भर्खरै :

मूल्यवृद्धिको विरोधमा युवा–विद्यार्थीको जुलुस

भक्तपुर, २७ कार्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यासलगायतका इन्धनमा पछिल्लो पटक गरेको चर्को मूल्यवृद्धिको विरोधमा शनिबार भक्तपुरमा विरोध जुलुस र सभा भयो । भक्तपुरको कमलविनायक चोकबाट सुरु भएको सो जुलुस च्याम्हसिंह, दत्तात्रय, टौमढी हुँदै सूर्यविनायक चोकमा पुगी विरोधसभामा परिणत भएको थियो ।
विरोधसभामा नेक्राविसङ्घका सहसंयोजक सुरेश परियारले नेपाली काङ्ग्रेसकै समयमा देशका विभिन्न नदीनाला र प्राकृतिक स्रोत साधनहरू भारतलाई बेचिएको बताउँदै नेपाली जनताले दुःख पाउनुमा अहिलेसम्म सरकारमा गएका सबै शासक दलहरू जिम्मेवार भएको बताउनुभयो ।
उहाँले सरकारमा गएका शासक दललाई र तिनका भ्रातृ सङ्गठनहरूलाई मूल्यवृद्धिको विरोध गर्ने कुनै नैतिक अधिकार नभएको चर्चा गर्दै आफ्नो दल सत्ताबाट बाहिरिएपछि मात्र चिच्याएर उफ्रनु आन्दोलन नभई ढोँगमात्र भएको बताउनुभयो ।
नेपालमा उत्पादन भएका बिजुली नेपाली जनतालाई यातायात, सिँचाइ, कलकारखानालगायतका क्षेत्रमा सस्तोमा उपयोग गर्न दिनुपर्नेमा शासक दलहरूले भारतलाई केवल ४.३३ रुपैयाँ प्रतियुनिटका दरले कौडीको मोलमा बिक्री गर्नु नेपाल र नेपाली जनतामाथि धोका भएको परियारको भनाइ थियो ।
सभामा नेक्रायुसङ्घ, भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाले पेट्रोलियम पदार्थको आयातमा भारतीय एकाधिकार पुँजीको स्वामित्वलाई हटाई अन्य छिमेकी देशहरूबाट पनि आयात गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले एमसीसी सम्झौताजस्ता देश हितविपरीतका सम्झौता लागु गरी नेपाललाई भारतको उपनिवेश बनाउने षड्यन्त्रमा शासक दलका नेताहरू लागेकोमा खबरदारी गर्नुभयो ।
उहाँले नेपालका सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रमा भएको अतिक्रमणको विरोध गर्दै लिपुलेक र लिम्पियाधुरामा जनगणना गराउन खुट्टा कमाउने वर्तमान देउवा सरकार भारतको कठपुतली सरकार भएको बताउनुभयो ।
सभामा नेक्राविसङ्घका सचिव रमेश प्रजापति र नेक्रायुसङ्घ भक्तपुरका हरिसुन्दर सुवालले पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *