भर्खरै :

तिमीहरूले नपाल्ने भए म अझै एक्लो बस्न सक्छु

आज समयमै खाना खाएर वडा कार्यालय पुगेको थिएँ । हिजो कार्यव्यस्तताले गर्दा वडा कार्यालय जान पाइएन । त्यसैले वडामा सेवाग्राहीहरूको अलि घुइँचो थियो । सबैलाई सोफामा बस्न अनुरोध गरेँ । सबभन्दा अगाडि दुई जना अधवैँसे आईमाई अगाडि बस्नु भए पनि दुवै नबोलिकन बस्नुभएको थियो । पहिलो निवदेनमा तोक लगाएर घुइँचोलाई कम गर्ने प्रयास गरेँ । विस्तारै कार्यालयमा मानिसको घुइँचो कम हुँदै गयो । मैले उहाँहरूसँग के कति कामले आउनुभयो भनी प्रश्न गरेँ । उहाँहरू दुवै जना अलि अप्ठ्यारो मानेको अनुहारबाटै थाहा हुन्थ्यो । अलि अनुहार बिगार्दै एक जनाले बोल्नुभयो, “घरको समस्या लिएर हामी तपाईँलाई भेट्न आएका हौँ ।”
मैले प्रश्न गरिहालँे, “तपाईँहरूको घर कहाँ हो ? अनि के समस्या लिएर आउनुभएको हो ?”
अर्कोले उत्तर दिनुभयो, “मेरो घर चासुखेल र बहिनीको घर इताछेँ हो । तर, हाम्रो माइती यही वडा कार्यालयको अगाडि मन्दिरसँगै हो । तपाईँले हामीलाई चिन्नुभएन जस्तो छ । हामी दिदीबहिनी हौँ । माइतीमा ८५ वर्षकी आमा हुनुहुन्छ । केही महिना अघिसम्म एक्लै बस्नुहुन्थ्यो । तर, दुई महिनादेखि आमा देख्नुहुन्न । कानले पनि त्यत्ति सुन्नुहुन्न । त्यसैले सानो दाइ भाउजूले खाना खुवाउँदै आउनुभएको छ । दाजुभाइबीच झगडा भइरहन्छ । सानो दाइ आमालाई आफूले मात्र खुवाउनु प¥यो र आमाको लागि आयस्ता केही भएन भनी सधैँ गुनासो गरिरहनुहुन्छ । त्यसैले दाजुहरू दुवै जनालाई वडामा बोलाएर छलफल गर्नुप¥यो । त्यही भएर हामी दिदीबहिनी यहाँ आएका हौँ ।” मैले पारिवारिक समस्या बुझेर दुवै दाजुहरूको नाम र मोबाइल नंं. लिएँ । उहाँहरू दुवै जनाको नाम र नम्बर पनि नोट बुकमा टिपोट गरेँ । एक हप्तापछि सम्पर्क गर्न अनुरोध गरी बिदा गरेँ ।
एक हप्तापछि उहाँको सानो दाइ र भाउजू वडा कार्यालयमा आइपुग्नुभयो । भाउजूले आउने बित्तिकै गुनासो पोख्दै भन्नुभयो, “वडाध्यक्षले एक हप्तामा हाम्रो घरको समस्याबारे बैठक राख्छु भन्नुभएको थियो रे । तर, अहिलेसम्म राख्नुभएन । हामीलाई त निकै गाह्रो भयो । सासू आमालाई हामीले मात्र हेरचाह गर्नुपर्ने कुरा मिलेन ¤ हाम्रोमात्र आमा होइन । जेठाले केही नगर्ने अनि सम्पत्तिमात्र आधी खाने भन्ने पनि हुन्छ ? कि त आमालाई पुग्ने गरी आयस्ता राख्नुप¥यो । होइन भने हामीमात्र आमालाई पाल्न सक्दैनौँ ।”
उहाँको कुरा सुनेबित्तिकै मलाई समयमै बैठक राख्ननसकेकोे आभास भयो । मैले उहाँहरूसँग माफी माग्दै अबको हप्ता बैठक बोलाउने वाचा गरेँ । एउटा लिखित निवेदन राख्न अनुरोध गर्दै भनँे, “आमालाई भाग्यमानीले मात्र पाल्न पाउँछ । आमालाई पाल्न सक्दिनँ भन्नु त सीधै नरक जानु हो । आफ्नै आमालाई पाल्न सक्दिनँ भन्ने शब्द फेरि नबोल्नु होला । बरु आयस्ता पर्याप्त चाहिने भन्नु राम्रो हो ।” मेरो कुरामा सहमति जनाउँदै दुवै श्रीमान् र श्रीमती वडाबाट बिदा हुनुभयो ।
शुक्रबारको नियमित निर्वाचित बैठकमा मैले यस विषयमा छलफल गरेँ । छलफलमा सरोकारवालाहरूको बैठक राख्ने निर्णय भयो । निर्णयानुसार आइतबार बिहान ७ बजे वडामा बैठक बोलाइयो । बैठकमा दाजुभाइ, भाउजू र दिदीबहिनीलगायत टोलका गन्यमान्यहरूको उपस्थिति थियो । बैठक औपचारिकरूपमा सुरु गर्दै मैले सबैलाई नमस्कार र स्वागत गरेँ । सबभन्दा पहिले आमालाई खुवाउँदै आएका सानो छोरालाई बोल्न अनुरोध गरेँ । उहाँले भन्नुभयो, “आमालाई खुवाउनको लागि आयस्ता राख्नुप¥यो । त्यसको लागि आमाको नाममा दुई रोपनी जग्गा छ । त्यो बेचेर सहकारीमा आमाको नाममा पैसा जम्मा गरिदिनुप¥यो । होइन भने आमालाई ममात्र पाल्न सक्दिनँ ।”
त्यसपछि दाजुलाई बोल्न अनुरोध गरेँ । उहाँले भन्नुभयो, “खेत बेच्ने कुरा त गर्दै नगर्नू । आमाको वृद्ध भत्ता आउँछ । अनि दुई रोपनीको बाली छँदै छ ।” दाजुको कुरा सुनेबित्तिकै भाइ जङ्गिहाले, “त्यसो भए तँ नै आमालाई पाल न त । आमालाई तेरै घरमा लगेर पाल । अनि थाहा हुन्छ कति गाह्रो भनेर ।”
मैले दाजुभाइ दुवैलाई नबोल्न अनुरोध गरेँ र छोरीहरूलाई बोल्न अनुरोध गरेँ । त्यसमध्ये एक जनाले भन्नुभयो, “हामीलाई त दाजुहरू दुवै बराबर हो । जे गरे पनि आमालाई एक जनाले खुवाउनु प¥यो र हामी आउँदा एक छाक खाएर जान पाए हुन्छ । खेत बेच्ने र नबेच्ने विषयमा उनीहरू नै जानून् ।”
मैले आमाको विचार पनि जान्न पाए हुने भनी अनुरोध गरँे । त्यसपछि एक जना छोरी आमालाई लिन जानुभयो । एकै छिनमा आमा आउनुभयो र भन्नुभयो, “म जेठो छोरासँग बस्दिनँ । कान्छोसँगै बस्छु । उसले पनि नखुवाउने भए मलाई एक जना भात पकाउने मान्छे राखिदिनू । अस्तिसम्म त आफै पकाएर खाइराखेको हो । मेरो भागको खेत पनि म बेच्दिनँ । तिमीहरूले नपाल्ने भए म अझै एक्लो बस्न सक्छु ।” ८५ वर्षको आमाको कुरा सुनेर सबै अचम्मित भए ।
टोलवासीलाई पनि केही बोल्न अनुरोध गरेँ । एक जना स्थानीय शिक्षकले भन्नुभयो, “आमाले जससँग बस्छु भन्नुहुन्छ, त्यही छोराले पाल्नुपर्छ, खेत महँगो हुँदै गएकोले बेच्नु भएन र घर पनि आमालाई पायक पर्ने भएकोले कान्छा छोराले नै पाल्नुपर्दछ ।”
सबैको कुरा सुनेपछि मैले आफ्नो राय राख्नको लागि ज्येष्ठ वडा सदस्यलाई अनुरोध गरेँ । उहाँले भन्नुभयो, “८५ वर्षको उमेरमा पनि यस्तो जाँगर हुनु एकदम राम्रो हो । तापनि, आँखाले नदेख्ने अनि कानले पनि नसुन्ने भएकोले कान्छाले नै पाल्नुपर्दछ । कान्छोको घरमा घाम आउने भएकोले आमालाई हावापानी सुहाउने ठाउँमा राख्नुपर्दछ ।”
सबैको कुरा सुनेपछि मैले भनेँ, “आमाबुबा पाल्न पाउने अवसर भनेको त सौभाग्यको कुरा हो । हामीले आमाबुबालाई राम्रोसँग हेरचाह गरेको खण्डमा हाम्रो छोराछोरीले पनि त्यही संस्कार सिक्छन् । त्यसैले आमालाई पाल्न गाह्रो भयो भन्नु गलत कुरा हो । बरु आमा पाल्नेलाई अलि बढी आयस्ता राख्नुपर्छ । ८५ वर्षकी बुढी आमालाई एक्लै राख्नु हुन्न । कान्छो छोराले नै पाल्नुपर्दछ । खेत बेच्नु गलत हुन्छ । बरु आमा बितेपछि दुवै जनाले बाँडेर लिनुस् ।”
तर कान्छा छोरा मान्नुभएन । अनि जेठो छोरालाई आमा पाल्नको लागि अनुरोध गरेँ । जेठो छोरा र उनकी श्रीमती आमालाई पाल्न तयार हुनुभयो । तर, बुढी आमा जेठो छोरासँग जान तयार हुनुभएन । बुढी आमाले भन्नुभयो, “म बित्ने बेला मलाई आगो राख्ने कान्छा नै हो । काजक्रिया गर्ने पनि कान्छा नै हो । जेठोसँग त कुनै पनि हालतमा म बस्दिनँ ।” आमाको कुरा सुनेपछि कान्छा छोराको श्रीमतीले भन्नुभयो, “सर, आमा हामीसँग बस्ने भन्नुहुन्छ भने हामी नै पाल्छौँ । तर, आमाको भागको खेत हामी गर्नसक्दैनौैँ । हामी त अरूलाई खेत गराउँछौँ । दाइले खेत अरूलाई गरायो भन्न पाउँदैन ।”
कान्छा छोराको श्रीमतीको कुरा सुनेर सबै जना खुसी भए । अनि मैले भनेँ, “बुहारी भनेको यस्तो पो हुनुपर्छ । सासूआमा पनि आफ्नै आमासरह हुन् । आयस्ता कम भयो भनी चित्त नदुखाउनुस् भाउजू । आमाको तीनलाख पैसा रहेछ । त्यसको ब्याज पनि प्रयोग गर्नुस् । बिरामी भयो भने साँवा पनि प्रयोग गर्नुुस् । आमालाई आजै आँखाको उपचार गराउनुस् ।”
यति भन्दै मैले सचिवलाई निर्णय लेख्न अनुराधे गरेँ । सचिवले तुरुन्त निर्णय खेस्रा गरी सुनाउनुभयो “आमासँग कान्छा छोरा बस्ने, दुई रोपनी खेतको बाली र तीन लाख रकम प्रयोग गर्न पाउने र बिरामी भए साँवा पनि खर्च गर्न पाउनेछन् ।” त्यसपछि मैले बैठकको अन्त्य गरेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *