भर्खरै :

ब्रह्मपुत्र नदीबारे थप अनुसन्धान आवश्यक

नयाँ दिल्ली, ११ नोभम्बर  । चीनको तिब्बतदेखि भारत हुँदै बङ्गलादेशसम्म पुगेको ब्रह्मपुत्र नदी भारतीय सभ्यता र संस्कृतिको जननी मानिए पनि यसको भौगोलिक र सांस्कृतिक पक्षको अध्ययन एवम् अनुसन्धान हुन नसकेको भारतीय संस्कृतिका जानकारहरू बताउँछन् ।
हिमालय पर्वतबाट भारतीय भूमी हुँदै बग्ने नदीहरूमा सिन्धु, सरस्वती, गङ्गा र ब्रह्मपुत्र नदी मुख्य मानिन्छन् । तीमध्ये ब्रह्मपुत्र नदी पूर्वोत्तर भारत र बङ्गालको प्रमुख नदी हो । तिब्बतदेखि बङ्गलादेशसम्म फैलिएको ब्रह्मपुत्र नदीको क्षेत्र व्यापक रहेको भारतीय संस्कृतिका जानकार तथा लेखक अनिरुद्र जोशी ‘शतायु’ ले बताउनुभयो । यस नदीको धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक पक्षका बारेमा थप खोज तथा अनुसन्धान हुनुपर्ने उहाँमा जोड दिनुभयो ।
लेखक शतायुका अनुसार ब्रह्मपुत्र नदी केबल एक नदी मात्र नभएर तिब्बती तथा भारतीय संस्कृति र सभ्यताको मिलन बिन्दु हो । यो नदीको तटमा कैयौँ सभ्यता र सस्ंकृतिको उदय भएको भएपनि यी पक्षको तथ्यहरूका बारेमा थप अध्ययन र अनुसन्धान हुन नसकेको उहाँको भनाइ छ । “यहाँ आर्य–अनार्य, मङ्गोल–तिब्बती, बर्मी–‘विड’, मुगल–आहोमआदि संस्कृतिको उदय भएको हो”, उहाँले भन्नुभयो, “जसरी ब्रह्मपुत्रमा अनेक नदीहरू समाहित भएर अघि बढेका छन् । त्यसैगरी यहाँ अनेक संस्कृतिहरू मिलेर एक भिन्नै खाले आर्य संस्कृति गठन भएको हो । ब्रह्मपुत्र नदी क्षेत्रको बृहत्तर आधारलाई शोध र अनुसन्धान गर्न आवश्यक छ, यो नदी प्राचीन भारतको इतिहाससँग जोडिएको नदी हो ।”
तिब्बतस्थित पवित्र मानसरोवर झीलबाट निस्केको सांग्पो नदी पश्चिमी कैलाश पर्वतको पहाडबाट बग्दै तल झरेपछि ब्रह्मपुत्र भनेर चिनिने भारतीय संस्कृतिका अनुसन्धानकर्ता शतायुले बताउनुभयो । तिब्बतको मानसरोबरमा मुहान रहेको यो नदी तिब्बतदेखि बङ्गलादेश (समुद्र) सम्म दुई हजार ९०६ किलोमिटर लामो रहेको छ । सांग्पो, ब्रह्मपुत्र, पद्मा र समुद्रसम्म पुग्दा मेघना नामले चिनिने यो नदी भारतको मात्रै नभएर एसियाका नै सबैभन्दा लामो नदी भएको भारतीय संस्कृतिका अर्का जानकार जीवन शर्मा आचार्यले बताउनुभयो ।
उहाँका अनुसार तिब्बतमा यो नदीको लम्बाइ एक हजार ६२५ किलोमिटर, भारतमा ९१८ र बङ्गलादेशमा ३१८ किलोमिटर छ । तिब्बतको मानसरोवरदेखि भारतको अरुणाचल प्रदेश, नागालैंड, मेघालय, भूटान, पश्चिम बङ्गाल र सिक्किमका पहाडी क्षेत्रबाट निस्केका अनेक नदी ब्रह्मपुत्र नदीमा समाहित हुँदै बङ्गलादेशको समुद्रमा गएर मिल्ने गर्दछन् ।
नदी तटमा अनेक जनजाति र आदिवासीहरूको बसोबास रहेको छ । ती सबैको आ–आफ्ना इतिहास र संस्कृति रहेको आचार्यले बताउनुभयो । ब्रह्मपुत्र नदीको अनेक नाम र पहिचान रहेको पाइएको छ । हरेक क्षेत्रमा यो नदीको स्वभाव र आचरणमा पनि भिन्नता पाइने लेखक शतायुले बताउनुभयो । डिब्रुगढङमा यो नदी विशाल रूपमा फैलँदै बगेको छ भने गुवाहाटीमा नदीको दुवैतर्फको पहाडको बीचभागबाट बग्ने यो नदीले आफ्नो आकारलाई सानो बनाएको छ । नीलाचल पर्वतमा कामाख्या मन्दिरको चरणस्पर्श गर्दै अघि बढेको यो नदीले त्यहाँबाट विराटरूप धारण गरेको र असमका अधिकांश ठूला शहरहरू यही नदीको किनारबाट विकसित भएका छन् । डिब्रुगढङ, जोरहाट, तेजपुर, गुवाहाटी, धुबडङ्गी रग्वालपाडङ्गा यही नदीको किनारमा रहेका शहरहरू हुन् ।
यो नदी क्षेत्रमा सयौँ गुफा, घना जङ्गल र कैयौँ प्राचीन सभ्यताका अवशेषहरू अहिले पनि पाइन्छन् । प्राचीन मानव पनि यही नदीको आसपासमा रहेका प्रमाणहरू भेटिएका भारतीय संस्कृतिका अध्येता जीवन आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “ब्रह्मपुत्र नदीको सांस्कृतिक र धार्मिक इतिहासको खोज र अनुसन्धान गर्न आवश्यक छ । यो नदी पनि सिन्धु सभ्यताका नदीभन्दा कम महत्वको छैन ।” रासस
तस्बिरः नेपाली पात्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *