भर्खरै :

माटोका पाला बनाउन भ्याइ नभ्याई

  • कार्तिक १७, २०७८
  • – सपना श्रेष्ठ
  • समाचार

भक्तपुर, १६ कार्तिक । तिहार आएसँगै पाला (दियो) बनाउने मजदुरहरूलाई भ्याइनभ्याइ छ । तिहारको समयमा मात्र व्यापार हुने भएको कारण जतिसक्दो पाला बनाएर व्यापार गर्नुपर्छ । आफ्नो पुस्तैनी पेशा अँगालेर जीवन धानिरहेका लक्ष्मीसुन्दर प्रजापति भन्छन्, “आफ्नो बाजेबराजुको पनि यही पेशा हो । हामीले पनि यही पेशामा जीवन बाँचिरहेका छौँ ।” अबको नयाँ पुस्ताले यो पेशा अगाडि बढाउला भन्नेमा उनी कम विश्वस्त छन् । “एक त माटो पनि पाउन छाडिसक्यो । पहिले यही कमलविनायक र सिपाडोलबाट ल्याउन सकिन्थ्यो । तर, अहिले घरहरू बनेर माटो ल्याउन पाइँदैन ।,” उनी गुनासो पोख्छन् । उनीजस्तै यस पेशामा आबद्ध प्रायः मजदुरहरूको पनि माटो सहजै नपाउनु मुख्य गुनासो रहेको छ । अहिले माटो किन्नुपर्छ, त्यो माटो कहाँबाट ल्याइएको भनी उनीहरू अनभिज्ञ छन् ।
त्यस्तै पाला बनाएर बेच्ने अर्की मजदुर सुमित्रा प्रजापति पनि हुन् । उनी पनि यही पेशा अपनाएर आफ्नो जीविका चलाइरहेकी छिन् । उनलाई पनि पाला बनाउन भ्याइनभ्याइ छ । पहिलो वर्ष कोभिड–१९ को महामारीका कारण पाला किन्न त्यति आएनन् । बजारमा पनि यसको माग खासै भएन । तर, यो वर्ष बजारमा माग धेरै रहेको उनी सुनाउँछिन् । उनी भन्छिन्, “पहिलो वर्ष त त्यति किन्न आएनन् । तर, यो वर्ष यसको धेरै माग भएको छ । तर, स्वास्थ्य अवस्था राम्रो नहुँदा मागअनुसारको पाला बनाउन सकिएको छैन ।” आफू र परिवारलाई कोभिड भएपश्चात् बजारमा मागअनुसारको पाला बनाउन नसकेको उनी सुनाउँछिन् । तिहारमा आवश्यकतानुसार पाला बिक्री गर्न नसके अन्य समयमा यसबाट जीवन चलाउन धौधौ हुने गर्दछ । तिहारमा पाला बिक्री भएसँगै अन्य समयमा पनि बिक्री हुने भए जीवन सहज हुने कुरा उनीहरू सुनाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *