भर्खरै :

बढ्दो मानसिक समस्या

विश्वभर मानसिक रोगी बढेको छ । नेपालमा पनि सरकारी तथ्याङ्कअनुसार मानसिक बिरामीको सङ्ख्या बढिरहेको छ । विशेषतः कोभिड–१९ को महामारीको कारण मानसिक समस्याबाट पीडित मानिसको सङ्ख्या बढेको हो । तर, चिन्ताको विषय भने यस्ता बिरामीमध्ये बालबालिका र किशोरकिशोरीको सङ्ख्या पनि उल्लेखनीय छ ।
नेपालमा गरिएको सर्वेक्षणअनुसार देशको कुल जनसङ्ख्याको ४ प्रतिशत मानिसमा मानसिक समस्या छ । १३ देखि १७ वर्षसम्मका ५.२ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या देखिएको छ । सरकारी तथ्याङ्कले नेपालमा पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या बढ्दो छ । १३.७ प्रतिशतले आत्महत्याको दर बढिरहेको छ । स्वास्थ्य क्षेत्रमा मानसिक बिरामीलाई भित्रभित्र सल्किरहेको डढेलो भन्ने गरिन्छ । मानिसमा देखिने धेरै शारीरिक समस्याको जडको कारण धेरै अवस्थामा मानसिक स्वास्थ्य पनि हुने गरेको छ । मानसिक बिरामी धेरै अवस्थामा बाहिरबाट नदेखिने र बिरामी स्वयम्ले पनि आफूले भोगिरहेको अवस्था रोग हो भन्ने कुरा नबुझ्दा पनि बिरामीले जटिल समस्या सामना गर्नु परेको हुन्छ । सामाजिकरूपमा मानसिक रोगी भन्नासाथ लिने नकारात्मक बुझाइको कारण पनि यो सकेसम्म लुकाइने समस्या बनेको छ । तर, मानसिक समस्या पनि रोग हो र त्यसको उपचार सम्भव हुन्छ ।
मानसिक रोग समाज, आर्थिक अवस्था, पारिवारिक पृष्ठभूमि आदि धेरै पक्षसँग जोडिएको विषय हो । मानिसको जीवनमा पैसा, सम्पत्ति, योग्यताको महत्व बढ्दै जानु, अवसरका बाटा धेरै खुल्दै गए पनि प्रतिस्पर्धा पनि बढ्दै जानु, अरूको देखासिकी गरी ठूला महत्वाकाङ्क्षा पाल्नु, ज्येष्ठ उमेरका व्यक्तिले एक्लोपना महसुस गर्ने अवस्था बन्नु आदि कारण नै मानसिक रोगका सामाजिक र आर्थिक कारण बन्ने गरेको छ । धन र अवसरको निम्ति मानिसको जीवन हिजोभन्दा आज तनावपूर्ण बन्दै गएको छ । मानिसलाई परिवारको सामिप्य, आत्मीय क्षण, आराम आदिको कमी भएको छ । प्रतिस्पर्धाको दौडमा मानिसले कतिबेला जीवनको अपरिहार्य पाटो नै भुलिरहेका छन् । फलतः धेरै मानिस नजानिँदो गरी मानसिक समस्या भोगिरहेका छन् । व्यस्त जीवनको कारण अस्वस्थ जीवनशैली पनि मानसिक रोगको कारण हुने गरेको छ ।
लकडाउनको समयमा अधिकांश बालबालिका र किशोरकिशोरी घरभित्रै कैद हुन बाध्य भए । एकै ठाउँमा लगातार बसेर अवस्तुगत विश्व (भर्चुअल वल्र्ड) मै मात्र रमाउनुपर्दा उनीहरूमाथिको मानसिक अवस्था कमजोर बनेको छ । पुस्तान्तरको कारण घर परिवारका अन्य सदस्यसँग हार्दिक संवादसमेत नहुने अवस्थामा उनीहरू भित्रभित्रै मानसिकरूपमा कुण्ठित र बिरामी हुने गरेका छन् ।
विडम्बना, मानसिक रोगीको बढ्दो सङ्ख्याको अनुपातमा देशमा उपचार गर्ने अस्पताल र चिकित्सकको अभाव छ । राजधानीको पाटन मानसिक अस्पतालमा दैनिक डेढ सयको दरले बिरामी आउने गरेको छ । तर, अस्पतालमा पुग्दो पूर्वाधार नहुँदा सबै बिरामीलाई उपचार दिन सकेको छैन । कतिपय बिरामी राजधानीकै विभिन्न निजी अस्पतालमा सेवा लिन बाध्य छन् ।
कसैलाई मानसिक बिरामी हुन नदिन परिवारका सदस्य, समाजका सदस्य हुँदै राज्यको पनि महत्वपूर्ण भूमिका हुने गर्छ । प्रतिस्पर्धा र हानथापको युगमा व्यस्त कार्यसूचीबीच आफ्नो स्वास्थ्यको निम्ति पनि समय कसरी जोहो गर्ने, समाजमा कसरी सामाजिक भएर बस्ने आदि अवस्था बनाउन राज्यको नीतिको महत्वपूर्ण भूमिका हुन्छ । मानसिक समस्यालाई लुकाएर होइन, उपचारमा गएर समाधान गर्न सकिन्छ । मानसिक समस्याको उपचार लामो प्रक्रिया हो । त्यसकारण, परिवार र समाजको पनि यसमा भूमिका हुन्छ । स्वस्थ जीवनशैली र चिन्तनशैलीले हामीलाई यो मनभित्रको आगोबाट जोगाउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *