भर्खरै :

सहकारी सिद्धान्त छोडेर विदेशी कम्पनीमा लगानी गर्नु पुँजीवादी सोच

भक्तपुर, २७ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सहकारी सिद्धान्तको मूल्य र मान्यता छोडेर विदेशीबाट सञ्चालित कम्पनीमा लगानी गर्ने पुँजीवादी सोच र चिन्तन गलत भएको बताउनुभएको छ ।
सरकारको भरोसामा बस्न नहुने, आफ्नै खुट्टामा उभिएर जनताको सेवा गर्नुपर्नेमा जोड दिँदै उहाँले जनताको रगत–पसिनामा रजाइँ गर्ने जनविरोधी र समाजविरोधीहरूलाई सरकारले पोस्ने काम गरिरहेको बताउनुभयो ।
सांसदहरू बस्ने ठाउँ जिल्ला–जिल्लाका खराब या आपराधिक मान्छेहरू लुक्ने ठाउँ बनिरहेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष रोहितले जनताको पैसा ठगेर विदेश भाग्ने व्यक्तिहरूसँग सरकारको संलग्नता हुने आशङ्का व्यक्त गर्नुभयो ।
जनताको निम्ति चाहिने आधारभूत आवश्यकताहरू आपूर्ति गर्न सहकारी तथा सामाजिक संस्थाहरू क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “आफूसँग भएको कला, संस्कृति, अनुभव र सीप पनि पुँजी हो । आफ्नो प्रतिभा उपयोग र प्रदर्शन गरेर आय आर्जन या जीवन निर्वाह गर्न सकिन्छ ।”
सिकर्मी, डकर्मी तथा अन्य सीप भएका कलाकारहरूले आ–आफ्नो काम या कला नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सहकारी तथा अन्य सङ्घ–संस्थामा काम गर्ने जिम्मेवार व्यक्तिहरू अझै सक्रिय र इमानदारीपूर्वक काम गर्न अभिप्रेरित हुनुपर्छ, नैतिक प्रतिस्पर्धा गर्नुपर्छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सृजना संैजूले समाजसँग अघि बढ्ने, एकाकार गरेर समाज रूपान्तरणमा सहकारी संस्था अघि बढे समाज परिवर्तनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
स्पष्ट राजनीतिक दृष्टिकोण भएको सहकारी संस्थाहरूमा जनताको विश्वास बढिरहेको उल्लेख गर्दै सभासद् सैंजूले भन्नुभयो, “सहकारी संस्थाभित्र पनि वर्ग हुन्छ, यसमा सहकारी संस्था सचेत हुुनुपर्छ ।”
पुँजीवादी व्यवस्थाको विकृतिविरूद्ध छ्यास्ने बलियो आधार सहकारी संस्था हुने विश्वास व्यक्त गर्दै उहाँले बहुमत जनताको सेवा गरे समुदाय र समाजकै योगदानमा सहयोग पुग्छ भन्नुभयो ।
साम्राज्यवादी देशहरूको लोभलाग्दो डलर खेतीलाई निस्तेज पार्ने काममा सहकारी संस्था अघि बढ्न सके जनताको सेवा हुने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “एमसीसी जस्तो देशघाती सम्झौताको विरोधमा सहकारी आन्दोलनको भूमिका महत्वपूर्ण हुनेछ ।”
उहाँले भन्नुभयो, “सर्तको चाङमा डलर खेती गर्ने विदेशी शक्ति राष्ट्रहरूको पुरानै नीति हो, नेपाललाई अमेरिकाको उपनिवेश बनाउने षड्यन्त्रलाई असफल पार्नुपर्छ । एसियालाई युद्ध मैदान बनाउने प्रयास असफल पार्नुपर्छ, नेपालको काँधमा विदेशी हतियार बिसाएर चीनलाई हान्ने सम्झौता खारेज गर्नुपर्छ ।”
शिक्षाप्रेमी मोहनप्रसाद प्रजापतिले गलत मनसाय राख्ने व्यक्तिहरूदेखि सहकारी संस्थाका साथीहरू चनाखो हुनुपर्ने आवश्यकता औँल्याउँदै आर्जित रकम संस्थामा राखे समाज र सदस्यकै हित हुने बताउनुभयो ।
उहाँले रजत वर्षमै आदर निकेतन सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वन्यायाधीश गौरीबहादुर काकीले ठूला दलहरूले सहकारी संस्थालाई भोट माग्ने यन्त्र बनाइरहेको उल्लेख गर्दै जनतासँग उठेको बचतको उचित परिचालन हुनुपर्नेमा जोड दिनुभयो ।
गलत नियतका सहकारी संस्थाहरूले जनताको पैसा ठगेर सर्वसाधारण जनतालाई बेहाल बनाइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले कुनै सहकारीले बेइमानी गरे सो असुल गर्न न्यायाधीकरणको गठन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जसले जस्तो अपराध गरे पनि चुपचाप रहने सङ्घीय सरकार लुटेर खाने भाँडो बन्न नहुने उहाँले बताउनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले निर्वाचनको बेला गरिएको प्रतिबद्धता, पार्टीको घोषणापत्र र जनताको सल्लाह र सुझावको आधारमा नगरपालिकाले काम गरिरहेको स्पष्ट पार्नुभयो ।
जनताको श्रम र जनताकै सहभागितामा विकासका काम भइरहेको उल्लेख गर्दै उहाँले नपाले स्वास्थ्य र शिक्षामा प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।
सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक एवं डा. पुकारचन्द्र श्रेष्ठले मृगौला र कलेजो रोगीहरूको सेवा देशकै निम्ति अनुकरणीय भएको विचार व्यक्त गर्दै स्रोत र साधन जुटाएर मुटु रोगीको पनि त्यसरी नै सेवा गर्ने प्रयास भइरहेको बताउनुभयो ।
जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजूले भक्तपुर बचत बढी आर्थिक कारोबार हुने संस्था भएको उल्लेख गर्दै भाग्ने सहकारीले बढी कारोबार गरे पनि समुदाय र जनताको हित नगर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा उपाध्यक्ष निर्मल प्रजापतिले स्वागत, सचिव लक्ष्मीप्रसाद कुसी र सञ्चालक सदस्य रामेश्वरी कोजूले रजत वर्ष महोत्सवको आवश्यकताबारे चर्चा गर्नुभयो ।
कार्यक्रमको उद्घाटनसँगै अतिथि रोहितले भक्तपुर साकोसबाट प्रकाशित ‘रजत वर्ष स्मारिका’ – ०७८ विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा अतिथि रोहितले सफाइ मजदुर लक्ष्मीभक्त कोजू, काष्ठकलाका सिद्धहस्त कलाकार जगतवीर शिल्पकार र कोभिड सङ्क्रमणमा स्वयंसेवक भई काम गर्ने राजेश गाइजूलाई सम्मान गर्नुभएको थियो ।
सहकारी गान गाइएको सोही कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरूलाई सम्मान र कसिमला पाँय प्रतियोगितामा विजयी महानुभावहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
भक्तपुर साकोसले प्रशिक्षण गरिरहेका प्रशिक्षार्थीहरूले बाँसुरी, धिमाय् र भ्वाइलेन प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *