भर्खरै :

बिजुलीको खपत बढाउनतिर प्राधिकरण

काठमाडौँ, २ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा पछिल्लो समय दुई हजार मेगावाट विद्युत् उपलब्ध छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले ४५६ मेगावाट बिजुली उत्पादन गरेपछि प्रणालीमा गुणात्मक परिवर्तन देखाप¥यो । अपेक्षितरूपमा माग भने बढ्न सकेन ।
यस वर्षको लक्ष्मी पूजाको दिनको साँझको विवरण हेर्दा एक हजार २७० मेगावाटमात्रै बिजुलीको उच्च माग देखियो । गत असोज १० गते सबैभन्दा बढी एक हजार ७२० मेगावाटको हाराहारीमा माग पुगेको थियो भने गएराति औसतमा बिजुलीको माग एक हजार ४२६ मेगावाट थियो ।
नदीमा जल सतह कायमै छ । कुलेखानी जलाशय पूर्णरूपमा भरिएको छ । यी सबै खुसीका विषय सार्वजनिक भइरहेको बेला प्राधिकरणलाई भने एउटा चिन्ताले सताएको छ । यो चिन्ता हो – बिजुलीको खपत कसरी बढाउने । सहजैरूपमा बिजुलीको खपत बढ्ने अवस्था देखिएको छैन । जल तथा ऊर्जा आयोग, लगानी बोर्ड र प्राधिकरण स्वयम्ले गरेको अध्ययनअनुसार भइदिएको भए यस वर्ष प्रणालीमा झन्डै चार हजार मेगावाट बराबरको बिजुलीको माग हुनुपर्ने थियो । तर, अवस्था सोचेजस्तो भइरहेको छैन ।
विगतमा १८ घण्टासम्म लोडसेडिङ भोगेका नेपालीलाई नियमितरूपमा बिजुली पाउनु नै ठूलो कुरा थियो । अवस्था फेरियो, धमाधम आयोजना सम्पन्न हुन थाले तर माग भने बढेको छैन । प्राधिकरणमा दोस्रो कार्यकाल सम्हाल्न आइपुगेका कार्यकारी निर्देशक कुलमान घिसिङको पनि बिजुलीको खपत बढाउने विषय टाउको दुःखाइ बनेको छ । प्रधानमन्त्रीदेखि ऊर्जा मन्त्रीसम्मलाई उत्पादित ऊर्जा खेर गइरहेकोमा चिन्ता छ ।
समाधानको उपाय भने पत्ता लागिसकेको छैन । बिजुली खेर जान थाल्यो भन्ने देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ औद्योगिक करिडोरमा पुगिरहेका छन् । ‘स्वदेशी बिजुली स्वदेशै खपत गरौँ भन्ने योजनाका साथ आफूले सकेसम्म पहल गरिरहेको उहाँको भनाइ छ ।
उत्पादन सुरु भएको तीन वर्षपछि चिनियाँ लगानीको होङ्सी सिमेन्टले ३० मेगावाट बिजुली पाएको छ । सो उद्योगले अझै ५० मेगावाट माग गरेको छ । जगदम्बा स्टिलले थप २५ मेगावाट माग गरेको छ । सगरमाथा सिमेन्ट, मारुती सिमेन्टले पनि थप बिजुली माग गरेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) का उपाध्यक्ष आशिष गर्गका अनुसार सरकारले वितरण प्रणाली निर्माणमात्रै गर्ने हो भने तत्काल नै देशभित्र एक हजार मेगावाट बिजुली खपत हुनेछ । उद्योग स्थापना गर्न चाहेका उद्यमी तथा हाल सञ्चालनमा रहेका उद्योगले माग गरेको बिजुलीको परिमाण हेर्दा एक हजार मेगावाट बढी बिजुली खपत हुने अवस्था रहेको उहाँको भनाइ छ ।
यसो त प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत नै बिजुली उपलब्ध गराउने तयारी रहेको छ । उक्त क्षमताको प्रसारण लाइन र सवस्टेसन नजिक रहेका उद्योगलाई माग गर्नेबित्तिकै बिजुली दिने योजनामा प्राधिकरण छ । उसले अल्पकालीन, मध्यकालीन र दीर्घकालीनरूपमा कुन उद्योगलाई के कति बिजुली चाहिएको हो, विवरण उपलब्ध गराउन भनेको छ ।
यसबाट आशातीतरूपमा बिजुलीको माग बढ्ने प्राधिकरणको विश्वास छ । विगतमा डेडिकेटेड र ट्रक लाइनको महशुल विवादका कारण उद्योगी व्यवसायी बिजुलीको थप माग गर्न हिच्किचाइरहेका थिए । यतिबेला अवस्था फेरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशकलगायतको टोली नै औद्योगिक करिडोरमा पुगेर के कति थप बिजुली चाहिएको हो भन्ने जानकारी लिइरहेको छ ।
यस्तै, बिजुली खपतका लागि सहरी क्षेत्रमा इन्डक्सनको प्रयोग बढाउने योजना अगाडि सारिएको छ । नेपाल आयल निगमले एक सिलिन्डर ग्याँसको मूल्य रु. एक हजार ५७५ निर्धारण गरेका अवस्थामा बिजुलीबाट खाना पकाउँदा रु. ९०० मात्रै लाग्ने भएको छ । बुधबारदेखि बिजुलीको नयाँ महशुल कार्यान्वयनमा आएको छ । पछिल्लो महशुलअनुसार अब १५० युनिटसम्म बिजुली खपत गरेर इन्डक्सन चुल्होमा खाना पकाउन सकिन्छ ।
प्राधिकरणले आक्रामकरूपमा योजना बनाएर कार्यान्वयन गर्ने हो भने आगामी तीन वर्षभित्र थप दुई हजार मेगावाट बिजुली इन्डक्सन चुल्होमा खपत हुनसक्छ । यसबाट ठूलो मात्रामा आयात भइरहेको खाना पकाउने ग्यासको खपत कम हुन जान्छ । निगमले वार्षिकरूपमा झन्डै रु. ४० अर्ब बराबरको रकम ग्यास खरिदका लागि खर्चने गरेको छ ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका प्राडा अमृतमान नकर्मीका अनुसार प्राधिकरणले इन्डक्सन चुुल्होको प्रयोग बढाउन व्यापकरूपमा मार्केटिङ गर्नुपर्नेछ । प्रयोग गराँै भनेको भरमा मात्रै नहुने भएकाले व्यापकरूपमा ‘मार्केटिङ’ गर्नुपर्ने र उपभोक्तालाई पूर्णरूपमा विश्वास दिलाउनुपर्ने उहाँको भनाइ छ ।
वितरण प्रणालीमा समस्या आउँछ कि ट्रान्सफर्मर पड्किन्छ कि भनेर चिन्ता नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “व्यापकरूपमा इन्डक्सनको प्रयोग बढेमात्रै बिजुलीको बजार खोज्दै भौतारिनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।” दक्षिण एसियामा नेपालको प्रतिव्यक्ति विद्युत् खपत दर असाध्यै न्यून रहेको छ । भारतको प्रतिव्यक्ति खपत दर एक हजार किलोवाट घण्टा छ भने चीनको पाँच हजार किलोवाट घण्टा रहेको छ । नेपालको करिब ३०० किलोवाट घण्टा पुगेको छ । यस आधारमा पनि बिजुलीको खपत बढाउन ठूलो मेहनत गर्नुपर्ने प्राडा नकर्मीको भनाइ छ ।
यसो त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल पनि इन्डक्सन चुल्होको प्रयोग बढाउन अनुदान दिने विषयमा छलफल जारी रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कुन मोडलमा कसरी अनुदान दिने भन्नेबारेमा छलफल जारी छ । सरकारको तर्फबाट छिट्टै एउटा निर्णय हुन्छ । विदेशी ग्यास छाडाँै, स्वदेशी बिजुली खपत गरौँ भन्ने नाराका साथ देशव्यापी अभियान नै अगाडि बढ्छ ।”
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *