भर्खरै :

आदर निकेतन सञ्चालनबारे

भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले हालै रजत महोत्सवको उपलक्ष्यमा दिवाकालीन आदर निकेतन सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । यसरी संस्थाले आदर निकेतन सेवा सञ्चालन गर्ने खबर सुन्न पाउँदा ज्येष्ठ नागरिकहरूलाई खुसी लाग्नु स्वाभाविक हो । यो संस्थाले आफ्नो २५ औँ जन्मोत्सवको अवसरमा गर्न लागेको यस कार्यलाई शुभकार्यको रूपमा टोलवासीले लिएका छन् । इमानदारीपूर्वक पारदर्शी ढङ्गले काम गर्दै आएको संस्थाले आदर निकेतन खोल्ने विश्वास गर्न सकिन्छ । भक्तपुर नगरपालिकाले पनि ज्येष्ठ नागरिकहरूको सम्मान र सेवामा महाकाली पीठमा आदर निकेतन सञ्चालन गर्न गृहकार्य गरिरहेको छ । नेपालमा विसं १९३९ मा गरिब र असहाय ज्येष्ठ नागरिकहरूको सेवामा पञ्चदेवल पाकशालाको रूपमा आदर निकेतन सञ्चालन गरिएको पाइन्छ । विसं २०३४ देखि पशुपति वृद्धाश्रममा गरिब र असहाय ज्येष्ठ नागरिकहरूलाई पालन पोषण गरी सेवा दिइरहेको पाइन्छ । हिजो नेपालका गाउँ, सहर नै आदर निकेतन र वृद्धाश्रमजस्तै थिए । ज्येष्ठ नागरिकहरू आमाबुबा, हजुरआमा र बुबालाई छोरा बुहारी, नातिनातिनीले हेरविचार गर्थे, सम्मान गर्थे । आज पुँजीवादी व्यवस्था छ, पुँजीवाद समाज छ । सबै कुरा पैसा, धनसम्पत्तिसँग तुलना गर्न थालिएको छ । छोराछोरी, बुहारीले उहाँहरूको नाममा सम्पत्ति, घरजग्गा छैन भने, बैङ्क ब्यालेन्स छैन भने पाल्न, हेरविचार गर्न नसक्ने भन्न थालेका छन् । दिसा–पिसाब सोहर्ने, फोहर कपडा धोइदिने, सरसफाइ गरिदिने, आफूहरू भोकै बसेर भए पनि छोराछोरीलाई खुवाएर उहाँहरू माया गर्नुहुन्थ्यो । आज सन्तानले त्यसरी माया गर्ने आमाबुबा, हजुरबुबा आमालाई पहिलेको गुणलाई लात मारेर सम्पत्ति नभए पाल्न सक्दैन भन्न थालेका छन् । यो समाजको लागि दुःखद कुरा हो । तर, सबै छोराछोरी, बुहारी, नाति, नातिनी त्यस्ता छैनन् । राम्रा, शिक्षित, सभ्य सन्तानहरू पनि समाजमा छन् । छोरा छोरी, बुहारीहरूले पनि आफ्ना सासू ससुरालाई आफ्नै आमा बुबा, आफ्नै हजुरआमा बुबालाई देवता सम्झेर हेरविचार गरेका छन् । यो समाजको राम्रो पक्ष हो । यस्तो परिवारको लागि आदर निकेतन आवश्यकता नै हुँदैन ।
नेपालमा विभिन्न ठाउँमा, विभिन्न नाममा दिवाकालीन तथा पूर्णकालीन आदर निकेतन र वृद्धाश्रमहरू सञ्चालन भइरहेका छन् । पशुपति वृद्धाश्रम, देवघात वृद्धाश्रम, सत्य साई सेवा, एजिङ नेपाल, सिद्धिस्मृति संस्थाहरू सञ्चालनमा छन् । यसमा कुनै व्यक्ति, समूह, सङ्घ संस्था र विदेशी गैरसरकारी संस्थाको के कस्ता स्वार्थहरू छन्, त्यो आफ्नो ठाउँमा छ । नेपाल सरकारले सञ्चालन गरेका यस्ता सेवा केन्द्रहरूले गरिब, असहाय र अशक्त ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य र गुणस्तरीय जनसेवा दिनुपथ्र्यो । तर, त्यो दिन सकिरहेको पाइँदैन । किनकि त्यहाँ आफ्ना आमाबुबा, हजुरआमाबुबाहरू बस्दैनन् । त्यहाँ निमुखा, गरिब, असहाय ज्येष्ठ नागरिकहरूमात्र बस्ने हुन् । भक्तपुर नगरपालिकाले घरघरमा ज्येष्ठ नागरिकहरूको सेवामा नर्सहरू खटाइरहेका छन् । नगरपालिका ज्येष्ठ नागरिकहरूको सेवामा आदर निकेतन सञ्चालन गर्ने गृहकार्यमा लागिरहेको छ ।
आज देशमा गरिब, असहाय ज्येष्ठ नागरिकहरूको आँसु पुछ्ने भनिएका कम्युनिस्ट नेताहरू धेरै पटक सत्तामा पुगे । नाम कम्युनिस्ट काम र आचरणका पुँजीवादीहरूले यस्तो आदर निकेतन खोल्न चाहेका छैनन् । निजी आदर निकेतन र केयर होमहरूले पैसाको आधारमा सेवा दिने हुँदा त्यहाँ धनी, पैसावालका ज्येष्ठ नागरिकले मात्र सेवा लिनसक्नेछन् । त्यस्तो ठाउँमा बहुसङ्ख्यक गरिब, दुःखी ज्येष्ठ नागरिकहरूको पहुँच हुँदैन र पुग्दैन । त्यहाँ पैसा र शुल्कअनुसार हेरचाह र सेवा गरेको हुन्छ । कुनै कुनै आदर निकेतन र वृद्धाश्रमहरू राम्रा पनि होलान् । त्यस्ता आदर निकेतनमा, वृद्धाश्रममा माया, हेरचाह आत्मीयता हुन्छ भन्नु र आफ्नै घर परिवारबाट माया, हेरचाह, आत्मीयता छैन भन्नु बराबर हुँदैन । ज्येष्ठ नागरिकहरूको स्वर्ग भनेको नै आफ्नै घर परिवार हो, समाज हो ।
उमेर भएपछि अशक्त हुनु र कमजोर भएर जानु प्राकृतिक नियम हो । ज्येष्ठ नागरिकहरूलाई छोरा, बुहारी, नातिहरूले सम्पत्तिको लोभमा खराब मानिसको सल्लाह र उक्साहटमा निकाल्नु गलत हो । परिवार र समाजभन्दा धनसम्पत्ति र पैसालाई ठूलो ठान्नु गलत हो । धन साधन हो, साध्य होइन । एक आपसमा माया, सेवा र त्यागको भावना भए घर, समाजमा यस्तो वातावरण बनाउन सके उहाँहरूप्रति ठूलो सम्मान हुनेछ । समाजका हाम्रा अग्रज ज्येष्ठ नागरिकहरूलाई निःस्वार्थ, निःशुल्क सेवा दिन सकेको खण्डमा ठूलो योगदान हुनेछ । भक्तपुर नगरपालिकाले आदर निकेतन सञ्चालन गरे त्यो पहिलो नगरपालिका हुनेछ ।
हाम्रा अग्रज पुर्खाहरूले सयौँ हजारौँ वर्षदेखि विज्ञानसम्मत ढङ्गले उपत्यकाका सहरहरूमा थुप्रै सत्तल र पार्टीहरू बनाएका छन् । भक्तपुरका टोल–टोलमा पनि सयौँ पाटी, सत्तलसँगै ढुङ्गेधारा र इनारहरू बनाएका थिए । टोल टोलमा बनाएका पाटीहरू प्रायः खुला ठाउँ, टोल, चोक बाटोसँगै घाम आउने दक्षिण मोहदाका छन् । ती पाटीहरू ज्येष्ठ नागरिकहरूकै सेवाको लागि आराम गर्न र स्वास्थ्यलाभ गर्न हुने गरी बनाएका थिए । ती पाटीहरूमा सयौँ ज्येष्ठ नागरिकहरू बस्दै आएका छन् ।
बगेको पानी सङ्लो र जमेको पानी फोहोर हुन्छ । हाम्रा ज्येष्ठ नागरिकहरू सुनसान घरमा, कोठामा बिनाक्रियाकलाप एक्लै बस्नुपर्दा मनमा अनेक प्रकारका कुराहरू खेलाउँछन् । यस्ता खराब कुराहरू मनमस्तिष्कमा हुने हुँदा यसले उहाँहरूलाई निराश बनाउँछ र आत्मबल कमजोर पार्ने काम गर्दछ । पाटीमा ज्येष्ठ नागरिकहरू जम्मा हुन्छन् । त्यहाँ उहाँहरूबीच आफूले जीवनमा भोगेका, सँगालेका तीतामीठा अनुभव, ज्ञान, शिक्षा आदानप्रदान गर्ने र छलफल गर्ने गर्दछन् । यसले उहाँहरूको दिमाग सङ्लो हुन्छ र आनन्दको अनुभूति हुन्छ ।
भक्तपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरूले ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतन खोलेर सेवा गर्ने भावना राम्रो हो । अझ बढीभन्दा बढी भक्तपुरका ज्येष्ठ नागरिकहरूको सेवा गर्न टोलटोलमा रहेका पाटीहरूलाई नगरपालिकाले उपयोग गर्नसक्छ । ती पाटीहरूमा उक्लिन र ओर्लन सहज हुने गरी खुड्किला, नजिकै उपयुक्त ठाउँ छ भने ज्येष्ठ नागरिक मैत्री शौचालय र पानीको व्यवस्था गर्न सके अझ सहज हुनेछ । यसको लागि टोलटोलमा बैठक वा सभा राखेर सबैलाई अपनत्व हुने गरी त्यसको सदुपयोगबारे चेतना दिनुपर्ने हुन्छ ।
पाटीमा बस्ने हाम्रा ज्येष्ठ नागरिकहरूको सेवामा दुई तीन दिनको एक पटक वा हप्ताको एक पटक घरघरमा खटी जाने हाम्रा नर्सहरूलाई युनिफर्मसहित पाटी पाटीमा गएर सेवा दिन सके सुनमा सुगन्ध हुनेछ । ती ठाउँमा हेर्न, पढ्नको लागि नगरपालिकाका प्रकाशनहरू राख्न सके उहाँहरूले सूचना पनि पाउनुहुनेछ । त्यसबारे जान्नेले नजान्नेलाई र बुझ्नेले नबुझ्नेलाई बुझाउन सकिन्छ । त्यस्तै बाघचाल, कसिमला पाँय्, बुद्धिचालजस्ता ज्येष्ठ नागरिक मैत्री खेलहरू र अन्य खेल सामग्रीहरू राख्न सके उहाँहरूले मनोरञ्जन पनि लिनुहुनेछ ।
भक्तपुर नपामा ठूला, साना धेरै सहकारी संस्थाहरू छन् । साकोसहरूले आ–आफ्नो क्षेत्रमा रहेका उपयुक्त पाटीहरूमा ज्येष्ठ नागरिकलाई बस्न सहज हृुने चकटी, खानेपानी, सफा गर्न कुचो, डस्बिन आदि राख्न सके ठूलो सहयोग हुनेछ । पाटीमा जुत्ता लगाएर जान र बस्न मनाही गरिएको सूचना बोर्ड, आफ्ना प्रकाशन र पत्रपत्रिका, ज्येष्ठ नागरिकलाई बेलाबेला फलफुल वितरण र खाजा खुवाउन सके ठूलो सेवा हुनेछ ।
‘कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको’ भनेजस्तै पुरानो पुस्ताको अनुभवले नयाँ पुस्ताको सेवा गर्ने, नयाँ पुस्ताले पुरानो पुस्ताको अनुभव र ज्ञान लिएर पुरानो पुस्ताको सेवा गर्नुपर्छ । सञ्चार प्रविधिको दु्रततर विकास भइरहेको वर्तमान अवस्थामा ज्येष्ठ नागरिकहरू राम्रो लेखपढ गर्न नसक्ने, नजान्ने हुनाले त्यस्ता भाषा रूपान्तरण गर्ने प्रविधिको प्रयोग गरेर उहाँहरूले जीवनमा आर्जन गरेका सीप, कला, गीत, नाच, रहनसहन, संस्कृति आदिका बारेमा संवादको माध्यमबाट पत्रपत्रिका, पुस्तक, सम्बन्धित तस्बिर आदि निकाल्न सके, वृत्तचित्र बनाउन सके त्यो पनि समाजकै सेवा हुनेछ । त्यो हाम्रो अमूल्य सम्पत्ति हुनेछ ।
शिक्षा, स्वास्थ्य, सरसफाइ, संस्कृतिको जगेर्ना गरेर देखाउने पहिलो भक्तपुर नगरपालिका भएजस्तै , स्थानीय पाठ्यक्रम बनाएर पठनपाठन गराउने पहिलो नपा भएजस्तै आदर निकेतन खोलेर ज्येष्ठ नागरिकहरूलाई सेवा गर्ने पनि पहिलो नगरपालिका हुनेछ । दिवा काम या अफिस जानुपर्ने परिवारले विद्यालयमा सानासाना नानीहरूलाई सँगै लिएर पु¥याएजस्तै बिहान आदर निकेटनमा पु¥याएर अपराह्न लिन जाने, पहुँच नभएका परिवारको लागि थोरै शुल्कमा ज्येष्ठ नागरिकहरूलाई गाडीबाट ल्याउने र पु¥याउने सेवा दिन सके नगरवासी खुसी हुने कुरामा दुईमत नहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *