सरकारको कार्यशैलीप्रति जनतामा असन्तोष
- असार १५, २०८३
केही समयअघि सम्पन्न नेपाली काङ्ग्रेसको वडा अधिवेशनमा दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं २ का उपसभापति पदमा चुनिएका शङ्करसिंह डोबाल शनिबार सम्पन्न एमालेको वडा अधिवेशनमा सोही वडाबाट सचिव पदमा निर्वाचित भएका छन् । एमालेको साङ्गठनिक संरचनामा सचिव समितिको प्रमुख पद हो । महिना दिनको अन्तरालमा एउटा पार्टीको पदाधिकारी अर्को पार्टीको पनि पदाधिकारीमा निर्वाचित हुनुले ती दलका तल्लो तहका कार्यकर्ताहरूको राजनीतिक चेतनास्तरलाई व्यङ्ग्य गरेको छ ।
यो समाचारले एमाले र काङ्ग्रेसको सङ्गठन निर्माण शैलीको वास्तविकता उजागर गरेको छ । कार्यकर्तालाई पार्टीको राजनीतिक र वैचारिकरूपमा प्रशिक्षित बनाउनभन्दा ती दलहरूले टाउको गन्तीमा बढी जोड दिँदा यस्ता हाँस्यास्पद समाचार आउने गरेका छन् । वडा अधिवेशनको नाममा ती दलबाट विभिन्न स्वार्थ पूरा गरेका वा गर्ने अभिलाषा बोकेका व्यक्तिहरूलाई जम्मा गरेर सङ्गठन निर्माण गर्ने शैलीले राजनीतिक सङ्गठनलाई स्वार्थीहरूको जमघटमा परिणत गरेको छ । राजनीतिक कार्यकर्ताहरूको सैद्धान्तिक र सांस्कृतिक स्तर उकास्नभन्दा सिनेमाको टिकट बेचेजस्तै सदस्यता दिने परिपाटीले पार्टीको हित त गर्नेछैन नै, प्रकारान्तरले देशको पनि हित गर्नेछैन ।
२०६२÷६३ सालको जनआन्दोलनपछि स्थानीय निकायलाई सर्वदलीय प्रतिनिधिहरूको जिम्मा लगाएपछि स्थानीय हर्ताकर्ता परिवारका सदस्यहरूले नै विभिन्न दलको प्रतिनिधित्व गरेर कामै नगरी स्थानीय निकायको बजेट पचाएका उदाहरण धेरै छन् । उनीहरूलाई राजनीतिक दलको कार्यक्रम र सिद्धान्तसँग केही लिनुदिनु थिएन । बजेटमाथि हालीमुहाली जमाउन नै उनीहरूले त्यस्ता काम गर्थे । जसले स्थानीय निकायमा विकृति र अनियमितता बढेको थियो ।
राजनीतिक दलमा मनपरी सदस्य बनाउने विकृतिले सिङ्गो देशलाई प्रभावित बनाउँछ । सिद्धान्तलाई भन्दा अवसर र लाभको आधारमा दलको सदस्यता लिने र त्याग्ने परिपाटीले केही दलले तत्कालीन फाइदा उठाएजस्तो अनुभव गरे पनि यसले दीर्घकालीनरूपमा कसैको हित गर्दैन । राजनीति भनेको विचारको प्रतिस्पर्धा हो । तर, शासक दलहरूले यसलाई मुढेबल र टाउको गन्तीको प्रतिस्पर्धा बनाउँदा अहिले नै राजनीतिक ठूलो विकृतिको केन्द्र बनेको छ । लोभी पापीहरू ‘जहाँ मल्कु, उतै ढल्कु’ हुने गरेका छन् । एउटा राजनीतिक दलमा सामाजिक, आर्थिक र राजनीतिक बेइमानी गरेको सदस्यलाई अर्काे दलले फूलको माला लगाएर स्वागत गर्ने परिपाटीले खासमा समाजमा दण्डहीनता अझ गम्भीर समस्या बन्दै गएको छ ।
राजनीतिक दलले सदस्यता वितरण गर्दा वैचारिक, सैद्धान्तिक र राजनीतिकरूपमा प्रशिक्षित बनाउन जरुरी छ । अझ आफूलाई कम्युनिस्ट दाबी गर्ने एमालेजस्तो दलको निम्ति त त्यो अपरिहार्य कुरा हो । लेनिनवादी पार्टी भन्ने अनि काङ्ग्रेसले जस्तो सङ्गठन गर्नु कदापि उपयुक्त होइन । त्यसले पनि एमालेको समाजवादको लक्ष्य झूट मात्र भएको पुष्टि हुन्छ । माक्र्सवाद–लेनिनवादको आधारभूत ज्ञान पनि नभएका, वर्गसङ्घर्ष र विश्व राजनीति, समाजवाद र साम्यवादको कखरा पनि नजानेका मान्छेलाई कम्युनिस्ट पार्टीको सदस्य बनाउनु पार्टीलाई सिद्धान्तनिष्ठ होइन, लोभी पापी र अवसरवादीहरूको कन्टेनर बनाउनु हुन्छ ।
तत्कालीनरूपमा धेरै टाउको देख्दा खुसी बने पनि त्यसले समाज परिवर्तनको खास मुद्दालाई भने ओझेल पार्दै लानेछ । राजनीतिलाई स्वार्थीहरूले आफ्नो दुनो सोझ्याउने माध्यम बनाउनेछन् । राजनीतिक विकृति अझ बढ्नेछ । जसको भुक्तमान नेपाल र नेपाली जनताले गर्नुपर्ने हुन्छ ।
Leave a Reply