसी सम्झौताको विरोधमा नेपाल मजदुर किसान पार्टीले जिल्ला – जिल्लामा विरोध सभा र जुलुस गर्ने क्रम चालु छ । बिहीबार बुङमतीबाट सुरु भएको विरोध जुलुस खोकनामा पुगी विरोध सभामा परिणत भएको थियो ।
विरोध सभामा नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले एमसीसी सम्झौता हिन्द–प्रशान्त देशहरूमा थोपरिन खोजिएको अमेरिकी सैन्य गठबन्धन भएको बताउनुभयो ।
उहाँले एमसीसी सम्झौताअन्तर्गत नेपालमा बनाइने कुनै पनि परियोजनाको निम्ति भारतको पनि अनुमति लिनुपर्ने प्रावधान नेपालको सार्वभौमिकताविपरीत भएको धारणा राख्नुभयो ।
नेपालको कानुनसँग एमसीसी सम्झौताको कुनै व्यवस्था बाझिएको अवस्थामा एमसीसी सम्झौताकै कुरा लागु हुने प्रस्ट पार्दै सांसद सुवालले तत्कालीन माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा एमसीसी सम्झौता गरिएको र त्यही वर्षदेखि नेपाल र अमेरिकाको सेनाबीच सैन्य अभ्यास सुरु भएकोले सम्झौताभित्रका खास कुरा अझै पनि नेपाली जनतासमक्ष नआएको बताउनुभयो ।
“संरा अमेरिका भनेको संसारको युद्धसरदार र हतियारको व्यापारी हो । भारत र चीनलाई युद्धमा तानेर अमेरिकी साम्राज्यवादले हतियार बेच्न खोजिरहेको छ”, सचिव सुवालले भन्नुभयो ।
एसिया र सिङ्गो विश्वमा शान्तिको निम्ति भारतले अमेरिकी साम्राज्यवादको पछि लाग्न छोड्नुपर्ने, बरु पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का, बङ्गलादेश, नेपाल, माल्दिभ्स र भुटानसँग सम्बन्ध सुधार गर्नुपर्ने बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “कदाचित देउवा सरकारले एमसीसी पारित गराए उनलाई प्रधानमन्त्री बनाउने माधव नेपाल र पुष्पकमल दाहाल त्यसको दोषी हुनेछन् ।”
नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले देश खेतान, गोल्छा वा चौधरीको सम्पत्ति नभएकोले निजी क्षेत्रको नाममा केही विदेशी पुँजीका दलालहरूले समर्थन गर्दैमा नेपाली जनता एमसीसी स्वीकार्न तयार नभएको बताउनुभयो । उहाँले नेपालका ‘गोजी मिडिया’, कथित बुद्धिजीवी र शासक दलहरूको अकर्मण्यताको कारण नेपाली जनताले दुःख पाएको बताउनुभयो ।
“भियतनाम, इराक, अफगानिस्तान, लिविया, प्रजग कोरिया, क्युवाजस्ता देशमा संरा अमेरिकी साम्राज्यवादले हस्तक्षेप गर्दा नेपालमा विरोध गर्ने नेमकिपामात्र हो । खोकना–बुङमतीका जनतामाथि राज्यले दमन गर्दा आज नेमकिपा जनताको साथमा उभिएको छ”, उहाँले भन्नुभयो ।
उहाँले भारतले नेपालको सीमा मिचेको विषयलाई ओझेल पार्न सन् १९६० मा तय भइसकेको नेपाल–चीन सीमामा भारत र संरा अमेरिका मिलेर किचलो उछाल्न खोजेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य सृजना सैंजूले संसारको कुनै पनि देशले विदेश सहयोग र ऋणबाट प्रगति र विकास गर्न नसकेको चर्चा गर्दै नेपालको विकास विदेशी अनुदान र सहायता होइन, नेपाली जनताकै मिहिनेतबाट मात्र सम्भव हुने बताउनुभयो ।
“अमेरिकाले सधैँ शान्तिको कुरा गरेर ‘पान्डोराको बाकस’ पठाउने गर्छ । त्यो बाकसबाट गरिब तथा विकासशील देशमा युद्ध र अशान्ति फैलिने गर्छ । रसायनिक र जैविक हतियार प्रयोग गरेर संरा अमेरिकाले पुस्तौँ पुस्तालाई प्रभावित बनाउने गरेको छ”, सांसद संैजूले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला समितिका अध्यक्ष राजवीर डंगोलले एमसीसी सम्झौताको विरोधमा देशभक्त नेपाली जनता एकजुट हुनुपर्नेमा जोड दिँदै साम्राज्यवादको विरोध नगर्ने राजनीतिक दलको नाम जे भए पनि कम्युनिस्ट हुननसक्ने बताउनुभयो ।
युवा अभियन्ता कवीन्द्र डंगोलले समाजवादी देशहरूले पुँजीवादी व्यवस्थालाई चुनौती दिएको र चाँडै पछार्न लागेको देखेर संरा अमेरिकाले नेपालजस्तो विकासशील देशलाई एमसीसी सम्झौतामा फसाएर चीनलाई घेर्न खोजिरहेको बताउनुभयो ।
उहाँले नेपालका शासक दलहरू लोभीपापी हुँदा नेपाली जनताले साम्राज्यवादी शक्तिले जालझेलमा फसाउन खोजिरहेको प्रस्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सचिव रमेश प्रजापतिले कुनै पनि दल कुराले भन्दा व्यवहारले कम्युनिस्ट हुने भन्दै एमसीसीको विरोधमा नेमकिपाले लगातार विरोध भइरहेको बताउनुभयो ।
युवा अभियन्ता महेन्द्र ब्रह्माचार्यले देशभक्त युवाहरूले एमसीसी सम्झौताको विरोधमा आफूले सक्ने सबै क्षेत्रमा विरोध गर्नुपर्ने धारणा राख्नुभयो ।
सभामा नेक्राविसङ्घका केन्द्रीय सह–संयोजक सुरेश परियारले पनि बोल्नुभएको थियो ।
Leave a Reply