भर्खरै :

दिगो विकासको लागि तथ्याङ्क (डेटा) क्रान्ति

सेप्टेम्बर २५ मा भएको संयुक्त राष्ट्र सङ्घीय विशेष सम्मेलनबाट पारित दिगो विकास लक्ष्य (एसडीजी) को सफलता सरकार, व्यापारी र नागरिक समाजले आफ्ना निर्णय प्रक्रियामा तथ्याङ्क (डेटा) को प्रयोग गर्न सक्ने क्षमतामा भर पर्ने कुरा सबैतिर अनुमोदित हुने क्रम जारी छ । मैले यसअघि पनि भनेजस्तै यसको निम्ति खोजमूलक तथ्याङ्क प्रणाली बनाउन लगानी गर्न जरुरी छ जुन प्रणालीले दिगो विकासको लागि कुनै पनि घटना भइरहेकै बेलाको तथ्याङ्क प्राप्त गर्ने नयाँ स्रोतको काम गर्न सक्नेछ ।
हामी तथ्याङ्कबाट निर्देशित संसारमा बाँचेका छौँ । विज्ञापनकर्ता, बिमा कम्पनीहरू, राष्ट्रिय सुरक्षा निकाय र राजनीतिक सल्लाहकारहरूले ठुलठुला तथ्याङ्कमा खेल्न सिकिसकेका छन् । कतिबेला त उनीहरूले त्यसै आधारमा गर्ने कामबाट हामीलाई वाक्क पनि लाग्ने गरेको छ । वैज्ञानिक र अध्येताहरूले पनि नयाँ नयाँ खोज आविष्कारमा प्रगति गर्न पनि तथ्याङ्ककै प्रयोग गर्छन् । तर, संसारका विकास समुदाय भने यसबाट लाभ लिन अझै पछि परेको छ । किनभने विशेषतः ठुलो परिमाणमा तथ्याङ्क सङ्कलनको अवधारणाअन्तर्गत अझै पनि धेरै विकाससम्बन्धी तथ्याङ्क सङ्कलन भइरहेको छ । तर, ती तथ्याङ्कहरू भने आजको प्राविधिक क्षमताभन्दा पछि परेका छन् ।
तथ्याङ्क सङ्कलनमा सुधार गर्ने र दिगो विकासको निम्ति प्रयोग गर्न एउटा तरिका भनेको सेवाका प्रावधान र निर्णय प्रक्रियामा तथ्याङ्क सङ्कलन र प्रबद्र्धन (प्रोसेसिङ) बीच जीवन्त सम्बन्ध स्थापना गर्नु हो । उदाहरणको लागि स्वास्थ्य सेवालाई लिऔँ । विकासशील देशहरूका दुर्गम गाउँमा हरेक दिन सामुदायिक स्वास्थ्यकर्मीहरू मलेरियाजस्ता रोगविरुद्ध लड्न बिरामीलाई मद्दत गरिरहेका हुन्छन् । स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गर्न, अनिवार्य खोप लगाउन, (दुरस्वास्थ्य परामर्श सेवा) मार्फत् रोगबारे परामर्श गर्ने र शिशु तथा बालबालिकालाई दीर्घ कुपोषणजस्ता समस्याको आकस्मिक सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरू अहोरात्र लागिरहेका हुन्छन् । तर, त्यसरी गरिएको कामबाट प्राप्त हुने सूचना भने सङ्कलन गरिँदैन । कागजमा लेखे पनि तिनलाई कहिल्यै पनि पुनः प्रयोगमा ल्याइन्न ।
अहिले हामीसँग त्यस्ता सूचनालाई प्रबद्र्धन गर्न निकै राम्रो (स्मार्ट) तरिका छन् । हिजोआज स्वास्थ्यकर्मीहरू समुदायको घरदैलोमा पुग्दा स्मार्ट फोनका एप्लिकेसनहरूको प्रयोग बढ्दै गएको छ । स्वास्थ्यकर्मीहरूले घरदैलोमा सङ्कलन गरेका सूचना जनस्वास्थ्य केन्द्रमा सिधै पठाउन सक्छन् । त्यसरी सङ्कलित सूचनाको आधारमा स्वास्थ्य विश्लेषकहरूले रोग फैलिएको कुरा पत्ता लगाउन सक्छन् । आपूर्ति प्रणालीमा कहाँ समस्या छ, पहिल्याउन सक्छन् अथवा प्राविधिक कर्मचारीलाई थप तालिम दिनुपर्ने अवस्थाको मूल्याङ्कन गर्न सक्छन् । यस्तो प्राविधिक प्रणालीले जन्म वा मृत्युजस्ता अनिवार्य घटना ठ्याक्कै कुन समयमा भयो भन्ने कुराको अभिलेख राख्न सकिन्छ । मृत्युको कारण पत्ता लगाउन मौखिक अटोप्सीको पनि प्रयोग गर्न सकिन्छ । अनि विद्युत्तीय चिकित्सकीय अभिलेखअन्तर्गत ती सूचनालाई भविष्यमा चिकित्सकको घरदैलोमा पनि प्रयोग गर्न सकिन्छ अथवा बिरामीलाई चिकित्सकलाई भेट्नुपर्ने वा कुनै शल्यक्रिया वा औषधि बद्ल्नु वा थप्नुपर्ने कुरा स्मरण गराउन सकिन्छ ।
शिक्षा क्षेत्रमा पनि यस्तै प्रकारका अनेकन अवसर प्रयोग गर्न सकिन्छ । हिजोआज शैक्षिक वर्षको आरम्भमा भर्ना भएका विद्यार्थीहरूको आधारमा विद्यालयमा भर्ना दरको हिसाब गरिन्छ । समयान्तरमा भर्ना हुनेको खास दर निकै कम भए पनि हामीले सुरुकै दरलाई नै आधार मानिरहेका हुन्छौँ । सरकारी अधिकारीहरूले कहिलेकाहीँ भर्नाको सुरुको अभिलेखलाई देखाएर भर्ना हुने विद्यार्थीको दर बढेको देखाउने गर्छन् । त्यसकारण विद्यालयको खास चित्र पाउन हामीलाई गा¥हो हुन्छ ।
मोबाइल एप्सको प्रयोगले विद्यालय र सामुदायिक शैक्षिक कार्यकर्ताहरूले विद्यालय र शिक्षकहरूको हाजिरीको पारदर्शी र खास समयमा आधारित अभिलेख राख्न सक्छन् । विद्यालय नआउने वा छोड्ने विद्यार्थीलाई यो प्रविधिमार्फत सजिलै पछ्याउन सकिन्छ । समाधान गर्न सकिने कारणले विद्यार्थीले विद्यालय छोडेको अवस्थामा सामुदायिक शैक्षिक कार्यकर्ताले काम गर्न सक्छन् । शिक्षा कार्यालयमा सहजै पठाउन सकिने सूचनाले शिक्षा अधिकारीहरूलाई कुन स्थानमा के कस्ता प्रगति भइरहेका छन्, थाहा पाउन सकिन्छ ।
यस्ता तथ्याङ्कको सङ्कलनबाट निर्णय प्रक्रियामा सुधार ल्याएर दिगो विकास अघि बढाउन सकिन्छ । तर, यो प्रारम्भिक कदम मात्र हो । दिगो विकास लक्ष्यमा भएका प्रगतिको मापन गर्ने केही प्रमुख सूचना सङ्कलन गर्न पनि यही विधि प्रयोग गर्न सकिन्छ ।
खासमा बेलाबेला प्रगतिको समीक्षा गर्दै प्राप्त सफलता वा कमी कमजोरी सार्वजनिक गर्नु संसारलाई महत्वाकांक्षी दीर्घकालीन लक्ष्य प्राप्त गर्ने बाटोमा कायम राख्न अत्यावश्यक हुन्छ । यसो गरेर हामीले दिगो विकास लक्ष्यमा प्रगति गरिरहेका सरकारहरूलाई पुरस्कृत मात्र गर्ने छैनौँ, बरु पछि परेका सरकारलाई आफ्ना कमी कमजोरीप्रति जिम्मेवार बनाउन सकिन्छ । उत्प्रेरणाले जो कोहीलाई आफ्नो प्रयासलाई दोब्बर बनाउन उत्साहित बनाउँछ ।
सहस्राब्दी विकास लक्ष्य हासिल गर्न संसार अघि बढ्दै गरेका बितेका पन्ध्र वर्षमा यस्ता खास समयमा हासिल उपलब्धिको मापन गर्ने विधिको आवश्यकता थियो । समयमै धेरै प्रमुख सूचकाङ्कको सङ्कलन हुनुभन्दा घरदैलोमै पुगेर निकै मिहिनेतका साथ बासी भइसकेको तथ्याङ्क सङ्कलन गर्नु पर्ने अवस्था थियो । त्यसकारण धेरै देशमा गरिबी न्यूनीकरण लक्ष्यका कुरा प्रमुख सूचकाङ्क पाँच वर्ष पुरानो हुन्थ्यो । संसारले सन् २०१५ भित्र पुरा गर्नेगरी गरिबी, स्वास्थ्य र शिक्षासम्बन्धी लक्ष्य तय गरेको थियो । तर, कतिपय सन्दर्भमा त प्रमुख तथ्याङ्क भने सन् २०१० सम्मको मात्र थियो ।
सौभाग्यवश सूचना र सञ्चारको प्रविधिमा भएको क्रान्ति र झण्डै सबैतिर ब्रोडव्यान्डको क्षमता बिस्तारले त्यसरी विलम्ब हुने समस्या पुरानो कुरा भयो । ‘संसारको लागि महत्वपूर्ण विषयः दिगो विकासको लागि तथ्याङ्क क्रान्तिको परिचालन’ नामको प्रतिवेदनमा भनेजस्तै हामीले तथ्याङ्क कार्यालय र अन्य सरकारी निकायका कामलाई आधुनिकीकरण गर्नुपर्छ । पुराना कार्यशैलीको परिपुरणमा तथ्याङ्कको नयाँ स्रोतको लागि चिन्तनशील र सिर्जनात्मक तरिका अवलम्बन गर्नुपर्छ ।
सेवा दिने क्रममा, आर्थिक लेनदेन र दुरावलोकनको क्रममा जम्मा पारिएका स्मार्ट तथ्याङ्कको प्रभावकारी प्रयोग गरेर चरम गरिबीविरुद्धको लडाइँलाई अझ बिस्तार गर्न सकिन्छ । विश्वव्यापी ऊर्जा प्रणालीलाई थप प्रभावकारी र कम प्रदूषक बनाउन सकिन्छ । स्वास्थ्य र शिक्षा जस्ता अत्यावश्यक सेवालाई थप प्रभावकारी र सुलभ बनाउन सकिन्छ ।
यो युगान्तरकारी कदमसँगै संरा अमेरिकालगायत विभिन्न देशका साथै व्यापारी र अन्य साझेदारहरूले यो महिना संयुक्त राष्ट्र सङ्घमा नयाँ ‘दिगो विकास तथ्याङ्कको लागि विश्वव्यापी साझेदारी’ घोषणा गर्ने योजना बनाएको छ । यो नयाँ साझेदारीले तथ्याङ्क सङ्कलनलाई बलियो बनाउने, थप कोष जम्मा गरेर अनुगमन प्रयासलाई प्रभावकारी बनाउने, ज्ञान आदानप्रदानलाई उत्साहित गर्ने, तथ्याङ्कको पहुँच र प्रयोगका प्रमुख समस्या समाधान र संसारको तथ्याङ्क प्रणालीको स्तरोन्नतिको निम्ति नयाँ बृहत् तथ्याङ्क रणनीतिको पहिचान गर्ने लक्ष्य राखेको छ ।
संयुक्त राष्ट्र सङ्घीय दिगो विकास समाधान सञ्जालले यो नयाँ विश्वव्यापी साझेदारीलाई नयाँ ‘दिगो विकासको लागि तथ्याङ्कको विषयगत सञ्जाल’ बनाएको छ । त्यो सञ्जालले विभिन्न क्षेत्र र विषयका नेतृत्वदायी तथ्याङ्क वैज्ञानिक, चिन्तक र प्राज्ञिक क्षेत्रका एक ठाउँमा तथ्याङ्क विशेषज्ञताको केन्द्र बनाउनेछ । हामी त्यो सञ्जालमा सहभागी बन्न आतुर छौँ । त्यसको वचनबद्धताको मूल अन्तर्यमा तथ्य र तथ्याङ्कलाई वास्तविक विकास प्रगतिमा रूपान्तरण गर्ने उल्लेख छ । हामी दृढतापूर्वक तथ्याङ्कमा क्रान्तिले दिगो विकासमा क्रान्ति ल्याउन सक्नेमा विश्वास गर्छौं । हामी सम्पूर्ण संसारलाई यो विषयमा हातमा हात मिलाउन आह्वान गर्न चाहन्छौँ ।
सच्स कोलम्बिया विश्वविद्यालयका प्राध्यापक, बदी ओपन डाटा वाचका प्रबन्ध निर्देशक, चेन अन्तर्राष्ट्रिय पृथ्वी विज्ञान सूचना सञ्जाल केन्द्रका निर्देशक र जिओभान्निी इटालीका पूर्व श्रममन्त्री हुनुहुन्छ ।
स्रोतः प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *