भर्खरै :

जापानमा एलडीपीकै सरकार

टोकियो, १ नोभेम्बर । जापानमा सत्तारुढ उदार प्रजातान्त्रिक पार्टी (एलडीपी) र उसका साझेदार सानो दल कोमिएटोले आइतबार भएको आमनिर्वाचनमार्फत तल्लो सदनमा सहज बहुमत प्राप्त गरेको छ । आइतबारको चुनावी नतिजाले प्रधानमन्त्री फुमिओ किशिदालाई आफ्ना नीति कार्यक्रम लागु गर्ने बाटो खुला भएको छ ।
चुनावमा नतिजा सार्वजनिक भएपछि सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै किशिदाले सत्तारुढ गठबन्धनको प्रस्तुतिबाट आफू उत्साहित भएको बताए ।
यद्यपि, तल्लो सदनमा सत्तारुढ दल एलडीपीको आफ्नो स्थान १७ ले घटेर २५९ मा पुगेको छ । उसका केही माथिल्लो तहका नेताहरूले चुनावमा पराजय भोग्नुपरेको छ । कानागावा प्रिफ्याक्चरमा अकिरा अमारीले चुनावमा पराजित भएपछि एलडीपीको महासचिव पदबाट राजीनामा दिएका छन् ।
संसदमा एलडीपीको स्थान कम भएको सम्बन्धमा प्रधानमन्त्री किसिदाले ‘परिणामको विश्लेषण गर्ने र त्यसलाई स्वीकार्ने’ बताए ।
सत्तारुढ गठबन्धनमा सामेल अर्को दल कोमिएटोको संसदमा ३२ स्थान बनाएको छ । दुवै दलको संसद सदस्य मिलाउँदा कुल ४६५ मा सत्तापक्षमा २९१ सांसद छन् । त्यसले संसद बैठकका साथै सबै संसदीय समितिमा सत्तापक्षलाई सहज अवस्था बनेको छ । संसदभित्रका व्यवस्थापकीय प्रक्रियामा सत्तारुढ दललाई कुनै समस्या हुने देखिँदैन ।
जापानको अभ्यासअनुसार माथिल्लो सदनको तुलनामा तल्लो सदनका केही विशेष अधिकार छन् । प्रधानमन्त्री निर्वाचित गर्न, बजेट पारित गर्न र अन्तर्राष्ट्रिय सन्धि अनुमोदनमा तल्लो सदनको भनाइ नै निर्णायक भनाइ मानिन्छ ।
प्रमुख प्रतिपक्षी दल संवैधानिक जापानी प्रजातान्त्रिक पार्टी (सीडीपीजे) ले ९६ स्थानमा जित हासिल गरेको छ । यसअघिको तल्लो सदनमा त्यो दलको ११० स्थान थियो ।
सीडीपीजेका नेता युकियो एडानोले सोमबार भने, “हामी केही स्थानमा पराजित भयौँ र मलाई त्यसप्रति दुःख लागेको छ ।”
सीडीपीजेसहित विपक्षी खेमामा प्रजातान्त्रिक जनता पार्टी, जापानी कम्युनिस्ट पार्टी, सामाजिक प्रजातान्त्रिक पार्टी र रेइवा शिनसेनगुमी दलहरू छन् । उनीहरूले चुनावमा पनि सहकार्य गरेका थिए । कुल २८९ निर्वाचन क्षेत्रमा ती दलहरूले ७० स्थानमा साझा उम्मेदवार दिएका थिए ।
सीडीपीजेले नेतृत्व गरेको गठबन्धनबाट अलग जापान इनोभेसन पार्टीले चुनावमा ४१ स्थान हासिल गरेको छ । अघिल्लो निर्वाचनको तुलनामा उसले यो चुनावमा चार गुणा बढी सङ्ख्यामा सांसद जिताउन सफल भएको छ ।
नोभेम्बर १० मा बस्ने संसदको विशेष अधिवेशनमा किसिदालाई प्रधानमन्त्री पदमा कायम राख्नेछ । त्यही दिन मन्त्रिमण्डलको पनि घोषणा हुने बताइएको छ । विद्यमान मन्त्रिमण्डलमा खासै कुनै अन्तर नहुने पनि जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री किसिदाले गत अक्टोबर ४ मा प्रधानमन्त्री पद सम्हालेका थिए । आइतबारको निर्वाचन उनको सरकारको लागि अग्निपरीक्षा थियो । प्रधानमन्त्रीले आर्थिक वृद्धि बढाउन जोड दिनुका साथै उनको ‘नव पुँजीवाद’ को अवधारणाअन्तर्गत मध्यम वर्गलाई थप आर्थिक लाभ वितरण गरिएको थियो ।
उनको कार्यक्रमअनुसार सरकारले कोभिड–१९ को सम्भावित छैटौँ लहरको तयारीस्वरुप कोभिड–१९ का बिरामीहरूको लागि अस्पतालमा शय्या सङ्ख्या बढाएको छ । किसिदाले महामारीको मारमा परेका जनता र व्यापारीहरूलाई मद्दत गर्न एक वर्षभित्र आर्थिक सहायता कार्यक्रम ल्याउने प्रस्ताव गरे ।
विपक्षी दलहरूले कोभिड–१९ को प्रतिरोधमा सरकार असफल भएको दाबी गर्दै आएको छ । सत्तारुढ दल एलडीपीले लागु गरेको अबेशास्त्रले जापानमा आर्थिक असमानता बढेको उनीहरूको आरोप छ । धनीहरूको कमाइ र शेयर मूल्य बढे पनि ज्याला वृद्धि नभएको उनीहरूको भनाइ छ ।
उनीहरूले तल्लो तथा मध्यम वर्गीय परिवारमाथिको दबाब केही कम गर्न उपभोक्ता कर केही घटाउनुपर्ने माग गर्दै आएका छन् । उनीहरू विवाहित जोडीलाई फरक थर लिन र समलिङ्गी विवाहलाई मान्यता दिनुपर्ने पनि माग गर्दै आएका छन् ।
यद्यपि, मतदाताहरूले एलडीपी नेतृत्वको सरकारलाई नै निरन्तरता दिन चाहे ।
आइतबार सम्पन्न मतदानको परिणाम सोमबार घोषणा भएको थियो ।
क्योडो समाचार संस्थाले दिएको तथ्याङ्कअनुसार योग्य मतदातामध्ये ५५.९३ प्रतिशतले मतदानमा भाग लिए । चुनावमा १ हजार ५१ जना व्यक्तिले उम्मेदवारी दिए । अघिल्लो पटकको निर्वाचनमा १ हजार १३१ जना व्यक्तिले उम्मेदवारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *