भर्खरै :

विवाह भोजको रकम विद्यालयलाई

चितवन, ३१ असार । विवाहपछि भोजभतेर गरेर लाखौँ रुपैयाँ स्वाहा पार्ने प्रचलनलाई चिर्दै रत्ननगरको एउटा परिवारले विवाहपछि भोजमा खर्च गर्ने रकम विद्यालयलाई हस्तान्तरण गरेको छ ।
रत्ननगर नगरपालिका–१ बकुलहरका तिलक पौडेलले आफ्ना कान्छा छोरा रमेशको विवाहको भोज नगरी रु एक लाख ५० हजार १६५ आज विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।
पौडेल परिवारले रत्ननगर नगरपालिका–१ स्थित बकुलहर माध्यमिक विद्यालय, ओमशान्त राष्ट्रिय प्राथमिक विद्यालय र जन्मस्थल जैमिनी नगरपालिका–५ बिनामारे बाग्लुङको सर्वाेदय जनक उच्च माध्यमिक विद्यालयलाई रु ५०÷५० हजारका दरले हस्तान्तरण गरेको हो ।
आज यहाँ आयोजित अक्षयकोष स्थापनार्थ सहयोग रकम हस्तान्तरण कार्यक्रममा बेहुला रमेशका बुबा तिलक, आमा सावित्रा, दाजु गणेश र बेहुली अस्मिता चालिसेले संयुक्तरुपमा चेक हस्तान्तरण गर्नुभयो । रमेशको भरतपुर महानगरपालिका–२३ की अस्मितासँग यही असार २८ गते परम्परागत विवाह भएको थियो ।
कार्यक्रममा बेहुलाका बुबा तिलकले समाज परिवर्तनका लागि विद्यालयलाई अक्षयकोष स्थापनार्थ उक्त सहयोग रकम हस्तान्तरण गरेको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *