भर्खरै :

औपनिवेशिक बुद्धिको विकास यात्रा– ४

(विदेशी सहयोगले गिजोलेको नेपाल र नेपालीको दशा झन्झन् बिग्रँदो छ । शासक वर्ग धनी हुँदै जाँदा गरिब झन्झन् गरिब बन्न पुगेका छन् । विदेशी आर्थिक सहयोगमा आधारित नेपाली विकासले यसमा कस्तो भूमिका खेलेको छ ? नेपालमा वर्गसङ्घर्षको स्वरूपबारे नन्दराज श्रेष्ठको ‘इन द नेम अफ डिभेलपमेन्टः अ रिफ्लेक्सन अन नेपाल’ मा गहिरो वर्णन छ । एमसीसीको ‘अनुदान’ को करकापबीच विदेशी सहयोगबारे सग्लो दृष्टिकोण बनाउन पुस्तक सान्दर्भिक देखिन्छ । यहाँ सोही पुस्तकको एक अंशको भावानुवाद प्रस्तुत गरिन्छ । – अनुवादक)
स्वाधीन भइसकेपछि पनि धेरै एसियाली देशहरूमा माक्र्सवादको मोह हराएन । चीनमा लाल लहर १९४९ मा विजयी भएपछि नेपालजस्तो सानो देश पनि अमेरिकी भूराजनीतिक योजनाभित्र प¥यो । तिब्बतमा चिनियाँ सेना आएपछि दक्षिण एसियामा कम्युनिष्ट प्रभाव पर्ने देखियो । कम्युनिष्ट प्रभावले हिमालय नाघ्न गा¥हो थियो, तर असम्भव थिएन । त्यसैले भौतिक पर्खाललाई पश्चिमा मूल्यमान्यता वा संस्कृतिको आवरण ओढाउने र रैथाने अमेरिकी दलाल तयार गर्ने सोचियो । धनीमानी शासकहरूलाई विदेशी सहायताको माध्यमबाट तिमीहरू पनि पश्चिमी झिलिमिलीमा रमाउन सक्छौ भनी लोभ देखाइयो । यसरी एसियामा अमेरिकी विचार फैलाउने र नेपालका शासकहरूलाई जोगाउने लक्ष्यसहित ट्रयुमनको विदेश नीतिको अभिन्न अङ्गको रूपमा नेपालमा विदेशी सहयोग भित्रियो । नेपाली शासकहरूलाई विदेशी सहयोग आम्दानीको स्रोत मात्र थिएन, सत्ताको लगाम समाइराख्ने साधन पनि थियो । विदेशी सहयोग नेपाली शासकहरूको खर्चपानी र मनोकाङ्क्षा पूरा गर्ने माध्यम थियो । फेरि यसको लागि कठोर परिश्रम गर्नुपर्थेन । यसरी सबैको लागि विकास र न्यायको सुन्दर समाजवादी नारा खोक्रो बातइएको थियो । यसलाई जनता ठग्ने लोकप्रिय चालबाजी बताइउको थियो । जनताको न्याय र आधारभूत आर्थिक सुरक्षाको भोक मेटिएन । नेपालका शासकहरूले कहिल्यै पनि त्यो वचन पूरा गर्ने सोचेको थिएन किनभने त्यसो गरेको खण्डमा उनीहरूले आफ्ना स्वार्थहरू बलि चढाउनुपर्ने हुन्थ्यो ।
सन् १९६० मा राजा महेन्द्रले सत्ता हातमा लिएपछि उनको सत्ता टिकाउन विदेशी सहयोग अपरिहार्य बन्न पुग्यो । विदेशी सहयोगले प्रत्यक्ष वा परोक्ष रूपमा राजतन्त्रलाई सघाएको थियो । पञ्चायती सेना र कर्मचारीतन्त्रको लागि यो अत्यावश्यक थियो । दाताहरूले राजालाई सुधार गर्न दबाब दिन्थे । तर सुधार नभए पनि सहयोग चालू राख्थे किनभने परिवर्तन उनीहरूका लागि ठूलो कुरा थिएन । शासकहरूको सत्ता नखोसियोस् भन्ने कुरा महत्वपूर्ण थियो । यसैबाट विदेशीहरूको स्वार्थ पूरा हुन्थ्यो । त्यसैले विदेशी सहयोगले राजतन्त्र जोगाएको थियो र क्रान्तिकारी परिवर्तनको मुख थुनेको थियो । यो निष्कर्ष अध्येता गेजले पञ्चायतकालमा निकालेका थिए । संवैधानिक राजतन्त्रमा राजालगायत सम्पूर्ण शासक खलक वा शासक वर्ग विदेशी सहयोगकै दास भइरहे । विकासको मधुरो बत्ती निभ्न नदिन र आफ्नो थैलो भरिरहन विदेशी सहयोगमै निर्भर रहे । विदेशी सहयोग अमेरिकाको कूटनीतिक हतियारको रूपमा शीतयुद्धको भट्टीमा जन्मेको थियो । नेपाली शासकको लोभ र पश्चिमा वर्चस्वको भोक मिलेको हुनाले विदेशी सहयोग नेपालमा ओइरिएको थियो ।
विकास नेपाली शासकहरूको भौतिक सुखको भोक मेटाउन पश्चिमा गुरुहरूले दिएको मन्त्र थियो । यही मन्त्र आज हामी दिनदिनै जप्छौँ । विकास र प्रजातन्त्रको नाउँमा हामीले अमेरिकी मूल्यमान्यता लिन्छौँ । खासमा अमेरिका आफ्नो स्वार्थ पूरा गर्ने दलालहरूको खोजीमा थियो । पोखरामा विद्यार्थी नेताको रूपमा कम्युनिष्टहरूको विरोध गरेर आफूले अमेरिकाको प्रतिरक्षा गरेको नन्दराज स्वीकार गर्छन् । अमेरिकीहरू चन्द्रमामा पुग्दा आफूहरू खुसी भएको कबुल गर्छन् । विकासको सिद्धान्त अमेरिकी उपस्थिति, सहयोग र निजी भौतिक सुखको अब्बलतासँग जोडिएको छ । नेपालमा प्रचलित विकासको अर्थ पुँजीवादी सोचलाई प्रगति र असल ठान्नु हो ।
नेपाल ट्रयुमन योजनामा हिँड्यो । २२ हजार रूपैयाँ अनुदानबाट सुरु भएको विदेशी सहयोगको यात्रा अहिले राष्ट्रिय ऋणको पहाड बन्न पुगेको छ । नेपाल माकुराको जालोमा परेको झिँगाजस्तै भएको छ । माकुराले चाहेको बेला मृत्यु पर्खिरहेको छ । नेपाल विदेशी ऋणको पासोमा छ । नेपाल अहिले विदेशी ऋणसहित आउने सर्तहरू अस्वीकार गर्ने ल्याकतमा छैन । (नेपाली शासकहरूको लोभ नै यसको कारण हो । तर शासकहरू बिके भन्दैमा जनता चुप लाग्नुपर्छ भन्ने छैन । विदेशी पैसा शासकहरूले खाएका हुन्, जनताले होइन ।) ऋण थपिए पनि शासकहरूले सित्तैमा आउने विदेशी ऋण लिन छोडेका छैनन् । विदेशी सहयोगको भिख मागिरहँदा उनीहरूलाई लाज लागेको देखिन्न । विदेशी भिख माग्ने क्षमतामा उनीहरू घमण्ड गर्छन् । १९९३ को एउटा अन्तर्वार्तामा नेपाली काङ्ग्रेस सरकारका तत्कालीन वित्तमन्त्री महेश आचार्यले विदेशी सहयोग ल्याउनसक्ने आफ्नो खुबीबारे नाक फुल्लाएका थिए । उनले त्यो सहयोगको ६२ प्रतिशत विदेशी ऋण थियो भन्ने लुकाएका थिए । त्यसले ऋणको मात्रा थप्नबाहेक केही गर्थेन ।
सम्भ्रान्त शासकहरूले देशको ऋण आफै तिर्नुपर्दैन । त्यसैले तिनीहरू सुनको अण्डा दिने विदेशी सहयोगको कुखुरा मार्दैनन् । विदेशी सहयोग लिनुमा तिनको वर्गको भलाई छ । अनुदान वा ऋण जेमा आए पनि उनीहरूलाई चासो हुन्न । विदेशी ऋण लिँदा व्यक्ति मगन्ते मानिन्न, त्यसैले भिख माग्नु राष्ट्रिय रोजगारी बन्न पुगेको छ । विदेशी ऋणले नेपालको ऊर्जा, सामथ्र्य र स्रोतसाधन निम्छरो पार्दै लगेको बेला नेपाल भुमरीको पिँधतिर झन्झन् डुब्दै छ । परनिर्भरताको समुन्द्रमा भासिँदै छ । विदेशी ऋणले नेपाललाई आत्मनिर्भर र दिगो विकासको बाटोमा हिँडाउन नसक्ने बनाउँदै छ । तैपनि एलिट शासकहरूलाई सुर्ता छैन । नेपालको सामाजिक र आर्थिक स्थिति जति खस्कियो, त्यति तिनीहरूलाई फाइदा हुन्छ किनभने जहाज डुब्दै जाँदा उनीहरूले झन् धेरै भिख माग्न पाउँछन् । नेपाली शासकहरू गरिबी र दरिद्रताका आधुनिक व्यापारी हुन् ।
नेपालमा विकास परियोजना र विदेशी सहयोग पर्यायवाची बनेका छन् । सम्भ्रान्त वर्ग र विकास पनि पर्यायवाची बनेका छन् । एउटाको अभावमा अर्को बाँच्न सक्दैन । योजना निर्माण नेपाली घरानियाँ वर्गको सानो हिस्साको राजनीतिक र आर्थिक स्वार्थ पूर्ति गर्ने साधन बनेको छ । सबैको भलो हुने नयाँ, प्रगतिशील र असल समाज बनाउनुको सट्टा योजना निर्माणले सम्भ्रान्त शासकहरूको लुटपाटलाई वैध बनाउने गर्छ । यसरी यहाँको सामाजिक र आर्थिक असमानता र गरिबीलाई जीवित राखिन्छ । सारमा, विकास एउटा वर्गीय सिद्धान्त हो र योजना निर्माणले यसमा लोकमान्य शैलीमा डकैती गर्छ ।
निष्कर्षहरू
यहाँ नन्दराजले आफ्नो बुद्धिलाई कसरी पश्चिमा उपनिवेशतुल्य बनाइयो र त्यसले कसरी काम ग¥यो भनी देखाएका छन् । आफ्नो स्वार्थ पूर्ति गर्न नेपालका खानदानी शासकहरूले देश विकासको लागि हुनुपर्ने योजना निर्माणलाई आफ्नो मुठ्ठीमा राख्छन् । विकास सहयोगमार्फत नेपालमा साम्राज्यवादी सोच र संस्कृति प्रसार गरिन्छ । शासकहरूको सोच उपनिवेशवादका कारिन्दाको जस्तो छ । देशको भित्री र बाहिरी शक्तिले मिलेर रैथानी अर्थप्रणालीलाई अवमूल्यन गरे । विकासको पश्चिमा अवधारणा नेपालमाथि थोपरियो । यी सबै गर्न विदेशी सहयोगले ठूलो भूमिका खेल्यो । सम्भ्रान्तहरूको मनमस्तिष्क, आनीबानी र व्यवहार साम्राज्यवाद अनुकूल बनायो । पैसाले मति बिगार्छ भन्ने कुरा सत्य साबित भयो । विदेशी सहयोगको झिलिमिली लोभले गर्दा नेपालका सम्भ्रान्त शासकहरूले पृथ्वीनारायण शाहले आत्मनिर्भर अर्थनीति अपनाउन र फिरङ्गीहरूबाट टाढै बस्न दिएको उपदेश बिर्से ।
समाप्त
प्रस्तुतिः रमेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *