भर्खरै :

हरेक क्षेत्रमा भागबन्डा हुनु पुँजीवादी प्रजातन्त्रको विशेषता

काठमाडौँ, १९ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले हरेक क्षेत्रमा भागबन्डा हुनु पुँजीवादी प्रजातन्त्रको विशेषता भएको र हरेक नेताहरूमा मन्त्री बन्ने होडबाजी हुनु पुँजीवादी शासक दलका नेताहरुको चरित्र नै हुने बताउनुभएको छ ।
काठमाडौँ, चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुस्थित नव समाज निर्माण पुस्तकालयको शुक्रबार भएको ४० औँ स्थापना दिवस तथा फोटो प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण कार्यक्रममा उहाँले सरकारमा जानुको उद्देश्य देश र जनताको सेवा गर्नु हुनुपर्ने बताउनुभयो ।
“सत्तासीन राजनैतिक पार्टीेहरूको कारण आज व्यापार तथा उद्योगधन्दा एक एक गरी विदेशी पुँजीको हातमा जाँदै छ । यस्ता क्रियाकलापविरूद्ध जनता सचेत हुनु आवश्यक छ”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
उहाँले शासक दलका नेताहरू राजनीतिमा लाग्नुको मूल लक्ष्य मन्त्री बनेर धेरै पैसा कमाउने भएकोले देशको अवस्था झन्झन् बिग्रँदै गएको बताउनुभयो ।
फोटो प्रतियोगिताका विजेता र प्रतियोगीहरूलाई आ–आफ्नो कलामार्फत राष्ट्रिय–अन्तर्राष्ट्रिय घटनाहरूको चित्रण गर्न उहाँले आग्रह गर्नुभयो ।

अध्यक्ष बिजुक्छेँले नव समाज निर्माण पुस्तकालयले जनतालाई सचेत पार्न राष्ट्रिय–अन्तर्राष्ट्रिय पुस्तकहरूको व्यवस्था गरी नयाँ पुस्तालाई शिक्षित पार्ने काममा लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले नव समाज निर्माण पुस्तकालय ज्ञानको केन्द्रबिन्दुको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले देशको राजनीतिक अवस्थाबारे चिरफार गर्दै देशघाती एमसीसी सम्झौता पारित गराउन सत्तासीन पार्टीहरू लागिरहेको अवस्थामा नेमकिपाले देशव्यापी एमसीसीको विरोधमा आवाज उठाइरहेको बताउनुभयो ।
चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले नव समाज निर्माण पुस्तकालय स्थापनाले चन्द्रागिरीको गौरव बढ्ने विश्वास लिँदै नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने वचन दिनुभयो ।
फोटोग्राफी प्रतियोगितामा निर्णायकको तर्फबाट बालकृष्ण बनमालाले फोटोग्राफरहरूले फोटो कैद गर्दा ध्यान दिनुपर्ने बताउनुभयो ।
नव समाज निर्माण पुस्तकालयका अध्यक्ष सुनिल महर्जनको सभापतित्वमा भएको कार्यक्रममा फोटो ग्राफर प्रतियोगिताका संयोजक राजेन्द्र श्रेष्ठ र पुस्तकालयका शान्त महर्जनले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा फोटो प्रतियोगितामा सहभागीहरुको तस्बिरहरू प्रदर्शनमा राखिएको थियो ।
फोटो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः सुप्रिन्स शाक्य, अनोज तण्डुकार र कृष्ण महर्जनसहित सबै प्रतियोगीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विजयी प्रतियोगीहरूको फोटोसहितको क्यालेन्डर विमोचन गरिएको थियो ।
भक्तपुर
नेपाल संवत् नयाँ वर्ष प्रारम्भ भएको अवसरमा आज भक्तपुर, काठमाडौँ र काभ्रेलगायतका विभिन्न स्थानमा जुलुस प्रदर्शन तथा सभाको आयोजना गरियो ।
नेपालभाषा साहित्य तः मुंज्या भक्तपुरले सूर्यमढी र गः हिटीबाट छुट्टाछुट्टै ¥यालीको आयोजना ग¥यो । विभिन्न बाजागाजा, लाखे र माक प्याखंसहित सुरु भएको जुलुस नगर परिक्रमापछि लाय्कु दरबार क्षेत्रमा पुगी समापन भएको थियो । राणाविरोधी एवम् शिक्षा प्रचारक मास्टर जगतसुन्दर मल्लको प्रतिमामा माल्यार्पणपछि दरबार क्षेत्रमा सभा भएको थियो ।
उक्त सभामा नेमकिपाका सचिव प्रेम सुवालले भाषा, साहित्य र संस्कृति मानव सभ्यताको विकासको श्रृङ्खला भएको चर्चा गर्दै राणाकाल र पञ्चायतकालमा मात्र होइन बहुदल र गणतान्त्रिक सरकारले पनि समान ढङ्गले सबै भाषाको संरक्षण गर्न नसकेको विचार व्यक्त गर्नुभयो ।
आफ्नो मातृभाषाबाट पढ्दा छिट्टै सिकिन्छ भन्ने मान्यता राख्ने राणाविरोधी, शिक्षासेवी र समाज सुधारक मा. जगतसुन्दर मल्लको प्रतिमा पञ्चायती प्रशासनले राति चोरेर लगेको सन्दर्भ उल्लेख गर्दै सचिव सुवालले गणतन्त्रमा पनि भ्रष्टाचार, पक्षपात, अत्याचार यथावत रहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

जनताले पढ्लान्, शिक्षित र सचेत बन्लान् भनेरै राणाशासकहरूले विद्यालय, कलेज खोलेनन्, थोरै शुल्कमा डाक्टर तयार गर्ने मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालयको अनुमति सरकारले दिएन, बहुदल र गणतान्त्रिक सरकारका नेताहरूमा पनि राणा र पञ्चायतकालकै गन्ध रहिरहे, सचिव सुवालले भन्नुभयो ।
जङ्गल मासेर निजी प्लटिङ्ग गर्नुभन्दा स्थानीय तहलाई स–साना आवास योजना विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “देशलाई खरानी बनाउन वर्तमान गठबन्धन सरकारका नेताहरू लागिरहेका छन् । एमसीसी समर्थकहरू देशभक्त होइनन् । उनीहरू साम्राज्यवादका दलाल र भारतीय विस्तारवादका अन्धभक्त हुन् ।”
सचिव सुवालले भन्नुभयो, “देशविरोधी र जनविरोधी दलका नेताहरूलाई जनतासामु उदाङ्ग्याउनुपर्ने उल्लेख गर्दै देश सरकारले होइन अदालतले चलाइरहेको छ ।”
मन्त्री भाग खाने प्रधानन्यायाधीश र मन्त्री भाग दिने सरकार दुवै दोषी रहेको चर्चा गर्दै उहाँले नेमकिपाले एमसीसीको विरोधमा देशभर विरोध प्रदर्शन तथा सभा गरिरहेको छ, नेमकिपाको यो देशभक्त आन्दोलनलाई संसारले हेरिरहेको छ भन्नुभयो ।

नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष एवम् कार्यक्रमका सभापति आशाकुमार चिकंबन्जारले पुँजीवादी शासक दलका नेता तथा कार्यकर्ताहरूले आर्थिक लोभलालच देखाएर, झूटको खेती गरेर जनताको मनोभाव बिगार्ने र खुट्टा तान्ने काम गरिरहेको बताउनुभयो । सो सभामा नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिका अध्यक्ष गणेशराम थुसा र नेपालभाषा साहित्य तःमुंज्याका सचिव नरेश खत्रीले पच्छिमेली सास्ंकृतिक अतिक्रमणविरुद्ध आफ्नै मौलिक संस्कृतिको संरक्षण गर्नुपर्ने र देश जोगाउन एमसीसी खारेज गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जुलुस सुरु हुनुअघि सूर्यमढीमा तःमुंज्याका उपाध्यक्ष लक्ष्मीनारायण दुवाल र लक्ष्मीप्रसाद चवाल तथा गःहिटीमा प्रेमगोपाल कर्मचार्य र केशव तमखुले नेपाल संवत् र तःमुंज्याको ¥यालीको आवश्यकताबारे चर्चा गर्नुभयो ।
काभ्रे
काभ्रे, १९ कार्तिक । नेपाल संवत् ११४२ एवम् छठ पर्वको पावन अवसरमा आयाम बुलेटिन प्रकाशन समूह बनेपा काभ्रेको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम शुक्रबार बनेपामा भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले धनीमानीहरूले आप्mनो हित हुने भएमात्र पत्रिकालाई सहयोग गर्छन्, एमसीसीको विरोध गर्ने पत्रिकालाई एमसीसीका मतियारहरूले सहयोग गर्दैनन् भन्नुभयो ।
शिक्षासेवी एवम् बुद्धदर्शन, संस्कृतिका ज्ञाता हरिशंकर मानन्धरले आयाम बुलेटिनमा प्रकाशित लेख रचनाहरूबारे प्रकाश पार्दै नयाँ सालमा वर्षभरिको हिसाब राख्ने र त्यसको खुसीयालीमा पूजा गर्ने चलन भएको हुनुपर्छ भन्ने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले चार दशकदेखि जनताको हितमा विभिन्न लेख रचनामार्फत जन चेतना जगाउने कार्य गरिआएको र सुरुमा हस्तलिखित ‘साहस’, ‘साकार साप्ताहिक’, ‘आयाम पाक्षिक’ हुँदै ‘आयाम बुलेटिन’ प्रकाशित भएको बताउनुभयो । पाठकहरूको राय, सुझाव र सहयोगले हाल पूर्णाङ्क १२ प्रकाशित भएको छ भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले नयाँ वर्षमा नयाँ सोच र नयाँ जोशका साथ देश र जनताको सेवा गर्नुपर्ने बताउनुभयो ।

युवा उद्यमी सरोजकाजी श्रेष्ठले युवाहरू राजनीतिबाट विमुख हुने हैन, नेतृत्व गर्ने हिसाबले अघि बढ्नुपर्ने बताउनुभयो ।
साइकल अभियन्ता एवम् गीतकार नवराज केसीले पर्यावरण स्वच्छ राख्न, स्वस्थ रहन र मितव्ययिताको हिसाबले साइकल चलाउनु हितकर भएको बताउनुभयो ।
आयाम बुलेटिन प्रकाशन समूह बनेपा काभ्रेका अध्यक्ष भवानी जोशीको सभापतित्वमा भएको कार्यक्रममा राजेश मानन्धर, ओमप्रसाद मानन्धरलगायतले बोल्नुभएको थियो ।
सूर्यविनायक
सूर्यविनायक, १९ कार्तिक । सूर्यविनायक प्रगतिशील सांस्कृतिक समाजको आयोजनामा नेपाल संवत् ११४२ तथा तिहारको अवसरमा प्रभातफेरीको आयोजना गरेको छ ।
सूर्यविनायक नगरपालिकाका विभिन्न सहकारी तथा सांस्कृतिक समूहको ऐक्यबद्धतासाथ सहभागिता रहेको उक्त प्रभातफेरी गुन्डुको फाँजूटोलबाट सुरु भई किवाचोमा टुङ्ग्याइएको थियो । प्रभातफेरिमा परम्परागत हाकुपटासी तथा दौरासुरुवाल लगाएका युवायुवतीले धिमाय् बाजा बजाई रौनक भरेका थिए । कार्यक्रममा सहभागीले एमसीसी सम्झौता खारेज गर, कालोधन जफत गर, एनजीओ–आइएनजीओ खारेज गर, विदेशी ऋण चाहिँदैन, प्रगतिशील कर लागू गर, स्रोत नखुलेको सम्पत्ति जफत गर, लगायतका नारा लेखिएका प्लेकार्डसमेत बोकेका थिए ।
प्रभातफेरीमा सहभागी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले किवाचोमा भेला भएका सहभागीलाई सम्बोधन गर्दै नेपाल संवत् नेवारको संवत् भन्ने सङ्कीर्णता राख्नु गलत भएको धारणा राख्नुभयो । उहाँले नेपाल संवत्को चलन गरिएका ८८८ वर्षमा पूरै नेवार शासन नभएको तर्क गर्दै पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका कब्जा गरेपछि सरकारी काममा शक संवत् लागू गरेको बताउनुभयो ।
नेपाल संवत् नेपालको नामसँग जोडिएको मौलिक संवत् भएको उल्लेख गर्दै केन्द्रीय सदस्य गोसाईले नेपालको अधिकांश सांस्कृतिक गतिविधि नेपाल संवत्मा उल्लिखित तिथिअनुसार हुनुले यसलाई जनताले आत्मसात् गरेको प्रष्ट हुन्छ भन्नुभयो ।

कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सचिव रमेश प्रजापतिले नयाँ वर्ष नेसं ११४२ ले एमसीसी सम्झौताविरुद्ध लडन अझै उत्साहित गर्ने धारणा राख्नुभयो । उहाँले कुनै पनि देशघाती सम्झौताविरुद्ध लड्न युवा विद्यार्थी तत्पर रहनुपर्ने विचार राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष काजीबहादुर पञ्चको सभापतित्वमा भएको समापन कार्यक्रममा प्रभातफेरीमा सहभागी विभिन्न संस्कृतिक समूहलाई प्रमुख अतिथि गोसाईले प्रशंसापत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा साहित्य स्रष्टा सुरेश बखुन्छेले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सुरुआतमा महेन्द्र बखुन्छेले नयाँ वर्षको प्रभातफेरी देशको सार्वभौमिकता रक्षाको आन्दोलनको रूपमा लिएको बताउनुभएको थियो ।
टोखा
काठमाडौँ, १९ कार्तिक । नेपाल संवत ११४२ को अवसरमा न्हूदँ हना खलः टोखा, काठमाडौँको आयोजनामा बिहीबार शुभकामना ¥याली तथा जनसभा सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अतिथि गोसाईले पुर्खाले सिर्जेको संस्कृति र सम्पदा हाम्रो जीवन पद्धति भएकोले बचाइराख्नु हाम्रो कर्तव्य भएको चर्चा गर्दै भन्नुभयो, “यदि हामीले हाम्रो संस्कृति र सम्पदालाई बचाइराख्न सकेनौँ भने हामी जीवित रहेर पनि मरेतुल्य झैँ हुनेछ ।”
“न्हूँद हना खलः ले शुभकामना ¥याली गरी हाम्रो संस्कृतिलाई उजिल्याउने र बचाउने कार्य गरेको छ, यसलाई निरन्तरता दिनुपर्छ”, उहाँले भन्नुभयो ।
“देशको सबै भाषा, संस्कृति देशको सम्पदा भएकोले बचाइराख्नुपर्ने राज्यको कर्तव्य हो । तर शासक दलहरूले केही भाषालाई मात्र प्राथमिकता दिई अरू भाषा–संस्कृतिका जनजातिलाई दबाउने षड्यन्त्र गरिरहेको छ । यसतर्फ हामी सबै सचेत हुनुपर्छ”, केन्द्रीय सदस्य गोसाईले भन्नुभयो ।

शत्रु र मित्र चिन्न सक्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेवाको नाममा नेवारलाई दबाउनेहरूप्रति सजग हुनुपर्ने र उनीहरूलाई समयमै चिन्नुपर्नेमा जोड दिनुभयो ।
एमसीसीबारे पार्टीको धारणा राख्दै केन्द्रीय सदस्य गोसाईले स्पष्ट पार्नुभयो, “एमसीसी अमेरिकी सरकारको एउटा निकाय हो । एमसीसी पारित भए नेपालमा अमेरिकाको शासन हुने र अमेरिकी सैनिकले नेपालमा परेड खेल्नेछ । जसको कारण नेपालको सार्वभौमिकता गुम्ने निश्चित छ । नेपालको स्थिति अफगानिस्तानको जस्तै हुनेछ ।”
“नेमकिपालगायत देशभक्त जनताले एमसीसीको विरोध गरिरहेको छ । देश जोगाउने हो भन्ने एमसीसीको विरोध गर्नैपर्छ”, उहाँले भन्नुभयो ।
फास्ट ट्रयाकको नाममा खोकना–बुङ्गमतिका स्थानीय जनतालाई विस्थापित गर्न खोल्नु कुनै पनि हालतमा न्याय नहुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “रङ्गशाला र विकासको नाममा उपत्यकाका रैथानेहरूलाई विस्थापित गर्ने षड्यन्त्र भइरहेछ । यसको विरोधमा सबै पीडित जनता एक हुनैपर्छ ।”
“स्थायी र समृद्धिको नारा दिने ओली सरकारले जनतालाई विश्वासघात गरेको चर्चा गर्दै केन्द्रीय सदस्य गोसाईले बाग्मती प्रदेशमा चार वर्षमा तीन जना मुख्यमन्त्री फेरिएबाट ओली सरकारले जनतालाई विश्वासघात गरेको स्पष्ट गर्छ”, उहाँले भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति रवीन्द्र डंगोलले टोखालाई सांस्कृतिक सहरसँगै ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अबको १० वर्षभित्र टोखा नगरपालिकाभित्र एक घर स्नातक उत्तीर्ण गर्ने लक्ष्य प्राप्तिको लागि संस्था अगाडि बढिरहेको छ । यही उद्देश्य र लक्ष्य बोकेर तीन वर्ष अगाडि नेपाल संवत् ११३९ को अवसरमा न्हूदँ हना खलः टोखा स्थापना भएको हो ।”
कार्यक्रममा आयोजक समितिका सदस्य शोभालाल श्रेष्ठ, कमलबहादुर डंगोल र टोखा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा कविता तथा सांस्कृतिक प्रस्तुतिहरू देखाइएको थियो । टोखाको क्वने लाछिबाट सुरु भएको शुभकामना ¥याली नगर परिक्रमा गरी क्वने लाछी टोलमै पुगी जनसभामा परिणत भएको थियो ।
चाँगुनारायण
भक्तपुर, १९ कार्तिक । नेपाल संवत् ११४२ नयाँ वर्षको अवसरमा चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजले शुक्रबार शुभकामना ¥याली तथा सभाको आयोजना गरेको छ । गणेश मावि छालिङबाट बाजागाजासहित सुरु भएको ¥याली यापी भैरव पुगी सभामा परिणत भएको थियो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले नेपालभाषाको साहित्यको अध्ययनबिना नेपालको इतिहास तथा संस्कृतिको अध्ययन पूरा नहुने भन्दै नेपालको प्रत्येक भाषा तथा संस्कृतिको संरक्षण गर्नुपर्छ भन्नुभयो ।
शासक दलहरूले नेपालमा भागबन्डा र भ्रष्टाचार गरी देश तहस–नहस र खोक्रो बनाइरहेको उल्लेख गर्दै उहाँले तिनीहरूले भारतीय र अमेरिकी दलाल भई एमसीसी सम्झौताको पक्षमा वकालत गरिरहेको धारणा राख्नुभयो । केन्द्रीय सदस्य कवांले अमेरिकी र युरापेलीहरूले एसियालाई युद्धमा फसाउन भारतलाई उक्साइरहेको हुँदा सबै जनता सचेत, शिक्षित र सङ्गठित हुनुपर्नेमा जोड दिनुभयो ।

नेमकिपा, भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले अन्यायविरुद्ध आवाज बुलन्द गर्न सफलता मिलोेस् भन्ने कामना गर्दै एमसीसी सम्झौता संसद्बाट पारित भए देशको अस्तित्व नै समाप्त हुनसक्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरुङले एमसीसी सम्झौता हतियारको व्यापार गर्ने र एसियामा युद्ध गराउने रणनीति भएकोले यो सम्झौता खारेज गराउनुपर्नेमा बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटा र लक्ष्मीनारायण लिगलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
ललितपुर
ललितपुर । साहित्य तःमुंज्या ललितपुरको आयोजनामा नेपाल संवत् ११४२ नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम शुक्रबार ललितपुरको त्यागलमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला अध्यक्ष राजवीर डंगोलले हिन्द प्रशान्त रणनीतिअन्तर्गत रहेको एमसीसी परियोजना चीनलाई घेर्ने उद्देश्यसहित नेपालमा लागू गर्न खोजेको बताउँदै अमेरिकी एमसीसीको विरोध नगर्ने व्यक्ति देशभक्त हुन नसक्ने बताउनुभयो ।
जनताको विषयमा लेखिएको साहित्य नै जनताको वास्तविक साहित्य हुने बताउँदै उहाँले इतिहासको भौतिकवादी दृष्टिकोणले विश्लेषण गरिनुपर्ने औँल्याउनुभयो । “नेपालमा बिजुलीको अत्यधिक सम्भावना छ, सरकारले बिजुलीको सट्टा पेट्रोलियम पदार्थलाई प्राथमिकता दिनुको पछाडि कमिसनको खेल छ”, अतिथि डंगोलले बताउनुभयो ।

अध्यक्ष डंगोलले सरकारले नेपालमा भइरहेको सांस्कृतिक अतिक्रमणपछि राजनैतिक अतिक्रमण हुने चर्चा गर्दै अन्धविश्वास त्याग्दै जानुपर्ने बताउनुभयो ।
‘मजदुर’ दैनिकका प्रकाशक तथा कार्यकारी सम्पादक उद्धव सुजखुले नेपालको संविधानमा समाजवादउन्मुख लेखे पनि सरकार पुँजीवादी बाटोमा लागेको बताउँदै जनपक्षीय कार्यक्रमहरू नगरेको औँल्याउनुभयो । नेपालमा १२३ जाति र १२५ भाषा–भाषीभन्दा बढी रहेकोमा सरकारले जनजातिको भाषा र संस्कृति संरक्षणमा बेवास्ता गरेको बताउनुभयो ।
नेपाल कर्मचारी समाजका अध्यक्ष गौतमप्रसाद लासिवाले एमसीसी परियोजनामा हस्ताक्षर गर्नु नेपाली जनतालाई दास बनाउनु हुने बताउँदै सरकारलाई गलत बाटोमा हिँँडाउन भ्रष्ट कर्मचारी पनि दोषी रहेको स्पष्ट पार्नुभयो ।
नेक्राविसङघ केन्द्रीय सल्लाहकार सविन ख्याजूले धानबाली बिग्रेकोमा सरकारले छानबिन गरी पीडित किसानलाई क्षतिपूर्ति दिलाउनुपर्ने बताउँदै विषादीयुक्त फलफूल र तरकारीलाई बन्देज लगाउनुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष कवीन्द्र डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा कोषाध्यक्ष अशोक महर्जन, महेन्द्र बज्राचार्य, नरेश डंगोल, मनहिरा श्रेष्ठ, अष्टेन्द्र महर्जनलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा साहित्य, गीत आदि प्रस्तुति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *