भर्खरै :

जुम्लामा अक्टोबर क्रान्ति दिवस

जुम्ला, २८ कार्तिक । १०४ औँ अक्टोबर समाजवादी क्रान्ति दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी जुम्ला जिल्ला समितिको आयोजनामा जुलुस तथा जनसभा आइतबार सम्पन्न भयो ।
सभामा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले रूसमा बोल्सेविक पार्टीले लेनिनको नेतृत्वमा भएको कामदार वर्गको क्रान्ति अर्थात् अक्टोबर समाजवादी क्रान्तिले आमूल परिवर्तन ल्याएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कम्युनिस्टहरूले कामदार वर्गले गरेको अक्टोबर समाजवादी क्रान्तिको महत्वबारे छलफल गर्नु आवश्यक छ । अक्टोबर क्रान्तिलाई नसम्झनेहरू कम्युनिस्ट हुनसक्दैनन् ।”
सचिव सुवालले थप्नुभयो, “रूसमा अक्टोबर समाजवादी क्रान्तिअघि फेब्रुअरी क्रान्ति अर्थात् पुँजीवादी क्रान्ति भएको थियो । नेपालमा पनि २०४६ सालको जनआन्दोलनपछि रूसमा झैँ अक्टोबर क्रान्तिको तयारीमा लाग्नुपर्ने नेमकिपाको प्रस्तावलाई तत्कालीन माले, माक्र्सवादी (हालको एमाले) ले अस्वीकार गरी मेन्सेविक पार्टीजस्तै पुँजीवादी सरकारमा सामेल भई भ्रष्टाचारमा डुबे । अहिले एमाले, माओवादी, एकीकृत समाजवादी पनि कम्युनिस्टको नाममा जनतालाई धोका दिँदै सिंहदरबारमा लुट मच्चाउँदै छन् । ती पार्टीहरूबारे अब जनता धोखामा पर्नुहुँदैन ।”
उहाँले स्पष्ट पार्दै भन्नुभयो, “रूसमा बोल्सेविक पार्टीले पुँजीवादी सरकारमा नजाने निर्णय गरेको थियो ।”
नेमकिपाले बहुदलको एक चम्चा पानीले जनताको प्यास नमेटिने कुरा बेलैमा सम्झाएको स्मरण गर्दै सचिव सुवालले भन्नुभयो, “बहुदल पुनःस्थापनाको ३० वर्ष बितिसक्दा पनि नेपाली जनताको दुःख सकिएन, जीवनमा परिवर्तन आएन । यसकारण नेपालमा रूसमा झैँ अक्टोबर समाजवादी क्रान्ति गर्ने बोल्सेविक पार्टीको आवश्यकता छ ।”
साम्राज्यवादी देशहरू हतियार बेचेर बाँच्ने भएकाले साम्राज्यवादी अमेरिकाले एमसीसी सम्झौतामार्फत एसियामा युद्ध थोपरेर नेपाललाई खरानी बनाउने उद्देश्य बनाएको स्पष्ट पार्दै सचिव सुवालले भन्नुभयो, “एमसीसी सम्झौता अध्ययन गर्दा भारतलाई चित्त बुझ्ने योजनामात्रै छनोट गर्नुपर्ने दफाले नेपाललाई भारतको प्रान्त बनाउन खोजिएको स्पष्ट हुन्छ । अमेरिकाले डलरमार्फत नेपालको सेना र ब्यारेकलाई कब्जा गर्ने दुष्प्रयास गर्दै छ , भारतले अमेरिकालाई एमसीसीमार्फत देश कब्जा गर्न पठाएको हो ।”
उहाँले भन्नुभयो, “एमसीसी सम्झौताको समर्थन गर्नेहरू देशघाती हुन्, तिनलाई नेपाली जनताले चिन्नु आवश्यक छ । नेकाका प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई खरानी बनाउने एमसीसी सम्झौतामा आफ्ना अर्थमन्त्रीलाई पठाई सही गराउनु देशघात हो । एमसीसी सम्झौता नेपालमा भित्याउन सुरूआत गर्ने तत्कालीन एमाओवादीका नेता तथा प्रधानमन्त्री बाबुराम भट्टराई पनि दोषी हुन् । यो सम्झौता पारित गर्नुपर्ने एमालेको विचार पनि गलत हो ।”
नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले देश र जनताको निःस्वार्थ सेवा गर्ने पार्टी नेमकिपा रहेको स्पष्ट पार्दै कार्यकताहरू कामदार वर्गको सेवा गर्न थाक्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जुम्लामा ठूला भनाउँदा पुँजीवादी पार्टीहरूले ‘नेमकिपा भत्काउ अभियान’ भनी गलत योजना बनाउँदै छन् तर ‘हजारौँ मृगलाई एउटा बाघले लखेट्छ’ भनेझैँ नेमकिपाका नेता–कार्यकर्ता बाघ बनेर प्रतिकार गर्न तयार छन् ।”
पार्टीका अर्का केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले नेमकिपाले स्थापनाकालदेखि नै अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देश बेच्ने विदेशी दलालहरूलाई चेतावनी दिन नेमकिपा उभिएको छ ।”
उहाँले भन्नुभयो, “साम्राज्यवादी र विस्तारवादीका कारण देशमा भ्रष्टाचार बढेको हो । शासक दलहरू भ्रष्टाचार गरी देशको ढुकुटी रित्याइरहेका छन् । त्यसैले भ्रष्टाचारीलाई संविधान संशोधन गरेर भए पनि मृत्युदण्डको प्रावधान राखिनु आवश्यक छ ।”
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङले देशको स्वाभिमान र स्वाधीनता रक्षाको लागि नेपाली जनताले एमसीसी सम्झौताको विरोध र भत्र्सना गर्नु आवश्यक छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष पूर्णलाल खत्रीको सभापतित्वमा भएको कार्यक्रममा लालबहादुर बुढाले पनि बोल्नुभएको थियो ।
आइतबारै जुम्लामा कार्यकर्ता भेला भयो । भेलामा पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले पार्टी आफै विश्वविद्यालय भएको धारणा राख्दै पार्टी कार्यकर्ताले नियमित अध्ययन गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, नेमकिपा र जनवर्गीय सङ्गठनमा आबद्ध कार्यकर्ताहरू पार्टी अनुशासनमा बस्नुपर्छ । पार्टीमा बसेर झूटो बोल्नुहुँदैन, जाँड–रक्सीबाट टाढा रहनुपर्छ । जुवा–तास खेल्नुहुन्न । महिलालाई दुव्र्यवहार गर्नुहुन्न ।”
नेक्रामहिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले रूसी अक्टोबर क्रान्तिजस्तै नेपालमा आमूल परिवर्तनको लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
प्रशिक्षणमा नेक्राविसङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङ र महिला सङ्घका सुलोचना छ्वाजू, पूर्णलाल खत्री, लालबहादुर बुढा र राज्यलक्ष्मी न्यौपानेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *