अव्यवहारिक र अपरिपक्व निर्णय : देशमा अन्योल
- बैशाख ६, २०८३
भारतको राजधानी दिल्लीलगायत विभिन्न राज्य र सहरमा यतिबेला वायु प्रदूषणले जनजीवन निकै प्रभावित बनेको छ । राजधानी दिल्लीका शैक्षिक संस्था बन्द छन् । सरकारी कर्मचारीलाई घरमै बसेर काम गर्न निर्देशन दिइएको छ । निर्माण कार्यमा निषेध गरिएको छ । अत्यावश्यकबाहेकका सवारी साधन चलाउन रोक लगाइएको छ । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक सामान्य कामको लागि घर बाहिर ननिस्कन सूचना जारी गरिएको छ । भारतका उत्तर प्रदेश, पञ्जाबलगायत जनसङ्ख्या र उद्योगको सघनता भएका प्रान्तहरूमा पनि प्रदूषणको समस्याले जनजीवन प्रभावित बनेको छ ।
दिल्लीमा वायु प्रदूषणको यो विकराल रूप पहिलो पटक भने होइन । केही वर्षयता दिल्लीमा लगातार वायु प्रदूषणको समस्या बढ्दो छ । सरकारले दिवालीमा पड्काइने पटाका र दिल्ली वरपरका क्षेत्रमा किसानहरूले खेतमा आगो लगाउँदा वायु प्रदूषण बढेको भन्दै आएको छ । तर, भारतका उद्योगमा प्रयोग हुने ‘फोहोर’ ऊर्जा स्रोतको कारण पनि वायु प्रदूषण मानिसको स्वास्थ्यलाई खराबी पार्ने तहमा पुगेको छ ।
स्कटल्यान्डको ग्लास्गो सहरमा भएको जलवायु सम्मेलनको निर्णयमा भारतका प्रतिनिधिले कोइला उत्पादन ‘पूर्णतः निषेध गर्ने’ बुँदामा संशोधन गरी ‘घटाउँदै जाने’शब्द राख्न प्रस्ताव गरेको थियो । कोइलामाथि निषेध गर्दा कोइला ऊर्जामा निर्भर भारतीय उद्योग र प्रविधि बन्द हुने अवस्थामा भारतीय अर्थतन्त्रमा पार्ने प्रतिकूल प्रभावलाई विचार गरेर भारतले यस्तो संशोधन राखे पनि कोइलामा आधारित भारतीय उद्योगहरूले वातावरणमा प्रदूषण बढाउन ठूलो भूमिका खेलिरहेका छन् । ग्लास्गो सम्मेलन सकिएको साता दिन पनि नबित्दै भारतको राजधानीमै प्रदूषणले भयानक रूप लिँदा भारत सरकार वातावरण संरक्षण र प्रदूषण न्यूनीकरणको विषयमा गम्भीर नभएको देखियो । वायु प्रदूषण झन्डै अनियन्त्रित भएपछि अहिले भारतको केन्द्रीय सरकार र प्रान्तीय सरकारबीच द्वन्द्व पनि बढेको छ ।
यो भयो, छिमेकीको कुरा । नेपालमा पनि वायु प्रदूषण मानव स्वास्थ्यलाई खराब प्रभाव पार्ने तहमा पुग्न धेरै समय लाग्ने देखिन्न । सवारी साधन, उद्योग, कलकारखाना, बिग्रे भत्केका सडक आदि कारण काठमाडौँको प्रदूषण पनि बर्सेनि बढ्दो छ । जनसङ्ख्याको अति केन्द्रीकरण, सवारीसाधनको खराब व्यवस्थापन, वन र कृषि क्षेत्र क्रमशः कम हुँदै जानुले काठमाडौँ उपत्यकामा बस्नु पनि जोखिमपूर्ण बन्दै छ । सरकार र सम्बन्धित निकायले यो विषयमा तत्कालै संवेदनशीलता नअपनाउने हो भने दिल्लीको जस्तो विकराल अवस्था काठमाडौँमा पनि आउन धेरै टाढा छैन ।
सरकारले तत्कालीन र दीर्घकालीन दुई किसिमका योजना बनाएर वायु प्रदूषण रोकथामको प्रयास थाल्न जरुरी छ । समस्या विकराल बनेपछि मात्र हतारमा समाधान गर्नुभन्दा समस्या आउनुअघि नै समाधान गर्नु बुद्धिमानी हो । अनियन्त्रित प्रदूषण रोकथामको निम्ति भोलि अर्थतन्त्रमा एकैबाजी धक्का पार्ने कदम चाल्नुभन्दा अहिलेबाट नै प्रदूषण नियन्त्रणको निम्ति चरणबद्ध कार्यक्रम कार्यान्वयन गर्न जरुरी छ । काठमाडौँ उपत्यकाबाट प्रदुषक उद्योग विस्थापनदेखि विद्युत्तीय सवारी साधनको प्रयोगमा प्रोत्साहनका कुरा सरकारले बोलीमा मात्र होइन, व्यवहारमा पनि ल्याउन विलम्ब गर्नु हुन्न ।
वायु प्रदूषणले मानिसलाई सुस्तगतिमा मारिरहेको हुन्छ । मानिसले फेर्ने श्वास नै घातक भएपछि त्यसले मानिसलाई नजानिँदो ढङ्गले बिरामी बनाइरहेको हुन्छ । वातावरणको क्षेत्रमा काम गर्न सधैँ दाताको मुख ताक्ने प्रवृत्ति त्यागेर नेपालको परिस्थितिअनुरूप कार्यक्रम बनाएर जनताको स्वास्थ्य रक्षाको निम्ति राज्यले आफ्नो दायित्व पूरा गरोस् ।
Leave a Reply