यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
हिमाली/पहाडी गाउँतिर खुला वातावरण र पातलो बस्ती हुन्छ । कृषि कर्म पनि प्रशस्त गरिन्छ । त्यसैले त्यतातिर कुहिने फोहोर खेर जान पाउँदैन । त्यसलाई सडाएर मलको रूपमा खेतबारीमा प्रयोग गर्न सकिने भएकोले फोहोर व्यवस्थापनमा कुनै कठिनाइ हुने कुरा पनि भएन । सहरबजारतिर भने वातावरण पनि प्रदूषित र बस्ती पनि बाक्लो हुन्छ । जताततै घरैघर र खेती गर्ने जमिन ज्यादै कम भएकोले गाउँमा जस्तो कृषिकर्म पनि हुँदैन । कृषिकर्म नभएपछि भान्छाको फोहोरसमेत तह लाउन गाह्रो पर्ने भयो । नागरिकलाई परेको यही समस्याको समाधानका लागि नगरपालिकाले नागरिकबाट कर लिएर भए पनि अनेक चेतनामूलक कार्यक्रम चलाएको छ । पत्रिकामा विज्ञापन छापेर खर्च गरेको छ । कुहिने र नकुहिने फोहोर सङ्कलनका लागि घरघरमा प्लास्टिकका भाँडा बाँडेको छ । यहाँ फोहोर फालेमा यति जरिवाना गराइने छ भन्ने कडा व्यहोराको सूचनापाटी पनि ठाउँठाउँमा टाँगेको छ । त्यतिमात्र होइन, नियमितरूपमा टोलटोलमा÷घरघरमा गाडी पठाएर फोहोर सङ्कलन पनि गर्ने गरेको छ । यति गर्दा पनि सुग्घरी देखिन चाहने कतिपय सहरियाहरूको फोहोरी बानी सुध्रन सकेको छैन ।
सडकमा फोहोर फाल्ने भाँडो राखिएको हुन्छ तर भाँडो रित्तो र भुइँ फोहोर हुन्छ । चाउचाउ, चकलेटका खोल–जसले जहाँ खायो त्यहीँ फालिदिन्छ । ती चीज भरसक खानै नहुने हो । खाए पनि तिनका प्लास्टिक खोल केही छिन आफ्नै गोजी वा झोलामा बोकेर तिनलाई तोकिएको ठाउँमा तह लगाउने बानी नै छैन । त्यसैले गर्दा, सडकको ठाउँठाउँमा राखिएका फोहोर फाल्ने भाँडा रित्ता हुन्छन् । भुइँ भने फोहोरले ढाकिएर पैदलयात्रीलाई गाह्रो भइरहेको हुन्छ । चाउचाउ, बिस्कुन, साबुन, दूध, पाउरोटी इत्यादिका प्लास्टिक खोल, चामलका बोरा इत्यादि नकुहिने फोहोर र तरकारीका बोक्रा, उब्रेको भात÷तरकारी, अण्डाको खोस्टाजस्ता कुहिने दुवैथरी फोहोर लान गाडी आउँछ भन्ने कुरा थाहा भइभइकन पनि मानिसहरू, ती फोहोरलाई कुनै खाली जग्गा र खोलातिर हु¥याउन मन पराउँछन् । आजकल त फोहोरको नयाँ प्रकारमा ‘मास्क’ पनि थपिएको छ र यो जताततै देखिने फोहोरमा परेको छ । “यहाँ फोहोर फालेमा एकहजारदेखि पाँचहजारसम्म जरिवाना गराइने छ” भनेर ठूलाठूला अक्षरमा लेखिएको सूचनापाटीमुनि नै फोहोरको डङ्गुर देखिन्छ । राम्राराम्रा कपडा लगाएर र सुगन्धित पर्फ्युम शरीरभरि घसेर ठाँट्टिएर/बास्नादार भएर हिँड्ने सुग्घरी मान्छेको यो कस्तो ‘फोहोरीपन’ होला !
चोरको शत्रु जून हो भनिन्छ । नगर्ने काम गर्न आँटेपछि र आफूले बिराएपछि जोसुकैलाई पनि डर लाग्दो रहेछ । ‘मर्निङ वाक’ मा जाँदा एकदिन देखियो—एकजना मोटरसाइकलवाला, यति ठूलो बोरामा फोहोर झुन्ड्याएर आई त्यो बोरा फुत्त खोलामा फ्याँकेर बतिँदै छ ! ऊ यसो पछाडि फर्केर हेर्दै पनि थियो, कसैले मलाई देखे कि भन्ने डरले पनि होला ! खुब ‘पुरुषार्थी काम’ बल्ल गरी सिध्याएँ भनेर पनि होला ! काम सजिलै सिध्याएर हिँडेको जोसमा उसलाई, मैले देखेको भन्ने कुरा पनि थाहा भएन होला ! मोटरसाइकल हाँक्ने त्यत्रो धनी (र त्यति खर्चिलो त्यो मानिस शिक्षित पनि पक्कै थियो होला !) र सिपालु मानिसको चाला त्यस्तो ! थुक्क बुद्धि ! मलाई त्यसको अनुहार हेर्न पनि मन लागेन ।
अर्को दिन साँझसाँझको बेला म पसलबाट फर्कंदै थिएँ । एकजना महिलाले एकबोरा फोहोर बल्लतल्ल घिसार्दै ल्याएर खोलानजिक फ्याँकिन् । मैले मुख थाम्न सकिनँ र भनेँ, “दिदी, यो के गर्नुभएको ?”
उनले मलाई पुलुक्क हेरिन् र नीली भएर भनिन्, “हिजो एकजना दाइले यहाँ यसैगरी फोहोर फ्याँके । मैले त फोहोर फाल्ने ठाउँ यही रहेछ भन्ने लागेर आजै हो फालेकी । किन र भाइ, यहाँ फोहोर फाल्नु हुँदैन !”
ओहो ! कुरा गर्न र विश्वास दिलाउन पनि कति जानेको !
“तपाईँ जस्ती मान्छेलाई यसरी यहाँ फोहोर फाल्नु हुँदैन भन्ने कुरा थाहा थिएन र बुझ पचाउनुभएको ! म अब नगरपालिकालाई खबर गर्छु । मैले पनि रिसाहा आँखा बनाउँदै भनेँ ।
“सरि है ! म अबदेखि यसरी फाल्दिनँ” भन्दै फटाफट एकातिर लागिन् । के भन्नु !
बर्खाको समय भएको भए फोहोर बग्दो खोलामा फालिन्थ्यो र त्यसलाई पानीले बगाएर पनि लान्थ्यो । तर हिउँदको बेला भएकोले यस्तो हुने कुरा थिएन । त्यसैले एकेक जनाले साँझबिहानको समय पारेर फालिएको खोलानजिकको फोहोर डङ्गुर भएको थियो । एकदिन टाउकै दुखाउने नमीठो गन्धसहित धुवाँ पनि देखियो । एकजना ‘जान्ने मानिस’ले त्यो फोहोरमा आगो पो लाइदिएछन् ¤ कतिपयले घरघरमै प्लास्टिक बालेर फोहोर तह लाउने गरेको पनि देखिएको छ । जाडोको बेलामा आगो ताप्न पनि प्लास्टिकै बाल्छन् । फोहोर तह लगाउने र न्यायो हुने यो तरिकाले, त्यसबाट निस्कने क्षारका कारण वातावरण र मानव स्वास्थ्यमा नराम्रो असर परिरहेको छ ।
सहरका हरेकजसो टोलमा ‘टोल सुधार समिति’ जस्ता विभिन्न प्रकारका समिति हुन्छन् । तिनको भेला बैठक पनि बाक्लै बसिरहन्छ । ती बैठकमा अन्य ठूलाठूला विषयमा चर्चा परिचर्चा हुन्छ । आजकल त ‘जुम मिटिङ’ पनि खुब चल्ने गरेको छ । तर कुनै पनि टोलमा ‘फोहोर व्यवस्थापन समिति’ गठन भएको हुँदैन र फोहोर तह लाउने विषयमा छलफल र कुराकानी पनि गरिंदैन । त्यसो गर्नु सायद सभ्यताहीन र आवश्यकताविहीन ठानिएर पो हो कि !
कुनै पनि चाडपर्व आउनुभन्दा अगाडि जताततै शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना हुन्छ । त्यहाँ सबैले एकसेएक भाषण ठोक्छन् । तर, त्यस्ता कार्यक्रममा पनि फोहोर व्यवस्थापनका विषयमा कसैबाट पनि एक शब्द खर्च गरिँदैन । अन्त्यमा केही नभए पनि चियाबिस्कुट खाइन्छ अनि कतिपय ठाउँमा प्लास्टिक कप र बिस्कुटको खोल राम्ररी तहै नलाई हिँडिन्छ ।
कहिलेकाहीँ ‘डम्पिङ साइट’ मा विवाद हुँदोरहेछ । त्यो समयमा फोहोर नउठेर सहर कुरूप र दुगन्धित भएको पनि हामीले देखेभोगेका छौँ । यस्तो अवस्था आउनुमा सरकार र नगरपालिकाको कमजोरी देखिन्छ ।
अरू कारणले फोहोर अव्यवस्थित हुनुमा हामी नागरिककै कमजोरी ठहरिन्छ । कुहिने फोहोर तह लगाउने जमिन नभए पनि, कौसी खेती गरेर त्यसको सदुपयोग गर्न सकिन्छ ।
चेतनाविहीन मान्छेले गल्ती गर्नु स्वाभाविक हो । तर, चेतनशील मान्छेले पनि फोहोर व्यवस्थापनमा हेलचेक्राइँ र मुख्र्याइँ गर्छ भने त्यस्तालाई जरिवानामात्रै तिराउने गरेर पुग्दैन, तत्काल शारीरिक दण्ड नै दिनुपर्छ । त्यसैले सहरतिर सडकमा खटाइने सुरक्षा निकायलाई अब फोहोर फालिने सम्भावित क्षेत्रमा पनि खटाएर निगरानी गराउनुपर्ने आवश्यकता देखियो । सवारी साधन तीव्रगतिमा चलाउनेलाई सीसी टीभीका आधारमा कारबाही गर्नेमात्र होइन, फोहोर तह लाउनमा बिग्रँदो मति देखाउनेलाई पनि त्यस्तै तरिकाले कारबाही गर्ने प्रविधिको विकास र प्रयोग पनि गर्नुपर्ने भयो ।
Leave a Reply