अव्यवहारिक र अपरिपक्व निर्णय : देशमा अन्योल
- बैशाख ६, २०८३
राजनीतिमा बेला बेला निरोको नाम आउने गर्छ । रोमका एक जना राजा थिए । रोम सहर आगोले राख हुँदै गर्दा उनी आफ्नो सुन्दर बगैँचामा बाँसुरी बजाउँदै धुनमा मग्न थिए । जनताका समस्याप्रति अनुत्तरदायी शासकहरूलाई प्रायशः रोमका तिनै राजासँग तुलना गर्ने गरिन्छ ।
यो साताभरि भएको लगातारको वर्षाको कारण पुरै देश प्रभावित भयो । बाढी पहिरोको कारण १०१ भन्दा बढी मानिसले ज्यान गुमाए भने धेरै धनजनको क्षति भयो । राजमार्गहरू बाढीले बगाउँदा जनजीवन प्रभावित बन्यो । तराईका धेरै जिल्लामा भित्याउन ठीक भएको धान बाढीले बगायो र नष्ट भयो । किसान थाप्लोमा हात राखेर आफ्नो परिवारको भोक कसरी मेटाउने भनी चिन्तित छन् । यस्तो परिस्थितिमा आएका दुई समाचारले जनताको पीडामाथि थप पीडा भयो । पहिलो, सत्तारुढ माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘आराम गर्न’ सुकुटे रिसोर्ट पुगे । शुक्रबार उनले बाटोमा पर्ने जिपलाइनको ‘मज्जा’ लिए ।
प्राकृतिक विपत्तिको कारण सारा देशले दुःखको समय झेल्दै गर्दा सत्तारुढ दलको नेताको जिम्मेवारी के हो ? उनी दुःखमा परेका जनताको घाउमा मल्हम लगाउन जाने हो वा कुनै निजी रिसोर्टमा ‘रिल्याक्स’ गर्न जाने हो ? कैलालीमा बाढीले धान बगाएकोमा आँसु झार्दै गरेका किसानहरूलाई सान्त्वना जाने हो वा कुनै ‘साहसिक खेल’ को मज्जा मान्न जाने ?
दाहाल अलारे उमेरका केटाकेटी होइनन् । जनताका समस्याप्रति उनी संवदेनशील बन्नुपर्छ । जनता दुःखमा पर्दा उनी कुनै बगैँचामा बसेर बाँसुरीको धुन सुन्दै मग्न बन्ने उनलाई अधिकार छैन । दाहालले देश र जनताको निम्ति ठूलो क्रान्तिको डिङ हाँके पनि व्यवहारबाट उनी जनताको दुःखमा संवेदनशील नभएको उदाहरण बनेको छ– बाढी पहिरोले देश दुःखमा परेको बेला उनी कतै जिपलाइनको सयर गर्दै छन् ।
दोस्रो समाचार प्रधानमन्त्री शेरबहादुर देउवाको । उनी सुदूरपश्चिममा बाढी पहिरोले पीडित जनतालाई भेट्न गए । तर, उनले त्यहाँ आयोजित कार्यक्रममा स्थानीय जनतालाई नै ‘बढ्ता नबोल्न’ भनी धम्क्याएर आए । हेलिकप्टरमा गएका देउवासँग जनताको अवस्था बुझ्न पन्ध्र मिनेट पनि भएन । उनी हतारिएर धनगढी उडे । देउवाको राजनीतिको मूल आधार सुदुरपश्चिम क्षेत्र हो । उनले लगातार सो क्षेत्रबाट चुनाव जित्दै आएका छन् । पछिल्लो वर्षाले सबभन्दा बढी प्रभावित बनेको सुदूपश्चिमका जनताप्रति उनी प्रत्यक्ष उत्तरदायी छन् । त्यसमाथि उनी अहिले प्रधानमन्त्री छन् । उनले जनतासँग भेटघाट गरेर उनीहरूको समस्या सुनेर सोअनुसारका राहत र सहजताको कार्यक्रम ल्याउनुपर्ने होइन ? यस्तो बेला नेताहरूले आफ्ना कुरा राम्ररी सुन्दामात्र पनि धेरै ठूलो राहत अनुभव गर्ने गर्छन्–जनता । तर, देउवाको शैली देख्दा उनी झाराटार्ने हिसाबले मात्र सो क्षेत्रमा पुगेको देखिन्छ । उनले न जनताका समस्या बुझ्न खोजेको देखियो न त जनताबीच मनग्य समय नै व्यतीत गरे ।
राजनीतिक नेता बन्नु र राजनेता बन्नुमा ठूलो अन्तर हुने कुरा विद्वानहरूले भनेका छन् । नेताहरू आगामी चुनावको लागि मात्र सोच्छन् र चुनावको बेलामा मात्र जनताको घरदैलोमा पुग्ने गर्छन् । तर, राजनेता दुःख सुखको बेला जनतासँगै हुन्छन् । दाहाल र देउवाको व्यवहार नियाल्दा उनीहरू राजनेताको भूमिकामा देखिएनन् । जनताका समस्याप्रति अनुत्तरदायी भएर निरो जति आजसम्म बदनाम छन्, दाहाल र देउवा पनि जनता दुःखमा पर्दा उनीहरूको व्यवहार देख्दा उस्तै बदनामीका भागिदार देखिन्छन् ।
Leave a Reply