भर्खरै :

जनताकै भावना बुझेर नगरपालिकाले निर्णय गर्छ

रातको करिब नौ बजेको समय थियो । म सधैझैँ बेलुकाको खाना खाँदै थिएँ । त्यही समयमा वडाका ज्येष्ठ जनप्रतिनिधिको फोन कल आयो । मैले फोन रिसिभ गरेँ । फोनमा उहाँले वडा कार्यालय अगाडिको चोकमा रहेको घर बनाउने क्रममा जग खन्दा राजकुलो भेटिएको र उक्त कुरा टोलवासीले थाहा पाउलान् भनेर घर धनीले राजकुलो पुर्न खोजेको जानकारी दिनुभयो । मैले उहाँलाई भोलि बिहानै सँगै फिल्डमा निरीक्षण गरौँला भनेर फोन राखिदिएँ । फोन राख्नेबित्तिकै फेरि अर्कै अपरिचित व्यक्तिको फोन आयो । मैले फोन रिसिभ गरँे । फोन रिसिभ गर्नेबित्तिकै उनले भन्न थाले, “वडाध्यक्षज्यू, तपार्इँले हाम्रो टोलमा सार्वजनिक जग्गामा घर बनाउन अनुमति दिनुभयो । जनताको प्रतिनिधि भएर सार्वजनिक पाटी भएको ठाउँमा तपार्इंले किन नक्सा पास गरिदिनुभयो ? आज साँझ त्यही सार्वजनिक पाटी भएको जग्गामा जग खन्नेक्रममा राजकुलो भेटियो । राजकुलो भेटिएपछि ज्यामी लगाएर जग्गाधनीले पुर्न लगाएको छ । तपाईं अहिले नै हेर्न आउनुस् । तपाईंलाई भोट दिएको के सार्वजनिक जग्गामा नक्सा पास गरी घर बनाउन दिनलाई हो ? सारा टोलवासीलाई सार्वजनिक जग्गा हो भनी थाहा भएको ठाउँमा तपार्इंले नक्सा स्वीकृति दिन मिल्छ ?” त्यस अपरिचितको कुरा सुनेपछि मेरो मनमा चिसो पस्यो । सिफारिस दिएको के साँच्चिकै गलत ठाउँमा प¥यो कि भन्ने आशङ्का भयो । मैले जवाफ फर्काएँ, “मलाई हाम्रो वडाको ज्येष्ठ जनप्रतिनिधिले पनि भर्खर यस विषयमा जानकारी दिनुभयो । म भोलि बिहानै फिल्डमा आएर हेर्छु । साथै नक्सा कसरी पास भएर गयो भनी नक्सा झिकाएर पनि हेर्छु ।” फोनमा लामो कुरा भयो कि भन्ने भावना मनमा आयो । श्रीमती र छोरा खाना खाइसकेर तल गइसकेछन् । तर, आफूलाई मनमा डर पैदा भयो ।
भोलिपल्ट बिहानै म फिल्डमा हेर्न गएँ । म पुग्नुभन्दा पहिले नै त्यहाँ धेरै वडावासी जम्मा भइसकेको रहेछ । मैले अरू जनप्रतिनिधिहरूलाई पनि त्यस ठाउँमा बोलाएँ र घटना विवरण बताएँ । स्थानीयसँग त्यस जग्गाको विषयमा जानकारी लिएँ । त्यसक्रममा एक जना स्थानीयले भने, “यो ठाउँ भनेको सार्वजनिक पाटी भएको ठाउँ हो । यहाँबिस्केटमा स्थानीय जात्रा हुँदा जात्रा सकिएपछि खच्चा (रथ) राख्ने ठाउँ हो । जात्राको क्रममा या देवता बिसाई पूजा गराउने ठाउँ हो । धेरै पहिले टाढा टाढाबाट आएका बटुवाहरू नगरमा काम विशेषले आउँदा विश्राम गर्ने र खाना खाने पाटी भएको ठाउँ हो । यहाँ ढुङ्गेधारा पनि छ । यही ढुङ्गेधारामा नुहाउने, भाडा माझ्ने र सरसफाइ गरी जाने गर्दछ । अहिले राजकुलो भेटिएको छ । हिजो ज्यामी लगाएर पुर्न लगाइएको छ । तपाईंले पुर्न लगाएको माटो खन्न लगाउनुस् राजकुलो भेटिन्छ । कसैले सामन्ती पारा देखाउँछ भने टोलवासी चुप लागेर बस्ने छैनन् ।” ज्येष्ठ जनप्रतिनिधिले पनि मलाई कसरी नक्सा पास भयो भनी प्रश्न गरे । मैले जवाफमा भनेँ, “आफू प्राविधिक नभएकोले कसरी र कहिले नक्सापास भयो भनी अहिले जवाफ दिन नसक्ने र कार्यालय खोलेपछि प्राविधिकसँग छलफल गरी जवाफ दिउँला । राजकुलो हो कि होइन भनी अहिले ज्यामी लगाएर खन्न लगाउँछु र इतिहासकार पनि बोलाउँछु । तपार्इंहरू चिन्ता नलिनुस् ।”
म दस बजे वडा कार्यालय पुगेँ । घटनाको संवेदनशीलतालाई बुझेर वडा कार्यालयमा पुग्दा वडावासीहरू मलाई घेराउ दिन आए । मैले सबैलाई नमस्कार गरँे । सार्वजनिक पाटी भएको ठाउँमा किन घर बनाउन अनुमति दिएको भनी कराउन थाले । एक–दुई जनाले माथि हलमा गएर छलफल गरौँ भन्न थाले । मैले सबैलाई हलमा आउन अनुरोध गरेँ । हलमा मानिस खचाखच भयो । कति नअटेर बाहिरै बसे । मैले औपचारिकरूपमा छलफल सुरू गरेँ र विषयवस्तुको बारेमा एक स्थानीयलाई बोल्न अनुरोध गरेँ । उनले भने, “त्यो ठाउँमा पहिले पाटी थियो । स्थानीय जात्रा हुँदा खत बिसाएर पूजा गर्ने ठाउँ हो । यही पाटीमा नगरमा आएका बटुवाहरू खाने, बस्ने र नुवाइधुवाइ गरेर जाने गर्थे । नापी हुँदा यिनीहरूले आफ्नो नाममा लेखाए, पछि पुर्जा पनि आफ्नो नाममा बनाए र एक तल्ले भवन बनाए । त्यस भवनमा धेरै वर्ष जुत्ता पसल पनि राख्यो । हाल आएर नक्सा पास गरी जग खन्न थाल्यो । त्यसैले यहाँनिजी घर बनाउन दिनुहुन्न ।”
मैले वडाको प्राविधिकलाई बैठकमा बोलाएँ र नक्सा कसरी पास हुन गयो, त्यसको जवाफ दिन निर्देशन दिएँ । निर्देशन पाएपछि प्राविधिकले भने, “नक्सा नगरपालिकाको नियमानुसार नै पास भएको छ । नगरपालिकामा घर धनीको सबै कागजात भएपछि नक्सा दर्ता भई वडामा आएको र वडाले पन्ध्र दिनको सूचना दिई सरजमिन गरेको हो । यो सबै प्रक्रिया पूरा भएपछि नक्सा वडाबाट नगरपालिकामा पठाएको हो ।” मैले तत्कालै सोधेँ, “वडावासीहरू त सार्वजनिक जग्गा भन्छन् नि ?” प्राविधिकले जवाफ फर्काए, “लालपुर्जामा घरधनीकै नाम छ । फिल्डबुकमा पनि घरधनीकै नाम छ । सार्वजनिक भनी कहीँ नभएपछि कि त सरजमिनको समयमा सार्वजनिक हो भनेर भन्नुप¥यो । म आफै सचिवसँग नाप्न जाँदा कसैले सार्वजनिक भनेनन्, पाटी भनेनन् । कागजले सार्वजनिक भन्दैन । नक्सा प्रक्रियागतरूपमै पास भएर गएको छ । यसमा त वडामात्र दोषी होइन, टोलवासी पनि त जिम्मेवार छन् ।”
प्राविधिकको कुराले टोलवासीमा कानेखुसी चल्यो । त्यस्तैमा अर्का स्थानीयले भने, “के त्यसो भए जनताले बोलेन भन्दैमा सार्वजनिक पनि निजी हुने भयो होइन ? जनताले तपार्इंलाई त्यही भएर भोट दिएका हुन् ? के पैसा खाएर नक्सा अगाडि बढाउनुभएको हो ? हामीले त टोलवासीको संयुक्त निवेदन ल्याएका छौँ । कुनै पनि हालतमा यो निर्माण रोक्नुपर्छ । नगरपालिका र वडा कार्यालयले नरोके जनस्तरमा हामी रोक्छाँै ।”
अरू सहभागीहरूले पनि पालैपालो बोले र सबैले एकमतले निर्माण रोक्नुपर्ने राय दिए । घुस खाएको आरोप लागेपछि मेरो दिमाग तात्यो । रिस सहँदै मैले भनेँ, “अब हेर्नुस्, नक्सा त पास भएकै हो । फाइल हेर्दा सबै कागज पनि पुग्छ । सरजमिन पनि भएकै रहेछ । वडावासीबाट सार्वजनिक भन्ने भनाइ आएन । तापनि, अब निवेदन परेको छ । तत्काललाई निर्माण रोक्न नगरपालिकामा पत्राचार गर्छु । तपाईंहरू संयुक्त निवेदन दिनुस्, तत्काल निर्माण रोक्न तयार छु । तपार्इंहरूको उजुरी पनि म नगरपालिकामा यो फाइलसहित पठाइदिन्छु । जनताको भावनालाई बुझेर नगरपालिकाले निर्णय अवश्य गर्छ ।” त्यसपछि मैले सबैको अगाडि निर्माण तत्काल रोक्नको लागि नगर प्रमुखलाई अनुरोध गर्ने र राजकुलो हो होइन भनी विशेषज्ञको रायसहित फाइल नगरपालिकामा निर्णयार्थ पेश गर्ने प्रतिबद्धता जनाई छलफललाई समापन गरेँ । त्यसपछि सचिवलाई बोलाएर निर्माण रोक्न तत्काल अरू काम छोडी पहिले पत्र नपामा पठाउन निर्देशन दिएँ र विशेषज्ञको राय दिन पत्राचारको लागि पनि निर्देशन दिएँ । केही समयपछि वडा कार्यालयको संयोजनमा विशेषज्ञले उक्त स्थान निरीक्षण गरे र तत्पश्चात विशेषज्ञले राजकुलो नै भएको पुष्टि गरे । सोही विशेषज्ञको राय र जनताको उजुरी निवेदनसहित नगरपालिकामा पत्राचार भएपछि हाल उक्त ठाउँमा नगरपालिकाले निर्माण रोकेको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *