भर्खरै :

नेमकिपा चितवन जिल्लाको दोस्रो सम्मेलन सम्पन्न

चितवन, ४ मंसिर । ‘माक्र्सवादी साहित्यको अध्ययन गरौँ, वैदेशिक हस्तक्षेपको विरोध गरौँ’ भन्ने मूल नाराका साथ नेपाल मजदुर किसान पार्टी चितवनको दोस्रो जिल्ला सम्मेलन इच्छाकामना गाउँपालिकाको सुन्दरवस्तीमा शनिबार सम्पन्न भयो ।
सम्मेलन उद्घाटन गर्दै नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले नेपालको स्वाधीनता, स्वतन्त्रता र सार्वभौमिकता जोगाउन नेमकिपाले निरन्तर सङ्घर्ष गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी स्वार्थअनुसार विकासको नाममा नेपालको अहितमा आएको एमसीसी सम्झौताको नाममा देशमा अमेरिकी सेना पस्ने र चीनमाथि हमला गर्ने योजना रहेकोले पार्टीले एमसीसीको विरोधमा देशभर विरोधका गतिविधिहरू गर्दै सर्वसाधारण जनतालाई सचेत गर्ने काम गरिरहेको छ ।”
कन्द्रीय सदस्य महर्जनले क्रान्तिको लागि विचार र सिद्धान्तमा स्पष्टता चाहिने भन्दै नत्र असफलतामा टुङ्गिने धारणा राख्नुभयो
उहाँले भन्नुभयो, “क्रान्ति सफल हुन क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी आवश्यक हुन्छ ।”
माक्र्सवादी सिद्धान्तअनुसार सन् १९१७ मा रूसमा मजदुर र किसानमार्फत अक्टोबर क्रान्ति सफल भएपछि केही दशकमा विकास गरेको तर संशोधनवादीहरूको कारण सोभियत सङ्घमा १९९० मा समाजवादको अस्थायी हार भएको उल्लेख गर्दै उहाँले फेरि समाजवादको पुनःस्थापनाको लागि रूसमा सङ्घर्ष भइरहेको बताउनुभयो ।
केन्द्रीय सदस्य महर्जनले सङ्गठनलाई गुणले युक्त बनाउन आलोचना, आत्मालोचना र आत्मसमीक्षा नियमित रूपमा गर्न आवश्यक भएको उल्लेख गर्नुभयो ।
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले सिद्धान्तमा चिप्लेटी खेलेको कारण नै एमाले र माओवादी पार्टी ठेकेदार र विदेशी दलालहरूको पार्टीमा रूपान्तरण भएको उल्लेख गर्दै गुणसहितको सङ्गठन विस्तार गर्न सकेमा मात्र पार्टीको प्रभाव राम्रो हुने बताउनुभयो ।
कोरोनाको बेलामा पनि सरकारले मास्क, सिटामोललगायत स्वास्थ्यसामग्री नेपालमै उत्पादन नगरिकन विदेशबाट ल्याएर कमिसनको चलखेल बढेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घका जिल्ला अध्यक्ष विष्णु शर्मा, नेक्रामहिला सङ्घका जिल्ला अध्यक्ष सुमित्रा महतो, नेक्रामजदुर सङ्घका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ, नेक्राविसङ्घका जिल्ला अध्यक्ष अर्जुन चेपाङ, आयोजक समितिका ज्ञानेन्द्र चेपाङ, पदम मगर र सन्त पाख्रिनले पनि बोल्नुभएको थियो ।
सम्मेलनले सर्वसम्मतिले हरिप्रसाद दुवालको अध्यक्षता नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *