भर्खरै :

अफ्रिकामा ऊर्जा : सम्भावनाको बाटो

संयुक्त राष्ट्र सङ्घका सत्र वटा दिगो विकास लक्ष्य (एसडीजी) मध्ये एउटा छ – सबैलाई सुलभरूपमा, भरपर्दो, दिगो र आधुनिक ऊर्जाको पहुँच प्रदान गर्नु । स्वास्थ्य सेवा र शिक्षाजस्ता आधारभूत सामाजिक सेवामा सुधार गर्न मनग्य र सुलभरूपमा ऊर्जाको पहुँच पु¥याउन अपरिहार्य छ । यो अमूल्य स्रोतमा पहुँच बलियो बनाउनुले उत्पादन, कृषि र साना तथा मध्यम आकारका उद्योग र अन्य सम्बन्धित उद्योगमा उल्लेखनीय वृद्धि हुनेछ । अनि यी सबैले समग्रतामा आर्थिक वृद्धि हुनेछ, रोजगारी सिर्जना हुनेछ, गरिबी उन्मूलन हुनेछ र असमानता घट्नेछ । ऊर्जामा पहुँच विस्तारबाट प्राप्त हुनसक्ने अनेकन सामाजिक र आर्थिक उपलब्धिबाट वञ्चित भएर संसारका केही हिस्साका नीति निर्माताहरू बढ्दो ऊर्जा माग पूरा गर्न अझै हजार कोसिस गरिरहेका छन् । एउटा त्यस्तै क्षेत्रमध्ये पर्छ – अफ्रिका ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए), अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी, संयुक्त राष्ट्र सङ्घीय तथ्याङ्क विभाग, विश्व स्वास्थ्य सङ्गठन र विश्व बैङ्कले प्रकाशित गर्दै आएको संयुक्त प्रतिवेदन ‘दिगो विकास लक्ष्य ७ पछ्याउँदैः ऊर्जा प्रगति प्रतिवेदन’को २०२१ को संस्करणले हालैका वर्षमा विद्युत्मा विश्वव्यापी पहुँच दिगोरूपमा विस्तार भए पनि यो प्रगति मिश्रित खालको छ । (सो प्रतिवेदनले सन् २०३० भित्र सुलभ, भरपर्दो, दिगो र आधुनिक ऊर्जामा विश्वव्यापी पहुँचको लागि विश्वव्यापी प्रयासको लागि अनुगमन र उपलब्धिको समीक्षा गर्ने गर्छ ।) उदाहरणको लागि अफ्रिकी महादेशमा कोभिड–१९ महामारीले वर्षौं वर्ष लगाएर ऊर्जा क्षेत्रमा भएका प्रगतिलाई नष्ट गरिदिएको छ । महामारीले निम्त्याएको आर्थिक समस्याले अफ्रिकाका दसौँ लाख जनतालाई गरिबीको दलदलमा धकेलेको छ । फलतः विद्युत्मा अफ्रिकी जनताको हिस्सेदारी घटाएको छ ।
यो अवस्थालाई उल्ट्याउन र सुलभ, भरपर्दो, दिगो र आधुनिक ऊर्जामा विश्वव्यापी पहुँच हासिल गर्न अफ्रिकाको विद्यमान पहुँच दर अहिलेदेखि सन् २०३० सम्ममा तीन गुणाभन्दा बढीले बढाउनुपर्नेछ । त्यसको अर्थ सब सहारा अफ्रिकामा मात्र सबै जनताको पहुँचमा विद्युत् पु¥याउन सन् २०३० सम्म हरेक वर्ष ८५ लाख मानिसलाई विद्युत् पु¥याउनुपर्नेछ । कोभिड–१९ को कारण विद्युत्बाट वञ्चित हुने मानिसको दर बढ्नुअघि सन् २०१९ मा सब सहारा अफ्रिकामा पहुँच दर ४६ प्रतिशत थियो । त्यत्तिबेला सो क्षेत्रमा विद्युत्को पहुँच नभएका मानिसहरूको सङ्ख्या ५७ करोड थियो । त्यो सङ्ख्या भनेको विद्युत्को पहुँच नभएका संसारको जनसङ्ख्याको तीन खण्ड हो ।
सब सहारा अफ्रिकामा संसारकै सबभन्दा खराब विद्युत् पहुँच दर भए पनि सन् २०१७ देखि २०१९ को बीचमा सो क्षेत्रले ऊर्जामा पहुँचले उल्लेखनीय प्रगति हासिल ग¥यो । फलतः विद्युत्को पहुँच नपुगेका मानिसहरूको सङ्ख्या उल्लेखनीयरूपमा घटेको थियो । अफ्रिकाको जनसङ्ख्या वृद्धिलाई विद्युत्मा पहुँचमा भएको प्रगतिले उछिनेबाट यो उपलब्धि देख्न सकिन्थ्यो ।
कोभिड–१९ को कारण विचलित भएको यो प्रगतिलाई अब बाटोमा फर्काउन सकिन्छ ? अथवा के सो क्षेत्रको ऊर्जाको तीव्रगतिमा बढिरहेको माग पूरा गर्न खोज्नु जङ्गली हाँसलाई लखेट्नु जस्तै हुने हो किनभने अफ्रिका आज संसारकै सबभन्दा तेज गतिमा जनसङ्ख्या बढिरहेको क्षेत्र हो । आज र सन् २०४० को बीचमा संसारमा बढ्ने दुई जना मानिसमध्ये एक जना अफ्रिकी हुनेछ । सन् २०२३ भित्र अफ्रिका संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको क्षेत्र हुनेछ ।
यसलाई अझ प्रस्ट शब्दमा व्याख्या गर्दा अफ्रिकाको बढ्दो सहरी जनसङ्ख्याले आगामी दुई दशकभित्र आर्थिक र ऊर्जा क्षेत्रमा ठूलो फड्को मारेको चीनको सहरी जनसङ्ख्यालाई उछिन्नेछ । अफ्रिकाको सहरी जनसङ्ख्यामा भएको तीव्र वृद्धिलाई सोहीअनुसारको ऊर्जामा वृद्धिको खाँचो हुनेछ । अफ्रिकाको औद्योगिक क्षेत्र, घरेलु प्रयोजन र सामाजिक सेवाजस्तै शिक्षा, यातायात र स्वास्थ्य सेवाको लागि आवश्यकताअनुसार ऊर्जा उत्पादन वृद्धि गर्नुपर्नेछ ।
अफ्रिका नवीकरणीय ऊर्जा स्रोतजस्तै सौर्य, जल, वायु आदिमा निकै धनी छ । त्यसो भए किन उसले आफ्नो बढ्दो जनसङ्ख्याको लागि सुलभ, दिगो र आधुनिक ऊर्जा दिनसकेको छैन ? अफ्रिकाका धेरै देशहरूले दशकौँ दशकदेखि ऊर्जा क्षेत्रमा मनग्य लगानी गर्न नसक्दा सो क्षेत्रको ऊर्जा अवस्था गएगुज्रेको छ । संसारको कुल मानिसको १७ प्रतिशतको घर अफ्रिकामा संसारमा ऊर्जा क्षेत्रमा भएको कुल लगानीको ४ प्रतिशतमात्र भएको छ ।
उदाहरणको लागि, अफ्रिका संसारकै सबभन्दा ठूलो सौर्य ऊर्जाको स्रोतको घर भए पनि त्यहाँ पाँच गेगावाट बराबरको सौर्य ऊर्जा परियोजना बनाएको छ । त्यो भनेको संसारको कुल उत्पादित सौर्य ऊर्जाको एक प्रतिशतभन्दा न्यून हो । विद्युत् उत्पादन र ग्रिडमा कुल लगानीमा अफ्रिकाको हिस्सा संसारकै सबभन्दा न्यून छ । सत्य के हो भने सर्वसुलभ ऊर्जा पहुँच हासिल गर्न ऊर्जा क्षेत्रमा दिगो र समय सान्दर्भिक लगानी बढाउनुपर्छ । यसलाई व्यवहारमा रूपान्तरण गर्न अफ्रिकाका परियोजनाहरूमा सबभन्दा ठूलो लगानी गर्दै आएका चीनले अफ्रिकाको ऊर्जा उत्पादन क्षमता विस्तार गर्न न्युन ब्याजदरमा ऋण, वित्तीय सुविधा, अनुदान र प्राविधिक विज्ञहरू दिनेसम्मका प्रतिबद्धता व्यक्त गरेको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार सन् २०१० देखि सन् २०१५ को बीचमा चिनियाँ कम्पनीले ठेक्का लिएका परियोजनाहरूबाट अफ्रिकामा थप सात गेगावाटभन्दा बढी विद्युत् थपिएको छ । त्यत्ति विद्युत् भनेको सब सहारा अफ्रिकाको कुल विद्युत् क्षमताको ३० प्रतिशत हो । पाँच वर्षको अन्तरालमा चीनले सो क्षेत्रको समग्र ऊर्जा परियोजनाको ४६ प्रतिशत (यदि दक्षिण अफ्रिकालाई बाहेक गर्ने हो भने) परियोजना सम्पन्न ग¥यो । सन् २०१० देखि सन् २०२० को बीचमा चिनियाँ ठेकेदारहरूले अफ्रिकामा कम्तीमा २८ हजार किलोमिटर विद्युत् प्रसारण लाइन थपेको छ । त्यसअन्तर्गत समग्र ऊर्जा ग्रिड चेनदेखि अन्तर सीमा प्रसारण लाइन पनि समावेश छन् । तिनले सहरी तथा ग्रामीण क्षेत्रमा ऊर्जा विस्तार गरेको छ ।
बितेका दस वर्षमा अफ्रिकाको ऊर्जा क्षेत्रमा अन्य कुनै पनि देशको तुलनामा चिनियाँ कम्पनीहरूले योगदान गरेका छन् । एक दशकभित्र अफ्रिकाका ५४ देशमध्ये कम्तीमा ३७ देशमा चिनियाँ कम्पनीहरूले ठेक्का लिएका छन् । सब सहारा अफ्रिकाको कुल ऊर्जा उत्पादनमा चीनको उपस्थितिविनाको उत्पादन पाँच प्रतिशतभन्दा न्यून छ ।
यी सबै उल्लेखनीय योगदानको आधारमा अफ्रिकी देशका सरकारको लागि ऊर्जा सर्वसुलभ बनाउने सुनिश्चित बाटो भनेको महादेशको ऊर्जा पूर्वाधारमा लगानीदेखि आधुनिकीकरणसम्मको लागि केन्द्रिकृत प्रयासमा चीनसँगको साझेदारीलाई बलियो बनाउनु हो । तथापि, त्यसको अर्थ दीर्घकालीन हिसाबमा ऊर्जाको बढ्दो माग पूरा गरिहाल्ने भन्ने होइन ।
चुस्त प्रसारण र वितरण सञ्जालसहित सहर र गाउँ जोड्ने भरपर्दो र दिगो ऊर्जा स्रोत बनाउन अपरिहार्य भएको अवस्थामा ऊर्जा बजारमा ऊर्जा विकास कम्पनीहरूको क्षमता व्यवस्थापन बलियो बनाउने प्रभावकारी नीति नियम कार्यान्वयनमा ल्याउनु पनि उत्तिकै महत्वपूर्ण छ । गल्ती गर्नेलाई सजाय पनि दिनसक्ने ती नीतिले ऊर्जा क्षेत्रका कम्पनीहरूलाई लक्षित लगानी उठाउन मनग्य राजस्व सुनिश्चित गर्नेछ । साथै, ऊर्जा कटौती हुने समस्या समाधानको निम्ति बेलाबेला मर्मतसम्भार गर्नसक्ने बनाउँछ जसले अफ्रिकामा ऊर्जाको पहुँचमा सुधार ल्याउनेछ ।
सारमा ऊर्जा उत्पादक कम्पनीहरू र सो क्षेत्रका ऊर्जा उद्योगका सम्बन्धित पक्षको लागि उपयुक्त नियम र प्रमाणमा आधारित नीति दिन सकेमात्र अफ्रिकामा ऊर्जामा पहुँच हासिल गर्न सकिन्छ । त्यस्ता नीतिको कार्यान्वयनका साथै महादेशमा ऊर्जा उत्पादन क्षमता बढाउन सक्ने रणनीतिक लगानी पनि बढाउन जरुरी हुन्छ ।
लेखक अफ्रिका र एसियाबारे चासो राख्ने अर्थशास्त्री हुनुहुन्छ ।
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *