भर्खरै :

वायु प्रदूषण चिन्ताको विषय बन्नुपर्दैन र ?

वायु प्रदूषण विश्वका धेरै विकासशील देशका औद्योगिक र घना जनसङ्ख्या भएका सहरका समस्या बनेका छन् । हाम्रा छिमेकी देशहरू भारत, पाकिस्तान, बङ्गलादेशका राजधानी सहरहरू अहिले वायु प्रदूषणको चपेटामा परेका छन् । नेपालको राजधानी रहेको काठमाडौँ उपत्यका पनि वायु प्रदूषणको दृष्टिले कम जोखिममा छैन । चारैतिर पहाडले घेरिएको यस उपत्यकामा देशकै ठूलो जनसङ्ख्या केन्द्रित हुन लागेकोले र अत्यधिक सवारीसाधनको प्रयोगले यहाँको वायु पनि अब स्वस्थ रहेन । त्यसमाथि जाडो यामसँगै वायुको गुणस्तर कम हुँदै जाने यहाँको समस्या रहेको छ । हुस्सु र कुहिरोमा धूलोका कणहरू मिसिनाले उपत्यकामा खोकी, निमोनियालगायत स्वास प्रश्वाससम्बन्धी रोग निकै नै बढेको पाइएको छ ।
वातावरण विभागका अनुसार वायुको गुणस्तर मनसुन र त्यसको लगत्तैको अवस्थाभन्दा केही कमजोर भए पनि तत्काललाई आत्तिनुपर्ने अवस्था छैन । तर, चिसो बढ्दै जाँदा वायुको गुणस्तर कमजोर बन्ने सम्भावना रहेको विभागको भनाइ छ । मौसम धुम्मिने क्रम सुरु भइसकेकोले वायु प्रदूषणको अवस्था गत वर्षको हिउँदको जस्तो हुनसक्ने भन्दै वातावरणविद्हरूले सचेतनासहितको चेतावनी दिइरहेको बेला वातावरण विभागले भने तत्कालका लागि जोखिम नरहेको दाबी गरेको हो । के साँच्चै वायु प्रदूषण चिन्ताको विषय बन्नुपर्दैन र ?
हाम्रो देशमा समस्या घाँटीसम्म नआएसम्म समस्यालाई समस्याको रूपमा नलिने प्रवृत्ति छ । जब समस्याले गाँजिसकेर समाधान नै गर्न कठिन अवस्थामा पुगिन्छ, तबमात्र सजगता अपनाउनुपर्ने चर्चा गरिन्छ । वायु प्रदूषणलाई खतराको बिन्दुमा पुग्न नदिन तत्कालै गर्न सकिने उपायहरू अहिलेदेखि नै अपनाउन आवश्यक छ । धेरै पुरानो इन्जिन भएका र धुवाँ बढी फाल्ने गाडीहरूलाई बन्द गराउनुपर्छ । पराल र पातपतिङ्गर बाल्नेजस्ता धुवाँ फाल्ने क्रियाकलापलाई निरुत्साहित पारिनुपर्छ । इँटा भट्टाहरूमा मापदण्डअनुसारको इन्धन प्रयोग गरिएको वा नगरिएको र चिम्नीको उचाइ पुग्छ वा पुग्दैन अनुगमन र अध्ययन गराइनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *