यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
युग परिवर्तन अनौठो हुँदोरहेछ । कम्युनिस्टहरूको सङ्घर्ष सिद्धान्त एवं वर्गको निम्ति हुन्थ्यो, व्यक्तिगत र पारिवारिक स्वार्थको लागि हुँदैनथ्यो । परन्तु, आज आफूलाई कम्युनिस्ट, अझ खाँटी कम्युनिस्ट भन्नेहरू सिद्धान्त एवं वर्गका निम्ति शून्य र व्यक्तिगत तथा परिवारका लागि केन्द्रीकृत गर्ने विपरीत अभ्यास चरम बिन्दुमा पुग्दै छ । आजका आफूलाई जब्बर कम्युनिस्ट भन्नेहरू पैसा कमाउन प्रतिस्पर्धा गर्दै छन् । पैसा भनेपछि सबैथोक पन्छाउने उदारवादी, नवउदारवादी बाटो समाप्ने होड नै चलेको छ । विकृति यति फराकिलो भइसकेको छ, कम्युनिस्ट पार्टीका सर्वोच्च नेताको विवाहको वार्षिकोत्सवसमेत पाँचतारे होटेलबाट खाद्य त्यो पनि विशिष्ट प्रकारको र विविध रङ र स्वादका पेयपदार्थ ल्याई मनाइन थालिएको छ । योभन्दा विडम्बना अरु के हुनसक्ला ? छ्या ¤ कस्तो लाज नभएको वा लाज पचाएको ? जसले लाज पचाउँछ, ऊबाट समाजले के अपेक्षा गर्ने । आजको सत्तामा उक्लेका र सत्तामा उक्लन तँछाड–मछाड गरिरहेका नामका कम्युनिस्टहरूको चर्तिकला हेर्दा विछट्टै शर्म लाग्छ । मान्छेहरू प्याच्च भन्छन्, त्यसको प्रसङ्ग उठ्दा । के जवाफ दिनु, बरु जुरुक्क उठेर हिँड्नुको विकल्प नै हुँदैन ।
यस्तासँग मुक्तिको आशा ?
यो कुरा स्पष्ट छ कि कम्युनिस्टहरूको सङ्घर्ष जहिले पनि सिद्धान्त र वर्गका लागि हुन्छ व्यक्तिका लागि, पारिवारिक लाभका लागि कदापि हुँदैन । यो वास्तविकता संसारलाई पूर्ण अवगत छ । । अहिलेका प्रधानमन्त्री देउवा विदेशी शक्तिको सङ्केतअनुसार उठबस गर्छन् । उनलाई प्रधानमन्त्री बनाउने प्रचण्ड र माधव नेपाल र सत्ता गठबन्धनका अन्य पार्टी बाह्य शक्तिको सङ्केतबमोजिम चल्छन् । यो कसैलाई थाहा नभएको विषय होइन । छर्लङ्गै छ । यस्ता चरित्र भएकाहरू कसरी जनताका नेता बन्छन् ? प्रश्न उठिरहन्छ । यस दिशा निक्र्योल नभएका मान्छेहरूले जनतालाई कसरी दिशाबोध गराउँछन् ? प्रश्न सहसा उत्पादन हुन्छ । जनतामा व्यापक गुनासो छ । विदेशको इसारामा नाच्ने पार्टी नेतृत्वबाट यो मुलुक कहिले उँभो लाग्छ ? हामी किन यस्ताको शासनबाट कति वर्ष शासित भइरहने ? यस्ता तत्वको ध्यान उत्पादनका साधनहरू सामाजिकीकरण हुनेछ भन्ने कसरी पत्याउने ? संसारका कैयाँै नेतालाई आफ्नो राष्ट्रको स्वतन्त्रता, स्वाधीनता र आत्मनिर्णयको अधिकारका निम्ति उभिए भनेर हत्या, अपहरण, प्रत्यक्ष–परोक्षरूपमा सत्ताच्युत गराएका घटना एसिया, अफ्रिका, ल्याटिन अमेरिकी राष्ट्रहरूमा देख्नुपर्छ । नवउपनिवेशवादी शक्तिलाई लाज–शर्म छैन । आफूलाई किञ्चितमात्र लाभ हुने देखेमा जे गर्न पनि तयार देखिन्छ । नेपाल यी सबै पक्ष बुझ्नुपर्ने अवस्थातिर उन्मुख छ वर्तमानमा ।
सङ्घर्ष सिद्धान्त र वर्गको निम्ति
कम्युनिस्ट हुन भाग हेरिँदैन । न अगाडिको भाग हेरिन्छ न त हेरिन्छ पछाडिको भाग नै । अगाडि, पछाडि, दायाँ–बायाँको भाग हेरी बस्ने त चरम अवसरवादी नै हो । कम्युनिस्ट सिद्धान्त र वर्ग हेरिन्छ । यद्यपि, सिद्धान्त र वर्ग हेरेरमात्र पर्याप्त हुँदैन । आचरण, व्यवहार, संस्कार, अनि बानीले मान्छेलाई नमान्छे बनाउन सक्छ भने सङ्गतले हिजोको राम्रो मान्छे आजै नितान्त नराम्रो हुनसक्छ । बरु हिजोको नराम्रो मान्छे आज नै भोलि नै राम्रो नहुन सक्छ । राम्रो मान्छे नराम्रो हुन लामो समय लाग्दैन तर नराम्रो मान्छे राम्रोे हुन निकै समय लाग्छ । यो सरसरती पढ्दा के होला ? भन्ने पनि लाग्छ । तर, हो यस्तै । समाजवादको निरन्तर बखान गरेर नथाक्ने तर समाजवादी मूल्य र मान्यतामुताबिक काम गर्न नसक्नेहरू यथेष्ट छन् । सर्वसाधारण अझ काम गरी खाने वर्ग चिन्न सक्नुपर्छ । यस्ता मान्छेहरू निकै टाठाबाठा हुन्छन् । गरिखानेहरूलाई हो कि हो कि पार्छन् । यहाँनिर किञ्चितमात्र पनि अन्तर प¥यो भने परिणाममा आकास–पातालको फरक पर्छ । तर, यस्तो सूक्ष्म भेद अधिकांश जनताले भेउ नै पाउँदैनन् । यस्तै सूक्ष्म भेद नै मूल विषय भएर उपस्थित हुन्छ यदाकदा । यस्ता मसिना दाउपेचका भेद उपभेद सर्वसाधारण जनताले पत्ता लगाउनै सक्दैन । अनि फस्छ । यहाँनिर सा¥है होस पु¥याउनुपर्छ । तर, नयाँ मान्छे चिप्लिने नै यस्तै घुम्तीमा हो । यस्ता मसिना अन्तरर्विरोध र अन्तःस्करण नुबझ्ने धेरै सक्कली मान्छे यस्तैमा अड्किएको देखिन्छ ।
लोभी र पापी कम्युनिस्ट हुनसक्दैनन्
यहाँ भन्नेहरू धेरै भए भने गर्नेहरू कम भए । कम पनि अति कम सारै कम । केही कालदेखि नेपालका कम्युनिस्ट भन्नेहरूको चरित्र परम आलोच्य भएको छ । औपचारिकरूपमा एउटा अनुहार वस्तुगतरूपमा अर्कै हुने डरलाग्दो अवस्था छ । यस्तो परिस्थिति साँच्चै प्रिय र श्रेय हुँदैनथ्यो । बाहिर जे–जस्तो देखिन्छ भित्र पनि त्यही देखिने अवस्था हुन्थ्यो पहिले । तर, अहिले प्रायः पार्टीमा त्यस्तो छैन । बाहिर एउटा रूप भित्र अर्कै । यस्तो अवस्थामा काम गर्न न सरल हुन्छ न त सहज । हामी खारिएका कम्युनिस्ट हुने हो भने सैद्धान्तिक सङ्घर्ष, घूस, पदलोलुपता, आलोचना–प्रत्यालोचनालाई निरस्त गर्न यस्ता बाटा छोड्नुहुन्न । अन्यथा, कम्युनिस्ट पार्टी सक्कली होइन नक्कली हुनपुगेका घटना संसारमा यथेष्ट छन् । यहाँ त रातो झन्डाभित्र रातै झन्डा ठड्याएर–घुसाएर कम्युनिस्ट मास्ने कसरत हुन थालेको छ । यो भयावह अवस्था हो । विकृति घुसेपछि हुनु नहुनु हुन्छ । लोभ यस्तो विषय हो जसले धेरैलाई वशीभूत गर्छ । लोभ एकपल्ट लागेपछि पञ्छाउन निक्कै कडा सङ्कल्प एवं द¥हो आँट चाहिन्छ । यो लोभ भन्ने वस्तुले जादु गर्न खोज्छ । यो लोभको जादुबाट उम्किन लरतरो आँटले पर्याप्त हुँदैन । कम्युनिस्ट र लोभ एकै ठाउँमा बस्न सक्दैनन् । लोभी र पापी मान्छे कहिल्यै कम्युनिस्ट हुनसक्दैन । यो कुरा नबुझेका मान्छे पनि झुक्यानमा परी कम्युनिस्ट हुन खोज्छन् । तर, थाहा भएपछि सुइकुच्चा ठोक्छन् । हेक्का राखौँ ।
Leave a Reply