नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
नेपालमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएको समयमा करिब ६० दिन घरबाट बाहिर ननिस्किई हामीले दिन बिताएका थियौँ । समय सोचेजसरी चलेन । जतिबेला घरबाहिर गएनौँ, त्यतिबेला झापामा कोरोनाको सङ्क्रमण थिएन । पछिल्लो समय अर्थात् २०७८ साल साउन २९ गते झापामा कोरोना भाइरस परीक्षण गराएकामध्ये ३५ प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भयो ।
सम्झन्छु, कोरोना भाइरसको सङ्क्रमण सुरु हुँदै गर्दा कोरोनाका लक्षणबारे समाचार पढ्दा कतै आफूलाई पनि सङ्क्रमण भयो कि भन्ने भान परेको थियो । तर, पेसाका कारण भन्नुपर्छ, सबै विषय सामान्य लाग्दै गयो । पहिले झापाको दमक र बारदशीमा एक एक जना कोरोना सङ्क्रमित फेला परे रे भन्दा त्यो खबर कन्ट्याक्ट ट्रेसिङ, एरिया सिललगायतका विषय निरन्तर समाचार बने । आज झापामा हरेक घरमा कोरोना सङ्क्रमण छ भन्दा सामान्य लाग्न थालेको छ । पछिल्लो समय त मृत्यु पनि थोकमा गणना हँुदै छ । ‘फलानाको कोरोनाका कारण मृत्यु भयो रे’ भन्दा ‘ए हो र !’ भन्नेभन्दा बढी केही प्रतिक्रिया आउन छाडेको छ ।
छाती दुःखेजस्तो भो, सामान्य ज्वरो आयो, आँखामा इन्फेक्सन थियो । त्यही इन्फेक्सनको कमाल होला भन्ने लाग्यो । फेरि सोचेँ, मेरो कारण अरू अप्ठ्यारामा पर्नु हुँदैन । परीक्षणका लागि स्वाब दिन कोटिहोम गएँ । भाइ अनुप सापकोटा र म गएका थियौँ । ऊ भखरै कोरोना पोजिटिभ भएर मुक्त पनि भइसकेकोले बढी नै आत्मविश्वासी छ पनि । फर्कँदै गर्दा भद्रपुर रोडमा हिमालय एक्सरेमा हिमाल अधिकारी दाइलाई छातीको एक्सरे गर्न लगाए। छाती ठीक छ भनेर हिमाल दाइले भन्नुभयो अनि लाग्यो, रिपोर्ट पोजिटिभ आए पनि बाँचिन्छ भन्ने ।
स्वाब दिन जाने भएपछि घरमा स्वास्थ्य सुरक्षाका मापदण्ड सुरु भयो । पहिले परिवारमा नै ६ जनालाई कोरोना लागेको र घरैमा राखेर उपचार गरेकाले बिरामीलाई स्याहार्दास्याहार्दै श्रीमती दीपा सापकोटा पोखरेलको व्यवहार एक जना नर्सको भन्दा कम छैन । खानापिना, उठाइबसाइ, स्वास्थ्य मापदण्ड अनुकूल हुनथाल्यो । तर पनि स्वाब दिएर आएका दिन कुनै काम गर्न मन नै लागेन । सुतेको छ, निद्रा पनि लाग्दैन । यसअघि थुप्रै मान्छेलाई स्वाब दिन पठाएर छिट्टै रिपोर्ट दिनु है भन्ने गरेको थिएँ । कतिपटक पत्रकार मित्र उमाकान्त खनाललाई कोटिहोममा कार्यरत प्राविधिक सुशील भाइलाई भनिदिनु है भनेर अनुरोध पनि गरेको थिएँ। तर मेरो रिपोर्ट छिटो बनाउन सोर्स लगाउन मन नै मानेन, केही भनिनँ पनि ।
कनकाईको कोटिहोम ल्यावमा स्वाब दिएर आएपछि निद्रा लागेको छैन । राती १ बजेर २७ मिनेटमा फोनमा म्यासेजको टोन बज्यो । सिरानी नजिक राखेको फोन यसो हेरेँ । म्यासेज पढेँ । म कोरोना सङ्क्रमित भएको रहेछु । फेरि मोबाइलमा घडी हेरेँ । दीपालाई भनौँ कि बिहान भनौँ, करिब १० मिनेट सोचेँ । त्यसपछि दीपालाई बोलाएर कोरोना पोजिटिभ रहेछ भनेँ । निद्रा गायब ! ओछ्यानमा कोल्टे फेर्दाफेर्दै बिहान भयो ।
कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि लाग्यो, अब मरिन्छ कि बाँचिन्छ ! अन्योलका गतिविधि अगाडि बढे । कोरोना भाइरसको सङ्क्रमणपछि कल्पनै नगरेका थुप्रैको ज्यान गयो । ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेलाई सम्झिएँ । केही दिनअघि भाउजू अनिताले फोन गरेर चन्द्र दाइको नाममा एउटा फाउन्डेसन बनाउनुपर्छ होला भन्नुभएको सम्झिएँ । भाउजूसँग भेट नै नभई गइन्छ कि जस्तो पनि लाग्यो । भर्खरै छिमेकी साथी कुमार मैनाली मभन्दा दुई वर्ष जेठो हो, ऊ पनि कोरोनाबाटै बित्यो । आफू सङ्क्रमित भएपछि कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएका चिनजानका धेरैका अनुहार झलझली आँखामा आइरह्यो । उद्यमी दीपेन्द्र पोखरेल, अर्जुनधारा नगरपालिकाका प्रशासकीय अधिकृत महेन्द्र खाम्याङलगायतका मित्रहरू जिउँदो बाघसँग भिडेर फर्कन सक्ने खालका थिए । तर, उनीहरूलाई पनि कोरोनाले लग्यो । श्रीमती दीपा “के सोच्नुभएको ?” भन्छिन्, “उत्तर के दिने ?”
पोजिटिभ रिपोर्ट आएपछि दैनिकी फेरियो । खाने, बस्ने र सुत्ने । तर पोजिटिभको रिपोर्ट हेरेपछि अब घरमा ककसलाई कोरोना फैलाएँ भन्ने चिन्ता पनि उत्तिकै छ । बिर्तामोड नगरका अहेब अधिकृत दीपक सापकोटालाई फोन गरँे । आफरनोबारेमा बताइन । तर, दीपा र रेडियो भिजनका स्टेसन मेनेजर विशाल नेम्बाङको एन्टिजेन परीक्षण गराइदिन भनेँ । दीपकजीले सजिलै नाम एसएमएस गरिदिनु न भन्नुभयो । र, साढे १० बजे मेची आँखा अस्पताल परिसर पुग्न भन्नुभयो । साँच्चै कोरोना भाइरस सङ्क्रमणको महामारीपछि बिर्तामोड नगरबाट प्राप्त सकारात्मक सहयोग नै पहिलो हो भन्दा पनि हुन्छ ।
थ्याङ्क्स गड ! दीपा र विशालको रिपोर्ट नेगेटिभ आयो । यसले घरमा ढुक्क भो । अफिसमा ढुक्क भो । कसैलाई सङ्क्रमण फैलिएको रहेनछ । अब पालो थियो, आफरनो उपचारको । कसलाई भन्ने ? सम्झिएँ । साँच्चै असल मित्र मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टङ्कप्रसाद बाराकोटीलाई फोन गरेँ । आफरनो हाल बताएँ । उहाँले बेलुका सुत्ने बेलामा ीभ्ख्इऋभ्ट छ दिनको एकपटक खान सुझाव दिनुभयो । मेची अस्पतालमा धेरै जनाको उपचार सहजीकरणका लागि उहाँलाई अनुरोध गर्दा काम गर्नुभएको छ । मेरै लागि त झन् गर्नुहुन्छ होला भनेर अलिक ढुक्क भो ।
साह्रो परे उपचार कसरी कहाँ कहाँ गर्ने भन्ने विषयमा पनि मनमनै सोचेँ । मेची अस्पतालभन्दा राम्रो अन्य ठाउँ हुने छैन भन्ने आफैँमा निष्कर्ष निकालेँ । अर्जुनधाराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याङलाई सम्झिएँ । उहाँले समयमा ठीक उपचारको अभावमा मृत्युवरण गर्नुभयो । बिर्तामोडका सामाजिक व्यक्तित्व दीपेन्द्र पोखरेल, झापाली उद्यमी पर्शुराम अग्रवाललगायतलाई सम्झिएँ । मृत्यु सत्य हो । अहिले म जीवन कि मृत्यु, कता जाने त्यो मेरो रोजाइ र छनोटले काम गर्दैन । उपचारका लागि मैले सम्झिएका सबै साथीहरूलाई सकेसम्म नगरेको कहाँ हो र ! तर सम्भव भएन ।
कोरोना सङ्क्रमण भएर घरमा बसेको छु । सामाजिक सञ्जाल अरू बेला त साथीजस्तो लाग्थ्यो । तर जब फेसबुक खोल्यो मृत्युका खबरहरूले फेसबुक वाल भरिएको भेट्थेँ । आफू त्यही रोग लागेर बसेको छु । त्यही रोग लागेको आफरनै उमेर समूहको मान्छे भटाभटी मरिरहेका छन् । कसरी मन थाम्न सकिँदो रहेछ र ! कोही साथीलाई सम्पर्क गर्यो, कोरोना पोजिटिभ भएको छ भन्ने थाहा भयो भने सबै नेपाली डाक्टर भइहाल्ने ! के खाने, के नखाने, के गर्ने, के नगर्ने साह्रै धेरै अर्तीले पनि हैरान बनाउँदो रहेछ । त्यसैले मेरो मोबाइल फोन स्वीच अफ गरेँ । सामाजिक सञ्जालहरूबाट टाढा भएँ । सामाजिक सञ्जाल त रोगीहरूका लागि आत्मबल घटाउने अचुक अस्त्र बन्दोरहेछ ।
पोषिलो र झोलिलो खानेकुरा कोरोना कालमा मात्र होइन, जीवनका लागि अत्यावश्यक नै हो जस्तो लाग्यो । पानीलाई जीवन किन भनेको रहेछ भन्ने पनि कोरोना सङ्क्रमण पुष्टि भएपछि थाहा पाएँ । श्वास फेर्न गाह्रो हुँदा तातोपानी बरदान नै बन्यो । सुप खानु भनेको त्यसै होइन रहेछ । शरीरमा पानीको मात्रा धेरै भए धेरै रोगसँग लड्न सकिन्छ भन्ने अनुभूति रहेको छ । आफरनो शरीरलाई के गर्दा सजिलो हुन्छ, मान्छेअनुसार आ–आफरनै अनुभव हुन सक्छन् । मैले त तरल तातो जीवन हो भन्ने कोरोना कालमा अनुभूति गरँे । आजसम्म आफरनाबारे यति धेरै सोच्ने समय पनि कहाँ मिलेको रहेछ र !
कोरोना भाइरस सङ्क्रमण भएको विषय प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टङ्कप्रसाद बाराकोटी, प्रदेश सभाका सदस्य वसन्त बानियाँलगायत थोरै जनालाई मात्र जानकारी गराएँ । आखिर समाजमा धेरैलाई कोरोना सङ्क्रमण भएको छ । किन धेरै प्रचार गर्नु र ? शरीर करकरी दुःखेको छ । तर नदुखेझैँ अभिनय गर्छु । घरीघरी अभिनयले पनि थाम्दैन । अति दुखेको बेला सम्झन्छु म मरेँ भने को को खुसी हुँदा हुन् ! अरे बा ! बीपी कोइरालाको शत्रु कथाजस्तै साँच्चै म मर्दा खुसी हुनेको जमात पो ठूलो छ कि जस्तो पनि लाग्छ । फेरि सोच्छु, मैले कसैको कुभलो गरेको छैन । मेरो मर्नुपर्ने कारण नै छैन । जति मान्छे मसँग रिसाएका छन्, उनीहरू गलत काम गर्न नपाएर रिसाएका होलान् । समाचारमार्फत उजागर गरेको देवी गुठीको जग्गा हडपेर खान नपाउने रिसाएका होलान् । स्थानीय सरकारलाई त्यही जग्गा किन्न लगाएर खान नपाउने रिसाएका होलान्, त्यही विषयमा पनि रिसाउनेभन्दा खुसी हुनेको सङ्ख्या ठूलो छ । आम सचेत नागरिक मैले थालेको अभियानमा खुसी छन् । पूर्वमन्त्री अग्निप्रसाद खरेलले सो जग्गा फिर्ताका लागि गर्नुभएको योगदान यस क्षेत्रका नागरिकले बिर्सिएका छैनन् र बिर्सिने छैनन् पनि । हो, म मर्दा को को खुसी हुन्छन् होला, नामको फेहरिस्त त आइरहेको छ । तर नाम त लेख्नु हुँदैन होला ।
जे होस्, म मर्दा दुःखी हुने पनि त होलान् । हो, छन् । मेरो परिवारका सदस्यहरू सङ्क्रमण भएर बस्नुपरेपछि अनेक कल्पना हुँदारहेछन् । मेरो बुबाको स्वर्गारोहण हुँदा म ९ कक्षामा पढ्थेँ । आज मेरी ठूली छोरी रोजा ८ कक्षामा र सानी छोरी रौप्य ३ कक्षामा पढ्छन् । म मरेँ भने उनीहरू के गर्लान् ! आफरनो बाल्यकाल र जीवन फिल्मजसरी दिमागमा घुमिरहेको छ । बुबा बितेपछिको मेरो विगत र म नहुँदा मेरी छोरीको भविष्य दृश्य मस्तिष्कभरि मडारियो । जीवनमा भोगेका सुखदुःख फनफनी घुमिरहेको छ । यो कोरोना भाइरसको सङ्क्रमण नभएको भए यति धेरै सोच्ने र जीवनको समीक्षा गर्ने समय कहाँ मिल्थ्यो होला र !
म मरिहाल्दिनँ । नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लोपटक २०७८ साउन २१ गते उहाँकै निवास बालकोटमा भेट भएको स्मरण भयो । लगभग तीन घण्टाको कुराकानीको अन्त्यतिर अध्यक्ष ओलीले उहाँकी धर्मपत्नी राधिका शाक्यको ‘मेरो अनुभूति’ पुस्तक दिनुभएको थियो । त्यो पुस्तक पढेपछि त्यति धेरै रोगहरूले आक्रमण गर्दा पनि अध्यक्ष ओलीलाई उपचार सम्भव भयो । उहाँको अहिलेको सक्रियता हेर्दा मजस्तो उमेर समूहको मान्छेले मर्ने कल्पना गर्नु नै बेकार छ भन्ने लाग्यो । र, यस्तै भयो पनि मलाई केही दिनपछि आराम मिल्यो । जीवनको समीक्षा सकेपछि १५ दिन पुग्दा कोरोना भाइरसको सङ्क्रमण नेगेटिभ आयो । र, समीक्षापछिको जीवन अझ सहज हुने अपेक्षा छ ।
प्रेस काउन्सिल नेपालको सदस्यका रूपमा १ नम्बर प्रदेशका पत्रकार साथीहरूसँग कोरोनाले पत्रकारितामा पारेको प्रभावका बारे साह्रै धेरै सोधखोज गरेको थिएँ । प्रदेश नम्बर १ का १४ वटै जिल्लाका नेपाल पत्रकार महासङ्घका अध्यक्षहरू, प्रदेश पत्रकार महासङ्घका अध्यक्ष, महासचिवलगायतका साथीहरूसँग भर्चुअल अन्तरक्रिया नै गरेको थिएँ । त्यतिबेलासम्म मलाई कोरोना सङ्क्रमण भएको थिएन । सङ्क्रमित भएका साथीहरूले भनेका कुरा दन्त्यकथाजस्तो लाग्थ्यो । आफैले भोग्दा कोरोना साँच्चै ख्यालख्याल गर्ने विषय होइन रहेछ । पत्रिका नियमित प्रकाशित हुन सकेका छैनन् । रेडियोकर्मीहरू सङ्क्रमित भएपछि नियमित हुन कठिन भइरहेको छ । टीभी र अनलाइनहरूले सीमित जनशक्तिमा ‘काम गर्दैछस् ?’ भन्दा ‘गर्दै छु’ भन्ने गरिएको मात्रै अवस्था छ । नियमित पारिश्रमिक दिन धौ धौ परेका मिडियाहरू कोरोनाले क्षतविक्षत बनेका छन् । अब कति चल्छन्, कति उठ्नै नसक्ने हुने हुन्, कल्पना गर्न कठिन छ । पत्रकारिता पेसाबाट पलायन हुन बाध्य हुनेहरूको सङ्ख्या पनि ठूलै हुने अवस्था छ । यस्तोमा कसलाई कसरी पो सहयोग गर्न सकिएला र सहयोग गर्नुपर्नेहरू पनि आफै अन्योलको अवस्थामा छन् । कोरोना भाइरसको सङ्क्रमणले खर्च घटाउन नपाउने, नसक्ने तर आम्दानी हँुदै नहुने अवस्थाबाट साना लगानीका मिडियाहरू झन् धेरै प्रभावित छन् । यस्तो अन्योलको अवस्थामा ज्यान बचाउनै मुस्किल भइरहेको छ । हो, आफू आफै बाँच्नका लागि के गर्ने होला, सबैका लागि अनुत्तरित प्रश्न बनेको छ यो ।
(लेखक प्रेस काउन्सिल नेपालका सदस्य हुनुहुन्छ ।)
स्रोत : संहिता, असोज २०७८
Leave a Reply