नेपालीहरू भारतविरोधी होइनन् – ४
- कार्तिक १४, २०८३
एक प्राध्यापकले भने, “माक्र्सवाद पढ्नु र माक्र्सवादी हुनु बिलकुल विपरीत कुरा हुन् ।” हो, माक्र्सवादका ग्रन्थहरू ठेलीका ठेली पढ्दैमा कुनै नेता, कुनै विद्वान, कुनै लेखक या कुनै बुद्धिजीवी माक्र्सवादी हुँदैनन् । कुनै नेता, मन्त्री, सांसद तथा कार्यकर्ताले धेरै माक्र्सवादी ग्रन्थ पढे पनि, माक्र्सवादबारे लेखे पनि उनीहरू माक्र्सवादी हुँदैनन् । कुनै ग्रन्थको अध्ययन गर्नु र सिक्नु एउटा पाटो हो भने त्यसलाई व्यवहारमा लागू गर्नु अर्काे पाटो हो ।
यो कुरा कम्युनिस्ट नेता तथा कार्यकर्ताहरूमा पनि लागु हुन्छ । देश विदेशको राजनीति बुझेर, अध्ययन गरेर कम्युनिस्ट हुनु, कम्युनिस्टमा लाग्नु र कम्युनिस्ट सिद्धान्तबारे लेखेर, भनेर, प्रचारप्रसार गर्नु राम्रै हो, गर्नुपर्छ । कुनै दलका कम्युनिस्ट भनिने नेताहरूले लिएको कार्यनीति गलत छ भने आलोचना गरेर खबरदारी गर्ने र सही छ भने त्यसको अनुकरण गरेर अगाडि बढ्नु पनि सही हो । तर, कम्युनिस्ट भन्ने अनि कम्युनिस्ट पार्टीकै सिद्धान्त र विचार उडाउने, त्यस विपरीतको बाटोमा लाग्ने काम गलत हो । माक्र्सवादीहरू कम्युनिस्ट हुन्छन् तर सबै कम्युनिस्टहरू माक्र्सवादी हुँदैनन् भन्नुको तात्पर्य पनि यही हो ।
हो, माक्र्सवादीहरू सबै प्रगतिशील साहित्यकार हुन्छन् तर सबै प्रगतिशील साहित्यकारहरू माक्र्सवादी हुँदैनन् । कति कम्युनिस्टहरूको मार्ग निर्देशक माक्र्सवाद–लेनिनवाद रहेको हुन्छ । तर, ती दलका नेताहरूले माक्र्सवादी र लेनिनवादी सिद्धान्तअनुसार अगाडि बढ्नु त कता हो कता माक्र्स र लेनिनको नाउँ पनि लिँदैनन् । विदेशीहरू पार्टी कार्यालयमा आउँदा माक्र्स र लेनिनको फोटोहरू हटाएको समाचार प्रकाशमा आएकै हो ।
माक्र्सवाद–लेनिनवादलाई मार्ग निर्देशक सिद्धान्त मान्ने दलका कति नेताहरूले तद्नुसार राजनीति गरिरहेका छैनन् । उनीहरू माक्र्सवाद र लेनिनवादलाई आफ्नो देश, काल र परिस्थितिअनुसार लागु गर्नुभन्दा जसरी भए पनि सत्तामा जाने, राजस्वमा दाइँ गर्नेतर्फ उन्मुख देखिएका छन् । देशमा परिवर्तन गर्न होइन, बहुमत जनताको सेवा गर्न होइन सरकारको नेतृत्व गर्नु नै उनीहरूको ध्येय रहेको हुन्छ । सरकारको नेतृत्व गर्न पाएपछि उनीहरू आफ्नो लक्ष्य पूरा भएको ठान्छन् । यसैले माक्र्सवाद–पढ्नु, माक्र्सवादी हुनु, कम्युनिस्ट भन्नु र कम्युनिस्ट हुनुमा फरक पाइन्छ ।
Leave a Reply