भर्खरै :

कहीँ खोप छैन, कहीँ खेर गयो खोप

जेनेभा, २४ अक्टोबर । विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूले संसारका धेरै गरिब देशहरूले अझै पनि कोभिड–१९ को पहिलो मात्रा खोपको प्रतिक्षा गरिरहेको बेलामा केही विकसित देशले पनि अतिरिक्त (बुस्टर) खोप दिइरहेकोमा सजग बनाएका छन् ।
बेलायतका पूर्वप्रधानमन्त्री तथा हाल विश्व स्वास्थ्य सङ्गठनको विश्व स्वास्थ्य लगानीका दूत गोर्डन ब्राउनले गत बिहीबार यो वर्ष सन् २०२१ को अन्त्यसम्ममा सबै देशमा खोप पाउनेको प्रतिशत ४० पु¥याउने लक्ष्य पूरा गर्न न्यून आयका देशहरूमा अझै पनि ५० करोड खोपको कमी भएको बताएका छन् । तर, यतिबेला २४ करोड मात्रा खोप भने पश्चिमा देशमा त्यत्तिकै रहेको उनले भने ।
ब्राउनले सन् २०२१ को अन्त्यसम्ममा प्रयोगमा नआउने खोपको मात्र ६० करोड पुग्ने पूर्वानुमान गरेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनअनुसार नौ वटा अफ्रिकी देशहरूले मात्र सेप्टेम्बर महिनाको अन्त्यसम्ममा बल्ल १० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउन सकेको छ ।
अर्को साता शिखर सम्मेलन हुन लागेको संसारका धनी बीस देशहरू (जी २०) लाई विश्व स्वास्थ्य सङ्गठनले खोपको कमी भइरहेको बेला खोप सहायताको निम्ति निर्णय गर्न आग्रह गरेको छ ।
“जी २० देशहरूले तत्कालै खोप सहायताको आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्छ”, विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानम घिब्रिएससले भने ।
गोर्डन ब्राउनले यदि संसारका धनी देशहरूले विकासशील देशहरूमा खोप लगाउनेको दर बढाउन नसके सरुवा रोग र आर्थिक क्षतिले हामीलाई लज्जाको अवस्थामा पु¥याउने बताए ।
यसैबीच ‘द वाशिङ्टन पोस्ट’ ले शुक्रबार प्रकाशित समाचारअनुसार क्यालिफोर्नियाको संरा अमेरिकी समुदायहरूले प्रयोग गर्ने म्याद सकिन लागेका खोप मेक्सिकोमा दिन खोज्दा ह्वाइट हाउसको खोप कार्यदलले रोकेको छ ।
संरा अमेरिकाका विभिन्न राज्य र स्थानीय तहले यसरी प्रयोग नभएका म्याद नाघ्न लागेका खोप भारतलगायतका देशमा खोजेकोमा बाइडेन सरकारले भने त्यसलाई रोक्न खोजेको बताइएको छ ।
आफ्नो त्यस्तो निर्णयको प्रतिरक्षा गर्दै संरा अमेरिकाको केन्द्रीय सरकारले ‘खोप सङ्घीय सरकारको सम्पत्ति भएको, कुनै राज्य वा सहरको नभएको’ बताएको छ ।
बाइडेन सरकारले कुनै पनि देशलाई खोप सहयोग गर्न केन्द्रीय सरकारमात्र अधिकारसम्पन्न भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *