भर्खरै :

सङ्कटमा पो सहयोग आवश्यक

पीडित नागरिकलाई आपत्विपत् तथा सङ्कटको बेला अरु समत्न्दा बढी सहयोग र साथको खाँचो हुन्छ । हामीले बरोबर विभिन्न दुर्घटनाहरू भइरहेको देखिरहेका छौँ । कहिले गाडी त कहिले मोटरसाइकल दुर्घटना हुन्छ भने कहिले आगलागी हुनसक्छ । कहिले भूकम्प नै गएको होला । कहिले हुरी बतास चल्ला त कहिले बाढी पहिरो आएको होला । कहिले भीडबाट खस्ला, कहिले खोलाले बगाउँला त कहिले खाद्य सङ्कट होला । यस्तो सङ्कट या आपत्को बेला सबभन्दा पहिले राज्यको ध्यान पुग्नुपर्छ र तुरुन्तै आवश्यकताअनुसार स्रोत र साधन पु¥याएर राहत पु¥याउनुपर्छ । यस्तो बेला राज्यले राहत देला या आर्थिक सहयोग गर्ला भनेर स्थानीय जनता तमासे भएर बस्नु न्यायोचित होइन । सङ्कटको बेला भएको सहयोग र साथले धनजनको ठूलो क्षतिबाट जोगाउन सकिन्छ । यसले ठूलो हौसला या पे्ररणा मिल्छ । घाइते या पीडितको समयमै उद्धार हुन्छ र ज्यान जोगिन्छ । सङ्कटको बेला साथ र सहयोग भएको पनि हामी देख्छौँ । मानवीय सेवा गर्नुपर्छ भन्ने भावना भएका मानिसहरू जहिल्यै यस्तो बेला अगाडि हुन्छन्, हुनुपर्छ । तर, सबै मानिसमा यस्तो मानवीय गुण या स्वभाव देखिँदैन । पीडितको उद्धार या सेवा गर्नुभन्दा कति मानिसहरू स्वार्थी हुन्छन् र आफूले कसरी के हातपार्दा हुन्छ भनी फाइदा लिन खोज्छन् । यो एक प्रकारको लुटसरह नै मानिन्छ ।
कुनै घर, टहरा, भवन या कार्यालयमा आगलागी हुँदा सबैको पहिलो कर्तव्य आगो निभाएर सकेसम्म क्षति कम गर्नुपर्नेतर्फ ध्यान जानुपर्ने हो । तर, यस्तो घडीमा कति मानिसहरूको त्यो घरभित्र रहेका अमूल्य वस्तु खोज्ने या लिनेतर्फ गएको पाइन्छ । कति मानिसहरू आगलागी नियन्त्रणभन्दा आफूसँग रहेको मोबाइल झिकेर फोटो खिच्दै प्रसारण गरिरहेका हुन्छन् । आगलागी निभाउनुपर्ने पहिलो जिम्मेवारी छोडेर अन्यत्र ध्यान दिँदा स्वाभाविकरूपमा बढी क्षति हुन्छ । त्यसबेला कहीँबाट पानी ल्याएर आगो निभाउने प्रयास गर्ने, घरभित्र रहेका मानिसहरू निकाल्ने र घरका सामानहरू सुरक्षित गर्ने दायित्व स्थानीयको हुन्छ ।
कहिलेकाहीँ मोटरसाइकल या गाडी दुर्घटना हुन्छ या हवाईजहाजै दुर्घटना हुन्छ । त्यो समयमा पनि घाइतेहरूको समयमै उद्धार गर्नु, सुरक्षित गर्नु र नगद, गरगहना या अन्य अमूल्य सामान सुरक्षित गर्नु हाम्रो पहिलो दायित्व हुन्छ । तर, कति मानिसहरू त्यस्तो बेला घाइतेहरूको उद्धारभन्दा उनीहरूसँग रहेको औँठी, गहना, मोबाइल, नगद लिनेतर्फ ध्यान दिन्छन् र लिन्छन् । यो गलत कार्य हो, अमानवीय काम हो । सामन्त र पुँजीवादी व्यवस्थामा नेता, कार्यकर्ता तथा जनतालाई निःस्वार्थ सेवा गर्ने, देश र जनताप्रति समर्पित हुनुपर्ने भावना नजगाएको कारण यो समस्या देखिएको हो । सत्तासीन र अन्य दलले आफ्ना मातहतका कार्यकर्ता, कर्मचारी तथा सर्वसाधारण जनतामा निःस्वार्थपूर्वक सेवा गर्नुपर्छ भन्ने भावना जगाउन अभिप्रेरित गरिरहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *