भर्खरै :

नयाँ वर्षमा बुलन्द मुक्तिको आवाज

अझै मुक्तिको कुरा
सर्वप्रथम म नयाँ वर्ष नेपाल संवत् ११४२, तिहार तथा स्वन्ति पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल संवत्को नयाँ वर्षले सदा स्वतन्त्रता तथा मुक्तिको सन्देश बोकेको हुन्छ । त्यसअनुसार हरेक नयाँ वर्षको पहिलो दिनमा आयोजना हुने यस्ता कार्यक्रममा शोषण, दमन, अन्याय तथा अत्याचारमा पिल्सिएका जनताको आवाज बुलन्द हुने गरेको छ । यो दिन उत्पीडित वर्गले आफ्नो हकअधिकारको निम्ति लड्न थप ऊर्जा प्राप्त गर्दछन् ।
आज पनि हामीले देशको सार्वभौमिकता रक्षाको नारा लगायौँ । किनभने, आज पनि नेपालको सार्वभौमिकता सङ्कटमा छ । महँगी, भ्रष्टाचार तथा गरिबीबाट पिल्सिएका जनतालाई एकजुट हुन हामी आह्वान गरिरहेका छौँ ।
आजको दिन विजयको दिन हो, विजयोत्सव हो । आजभन्दा ११४२ वर्षअगाडि दासहरूले मुक्ति प्राप्त गरेको इतिहास छ । नेपाल संवत्को सुरुआत नै दासमुक्तीबाट आरम्भ भएको थियो । म यहाँ इतिहासकार हरिराम जोशीलाई उद्धृत गर्न चाहन्छु । उहाँले त्यो दासमुक्ति नेपालमा मात्र होइन संसारमै सबभन्दा पहिलो दासमुक्त भएको बताउनुभएको छ । त्यसैले पनि नेपाल संवत्को महत्व अधिक छ । नेपाल संवत्को गौरवगाथालाई उजिल्याउनु हाम्रो कर्तव्य हो । यसलाई नेपालीको सानको रूपमा स्थापित गर्नु आवश्यक छ । यसको निम्ति राज्यले गम्भीर अध्ययन तथा अनुसन्धान गर्ने वातावरण बनाइदिनु अपरिहार्य छ ।
तर, विडम्बना ¤ आज पनि नेपालीले कामदार जनता स्वतन्त्र हुन पाएका छैनन् । नेपालीमाथि भारतीय एकाधिकार पुँजीको शोषण कायम छ । अमेरिकी साम्राज्यवाद नेपालमाथि आफ्नो आधिपत्य कायम गर्न कुत्सित प्रयास गरिरहेको छ । ७० लाखभन्दा बढी युवा विदेशमा दासको रूपमा बेचिएका छन् । नेपालको उद्योगधन्दा ध्वस्त बनाइएको छ । देशको कृषि अर्थतन्त्र खलबल्याएको छ । नवउदारवादी अर्थनीति लागू गरी सरकारको स्वामित्वमा रहेका ठूला उद्योग तथा कारखाना निजीकरण गरिएपछि नेपाल झन् बढी पराधीन बनेको छ । नेपाली काङ्ग्रेस, एमाले, जसपा र माओवादी केन्द्रलगायत शासक दलहरूले कहिल्यै नेपाललाई आत्मनिर्भर बनाउने कुनै योजना बनाएनन् । अब ती पुँजीवादी पार्टीहरूलाई दण्डित गर्नुको विकल्प छैन । ती पार्टीहरू कहिल्र्य सुध्रिँदैनन् ।
विस्थापित नेपाल संवत्
नेपाल संवत् नेपालको मौलिक संवत् हो भन्ने तथ्यमा हामी स्पष्ट छौँ । यो कुनै राजामहाराजा वा कुनै व्यक्ति विशेषको नाममा बनेको संवत् होइन । हामी हाम्रा सांस्कृतिक पर्वहरू नेपाल संवत्अनुसार मनाउँछौँ । नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूतिको रूपमा लिइसकिएको छ । यो सकारात्मक पक्ष हो । यसको निम्ति नेपालीले धेरै लामो सङ्घर्ष गर्नुपरेको थियो । तर, नेपाल संवत्लाई सरकारले नेसं ११४१ सम्म व्यावहारिक रूपमा प्रयोगमा ल्याएको छैन । यो कस्तो नामर्दी हो ।
वि.सं. २००७ मा प्रजातन्त्रको उदय भएदेखि नै नेपाल संवत््लाई पुनःस्थापित गराउन विभिन्न प्रयास हुँदै आएको हो । नेपाल संवत्ले ८८८ वर्षसम्म राष्ट्रिय मान्यता पाएको तथ्य हामीले भुल्नुहुँदैन । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका कब्जा गरेपछि सरकारी काममा शक संवत् लागू गरेका थिए । राणा प्रधानमन्त्री चन्द्र शम्शेरले विक्रम संवत्को सुरुआत गरे । यसरी शासकहरूले नै नेपालको आफ्नो मौलिक संवत् विस्थापित गरे । कसलाई के भन्ने ?
सङ्कीर्ण सोच
नेपाल संवत्लाई नेवारको मात्र संवत् मान्ने सङ्कीर्ण सोच अद्यापि पाइन्छ । हो, नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउने आन्दोलनहरूमा पक्कै पनि नेवारहरूको ठूलो योगदान थियो । तर, त्यसको अर्थ नेवार संवत् भनेर नेपाल संवत्को अवमूल्यन गर्नु गलत हो । किनभने, नेपाल संवत् ८८८ सम्म (विसं १८२५) राज्यको आधिकारिक संवत् रहेको थियो । त्यो पूरै अवधिमा नेवार शासन भने थिएन । नेपालको अलग अस्तित्व पुष्टि गर्न संयुक्त राष्ट्रसङ्घमा नेपालले नेपाल संवत् प्रस्तुत गरेको कुरा हामीले सम्झनुपर्छ । नेपाल संवत्को प्रयोग पूर्व कोशीपारिदेखि पश्चिम कर्णालीसम्म व्यापक रूपमा भएको ऐतिहासिक प्रमाणहरू पनि छन् ।
चन्द्रमाको गतिअनुसार बनाइएको संवत् भएकोले तिथिमितिमा कहिलेकाहीँ घटबढ हुने गरेको छ । कहिलेकाहीँ अष्टमी र नवमी एकै दिन पर्दा मानिसहरू अलमल तथा अप्ठेरोमा पर्छन् । तर, यस्ता समस्या समाधान गर्न नसकिने होइन ।
सांस्कृतिक दमन
नेपाल बहुजातीय तथा बहुसांस्कृतिक देश भएर पनि राज्यले कहिल्यै सबै जाति, संस्कृति तथा भाषाको विकास तथा विस्तारको निम्ति सोच्दै सोचेन । उल्टो राज्यले एउटा निश्चित भाषा तथा संस्कृतिलाई काखी च्यापेर अन्य भाषा तथा संस्कृतिलाई उपेक्षा गर्दै आएको छ । पृथ्वीनारायण शाहले आर्य संस्कृति, हिन्दू धर्म र खस भाषालाई काखी च्यापे† इसाई धर्म र इस्लाम धर्म मान्ने नेवारहरूलाई देश निकाला गरे, तिनको हत्या पनि गरे । राणा प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९६१ मा नेवार र मधेशीलाई सेनामा भर्ना नलिनू, तामाङलाई सरकारी जागिर नदिनू भन्ने आदेश जारी गरे । जुद्ध शमशेरले बुद्ध धर्मको प्रचार गर्ने भिक्षुहरूलाई देश निकाला गरे । सन् १९९७ मा राजकाज मुद्दामा कैद भएका २०० जनामध्ये योगवीर सिंह कंसाकार, फत्तेबहादुर सिं, सिद्धिचरण श्रेष्ठ र चित्तधर हृदयलाई नेवारी भाषामा लेखेबापत कैद गरिएको थियोे । एउटा घटना यहाँ राख्छु – राजा रणबहादुर शाहको पालामा लिम्बु क्षेत्रमा विद्रोह भयो । राजा रणबहादुर शाहले एकजना लिम्बु सेनाधिकारीलाई त्यो विद्रोहको प्रतिवेदन बनाउन खटाए । प्रतिवेदन लेख्न स्थलगत अध्ययन गर्न गएका ती लिम्बुले आफ्नै लिम्बु भाषामा प्रतिवेदन लेखेछन् । रणबहादुर शाहले ‘म ठकुरी राजा हुँ । यो पटकलाई भैगो । फेरि त्यसो गरे काटी मार्नू’ भन्ने आदेश दिएछन् । यस्तो कालो इतिहासले बहुभाषी नेपालको खिल्ली उडाइरहेको छ । राज्यको विभेदकारी नीतिको कारण विभिन्न भाषा लोप हुनेक्रम जारी छ । यसले नेपालको सक्कली पहिचान नै नामेट गर्ने छ ।
भाषिक उपनिवेश
अङ्गे्रजी भाषा बलात् लादेर बेलायती साम्राज्यवादले भारतमा २०० वर्षसम्म शासन ग¥यो । ‘रङ्ग र रगत भारतीय तर विचारमा अङ्ग्रेज’ बनाउने लर्ड मेकालेको योजनाअनुसार त्यहाँ अङ्ग्रेजी भाषाको व्यापक प्रचारप्रसार गरिएको इतिहास हामीले पनि भुल्न हुँदैन । बेलायती साम्राज्यको नीतिअनुसार भारतका विद्यालयहरूमा अङ्ग्रेजी भाषा पढाउन थालियो, अङ्ग्रेजी जान्ने सभ्य भन्ने प्रचार गरियो । कालान्तरमा भारतीय जनता बेलायतको सांस्कृतिक दास बने । भाषाको माध्यमबाट नेपालीलाई दास बनाउने प्रपञ्च आज यहाँ पनि गरिँदै छ । नेपालको मौलिक संस्कृतिमाथि विदेशी आक्रमण आज झन तीव्र भएको छ । यस सन्दर्भमा पनि सबै नेपाली दाजुभाइ दिदीबहिनी सचेत हुनु आवश्यक छ ।
हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवा भर्खरै युरोप पुगेर एमसीसी पारित गर्ने वचन दिएर फर्किएका छन् । नेपाली जनता सचेत हुनुपर्छ । हामी कसैको दासता स्वीकार्दैनौँ । हामी शासकहरूलाई खबरदारी पनि गर्छाैँ – नेपाली जनतालाई एमसीसी कदापि स्वीकार्य छैन ।
(सूर्यविनायक प्रगतिशील सांस्कृतिक समाजद्वारा शुक्रबार, १२ कार्तिक २०७८ मा भक्तपुरको सूर्यविनायक नपाको गुण्डुमा आयोजित न्हुदँ ¥याली तथा सभामा व्यक्त मन्तव्यको सम्पादित अंश– सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *