भर्खरै :

दुई अन्तर्राष्ट्रिय सम्मेलन

यो साता संसारका दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ । पहिलो, इटालीको राजधानी रोममा संसारका प्रभावशाली २० देशहरूको सङ्गठन जी २० नेताहरूको शिखर सम्मेलन हुँदै छ । त्यस्तै, स्कटल्यान्डको ग्लास्गोमा संयुक्त राष्ट्र सङ्घको जलवायु सम्मेलन (कोप २६) हुँदै छ । आजको विश्वका लागि यी दुवै सम्मेलन अहम् महत्वका सम्मेलन हुन् ।
कोभिड–१९ को खतराबाट अझै पनि संसार मुक्त हुन सकेको छैन । एकातिर कोभिडको जोखिम कायम नै छ । खोपमा असमानता र पहुँचमा सीमितताको कारण कोभिडको खतरालाई अझै चानचुने मान्न सकिन्न । कोभिडको कोपभाजनबाट जोगिन एउटै मात्र बलियो औजार भनेको खोप हो । कोभिडको खोप सबै देश र क्षेत्रमा समान रूपमा वितरण हुनसकेको छैन । धनी देशमा खोपको जगेडा छ भने गरिब देशले आफ्ना नागरिकलाई पहिलो चरणको खोप पनि लगाउन सकिरहेका छैनन् । खोपमा यो विभेदको कारण संसार अझै पनि कोभिडको कालो छायाबाट अझै मुक्त हुनसकेको छैन ।
अर्कोतिर कोभिड महामारीपछिको आर्थिक पुनःस्थापनाको विषय पनि तड्कारो बनेको छ । झन्डै साढे दुई वर्षको लकडाउन र निषेधाज्ञाले संसारको अर्थतन्त्रमा मन्दी छाएको छ । आर्थिक मन्दीको प्रभाव निश्चय पनि लामो समय जानेछ । यो अवधिमा भएको आर्थिक क्षतिलाई पुर्ने विषयमा संसारका सबै देश चिन्तित छन् । आर्थिक मन्दीसँगै पुँजीवादी व्यवस्था थप सङ्कटमा पर्दै जानेमा पुँजीपति वर्ग सजग छन् ।
केही समयअघि सम्पन्न जी ७ देशहरूको शिखर सम्मेलनले महामारी र महामारीपछिको अवस्थाको व्यवस्थापनको निम्ति गरेका निर्णयले संसारमा खासै प्रभाव पार्न सक्ने देखिन्न । जी ७ देशहरू आफै शोषणमा आधारित देशहरूको सङ्गठन हो । त्यसकारण उनीहरूले संसारमा आफ्नो प्रभुत्व कायम राख्ने वा विस्तार गर्ने कुरालाई नै मूल विषय बनाएका छन् । संसारका गरिब र विकासशील देशहरूका समस्याबारे उनीहरू कम मात्र चिन्ता र चासो राख्छन् । जी २० भने तुलनात्मक रूपमा फराकिलो विश्व सङ्गठन भएकोले त्यसमा सिङ्गो संसारले आज भोगिरहेका समस्याबारे थप चर्चा हुने अपेक्षा गरिएको छ ।
यसै साताबाट कोप २६ पनि सुरु हुँदै छ । आजको अन्तर्राष्ट्रिय सम्बन्धको एउटा महत्वपूर्ण जलवायु परिवर्तन पनि हो । जलवायु परिवर्तनको प्रभाव क्रमशः विस्तार हुँदै गइरहेको अवस्थामा यो विषय जोकोहीको लागि पनि चिन्ता र चासोको विषय बनेको छ । तर, जलवायु परिवर्तनप्रति संसारका धनी र कथित विकसित पुँजीवादी देशहरूका कुरा भने मुखले ठीक्क बनाउने खालको मात्र छ । उनीहरूले यसअघिका जलवायु सम्मेलनमा पनि ठूलठूला प्रतिबद्धता व्यक्त गरे । तर, व्यवहारमा भने उनीहरूले खासै इमानदारी देखाउन सकेका छैनन् । तर, जलवायु परिवर्तनको पछिल्लो विकराल अवस्था भने गरिब र विकासशील देशको लागि मात्र होइन, सिङ्गो पृथ्वीको लागि भयावह बन्दै गएको छ । अब वैज्ञानिक र जलवायु अभियन्ताहरूले भनेजस्तै कार्बन उत्सर्जनमा कटौती गर्नुको अर्को विकल्प छैन । संसारमा हरित प्रविधि प्रयोग गरी हरित क्रान्तिमार्फत हरित जीवनशैली अपनाउनुको अब मानिससँग अर्को बाटो छैन । तसर्थ, जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको पुर्वाद्धमा संसारका धनी देशका शासक र कार्बनयुक्त उत्पादनमा लगानी गर्ने बैङ्कहरूलाई दबाब दिन विभिन्न देशमा ठूल्ठूला प्रदर्शनहरू भइरहेका छन् । जलवायु परिवर्तन रोकथामको निम्ति संसारभरका सरकारले समन्वयात्मक भूमिका खेल्न जरुरी छ । तर, उनीहरूका आ–आफ्ना स्वार्थका कारण जलवायु परिवर्तनको रोकथाम कार्यक्रम समस्याग्रस्त छ । तसर्थ, जनस्तरमा पनि यो विषयमा तदारुकता देखाउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *