नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
यसअघिको मेरो लेखमा मैले उदारवादी अथवा पुँजीवादी प्रणालीका विभिन्न कमजोरी र समस्याबारे चर्चा गरेकी थिएँ । वास्तवमा पुँजीवादी व्यवस्थाका ती कमी कमजोरीकै कारण उदारवादी प्रणालीले प्रजातन्त्रको खास कार्यान्वयनलाई निषेध गरेको हुन्छ । उदारवादी प्रजातन्त्रमा परिणामलाई भन्दा बढी प्रक्रियालाई जोड दिने गरिन्छ । त्यसकारण, उदारवादी प्रजातन्त्रको परिणाम अन्यायपूर्ण भए पनि र त्यसले मुट्ठीभरको हितमा काम गरे पनि त्यो कामको प्रक्रिया ‘सही’ भएको हुनाले उदारवादी राजनीतिक व्यवस्थालाई प्रजातान्त्रिक ठह¥याइन्छ ।
निःसन्देह ‘सही’ हुनुका आ–आफ्ना परिभाषा छन् । वास्तविकता के पनि हो भने उदारवादी प्रजातन्त्रबाट लाभ उठाउँदै आएको उदारवादी पुँजीको हातमा विभिन्न सञ्चारमाध्यम पनि हुन्छन् । अर्थात्, उदारवादीहरूले ‘ठीक’ वा ‘सही’ के हो भन्ने कुराको मापदण्ड तिनै सञ्चार माध्यममार्फत प्रचार पनि गरिन्छ । महत्वपूर्ण कुरा, सहीपनाको यो मापदण्डले अर्थतन्त्रबाट राजनीतिलाई अलग बनाउँछ । जब कि अर्थतन्त्र भनेको वास्तविक प्रजातान्त्रिक परिवर्तनको मुख्य आधार हो ।
भनिरहनु नपर्ला, यदि मुट्ठीभरको लागि काम गर्ने उदारवादी प्रजातन्त्र अप्रजातान्त्रिक भए सबैको लागि समाजवादी व्यवस्था स्थापनाको निम्ति काम गरिरहेको चीनले त्यो राजनीतिक व्यवस्था आँखा चिम्लेर पछ्याउनु मूर्खता हुन्छ । त्यसमाथि उदारवादी पुँजीले लगातार चीनमा ‘प्रजातन्त्र’ थोपर्न खोज्नुले खासमा प्रजातन्त्रको कदलाई होचो बनाएको छ । एउटा सार्वभौम देशमा विदेशी शक्तिहरू मिलेर राजनीतिक प्रणाली थोपर्न खोज्नु अरू केही नभएर आधुनिक समयको उपनिवेशवाद हो । त्यसले आफ्नो विशिष्ट ऐतिहासिक सङ्घर्षमा मिल्ने प्रणाली चलाउन पाउने अरू देशका जनताको विविधताको अपमान हुन्छ ।
चीनको लागि प्रजातन्त्रको अर्थ सबैको लागि काम लाग्ने आर्थिक रूपान्तरण गर्नु हो । त्यसको अर्थ अल्पसङ्ख्यक धनी वर्गको हितमा प्रजातान्त्रिक प्रक्रिया कार्यान्वयन गर्नु होइन । एउटा ठूलो विकासशील देशमा गरिबी उन्मूलन, प्राविधिक पुँजीको नियमन, सार्वजनिक स्वास्थ्य सेवा र पर्यावरणीय सभ्यताको निर्माणजस्ता काम गर्नुले उदारवादी प्रक्रियाबाट नाफा कमाउने पुँजीलाई निस्तेज वा निरर्थक बनाउनेछ ।
‘समग्र प्रक्रियाको जनताको प्रजातन्त्र’ भनिने चीनको प्रजातन्त्र र उदारवादी प्रजातन्त्रबीच भिन्नता छन् । चीनको प्रजातन्त्र पाँच–पाँच वर्षमा चुनाव हुने नाटकीय चक्रमात्र होइन । बरु निर्णय प्रक्रियामा सबै तहलाई लगातार सामेल गर्ने र जनताबाट प्रतिक्रिया सङ्कलन गर्ने प्रक्रिया हो । आफैँलाई नै सम्पूर्ण ठान्ने उदारवादी प्रजातन्त्रभन्दा फरक चीनको प्रजातन्त्र लगातार विकास भइरहन्छ । यसो भनेर चीनले आफ्नो राजनीतिक प्रणाली अरू देशमा निर्यात गर्दैन । मूलतः प्रजातन्त्रको परिणाम र सामाजिक न्याय दिने क्षेत्र अर्थतन्त्र हो । अर्थतन्त्रलाई प्रजातान्त्रिक प्रक्रियाबाट अलग राखिँदैन ।
चीनको प्रजातान्त्रिक प्रक्रिया व्यापक सहभागिताको दिशातिर अघि बढिरहेको छ । कानुन निर्माणमा जनताले अनलाइन, घरदैलो सुझाव सङ्कलन र सम्पर्क केन्द्रहरूमार्फत आफ्ना सल्लाह सुझाव दिनसक्छन् ।
साङ्घाई सहरका सबै १६ जिल्लामा सुझाव दिने त्यस्ता सम्पर्क केन्द्रहरू स्थापना भइसकेका छन् । चीनको राष्ट्रिय व्यवस्थापिकाले त्यसरी विभिन्न माध्यमबाट प्राप्त जनताका ५३० वटा सुझाव अङ्गीकार गरिसकेको छ । १८ वर्षभन्दा कम उमेरका बालबालिकादेखि किशोरकिशोरी हुँदै समाजका सबै तह र समुदायका मानिसले यो प्रक्रियामा भाग लिनसक्छन् । एउटा उदाहरण, बालबालिकालाई दुव्र्यवहार गर्दा अभिभावकलाई जरिवाना गर्ने प्रस्तावको विषयमा निम्न माध्यमिक विद्यालय तहका विद्यार्थीहरूले फरक सुझाव दिएका थिए । उनीहरूले यसरी अभिभावकलाई सजाय गर्दा बालबालिकामाथि थप जोखिम हुने सुझाव दिएका थिए । उनीहरूको यस्तो सल्लाहका आधारमा बालबालिकालाई दुव्र्यवहार गर्ने अभिभावकलाई बरू प्रशिक्षण दिने कानुन पारित भएको थियो ।
चीनमा अहिले बन्दै गरेको प्रजातन्त्रको प्रकारबारे सी चिनफिङले भन्नुभएको छ,“चीनको प्रजातन्त्र शृङ्गारको लागि लगाइने गहना होइन । यो त जनताले समाधान गर्न चाहेका समस्या समाधानको निम्ति प्रयोग हुने प्रजातन्त्र हो ।” परिणामतः प्रजातन्त्र भनेको यथास्थितिलाई विभिन्न श्रेणी दिएर सञ्चालकहरूबीच मतदान गर्ने प्रक्रिया होइन, जसले जनताका कुनै पनि वाचा पूरा गर्नसक्दैन । बरु, यो त समाजमा वास्तवमै परिवर्तन ल्याउन नागरिकलाई आफ्ना क्षमता विस्तार गर्ने र नागरिक आफैँले पूरा गर्ने व्यवस्था हो ।
त्यसभन्दा फरक, दुईदलीय पुँजीवादी प्रणालीको सन्दर्भमा चुनावी प्रक्रियाले बेला–बेला प्रजातान्त्रिक प्रक्रियालाई समेत अवरोध गरेको पाउँछौँ । पैसा दिएर चुनाव जित्ने र पछि दिएका वाचा पूरा नगर्ने चुनाव भनेको अरू केही होइन, बरु जनताको असन्तोष बढाउने प्रक्रिया मात्र हो ।
प्रजातान्त्रिक प्रक्रिया र उत्तरदायित्वको निम्ति नागरिकलाई भविष्यमा के हुँदै छ भन्नेमा सचेत बनाइनुपर्छ । केही पश्चिमा देशका नागरिकलाई यस्तो जानकारी दिइँदैन । ती देशहरूमा अप्रजातान्त्रिक तरिकाबाट या सरकारी संयन्त्रभन्दा बाहिरबाट दीर्घकालीन योजना बनाइन्छ । त्यस्ता योजना कुनै व्यापारीको खल्तीबाट आउने गर्छ, जसको सामाजिक प्रजातान्त्रिक परिवर्तनसँग कुनै लिनुदिनु हुँदैन, बरु तिनले त्यस्ता परिवर्तनलाई रोक्न मद्दत गरेको हुन्छ ।
त्योभन्दा फरक चिनियाँ जनता चीनमा दीर्घकालीन रूपमा के हुँदै छ भन्ने कुरामा जानकार छन् । वास्तविक आर्थिक परिवर्तनसँग जोडेर बनाइने योजनाले सरकारलाई उत्तरदायी बनाउन मार्गचित्र प्रदान गरेको हुन्छ । सन् २०२० मा चीनले निरपेक्ष गरिबी उन्मूलनको कोशेढुङ्गा पार ग¥यो । सन् २०४९ भित्र चीनका जनताले चीनलाई ‘ठूलो आधुनिक समाजवादी देश’ बनाउने अपेक्षा गरेका छन् ।
जनताको पूर्ण सक्रियता र सहभागितामा हासिल गर्न सकिने पञ्चवर्षीय योजना जनताकै बीचमा छलफलबाट तयार गरिन्छ । चौधौँ पञ्चवर्षीय योजना (सन् २०२१–२०२५) बनाउन दस लाख अनलाइन सुझाव प्राप्त भएका थिए । त्यसरी आएका सुझावकै आधारमा ज्येष्ठ नागरिकको हेरविचारको निम्ति सहकारी ढाँचा बनाउने योजना पारित भएको थियो ।
यदि विकासको गति यसरी नै अघि बढ्दै गए चीनका शिक्षित जनताले निःसन्देह बृहत् प्रजातान्त्रिक सहभागिता जनाउनेछन् । चीन अहिले नै यो बाटोमा अघि बढिरहेको छ । चीनको भविष्य प्रजातान्त्रिक तरिकाबाट ऊ आफैँले चुनेको बृहत् प्रजातन्त्रमा निर्भर रहनेछ ।
(लेखक अक्सफोर्ड विश्वविद्यालयमा समकालीन चिनियाँ अध्ययनका विद्यार्थी हुनुहुन्छ ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुशिला
Leave a Reply