भर्खरै :

एमसीसी सम्झौताको विरोधमा सुनसरी र इलाममा जुलुस तथा सभा

धरान, ७ कार्तिक । एमसीसी सम्झौताको विरोधमा नेपाल मजदुर किसान पार्टीले सुनसरी, इलाम जिल्लामा आइतबार जुलुस र सभाको आयोजना ग¥यो ।
धरान, सुनसरी
नेपाल मजदुर किसान पार्टीले देशघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै आइतबार सुनसरीको धरान बजारमा विरोध जुलुस र सभा ग¥यो ।
नेक्राविसङ्घ राष्ट्रिय सम्मेलन तयारी समिति संयोजक प्रकाश गुरुङले चीन र भारतबीच दक्षिण एसियामा युद्ध छेडी हतियारको व्यापार गर्न अमेरिका लालायित रहेकोले सचेत भई सम्झौताको विरुद्ध सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
उहाँले एमसीसी परियोजना अमेरिकाको विश्वभरि आफ्नो प्रभाव विस्तार गर्ने र सैनिक गठबन्धन बनाउने उद्देश्यका साथ अगाडि बढाइएको कार्यक्रम हो भन्नुभयो ।
सभामा नेमकिपाका बलराम न्हिसुतूले देशघाती एमसीसी सम्झौता खारेज गराउन सम्पूर्ण न्यायप्रेमी देशभक्त नेपाली जनता एक भएर सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
उहाँले सम्झौतामा भारतको अनुमति आवश्यक हुने बुँदा राखेर नेपाललाई भारतको एक उपनिवेश प्रमाणित गर्न खोजेको हुँदा सम्झौताको खारेजीको निम्ति आन्दोलनको विकल्प नभएको बताउनुभयो ।
सभामा नेक्राविसङ्घका ईश्वर शाहीले पनि बोल्नुभएको थियो ।
फिक्कल, इलाम
एमसीसी सम्झौताको खारेजीको माग गर्दै इलामको फिक्कलमा भएको विरोध जुलुसमा नेमकिपाका शिव बालाले नेपालमा उत्पादन हुने जलविद्युत् नेपाली जनतालाई नै सस्तोमा उपलब्ध गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले नेपालमै उद्योग–कलकारखानालगायत घरायसी कामकाजका निम्ति विद्युत् उपयोग गर्न दिएर ग्यास र पेट्रोलको आयातमा न्यूनीकरण गर्नु जरुरी रहेको बताउनुभयो ।
नेक्राविसङ्घका दिनेश खड्गीले एमसीसी सम्झौताका विभिन्न देशघाती बुँदाहरूबारे प्रस्ट्याउँदै सम्झौता खारेज गराउन दबाब दिनुपर्नेमा जोड दिनुभयो ।
सभामा नेक्राविसङ्घका रितिष्णा दुवालले नेपाली जनता सम्झौताको विरोधमा डटेर लड्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
पशुपति नगर, इलाम
त्यस्तै पशुपति नगरमा भएको सभामा नेक्राविसङ्घका सविता त्वानाबासुले सम्झौताले नेपालको प्राकृतिक स्रोत–साधन गुम्ने भएको हुँदा सम्झौताको संशोधन नभई खारेज नै गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका विलम सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *