भर्खरै :

रामदेव क्रान्तिकारी प्रचण्ड के ?

भारतका योगगुरु रामदेवका बारेमा भारतीय जनता नै विभाजित छन् । बाबा रामदेव भारतमै विवादित छन् । उनको अभिव्यक्ति चर्तिकलाकोे भारतमै चर्काे आलोचना र विरोध भइरहन्छ । केही महिनाअघि भारतका चिकित्सक र वैज्ञानिकहरूले रामदेव र कम्पनीले विश्वमा भारतको बेइज्जत गरेको आरोपसमेत लगाएका थिए । उनले भारतका एलोप्याथिक चिकित्सकहरूले भारतीय जनतालाई ठगिरहेको र भारतीयहरूको उपचार आयुर्वेदिक औषधिले नै हुन्छ भनी बोलेका थिए । उनको विवादास्पद अभिव्यक्तिको लागि अल इन्डिया मेडिकल एसोसियसनले उनीमाथि मानहानीको मुद्दासमेत हालेको थियो । घडी उनी दैनिक योग गरेमा सबै प्रकारको रोगबाट मुक्ति पाइने कुरा गर्छन् । उनका यस्ता हावादारी कुरालाई व्यङ्ग्य गर्दै एक भारतीय व्यङ्ग्य कविले सोधेका थिए – बाबा योगले नै सबै रोग निदान हुने भए पतञ्जलिको त्यत्रो औषधि किन ? वास्तवमा साधु र योगगुरुको भेष त रामदेवको माध्यममात्र हो, सत्य त उनी उद्योगपति र व्यापारी नै हुन् । उनको पतञ्जलि कम्पनीमा आचार्य बालकृष्णबाहेक अरू कोको साझेदार छन् र कमाएको नाफा कहाँ जान्छ त्यो पनि रहस्यमै राखिएको छ ।
पतञ्जलि प्राचीन योगगुरु तथा दार्शनिक थिए । रामदेव र कम्पनीले त्यही नामलाई आफूहरूको व्यापारको लागि दुरुपयोग गरेको आरोप भारतकै हिन्दू सन्यासी र धर्मगुरुहरूले लगाइरहेका छन् । रामदेव भारतको राजनीतिमा पनि सक्रिय छन् । उनी राष्ट्रिय स्वयम्सेवक सङ्घ र भाजपा सरकारका प्रचारक र वकालतकर्ता हुन् । त्यसबाहेक भारतलाई विश्वशक्ति बनाउन काम गर्ने उनका समय समयका अभिव्यक्तिले उनी भारतीय गुप्तचर विभागसित सम्बन्धित रहेको अनुमान धेरैले लगाउने गरेका छन् ।
शुक्रबार रामदेवको स्वामित्व रहेको पतञ्जलिले सञ्चालन गर्न लागेको पतञ्जलि नेपाल टीभी, आस्था नेपाल टीभी तथा पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल – प्रचण्डले रामदेवलाई क्रान्तिकारी र वैज्ञानिकसम्म भन्न भ्याए । प्रचण्डले बाबा रामदेवको प्रशंसामा भने, “सुरुसुरुमा लाग्थ्यो, उहाँ अलिक बढी रूढिवादी हुनुहुन्छ होला, अलिक बढी परम्परावादी हुनुहुन्छ होला तर छलफल र सङ्गत गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदो रहेछ, क्रान्तिकारी पो हुनुहुँदोरहेछ ।” रामदेवको आशीर्वाद थाप्न जाने र उनको प्रशंसागान गाउने प्रचण्ड एक्लै होइनन्, वर्तमान सत्ता गठबन्धनमा रहेका सबैजसो दलका नेताहरू पनि थिए ।
रामदेव कति वैज्ञानिक सोचका हुन् भन्ने कुराको पुष्टि त कोरोना महामारीकालमा गौमुत्र सेवनले कोरोनाको उपचार हुने, गाईको गोबरले पनि कोरोना भाइरस नष्ट हुने दाबी र परीक्षणमा कुनै सकारात्मक परिणाम नदिएको तर कोभिड–१९ को उपचारमा सफल दाबी गरी हजारौँ रुपियाँ ठगी गरेको उनको आविष्कार – कोरोनिलले नै गर्छ । रामदेव को हुन् र कस्ता हुन् भन्ने कुरा सचेत नेपाली जनता जानकार नै छन् तर कुनैबेला विश्व कम्युनिस्ट आन्दोलनका महान नेता माओ त्सेतुङका रचना फलाकेर कथित क्रान्तिकारी जनयुद्धको नेतृत्व गरेका प्रचण्डले रामदेवको आशीर्वाद थाप्नु, रामदेवसँग गहिरो सङ्गत र छलफल गरेको स्वीकार्नु, धार्मिक कार्यक्रमहरूमा समय खर्चिनु, ओलीभन्दा एक कदम अगाडि बढेर माडी नै अयोध्या भएको प्रमाणित गर्न लागिपर्ने वाचा गर्नुले उनी को हुन् भनी नेपाली जनतामाझ छर्लङ्ग भएको छ । प्रचण्डले संसार त फेरेनन्, बरु सिद्धान्तच्युत भएर आफै फेरिए । त्यसरी फेरिएका प्रचण्ड कम्युनिस्टको भौतिकवादी दर्शन त्यागेर धार्मिक आस्था र भारतीय धर्मगुरुहरूको शरणागत हुने बाटोमा निरन्तर सक्रिय छन् । त्यसैले त कोरोना महामारीमा भ्रम र अफवाह फैलाएर व्यापार गर्ने बाबा रामदेवलाई क्रान्तिकारी देख्न थालेका छन् प्रचण्ड । त्यसैले नै प्रचण्डलाई रामदेवले पनि कोमल हृदयका मानिस देखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *