अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
दिनको दोस्रो प्रहर चलिरहेको थियो । वडा कार्यालयमा खासै भीड थिएन । वडा कार्यालयमा सेवाग्राही नभएकोले भक्तपुर नगरपालिकाको नियमित मासिक प्रकाशन ‘भक्तपुर’ अध्ययन गर्दै थिएँ । अध्ययनकै क्रममा एकजना बहिनी वडामा ‘नमस्कार सर’ भन्दै कार्यालयमा प्रवेश गरिन् । नमस्कार बहिनी भन्दै मैले सोफामा बस्न अनुरोध गरेँ । सम्भवतः वडामा पहिलो पटक उनी आएकी थिइन् । मैले उनलाई कहिल्यै देखेको छैन । उनको अनुहारबाटै त्यस बहिनीको कम उमेरमै विवाह भएको अनुमान लगाएँ । के कति कामले आउनुभयो भनी मैले प्रश्न गरेँ । बहिनीले जवाफ दिइन्, “सर मेरो नाम सपना कोजू (नाम परिवर्तित) हो । म यही वडाकै बासिन्दा हुँ । मेरो एक महिना पहिले विवाह भएको हो । मेरो श्रीमान् विदेश गइसक्नुभएको छ । म पनि विदेश जान चाहन्छु । मेरो विवाह दर्ता श्रीमान्को वडामा गएर गरिसकेँ । विवाह दर्ता गरिसकेपछि मेरो श्रीमान्को नाता मेरो आमाबुबासँग देखाउनको लागि मलाई यस वडामा पारिवारिक नाता सम्बन्धको लागि सिफारिस मागेकोले म कार्यालयमा आएकी हुँ । मैले निवेदन पनि ल्याएकी छु । तपाईँले तोक लगाई दिनुप¥यो ।”
मैले बहिनीले दिएको निवेदन पढेँ र सम्बन्धित कागजातहरू हेरेँ । कागजात सबै पुगेको रहेछ । त्यसपछि बहिनीलाई नयाँजीवनको शुभकामना दिँदै निवेदनमा तोक लगाएँ । उनले मलाई धन्यवाद दिँदै निवेदन लिएर गइन् । उनी गएको करिब १० मिनेटपछि वडासचिव निवेदन हातमा लिई मकहाँआउनुभयो । सचिवले भन्नुभयो, “सर, यस बहिनीलाई सिफारिसको लागि तपाईँले तोक त लगाउनुभयो । तर, बहिनीको बुबाले जनप्रतिनिधि आउनुभन्दा अगाडि हाल उहाँहरू बस्दै आउनुभएको घर पुनःनिर्माणको क्रममा एउटा प्रतिबद्धता जनाउनुभएको हालसम्म पूरा गर्नुभएको छैन । त्यसैले, त्यसबारेमा एक पटक बहिनीको बुबालाई बोलाई कुरा गर्ने हो कि ! अनिमात्र सिफारिस गर्दा राम्रो होला ।” सचिवको पछाडि बहिनी सपना पनि थिइन् । मैले सपनालाई फेरि बस्न अनुरोध गरेँ । मैले सचिवलाई भनेँ, “के प्रतिबद्धता रहेछ । अनि किन पूरा नगरेको रहेछ ?” सचिवले जवाफ दिनुभयो, “उहाँहरूले हाल बसिरहेको घर २०७२ सालको भूकम्पअघि नै नयाँनक्सा राखी पुनःनिर्माण थाल्नुभएको थियो । उहाँहरूको घर अगाडि जोडिएको एउटा पाटी छ । त्यो पाटी निजी पाटीमा गनिएको रहेछ । त्यो पाटी पहिलेदेखि सार्वजनिक प्रयोजनको लागि राखिएको थियो । त्यस पाटीबाट उहाँहरूको घर ओहरदोहर गर्न मिल्ने ढोका पनि छ । पाटीमाथि उहाँहरूले प्रयोग गर्न मिल्ने कौसी पनि छ । पास भएको नक्सामा त्यस पाटी पहिलेजस्तै परम्परागतरूपमा बनाउँछु भन्ने लिखित प्रतिबद्धतासहित नक्सापास भएको थियो । तर, घर बनिसक्दा पनि उहाँले पाटी बनाउनुभएको छैन । घर बनाएको वर्षौँ भइसक्यो । त्यसैले त्यस विषयमा छलफल नगरी यो सिफारिस दिनु उपयुक्त नहोला कि ।”
सचिवको कुरा मलाई ठिक्कै लाग्यो । तर, बहिनी सपनाको अनुहार भन्ने रातो र अँध्यारो देखियो । मैले अनुरोध गरेँ, “तपाईँको निवेदनबारे एकचोटि समितिमा छलफल गर्छु । बहिनी धेरै टेन्सन नलिनुस् । अलि बढी समय लाग्छ । भावनामा बगेर मात्र सिफारिस दिन मिल्दैन । भोलि एकचोटि बुबालाई लिएर आउनुस् । अनि सचिवसँग बसेर एकचोटि छलफल गर्छु ।” सचिवलाई प्रतिबद्धता भएको उहाँहरूको घरको नक्सा नगरपालिकाबाट झिकाउनको लागि चिठी तयार गर्न निर्देशन दिएँ । बहिनी सपनालाई भोलि आउन अनुरोध गर्दै बिदा गरँे ।
भोलिपल्ट प्रथम प्रहरमा नै सपना र उनको बुबा वडा कार्यालयमा आउनुभयो । सोफामा बस्दै सपनाको बुबाले भन्न थाल्नुभयो, “सर, म पनि पहिला यही पार्टीकै कार्यकर्ता हुँ । व्यापार व्यवसायमा लागेकोले अहिले राजनीतिमा लाग्न सकिनँ । मैले नक्सा बनाउँदा पाटी बनाउने प्रतिबद्धता लिखितरूपमै गरेको हुँ । तर, मैले आफ्नो घर नै पूरा बनाउन सकेको छैन । अनि कसरी पाटी बनाउने ? यही एउटा सानो पसलले पूरा परिवार पाल्नुपर्छ । एक महिना पहिलामात्र छोरीको विवाह भयो । विवाहमा पनि धेरै खर्च भयो । प्रतिबद्धता गरेअनुसार म पाटी बनाउँछु सर । तर, अहिलेलाई छोरीलाई सिफारिस दिनुस् । विचरा ! विदेश जानेलाई किन सिफारिस रोक्ने ? ज्वाइँ विदेश गइसक्नुभएको छ । छोरीको विचल्ली होला सर ।” मैले सम्झाउने हिसाबले भनेँ, “नक्सा हेर्दा निजी पाटी रहेछ । त्यसैले ढोका र कौसी तपाईँले राख्नुभएको रहेछ । अब ढोका र कौसी हटाएर सार्वजनिक पाटी त्यही ठाउँमा परपम्परागतरूपमा नगरपालिकाले बनाउँछ । तपाईँले आफ्नो नाम हटाएर सार्वजनिक भनी लिखित कागज गरिदिनुस् । तपाईँले पाटी पनि बनाउनु पर्दैन । नगरपालिका आफैले पुनः निर्माण गर्नेछ । अनि तपाईँ पहिले राजनीतिक कार्यकर्ता भएको नाताले पनि सम्पदा जोगाउन मद्दत गर्नुपर्छ ।” उहाँले जवाफ फर्काउनुभयो, “नगरपालिकालाई दिन सक्दिनँ सर बरु म आफै बनाउँछु ।” मैले फेरि भनेँ, “त्यसो भए तपाईँको प्रतिबद्धताअनुसार पाटी बनाउनुस् न । अनि सिफारिस दिउँला । राजनीतिक कार्यकर्ता त झन् कडा नियममा बस्नुपर्छ । हाम्रो स्कुलिङ त त्यसरी भएको हो । तपाईँले पनि यस्तै राजनैतिक प्रशिक्षण लिनुभएको होला ।” मेरो कुराले उहाँ नाजवाफ हुनुभयो । उहाँको छोरीको भने आँखाबाट आँसु बग्न थाल्यो । तर, उनले केही भनिनन् । एकै छिनमा उहाँको छोरा आइपुगे र भन्न थाले, “सर, कृपया अहिलेलाई सिफारिस दिनुस् । बहिनीको एक महिनामा भिसा आउँछ । तपाईँको सिफारिस नभएपछि त भिसा आए पनि जान नपाउने भयो । बहिनीको जीवन नै बर्बाद हुन्छ । श्रीमान् श्रीमतीसँगै बस्न नपाएपछि बिछोड हुनसक्छ, तपाईँलाई पाप लाग्छ । हामीले घर बनाउन नसकिएकोले मात्र पाटी नबनाएको हो । हामी पाटी बनाउने लिखित प्रतिबद्धता फेरि जनाउन तयार छौँ ।” बुबा र छोराको अनुरोध अनि छोरीको आँसुले मलाई सिफारिस गरेर पठाइदिउँ जस्तो लाग्यो । आफ्नो एउटा हस्ताक्षरले कसैको जीवन किन बर्बाद पार्ने जस्तो लाग्यो । सपनाको बुबा र दाइले मसँग अनुनयविनय गर्नुभयो । निश्चल र निर्दोष सपनाको आँसुले मलाई कताकता पोलेको जस्तो लाग्यो । मैले नरोऊ बहिनीसम्म त भनेँ तर तत्कालै सिफारिस दिन सकिनँ । मैले आफ्नो दायित्व र कर्तव्य स्मरण गर्दै “निवेदन छोडेर जानुस्, निर्वाचित समितिमा एकचोटि छलफल गर्छु, केही दिनपछि सम्पर्क गर्नुस्” भन्दै बिदा गरेँ ।
नियमित हुने शुक्रबारको बैठकमा बहिनी सपनाको निवेदन सम्बन्धमा छलफलको लागि विषय प्रवेश गराएँ । निर्वाचित साथीहरूले विदेश जाने मान्छेलाई कडा नीति अख्तियार नगर्दा राम्रो होला कि भन्ने राय दिए । साथै टोलवासीसँग एकचोटि छलफल गर्न सल्लाह दिए । सचिवले पनि छिटो सिफारिस दिनुभन्दा पहिला टोलका गन्यमान्य व्यक्तिहरूसँग छलफल गरेरमात्र निवेदनलाई अगाडि बढाउन अनुरोध गरे । त्यसअनुसार टोलवासीको बैठक बोलाउने निर्णय भयो ।
यसबीचमा बहिनी सपना, बुबा र दाइ दुई चार पल्ट वडामा सिफारिस दिन अनुरोध गर्न आउनुभयो । बहिनी सपनाको निर्दाेष अनुहार र आँसु देख्दा मलाई सिफारिस नरोक्ने मन थियो । तापनि, मैले सिफारिसलाई करिब एक महिनासम्म रोकेँ । समय मिलाउँदा मिलाउँदै एक महिनापछि समितिको निर्णयअनुसार स्थानीय टोलवासीहरूको बैठक बोलाएँ । बैठकमा एक जना व्यक्तिले भन्नुभयो, “पाटी कुनै पनि हालतमा बनाउनुपर्छ र सिफारिस पनि दिनैपर्छ । तर, तत्काल पाटी तुरुन्त तयार नहुने भएकोले निश्चित समयको म्याद दिएर सिफारिस दिनुपर्छ ।” सबैले त्यही रायमा सही थपे । स्थानीय शिक्षकले पनि सिफारिस रोक्न नहुने सल्लाह दिनुभयो । ज्येष्ठ जनप्रतिनिधिले पनि निश्चित अवधिमा पाटी बनाउनको लागि समय दिएर सिफारिस दिन सल्लाह दिनुभयो । करिब करिब सबैको राय आएपछि सचिवलाई दुई वर्षभित्र पाटी बनाउनुपर्ने प्रतिबद्धता गराएर सिफारिस दिने निर्णय लेख्न अनुरोध गरेँ । यस निर्णयमा सबैले सहमति गरी हस्ताक्षर भइसकेपछि बैठकको अन्त्य भयो । निर्णयअनुसार त्यही दिन बहिनीलाई सिफारिस दिएर पठाएँ । हाल उक्त पाटी त्यस परिवारले बनाइसकेको छ । यसबाट परिवार र टोलवासीलाई पाटीमा बसेर आराम गर्न र छलफल गर्न सजिलो भएको छ ।
Leave a Reply