भर्खरै :

किसानको दुःख

अन्नको भण्डार तराईमा तीन दिनदेखि अविरल वर्षाका कारण धान ढलेको र काटेको धान डुबानमा परेर किसानहरू रोइरहेको दृश्य देख्दा को किसानको मन नदुख्ला ? कसको आँखाबाट आँसु नबग्ला ? काटेर राखेको धान पोखरीमा माछा समातेझैँ धानको बोट थन्काउँदै गर्दाको दृश्यले सरिताले आफूलाई सम्हाल्न सकिनन् । उनको आँखाबाट अविरल वर्षाझैँ आँसु बग्न थाल्यो । आँसु पुछ्दै टीभी हेरिरहेकी सरितालाई बिक्रमले भने, “तिमी किन रोइरहेकी सरिता ? के गर्ने ? प्रकृतिलाई कसले रोक्न सकेको छ र ?”
सरिताले आफ्नो आँसु पुछ्दै जवाफ दिइन्, “खेतबाट अन्न फलाउन कति मेहनत गर्नुपर्छ, हजुरलाई के थाहा ? राजाको काम कहिले जाला घामजस्तो होइन । बिदामा पनि तलब पाक्ने । हाता भए पनि तलब पाक्ने । महिना बित्यो कि तलब हातमा । बिदाको दिन कहिलेकाहीँ खेतमा आउनुहुने हजुरलाई खेतमा बाली बिग्रिँदाको पीडा राम्रोसँग थाहा हुँदैन । जेठमा माना छरेर मुरी फलाउनुपर्छ भन्ने मनमा लिँदै बीउ राखेँ । असारमा छिमेकीहरूले छुपुछुपु धान रोप्न थाले । आफू भने मल नपाएर यताउति भौतारिएँ ।”
कृषिप्रधान मुलुकमा किसानहरूलाई कृषिप्रति आकर्षित गर्न सरकारले सस्तो, सुलभ र गुणस्तरीय रासायनिक मल र बीउबिजनको व्यवस्था गर्नुपर्दथ्यो । तर, कृषकहरूका लागि यस्तो सुविधा त आकाशको फल आँखातरी मर भनेजस्तो भयो । यद्यपि, मैले हरेस खाइनँ । छरछिमेक र साथीहरूसँग खोजीनीति गर्न थालेँ । कसैले भएर पनि अनेक बहाना गरी दिएनन् । मेरा साथी अस्मिताले एकबोरा मल सापटी दिइन् । म सा¥है खुसी भएँ । रोपाइँ समयमै सिध्याउन पाइयो ।
घाम, पानी, भोक र प्यासको पर्वाह नगरी समय–समयमा जल र गोडमेल गरेर रामै्रसँग फस्टाएको धानबाली भित्र्याउने समयमा अविरल पानी परिरहँदा चिन्ता लागिहाल्छ नि हजुर । अब त माना खाएर मुरी भित्र्याउने बेला हो । किसानको दुःख कर्मचारीलाई के थाहा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *