भर्खरै :

‘जीवित–सङ्ग्रहालय’ को नयाँ पुस्ता कस्तो होला ?!

२२ कार्तिकको दिन ‘कान्तिपुर’ दैनिकले ‘भक्तपुरको आफ्नोपन’ शीर्षकमा सम्पादकीय लेख्यो । उपत्यकाका सहरबस्ती र बाहिरी जिल्लामा समेत भक्तपुरबारे कुराकानी र छलफल भइरहेको पाइन्छ ।
निल्स गुत्सो भक्तपुरको वास्तुकला, संस्कृति तथा सम्पदाको जानकार एक नाउँ चलेका जर्मन नागरिक हुन् । ‘भक्तपुर विकास परियोजना’ (जर्मन प्रोजेक्ट) सँग संलग्न हाकमुलर, वेगनरलगायत अन्य प्राविधिक तथा विशेषज्ञहरूले आ–आफ्नो जानकारी तथा सिपअनुसारको मेहनत गरेकोबारे धेरै मानिस जानकार छन् । उहाँहरू नेपालीमात्र होइन नेवारी भाषाका जानकार हुनुहुन्थ्यो ।
निश्चय पनि भक्तपुरको इतिहास र संस्कृतिबारे उल्लिखित विदेशी लेखकहरूले नेपालका नयाँ पुस्तालाई पनि शिक्षित गराउँदै आउनुभएको छ । विद्वान र विदुषीहरू आफ्नो अध्ययन तथा अनुसन्धानप्रति गौरव गर्ने अवसर पाउँछन् । उहाँहरू एकपछि अर्को पुस्ताबाट सम्मानित पनि भइरहनुहुनेछ । बौद्धिक जगतको निम्ति यही नै सन्तोषको विषय हो र सबभन्दा राम्रो पुरस्कार हो ।
२०–२५ वर्ष अगाडि भक्तपुरमा संस्कृतिविद्, प्राविधिक र विद्वानहरूको एक अन्तर्राष्ट्रिय गोष्ठी भएको थियो । त्यस गोष्ठीमा भक्तपुर ‘एक जीवित सङ्ग्रहालय’ को रूपमा मूल्याङ्कन भएको थियो । गोष्ठीमा भक्तपुरलाई विश्व सम्पदाको एक अङ्गको रूपमा स्वीकार गरिएको थियो । भक्तपुरमा सयौँ वर्षदेखि ढुङ्गेधारा, पार्टीपौवा र मठ–मन्दिरहरू संरक्षित छन् । यहाँ नाच–गान र बाजा–गाजा आज पनि चालु छ । प्राचीन जीवन शैली आज पनि जीवित छ तर यो परिवर्तनउन्मुख पनि छ ।
जानकारहरू भक्तपुरको आजको पुस्ताको अगाडि प्रश्न गर्छन्– पाँचतले देवल, भैरवनाथ मन्दिर, लायकु (दरबार स्क्वायर) को ५५ झ्याल दरबार, ढुङ्गाका मन्दिरहरू, तलेजु मन्दिर आदि पुर्खाका कोसेली हुन् । नयाँ पुस्ताले थप के ग¥यौ भन्ने प्रश्नको उत्तर पनि नयाँ पुस्ताले दिएका छन् –
दुइटा ख्वप इन्जिनियरिङ्ग कलेज, स्नातकोत्तरसम्म पढाउने विज्ञान र मानविकी विषयको एउटा कलेज र जुनियर इन्जिनियरिङ कलेज, ख्वप अस्पताल र नर्सिङ कलेज, बालोद्यानहरू, शारीरिक व्यायामशालाहरू आदि भक्तपुरमा सञ्चालित छन् ।
जर्मन विकास परियोजनाले निर्माण गरेको इनाचो–हनुमानघाट ढलको उपचार पोखरी ३० वर्षदेखि बन्द छ । सरकारको ढल शाखा नै यसको जिम्मेवारी लिने संस्था हो । कमलविनायक, लिवाली र तुमचो डुगुरेमा भक्तपुर नगरपालिकाले आवास योजना सम्पन्न गरेको छ । व्यासी क्षेत्रको नयाँ आवास योजना पनि नगरपालिकाबाटै सम्पन्न हुँदै छ ।
अहिले भक्तपुरको हरेक वडामा सालाखाला २०–२५ जना इन्जिनियरहरू छन् सरकारले १० वर्ष अगाडि नै ख्वप विश्वविद्यालयको स्वीकृति दिएको भए १० लाख रुपियाँले चिकित्साशास्त्र पढाउने मेडिकल कलेज सञ्चालन भइसकेको हुन्थ्यो र भक्तपुरमा हरेक वडामा १०–१५ जना चिकित्सक भइसक्ने थियो, हरेक घरमा एकएक जना स्वास्थ्यकर्मी हुन्थ्यो । तिनीहरूले दुर्गम र आवश्यक गाउँ र सहरमा गई जनताको सेवा गरिरहेका हुन्थे ।
१५ वर्षसम्म स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि खाली नभएको भए देशमा रिसर्चर (अनुसन्धान गर्ने विद्वानहरू) को पहिलो अध्ययन केन्द्रको रूपमा पुस्तकालय स्थापना हुन्थ्यो । त्यो पुस्तकालय नयाँ पुस्ताले निर्माण गरेको स्मारक हुन्थ्यो । त्यसबाट देशका विविध भाषा र साहित्यको सेवा गरिरहेको हुन्थ्यो । अनि एउटा नाचघर तथा एक स्वयम्चालित सभाभवन बनिसकेकोे हुन्थ्यो ।
ठाउँ–ठाउँमा ढल र उपचार पोखरीको बन्दोबस्तले नगरको वातावरण प्रदूषित हुनेछैन, उपत्यका नगर विकासको हस्तक्षेप र पानीको स्रोतहरूमा विकासको नाउँमा ‘डोजर आतङ्क’ लाई रोक्नु जरुरी छ । भक्तपुर नगरपालिकाभित्रका सहकारी संस्थाहरूको योगदानबाट कृषिको विकास, स–साना हस्तकला उद्योग र विभिन्न विदेशी भाषाको नयाँ पुस्तालाई अध्ययन गराउने कार्यमा ठूलो योगदान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *