भर्खरै :

समय साकोसको एघारौँ साधारण सभा सम्पन्न

भक्तपुर, १३ कार्तिक । समय बचत तथा ऋण सहकारी संस्था लि. को एघारौँ वार्षिक साधारणसभा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
सभामा अतिथि गोसाईले संस्थाका पदाधिकारी तथा सदस्यहरूको लागि आवश्यक शिक्षा, तालिम प्रदान गरी देशप्रति सेवा गर्ने भावनाको विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
संस्थाले आर्थिक गतिविधिका साथै खेलकुद, सङ्गीत, कला संस्कृति, होटल, पर्यटन आदि व्यवस्था गरेर रोजगारी सिर्जना गनुपर्ने आवश्यकता आँैल्याउनुभयो । उहाँले राजनैतिक विसङ्गतिको चर्चा गर्दै सहकारी संस्थाले समृद्ध समाज निर्माणमा पनि भूमिका खेल्न सकिने बताउनुभयो ।
तत्कालीन केपी ओलीको सरकारले आफ्नै पार्टीको आन्तरिक किचलोको कारण संसद विघटन गरेको उल्लेख गर्दै उहाँले नेमकिपा निर्वाचनको पक्षमा रहेको बताउनुभयो । भागबन्डामा अल्झेर सङ्घीय सरकारको अस्थिरतासँगै प्रदेश सरकार पनि अस्थिर भइरहेको उहाँले बताउनुभयो ।
एमसीसी पास गरेर नेपालमा अमेरिकी सेना ल्याई चीनविरुद्ध युद्ध गर्ने मनसाय अमेरिकाको भएकोले नेमकिपाले सोको विरोधमा देशव्यापी आन्दोलन गरिरहेको विचार उहाँले राख्नुभयो ।
भनपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले समाजमा भएका सामाजिक विकृति एवं विसङ्गतिको चर्चा गर्दै त्यस्ता विकृतिविरुद्ध सहकारी संस्थाले समाजलाई सभ्य बनाउन भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिका सचिव जगनाथ प्रजापतिले सहकारी सङ्घको जिल्ला, प्रदेश र सङ्घ गरी तीन तहको संरचना हुनुपर्नेमा जोड दिनुभयो ।
निवर्तमान अध्यक्ष बाबुबाजी गाइजूले संस्थाले सदस्यहरूको आर्थिक समृद्धिको लागि गतिविधि गर्नुपर्नेबारेमा प्रकाश पार्नुभयो ।
संस्थाका अध्यक्ष एवं सभापति श्यामसुन्दर बेकोजुले संस्थाले सदस्यहरूको आर्थिक, सामाजिक एवं सांस्कृतिक रूपान्तरणको लागिपर्ने विश्वास दिलाउँदै सदस्यहरूले सामुदायिक सहकारीमा आर्थिक कारोबार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सचिव लक्ष्मीप्रसाद छुस्याबाग, कोषाध्यक्ष रामसुन्दर भैनात्व, लेखा समिति संयोजक राकेश शिवहरीले आ–आफ्नो वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । उपाध्यक्ष चन्द्रकृष्ण ग्वाछा, सञ्चालक सदस्य रामकेशरी गोरा र सचिव लक्ष्मीप्रसाद छुस्याबागले पनि बोल्नुभएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *