भर्खरै :

एमसीसीको विरोध गर्ने भीम रावलहरू कता ?

हिजो माधव नेपालको पक्षमा रहेका भीम रावल, घनश्याम भूषाल, सुरेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यहरूले केपी ओलीलाई कम्युनिस्ट आन्दोलन भड्काउने, कम्युनिस्टको बाटो छोड्ने कम्युनिस्ट विरोधी तक्मा भिराएका थिए । आज तिनै नेताहरू केपी ओलीकै छहारीमा रहेर कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट सिद्धान्त र विचारलाई पाखामा पन्छाउँदै छन् । एमालेभित्र रहेरै कम्युनिस्टको सिद्धान्त र विचार या माक्र्सवाद र लेनिनवादलाई नेपालको माटो सुहाउँदो लागू गर्न अघि सरेका भए, पार्टीभित्र आवाज उठाएका भए उनीहरूमा कम्युनिस्टको गन्ध रहेको अनुभूति हुन्थ्यो । तर, त्यस्तो परिचय कुनै पनि नेताहरूले दिन सकेनन् । एमालेलाई पुँजीवादी पार्टीकै रूपमा उभ्याउने चेष्टा उनीहरूको रह्यो । एमालेलाई कम्युनिस्ट पार्टी बनाउने हो भने द्वन्द्वात्मक भौतिकवाद र वर्गसङ्घर्षको बाटोमा एमाले लाग्नुपर्छ । कम्युनिस्टको सिद्धान्त र विचार छोडेर सरकारमा जानु नै दलको मूल लक्ष्य ठान्छ भने त्यो दलले जतिसुकै माक्र्सवाद लेनिनवादको बखान गरे पनि त्यो दल सच्चा कम्युनिस्ट हुनेछैन, त्यो दलको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद हुनेछैन ।
विभाजनको स्थितिमा रहेको एमालेलाई एकढिक्का बनाउने उद्देश्यले भीम रावलको संयोजकत्वमा एक कार्यदल बनाइएको थियो । कार्यदलले प्रतिवेदन बुझाउनेबित्तिकै त्यो कार्यदलको म्याद समाप्त भयो । प्रतिवेदन लागू गर्ने या नगर्ने कुरा एमाले पार्टीको निर्णयमा भरपर्छ । प्रतिवेदन व्यवहारमा लागू पनि भएन, दल एउटै पनि बनेन वा एमालेबाट माधव पक्ष अलग्गिएर एकीकृत समाजवादी दल बन्यो । त्यस अर्थमा कार्यदलको औचित्य नै सकिएपछि कार्यदलका संयोजकले राजीनामा दिनुको के अर्थ रह्यो ? कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा कार्यदल संयोजकको हो वा एमाले पार्टीको हो ? त्यो उनीहरू नै बुझून् ।
कार्यदलको प्रतिवेदन कार्यान्वयन नभएकोमा सञ्चारमाध्यममा आएअनुसार भीम रावल र घनश्याम भुषालहरू सन्तुष्ट छैनन् । कार्यदलले प्रतिवेदन बुझाएको आधारमा प्रतिवेदन कार्यान्वयन गर्ने या नगर्ने या कसरी अगाडि बढाउने विषयमा एमालेभित्र छलफल हुनुपथ्र्यो र कुनै टुङ्गो लगाउनुपथ्र्यो । त्यो पनि भएको देखिँदैन । भीम रावलहरूले पार्टीमा प्रतिवेदनको कुरामात्र उठाएर पुग्दैन एमसीसी खारेज गर्ने, चुच्चे नक्सा कार्यान्वयन गर्ने र माक्र्सवाद–लेनिनवादलाई नेपालको धरातलअनुसार लागू गर्नेतर्फ पहल गर्नुपर्छ, नमाने विद्रोह गर्नुपर्छ । नत्र भीम रावलहरू पनि उही पुँजीवादी लाइनकै घेरामा पर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *