लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
तिहार आउँदैछ । तिहारलाई फूलको चाड पनि भनिन्छ । फूल छैन भने तिहारको महत्व नै के ? तिहारका पाँचै दिन फूलको विशेष महत्व छ । तिहारको याम नै पुष्पमय हुन्छ । धान काटेर रित्ता खेतका ड्याङ ड्याङमा फूल ढकमक्क फुलिरहँदा दृश्य नै मनोरम लाग्छ । नेपालका रैथाने फूलहरूको तिहारमा विशेष सांस्कृतिक महत्ता पनि हुन्छ । विगतको कृषिमा आधारित समाजमा फूलको आर्थिक महत्व कम थियो । अथवा फूलको किनबेच सीमित थियो । त्यसो त मल्लकालीनदेखि नै फूलको काम गर्न विशेष समुदायलाई जिम्मेवारी दिइएको पाउँछौँ । विशेषतः वनमाला, मालाकार समुदायले फूल खेती गर्ने प्रचलन थियो ।
तर, समाजको आर्थिक सम्बन्ध बदलिएसँगै पुष्पखेती आज व्यवसायिक बनेको छ । हिजो चाडपर्व, मेला र उत्सवमा चाहिने फूल आजभोलि वर्षैभरिको खाँचो बनेको छ । हिजो मन्दिर जान चाहिने फूल आजभोलि धेरै सन्दर्भ र अवसरमा अपरिहार्य बन्दै गएको छ । फलतः फूलको व्यवसायिक खेती र व्यापार व्यवसाय भइरहेको छ । नेपालमै विभिन्न रैथाने फूलका साथै विभिन्न ठाउँ र देशका फूलहरूसमेतको खेती गरी विभिन्न अवसरमा प्रयोग गर्ने चलन बढेसँगै फूलको अर्थतन्त्र पनि फराकिलो बन्दै गएको छ ।
यद्यपि, राज्यले फूलखेतीको प्रवद्र्धनमा खास चासो र प्राथमिकता नदिंदा सुन्दर फूलमा खुल्नुपर्ने व्यवसायीहरूको अनुहार त्यत्ति उज्यालो देखिँदैन । राज्यले नेपालका पुष्पव्यवसायीहरूलाई उत्साहित गर्नुको सट्टा विदेशी, विशेषतः भारतीय फूलहरूको आयातमा नै बढी चासो देखाउँदा फूलसँग खेल्न रमाउने व्यवयासीहरूसमेत रुखो व्यवहार गर्न बाध्य भएका छन् । केही समयअघि लकडाउनको कारण नेपाली पुष्प व्यवसायीहरू फुलिसकेका फूलसमेत कुहाउन र फाल्न बाध्य भइरहँदा भारतबाट भने ठूलो परिमाणमा फूलको आयात भइरहेको थियो । त्यस्तो दुःखद अवस्थाबाट आक्रोशित पुष्प व्यवसायीहरूले आयातीत फूल जफत गरी नष्ट गरेका थिए । उनीहरूको तर्क न्यायपूृर्ण थियो । कोभिड महामारीको कारण नेपाली व्यवसायीहरू मर्कामा परेका बेला उनीहरूलाई राहत दिने काममा सरकारले ध्यान दिने हो वा उनीहरूलाई अझ रसातलमा धकेल्ने गरी विदेशी फूलको आयात गर्ने ? यो पुष्प व्यवसायसँग मात्र सम्बन्धित होइन, नेपालको दिगो अर्थतन्त्रसँग जोडिएको विषय हो ।
पुष्प व्यवसायीहरू फूलको पर्व तिहारको लागि आवश्यक फूल नेपालबाट नै उत्पादन हुनसक्ने बताउँछन् । त्यसको निम्ति राज्यबाट प्रोत्साहनको खाँचो भएको उनीहरूको भनाइ हो । पुष्प खेतीमा लागेका धेरै युवाहरू लामो समय वैदेशिक रोजगारीबाट फर्केकाहरू छन् । उनीहरूले विदेशमा पसिना बगाउनुभन्दा नेपालकै माटोमा सुन्दर फूल फुलाउने सङ्कल्प गरेर यो सिर्जनात्मक काममा लागेका हुन् । यसले धेरै सङ्ख्यामा रोजगारी पनि सिर्जना भइरहेको छ ।
तर, राज्यले भने यति सुन्दर व्यवसायको प्रवद्र्धनमा ज्यादै कममात्र चासो राखेको छ । नेपाली व्यवसायीहरूका उत्पादनलाई राज्य विभिन्न देशमा समेत निर्यात गर्ने अवस्था बनाउनुपर्नेमा नेपालकै बजार विदेशी उत्पादनको हातमा दिनु विडम्बनाको कुरा हो । दिगो र आत्मनिर्भरको अर्थतन्त्रको कुरा भाषणबाजीमा मात्र सीमित हुँदा देश कसरी अघि बढ्ला ¤ स–साना कुरादेखि नै देशलाई आत्मनिर्भर बनाउनेमा सरकारले जोड दिए देशको अर्थतन्त्रलाई बलियो जगमा उभ्याउन सकिन्छ ।
राज्यका अनुसन्धान निकाय र विश्वविद्यालयका सम्बन्धित विभागले नेपालमा पाइने रैथाने फूलहरूको अध्ययन गरी तिनको व्यवसायिक विकासको निम्ति प्रयास थाल्नुपर्छ । विश्वविद्यालयका अध्ययन पुस्तकालयको ¥याकमा मात्र सीमित राख्नु विडम्बनाको कुरा हो । यसलाई नेपाली व्यवसायीहरूको हितमा प्रयोग गर्दा देशको अर्थतन्त्रमा सानै भए पनि योगदान हुनसक्छ ।
Leave a Reply