भर्खरै :

तेह्रौँ सागका पाँच खेल पोखरामा

पोखरा, २८ असार । तेह्रौँ दक्षिण एशियाली खेलकुदका पाँच खेल पोखरामा हुने भएको छ ।
सागको तयारीका लागि पोखरा आएको पूर्वाधार निर्माण समितिको टोलीसँग यहाँ आज बसेको बैठकले सो जानकारी दिएको हो । पोखरा रंगशाला खेलकुद पूर्वाधार निर्माण समितिका सचिव रिमबहादुर रानाभाटले पोखरामा प्रस्ताव गरिएका पाँच खेलमा भलिबल, ह्याण्डबल, महिला फुटबल, आर्चरी र ट्रायथोलन भएको बताउनुभयो ।
प्रस्ताव गरिएका खेल पूर्वाधारका हिसाबले पोखराका लागि उपयुक्त रहेको बताइएको छ । कास्की जिल्लाका विभिन्न खेल पदाधिकारीले १३ औँ सागको उद्घाटन वा समापन कार्यक्रममध्ये एक पोखरामा आयोजना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
बैठकमा नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम् नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरुङ, कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुली, पश्चिमाञ्चल प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी र नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले पोखरामा धेरैभन्दा धेरै खेल आयोजना गर्न सुझाव दिनुभएको थियो ।
सागको तयारीका लागि पोखरा आएको टोलीले निर्माणाधीन पूर्वाधारको निरीक्षणसमेत गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *