भर्खरै :

स्वाधीनताको मामिलामा सत्तासीन दलहरू असफल

काठमाडौँ, १३ कार्तिक । देशको सार्वभौमिकता र स्वाधीनताको मामिलामा सत्तासीन दलहरू चुकेका छन् । नेपाल भारतबीचको सीमा नाकामा नेपाली भूमि मिच्नु, नेपाल–भारत सीमाको मापदण्डभित्र अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत एकतर्फीरूपमा बाँध तथा तटबन्ध बनाए पनि सरकार मौन रहनु यसको दृष्टान्त हो । नेपाल–भारत सीमानाका व्यवस्थित नभएसम्म या नेपाल र भारतबीचको सीमा नछुटेसम्म भूमि मिच्ने र सीमा वरपर आपराधिक गतिविधिहरू भइरहनेमा शङ्का छैन । भारतीय विस्तारवादको चापलुसी गरेर सत्तामा जाने र बस्ने पार्टीहरूलाई नेपाली जनतामाझ उदाङ्ग्याउनुपर्छ, तिनीहरूको अपराध र बेइमानीलाई जनतामाझ पु¥याउनु प्रत्येक देशभक्त नागरिक र राजनीतिक दलका नेता र कार्यकर्ताहरूको कर्तव्य हो ।
नेपाली भूमि कालापानी क्षेत्रमा अझै भारतीय सेना तैनाथ गरिएको छ । नेपाली भूमिमा भारतीय विस्तारवादी फौज तैनाथ गरिराख्नु भारतीय हस्तक्षेप नै हो । कालापानीमा तैनाथ भारतीय सेना नेपाल छोडेर जानुपर्छ भनी एकदुई वटा वक्तव्य निकालेर या एउटा विज्ञप्ति निकालेर भारतले भारतीय सेना हटाउने स्थिति छैन । भारतीय सेना फर्काउन, नेपाली भूमि फिर्ता लिन एक दिन एकचोटि वक्तव्य प्रकाशित गरेर नेपाली भूमिबाट भारतीय सेना नफर्काउने हुँदा यसको विरोध निरन्तर गरिरहनुपर्छ, यो विषय निरन्तर उठाइरहनुपर्छ । तर, नेपाल सरकार देश बचाउने यो मामिलामा पछि परेको छ ।
नेपाल र नेपालीको भन्दा भारतलाई खुसी बनाएर, भारतको आशीर्वाद पाएर सरकार चलाउने दलका नेताहरू स्वाभीमानी हुनसक्दैनन्, नेपाललाई सुरक्षित राख्न सक्दैनन् । आर्थिक सहयोग या पैसा भनेपछि ज्यानको बाजी फालेर घम्साघम्सी गर्ने सत्तारुढ दलका नेताहरू देश र जनताप्रति जिम्मेवार छैनन् भन्ने थाहा हुन्छ । देशभक्त दल र दलका नेताहरू नेपाल र नेपालीको अहितमा कुनै पनि सन्धि र सम्झौतामा हस्ताक्षर गर्दैनन् । यदि विदेशी शक्तिराष्ट्रले हस्ताक्षर गराउन दबाब दियो भने सो कुरा जनतासामु बताउँछन् । राष्ट्रघाती दलका नेताहरू जनतासामु नउदाङ्ग्याए फेरि त्यस्तै सम्झौता गर्न तम्सिन्छन् । अतः देशभक्त जनता र कुनै पनि कम्युनिस्ट पार्टीका नेताहरूले देशविरोधी र जनताविरोधी कामको विरोध गर्नैपर्छ, जनतामाझ उदाङ्ग्याउनैपर्छ । यसतर्फ देशभक्त दल र जनता चनाखो हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *