भर्खरै :

भेनेजुयाली जनताद्वारा बोलिभारियाली क्रान्तिप्रति पुनः समर्थन जाहेर

काराकस, (टेलिसुर÷प्रेन्सा ल्याटिना) । भेनेजुयलामा नोभेम्बर २१ आइतबारका दिन भएको निर्वाचनमा कमान्डर ह्युगो चाभेजले स्थापना गर्नुभएको पार्टी एकीकृत समाजवादी पार्टी र बृहत् देशभक्त मोर्चालाई अत्यधिक बहुमत दिएर भेनेजुयाली जनताले बोलिभारियाली समाजवादी क्रान्तिकारी प्रक्रियाप्रति पुनः समर्थन जाहेर गरेका छन् । दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलामा आइतबार २३ प्रान्तीय गभर्नर, ३३५ नगरपालिकाका मेयर, २५३ संसद सदस्य तथा २,४७१ जना नगर परिषद् सदस्यका लागि निर्वाचन भएको हो ।
राष्ट्रिय निर्वाचन परिषद्का अनुसार २३ मध्ये २० वटा प्रान्तको गभर्नरमा बृहत देशभक्त मोर्चाका उम्मेदवारहरू निर्वाचित भएका छन् भने ३ वटामा विपक्षी पार्टीहरूले जितेका छन् ।
निर्वाचनको पर्यवेक्षण गर्न संयुक्त राष्ट्र सङ्घ, युरोपेली युनियन र कार्टर सेन्टरलगायत विश्वका ५५ वटा अन्तर्राष्ट्रिय संस्थाका ३ सत्र्न्दा बढी पर्यवेक्षकहरू भेनेजुयलाको विभिन्न भागमा पुगेका थिए । संयुक्त राष्टसङ्घले भेनेजुयलामा आइतबार भएको निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको जनाएको छ । संयुक्त राष्टसङ्घले यहाँको प्रान्तीय गभर्नर र नगरपालिकाको निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको आफ्नो अनुगमनबाट देखिएको बताएको हो । संयुक्त राष्टसङ्घका महासचिवको प्रेस कार्यालयले सो कुरा जनाएको हो । मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरेर संयुक्त राष्ट्रसङ्घका महासचिवको प्रेस कार्यालयले यहाँको निर्वाचन आयोग र निर्वाचनका अधिकारीहरूले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताएको छ ।
ल्याटिन अमेरिकी नेताहरूद्वारा चाभेजवादीहरूको जीतलाई सलाम
ल्याटिन अमेरिकी राजनीतिक नेताहरूले भेनेजुयलामा चाभेजवादी र बोलिभारियाली क्रान्तिका पक्षधरहरूको निर्वाचनमा भएको जीतलाई सलाम गरेका छन् । बृहत् देशभक्त मोर्चा (ध्रुव) मा राष्ट्रपति निकोलस माडुरो र बोलिभारियाली समाजवादी क्रान्तिकारी प्रक्रियाप्रति समर्थन रहेका वामपन्थी दलहरू र सङ्गठनहरू आबद्ध रहेका छन् ।
क्युवाका राष्ट्रपति तथा क्युवाली कम्युनिस्ट पार्टीका प्रथम सचिव मिग्वेल डायज कानेलले भेनेजुयाली जनता, बृहत् देशभक्त मोर्चा र राष्ट्रपति निकोलस माडुरोलाई बधाई ज्ञापन गर्दै भन्नुभयो, “म वीर भेनेजुयाली जनता, बृहत् देशभक्त मोर्चा र राष्ट्रपति निकोलस माडुरोलाई त्यस देशको आम निर्वाचनमा हासिल गरेको शानदार विजयका लागि हार्दिक बधाई ज्ञापन गर्दछु ।”
त्यस्तै क्युवाली विदेश मामिला मन्त्री ब्रुनो रोड्रिगेजले ट्विट गर्नुभयो – म भेनेजुयाली जनता र सरकारलाई आम निर्वाचनमा प्राप्त परिणामका लागि बधाई ज्ञापन गर्दछु । त्यस परिणामको अर्थ बोलिभारियाली र चाभेजवादी क्रान्तिको विजय पनि हो ।
त्यस्तै चिलीको एयेन्डेवादी समाजवादी आन्दोलनका नेता इस्तेवान सिल्भाले एकीकृत समाजवादी पार्टी भेनेजुयलालाई प्राप्त अत्यधिक बहुमत र गभर्नरहरूमा समावेशिताको लागि बधाई ज्ञापन गर्नुभएको छ । उहाँले भेनेजुयलाले आफ्नो देशको प्रजातन्त्र र सम्प्रभुताको रक्षा अझ सुदृढ ढङ्गले गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
अर्जेन्टिनाका पेरोनवादी राजनीतिक नेता होसे क्रुज क्याम्पानोलीले भेनेजुयलामा अत्यन्त शान्ति र स्वतन्त्रतापूर्वक तथा जनताको व्यापक सहाभागितामा विपक्षी पार्टीहरूको सहभागितासहित निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै प्राप्त विजयका लागि चाभेजवादीहरूलाई बधाई दिनुभएको छ । अमेरिकी नाकाबन्दी र हमलाहरू सामना गरेर पनि चाभेजवादीहरूले आफ्नो अत्यधिक बहुमत कायम राखेर भेनेजुयाली जनताले अर्को महान् प्रजातान्त्रिक पाठ सिर्जना गरेको उहाँले उल्लेख गर्नुभयो ।
बहुराष्ट्रिय देश बोलिभियाका पूर्वराष्ट्रपति एवम् समाजवादउन्मुख आन्दोलनका नेता इभो मोरालेस, वर्तमान राष्ट्रपति लुइस आर्से, उपराष्ट्रपति डेविड चोकेह्वान्का, निकारागुआली राष्ट्रपति तथा सान्डिनिस्टा राष्ट्रिय मुक्ति मोर्चाका नेता ड्यानियल ओर्टेगा, अर्जेन्टिनी राष्ट्रपति अल्वर्टो फर्नान्डेज, मेक्सिकोमा राष्ट्रपति आन्ड्रेज म्यानुअल लोपेज ओब्राडरलगायतले पनि भेनेजुयाली जनता र बृहत देशभक्त मोर्चालाई बधाई ज्ञापन गर्नुभएको छ ।
अमेरिकी हस्तक्षेपलाई अस्वीकार
भेनेजुयलाले संरा अमेरिकाको जो बाइडेन प्रशासनले अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र सङ्घको बडापत्र र भेनेजुयलाको सम्प्रभुता उल्लङ्घन हुने गरी भेनेजुयलाको निर्वाचनमाथि टिप्पणी गरेकोमा त्यसलाई अस्वीकार गरेको छ । भेनेजुयलाको निर्वाचन र निर्वाचन परिणाम संरा अमेरिकालाई अस्वीकार्य रहेको जनाउँदै सोमबार अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेनले वक्तव्य जारी गरेका थिए । ब्लिंकेनले वक्तव्यमा भनेजुयलामा विपक्षीहरूलाई आतङ्कित पारिएको, निर्वाचन स्वच्छ वातावरणमा नभएको, सञ्चारमाध्यममाथि सेन्सरसीप लागू गरेको र अप्रजातान्त्रिक गठबन्धन बनाएकोले नोभेम्बर २१ को निर्वाचन अन्तर्राष्ट्रिय मान्यता पाउन नसक्ने उल्लेख गरेका थिए । सम्पन्न निर्वाचनलाई प्रजातन्त्रप्रति भेनेजुयाली जनताको प्रतिबद्धताको नवीकरण भएको बताउँदै भेनेजुयाली विदेशमन्त्री फेलिक्स प्लासेन्सियाले भेनेजुयलाको सम्प्रभुताको सम्मान गर्न माग गर्नुभएको छ ।
संरा अमेरिकाले निर्वाचन पर्यवेक्षण गरेका संयुक्त राष्ट्र सङ्घ, युरोपेली युनियन र कार्टर सेन्टरलगायत विश्वका ५५ वटा अन्तर्राष्ट्रिय संस्थाका निर्वाचन स्वच्छ र धाँधलीरहित ढङ्गले सम्पन्न भएको प्रतिवेदनलाई पनि स्वीकार नगर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *