नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
‘श्रमिक साप्ताहिक’ मा प्रकाशित चुनिएका केही लेखहरूको सङ्कलन ‘प्रतिपक्षी कलम’ आज (२७ असोज २०७८) सार्वजनिक भएको छ । यो सा¥है खुशीको कुरा हो । ‘श्रमिक साप्ताहिक’ को हालको ‘टिम’ को तर्फबाट लेखक जोराललाई हार्दिक बधाई ज्ञापन गर्दछु । साथै, पुस्तक प्रकाशित गर्ने ‘स्रष्टा समाज’ लाई पनि धन्यवाद ज्ञापन गर्दछु । यस पुस्तकको माध्यमबाट जोराल भनेको लक्ष्मणराज जोशी हुनुहुँदो रहेछ भन्ने कुरा आज आमपाठकले बुझ्न पाएका छन् ।
करिब ४ दशकदेखि जोरालले लेख्दै आउनुभएको छ । उहाँले ‘श्रमिक’ मा सुरुआतदेखि नै लेख्दै आउनुभएको हो । आज श्रमिक साप्ताहिक २८ औँ वर्षमा हिँडिरहेको छ । ‘श्रमिक’ का पाठकले जोरालका कुरा रुचिसाथ पढ्छन् । केही वर्षयता भने ‘श्रमिक’ मा जोराल नियमित हुनसक्नुभएको छैन । ‘श्रमिक’ मा फेरि पनि नियमित लेख्नुहुन पाठकको तर्फबाट म अनुरोध पनि गर्दछु । यसमा हामी आशावादी पनि छौँ ।
जोराललाई आदरपूर्वक लक्ष्मण दाइ भन्छौँ । लक्ष्मण दाइका तीनचार व्यक्तित्वबाट म पनि प्रभावित छु । लेखन कार्यमा मलाई उत्प्रेरित गर्नेमध्ये लक्ष्मण जोशी पनि हुुनुहुन्छ । २०४९ सालमा म विज्ञान विषयमा प्रमाणपत्र तहको अन्तिम परीक्षाको नतिजा पर्खिरहेको थिएँ । उतिबेला ‘प्रेसर कुकरमा कसरी छिटो खानेकुरा पाक्छ ?’ भन्ने विषयमा एउटा लेख लेखेको थिएँ । लक्ष्मण जोशीको सम्पादनमा निस्किने भक्तपुर नगरपालिकाको मासिक प्रकाशन ‘भक्तपुर’ मा त्यो लेख प्रकाशित भएको थियो । एकदिन लक्ष्मण दाइले नै बोलाएर लेखको पारिश्रमिक बुझ्न नगरपालिकामा आउन भन्नुभयो र लेख्दै गर्नु भन्नुभयो । पारिश्रमिक थोरै थियो तर उहाँका शब्दले झन् उत्साहित गरेको कुरा आज सम्झन्छु ।
लक्ष्मण दाइ विभिन्न सभासमारोहमा उद्घोषणको काम गर्नुहुन्थ्यो, उहाँको ‘माइक भ्वाइस’ ले धेरै श्रोतालाई आकर्षित गथ्र्यो र म पनि मोहित हुन्थेँ । उहाँ शिक्षक पनि हुनुहुन्छ भन्ने कुरा पछि मात्र थाहा भयो । उहाँ एक स्वास्थ्यकर्मी पनि हुुनुहुन्छ भन्ने कुरा पनि यदाकदा सुन्ने गर्थेँ । आज लक्ष्मण जोशीको व्यक्तित्व एक जना लेखकको रूपमा बढी प्रज्ज्वलित भएको पाउँछु । ‘प्रतिपक्षी कलम’ त्यसको एउटा उदाहरण हो ।
‘प्रतिपक्षी कलम’ मा कोरिएका शब्द र तिनका भावलाई पुस्तकको नामले न्याय गरेको छ । राज्यको चौथो अङ्ग पत्रकारिताले प्रतिपक्षी भूमिका नै निर्वाह गर्नुपर्ने हो । यस पुस्तकले प्रतिक्रियावादी, जनविरोधी तथा देशघाती विचारको खण्डन गर्न सबभन्दा बढी मसी खर्च गरेको छ । जोरालले स्वार्थी प्रवृत्तिमाथि कडा प्रहार गर्नुभएको छ । लेखककै शब्दमा, ‘गैँडालाई फूलले हानेर हुन्न ।’ भ्रष्टाचारले मोटाएका शासक वर्गलाई नरम शब्दले हान्नुको अर्थ हुन्न पनि । पत्रकार सधैँ सत्ताको विपक्षमा हुन्छ भन्ने मान्यतालाई जोरालको यस पुस्तकले सार्थक बनाएको छ ।
यस पुस्तकमा संलग्न गरिएका लेखहरू २०५० सालदेखि २०५५ सम्म लेखिएका हुन् । पत्रकारिता तात्कालिक महत्वको विषय हो भनिन्छ । तर, ‘श्रमिक’ पत्रिकामा छापिएका ती लेखहरूको अध्ययनको महत्व आज पनि घटेको छैन । शासक दलहरूको चरित्र उस्तै हुनु, देशको राजनीतिक व्यवस्थामा परिवर्तन भएर पनि तिनीहरूको व्यवहार नफेरिनुबाट जोरालका लेखहरूको सान्दर्भिकता कायम रहेको देखाउँछ ।
पत्रकारितालाई हतारमा लेखिएको इतिहास पनि भनिन्छ । तर, जोरालको पुस्तकले विगतसँग साक्षात्कार गरेकालाई विगतको स्मरण गराउँछ भने नयाँ पुस्तालाई विगतको जानकारी गराउँछ । नेपालको वामपन्थी आन्दोलन र त्यसको विश्लेषण बुझ्न ‘प्रतिपक्षी कलम’ नपढिहुन्न । खासगरी नेपालको पछिल्लो राजनीतिक इतिहासमा सडक र सदनमा नेमकिपाले निर्वाह गरेको प्रतिपक्षको भूमिका र यसको विचार शृङ्खलाको अध्ययन गर्न चाहनेले यो पुस्तकको अध्ययन नगरी धरै पाउँदैन । तत्कालीन राजनीतिक घटनाको चिरफार गर्न र राजनीतिलाई फोहरी खेलमा परिणत गर्ने दृष्टिकोणको चिरफार गर्न जोरालको यो पुस्तक पढ्नु उपयुक्त हुन्छ ।
२०५० माघ १२ गते ‘श्रमिक साप्ताहिक’ को पहिलो अङ्क प्रकाशित भयो । व्यावसायिक पत्रकारिताको नाममा विदेशी पुँजीबाट सञ्चालित पत्रिका तथा सञ्चारमाध्यमले श्रमिकवर्गीय विचारमाथि निषेध गरिएको बेला ‘श्रमिक’ को प्रकाशन सुरुआत भएको थियो । जोरालहरूको विद्रोहको ज्वाला दन्काउने माध्यम ‘श्रमिक साप्ताहिक’ बन्यो । ‘श्रमिक’ जोरालहरूले बनाएको एउटा डबली बन्यो । सुरुआत कठिन नहुने कुरै थिएन । न्युटनको चालको पहिलो नियम (ल अफ इनर्सिया) अनुसार पनि स्थिर रहेको वस्तुलाई चालमा ल्याउन अलि बढी शक्तिको आवश्यकता हुन्छ । कुनै नयाँ काम गर्न सुरुआतमा अनेक कठिनाइ हुन्छन्, जोरालहरूले त्यही कस्टसाध्य काम गर्नुभयो ।
कुनै व्यक्तिको मूल्याङ्कन त्यतिबेलाको ऐतिहासिक परिस्थितिको आधारमा गर्नु आवश्यक हुन्छ । इतिहासको कठोरतालाई नबुझेर आजको चश्माले विगत हेरेर गरिएको विश्लेषण पनि सही नहुनसक्छ । ‘श्रमिक साप्ताहिक’ प्रकाशन तथा सम्पादनको कर्ममा पर्दाअगाडि र पछाडि रहेर काम गर्ने सबैलाई सम्झनु अहिले सान्दर्भिक हुन्छ । त्यस्तै नाममध्ये हो जोराल ।
कुनै लेख पढ्ने क्रममा आफ्नो भोगाइ र परिवेश जोडिन्छ भने पढ्नुको मज्जा नै बेग्लै हुन्छ । जोरालको ‘हलो र छोरी’ शीर्षकको लेख एउटा उदाहरण हुनसक्छ । जोरालले साना भनी बेवास्ता गरिएका विषयमा पनि लेख्नुभएको छ भन्ने पनि यसले देखाउँछ । म पनि भक्तपुरको खेतीकिसानी गर्ने परिवारमा हुर्किएँ । राजनीतिक गतिविधिको सिलसिलामा मेरा बुबा (बुद्धिकुमार गोसाई) जुम्ला–मुगु–काठमाडौँका जेलमा कैद पर्नुभयो । घरमा आमाले धानको ब्याड लगाउन मलाई अ¥हाउनुहुन्थ्यो, बिउ हाल्ने काम पुरुषले नै गर्नुपर्ने मान्यता रहेछ ¤ म भने १०–११ वर्षको केटो थिएँ । समाजको नियममा बाँधिएकी महिलाको कथा जोडेर ‘हलो र छोरी’ शीर्षकको लेख जोरालले लेख्नुभएको छ । पति अशक्त भएकाले १० वर्षको छोरालाई अगाडि सारेर कैलालीकी एक महिलाले हलो जोतेकी हुन्छिन् । घटना २०५५ जेठतिरको हो । एउटी जनप्रतिनिधिले ती महिलाको काम एक कलङ्क भन्दै १०० रुपियाँ जरिवाना गराएको घटना राख्दै लेखक जोरालले परिवर्तनको निम्ति महिलालाई शिक्षा र ज्ञान नै चाहिने तर्क गर्नुभएको छ ।
२०५४ असार ३० गते प्रकाशित ‘विदेशमा जागीर खान डा. महत कहिले जाने ?’ शीर्षकको लेख पढ्दा ‘कठै ¤ मेरो देशले कस्तो नेता पाएछ’ भन्ने लाग्छ । तत्कालीन अर्थमन्त्री रामशरण महतले बजेट भाषणमा प्रत्येक निर्वाचन क्षेत्रबाट २०० जनालाई ऋण दिएर विदेश पठाउने घोषणा गरे । एकातिर नवउदारवादी अर्थनीति लागु गरी उद्योग–कलकारखानाको निजीकरण गरियो, चालु उद्योगसमेत बन्द भए, भारतीय एकाधिकार पुँजीले नेपाली बजार ओगट्न थाल्यो । अर्कोतिर ‘दक्ष जनशक्ति’ लर्को लागेर विदेश जान थाले । भारतीय नागरिकले नेपाली श्रमबजारमा कब्जा जमाउन थाले । भारतीय नागरिकले नेपालमा काम गरी भारत लाने विप्रेषण रकमभन्दा नेपालीले भारतका ‘काला पहाड’ मा श्रम गरी लिएर आउने विप्रेषण रकम धेरै गुणाले कम छ । रामशरण महतहरूकै कारण नेपाल ‘बेरोजगारको देश’ बनेको छ । आज नेकाका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा र नेता रामशरण महत अमेरिकी सैन्य परियोजनासहितको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी सम्झौता) पारित गराउन ज्यान फालेर लागिरहेका छन् । हिजो नेपाललाई भारतीय एकाधिकार पुँजीको सिक्रीले बाँध्न भूमिका खेल्नेलाई नै नेपालमा अमेरिकी साम्राज्यवादको युद्धभूमि बनाउन प्रयोग गरिँदै छ । यस्ता विदेशी दलालहरूकै कारण नेपालको सार्वभौमिकता खतरामा परेको छ । नेपालीको सर्वत्र विरोध हुँदाहुँदै संरा अमेरिका जबरजस्ती पैसा दिन किन खोज्दै छ ? के संरा अमेरिकाले कुनै स्वार्थ नराखी सहयोग गर्न खोजेकै हो ? डा. महतजस्ता तथाकथित बुद्धिजीवीहरूकै कारण देश सङ्कटमा फसेको छ भन्ने जोरालको लेखको सार रहेको छ ।
जोरालको अर्को एक लेख छ – ‘रङ्गीन स्यालको रङ्गीन मट्टीतेल’ । लेख आयल निगमको भ्रष्टाचारसँग सम्बन्धित छ । भ्रष्टाचार त नेपालको कहिल्यै निको नहुने घाउ भएको छ । तेलको भाउसमेत नेपालले स्वतन्त्ररूपमा निर्धारण गर्न पाउन्न भन्ने सन्देश पनि यस लेखमा छ । यो नेपालको सार्वभौमिकतामाथिको एक प्रश्न पनि हो । नेपालको पेट्रोलियम पदार्थ सस्तो भएकोले भारतमा चोरी निकासी हुने भएकोले तेलको मूल्यवृद्धि गर्नुपरेको तर्क निगमले गर्छ । पेट्रोलमा मट्टीतेल मिसावट गर्ने गरेको कारण मट्टीतेल रङ्गीन गरिएको तर्क पनि निगमले गरेको रहेछ । भारतमा ट्याङ्करमा पेट्रोल भर्नको लागि ५–७ दिन क्यु बस्नुपर्ने तर घुस खुवाएर छिटो तेल भरेर ल्याइँदो रहेछ । तेल ढुवानीका ती व्यापारीले त्यही पैसा असुल्न पेट्रोलमा मट्टीतेल मिसाएको तर्क गरेका रहेछन् । निगमका कर्मचारी पनि घुस खुवाएर नै भन्सारतिर सरुवा भइआउने वा प्रमोसन पाएका हुने रहेछन् । यसरी भ्रष्टाचारको चक्र घुमिरहँदो रहेछ ¤ यसपालीको दसैँको मुखमा मुगुमा भयङ्कर गाडी दुर्घटना भयो । करिब तीन दर्जन मानिस मारिए । ट्राफिक घुस खाएर गाडी ‘पास’ गर्छ, सडकको हालत अत्यन्तै खराब छ । कोही आफ्नो जिम्मेवारी पूरा गर्न तयार छैन । कर्णाली राजमार्गलाई ‘मृत्युमार्ग’ बनाउने काम त्यहाँका शासक दलका नेता तथा तिनीहरूको संरक्षणप्राप्त कर्मचारीहरूले गरिरहेका छन् । म केही दिनअगाडिमात्र दैलेखको एउटा कार्यक्रममा सहभागी हुन कर्णाली राजमार्गकै यात्रामा थिएँ । सुर्खेतको बाङ्गेसिमलमा ट्रफ्रिकले गाडी रोक्यो । ट्राफिकले महिनामा एकपटक प्रत्येक गाडीबाट अनधिकृतरूपमा रु. १ हजार उठाउँदो रहेछ । त्यसपछि सीट क्षमताभन्दा बढी मानिस राखिएपनि ट्राफिकले आँखा चिम्लिदिँदो रहेछ । गाडी मालिक र ट्राफिकको भ्रष्टाचारको कारण अनाहकमा यात्रीले दुःख पाएका छन् । यातायातमा भ्रष्टाचारका सानाठूला चक्रव्यूह जताततै भेटिन्छन् ।
‘एमालेको पातकी थुतुनो कहिले सम्हाल्छ ?’ शीर्षकमा २०५४ मा प्रकाशित जोरालको अर्को लेखको सान्दर्भिकता आज पनि छ । शीर्षक तीव्र आक्रोशपूर्ण देखिन्छ । यद्यपि, शीर्षकमा ‘सम्हालिन्छ’ भन्नु वा ‘एमालेले’ लेख्नु उपयुक्त हुन्छ । यो लेखमा नेपाली काङ्ग्रेस, सद्भावना पार्टी र राप्रपाको संयुक्त सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री सूर्यबहादुर थापाले २०५४ मा मध्यावधि निर्वाचनको घोषणा गरेको प्रसङ्ग छ । नेमकिपाले उतिबेला पनि संसदीय परम्परा तथा संसदीय मूल्यमान्यताअनुसार प्रमसँग संसद् विघटन गर्ने भरिएको बन्दूक हुन्छ भन्ने तर्क गर्दै निर्वाचनको तयारीमा लाग्नुपर्ने निर्देश गरेको थियो । २०५२ सालमा प्रम गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गर्दा होस् वा मनमोहन अधिकारीले, नेमकिपाले विचार परिवर्तन गरेको थिएन । मनमोहनबाट संसद् विघटन हुँदा ‘नेमकिपा दृढ अडान भएको, अध्यक्ष रोहितलाई वरिष्ठ कम्युनिस्ट र अनुभवी राजनीतिज्ञ’ भन्ने सम्बोधन गरेको नेकपा (एमाले) निकटका पत्रपत्रिकाले सूर्यबहादुर थापाको संसद् विघटनमा समर्थन जनाउँदा नेमकिपाप्रति विषवमन गरे । यसलाई जोरालले ‘कलम गलत हातमा परेपछि दुरुपयोग भएको’ भन्नुभएको छ । पछिल्लो पटक नेकपा (एमाले) कै नेता केप ओलीले संसद् विघटन गर्दा पनि त नेमकिपाले ताजा जनादेश वा निर्वाचनमा जानु उपयुक्त भन्दै संसद् विघटनलाई औचित्यपूर्ण ठान्यो । नेमकिपा केपी ओलीको पछाडि लागेको जस्ता सतही टिप्पणी गर्ने पार्टीहरू देखिए नेपाली राजनीतिक डबलीमा ।
सारमा, ‘प्रतिपक्षी कलम’ पठनीय छ । यस पुस्तकमा प्रस्तुत जोरालका विचार तथा विश्लेषण सटिक लाग्छ । लेखमा धेरै लामो पृष्ठभूमि हुन्न । लेख धेरै लामा पनि छैनन् । त्यसैले सशक्त लाग्छ । वाक्यहरू सरल छन् । सामान्य पाठकले पनि बुझिने शैली छ । जोरालका लेखहरू फेरि पनि नियमितरूपमा ‘श्रमिक साप्ताहिक’ मा पढ्न पाइयोस्, यही कामना ! फेरि एकपटक लेखक जोराललाई हार्दिक बधाई तथा शुभकामना !
(जोरालद्वारा लिखित ‘प्रतिपक्षी कलम’ सार्वजनिकीकरण कार्यक्रम (२०७८ असोज २७) मा नेमकिपाका केन्द्रीय सदस्य एवम् ‘श्रमिक’ का प्रकाशक सरोजराज गोसाईले व्यक्त गर्नुभएको मन्तव्य सम्पादनसहित– सम्पादक)
Leave a Reply